अध्याय ७०
येसु जन्मजात अन्धो मानिसलाई निको पार्नुहुन्छ
-
एक जना जन्मजात अन्धो माग्ने निको हुन्छ
यो विश्रामदिन हो र येसु यरुसलेममै हुनुहुन्छ। येसु र चेलाहरू बाटोमा हिँडिरहनुभएको बेला उहाँहरूले एक जना जन्मजात अन्धो माग्नेलाई देख्नुहुन्छ। चेलाहरू येसुलाई सोध्छन्: “रब्बी, कसले पाप गरेकोले यो मानिस अन्धो जन्मियो, यसले कि यसका आमाबुबाले?”—युहन्ना ९:२.
त्यस मानिसले पूर्वजन्ममा पाप गरेको थियो भनेर त ती चेलाहरू विश्वास गर्दैनन्, तैपनि आमाको गर्भमै छँदा मानिसले पाप गर्न सक्छ कि जस्तो तिनीहरूलाई लागेको हुन सक्छ। येसु यस्तो जवाफ दिनुहुन्छ: “न यस मानिसले पाप गरेकोले न त यसका आमाबुबाले पाप गरेकोले; तर यस मानिसको मामिलामा परमेश्वरका कामहरू प्रकट होऊन् भनेर यसो भएको हो।” (युहन्ना ९:३) त्यसैले त्यो मानिस वा उसको आमाबुबाले गल्ती गरेकोले ऊ अन्धो भएको होइन। बरु आदमको पापले गर्दा सबै मानिस जन्मजातै त्रुटिपूर्ण हुन्छन्, जसले गर्दा उनीहरू अन्धोपन लगायत अन्य शारीरिक त्रुटिको सिकार हुने गर्छन्। तर त्यो मानिसमा भएको त्रुटिलाई येसुले परमेश्वरका कामहरू प्रकट गर्ने मौकाको रूपमा हेर्नुहुन्छ, जसरी उहाँले पहिला पनि बिरामीहरूलाई निको पारेर परमेश्वरका कामहरू प्रकट गर्नुभएको थियो।
यस्ता कामहरू गर्नु जरुरी छ भन्ने कुरामा जोड दिँदै येसु भन्नुहुन्छ: “मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ किनकि रात आउँदै छ, जब कुनै मानिसले काम गर्न सक्दैन। जबसम्म म संसारमा छु, म संसारको ज्योति हुँ।” (युहन्ना ९:४, ५) हो, अब चाँडै मृत्युले उहाँलाई चिहानको अन्धकारमा पुऱ्याउनेछ, जहाँ उहाँले केही गर्न सक्नुहुनेछैन। तर त्यतिन्जेल उहाँ संसारको निम्ति ज्योतिको स्रोत हुनुहुन्छ।
तर के येसुले त्यस मानिसलाई निको पार्नुहुनेछ? पार्नुहुनेछ भने कसरी? उहाँ भुईँमा थुक्नुहुन्छ अनि थुक र माटो मुछेर लेप बनाउनुहुन्छ। त्यसपछि अलिकता लेप त्यस अन्धोको आँखामा लगाइदिनुहुन्छ र भन्नुहुन्छ: “जाऊ, सिलोआमको कुण्डमा गएर पखाल।” (युहन्ना ९:७) येसुले भन्नुभएअनुसारै गरेपछि ऊ देख्न सक्ने हुन्छ! जीवनमा पहिलो पटक संसार देख्न पाउँदा ऊ कत्ति खुसी भयो होला!
उसलाई चिन्ने छिमेकीहरू र अरू मानिसहरू छक्क पर्छन्। उनीहरू सोध्छन्: “के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो?” कोही-कोहीले “त्यही हो” भन्छन्। अरूले भने विश्वासै गर्न सक्दैनन् र यसो भन्छन्: “अहँ, होइन तर हेर्दाचाहिँ त्योजस्तै देखिन्छ।” तब ऊ आफैले यसो भन्छ: “म त्यही मानिस हुँ।”—युहन्ना ९:८, ९.
तब तिनीहरू उसलाई सोध्छन्: “त्यसोभए तिम्रो आँखा कसरी खुल्यो त?” ऊ यसरी जवाफ दिन्छ: “येसु नाम गरेको एक जना मानिसले लेप बनाएर मेरो आँखामा लगाइदिनुभयो र मलाई ‘सिलोआममा गएर पखाल’ भन्नुभयो। त्यसैले मैले गएर पखालेँ अनि दृष्टि पाएँ।” तिनीहरू उसलाई फेरि सोध्छन्: “त्यो मानिस कहाँ छ?” त्यो माग्नेले यस्तो जवाफ दिन्छ: “मलाई थाह छैन।”—युहन्ना ९:१०-१२.
मानिसहरूले उसलाई फरिसीहरूकहाँ लैजान्छन्; तिनीहरू पनि ऊ कसरी देख्न सक्ने भयो भनेर जान्न चाहन्छन्। ऊ ती फरिसीहरूलाई यसो भन्छ: “उहाँले मेरो आँखामा लेप लगाइदिनुभयो अनि मैले पखालेँ र देख्ने भएँ।” ऊ निको भएको देखेर ती फरिसीहरू ऊसँगै खुसी हुनुपर्ने हो। तर युहन्ना ९:१५, १६) यसरी तिनीहरूमाझ फूट हुन्छ।
तिनीहरूमध्ये केहीले येसुको निन्दा गर्दै यसो भन्छन्: “त्यो मानिस परमेश्वरबाट आएको होइन किनभने त्यसले विश्रामदिन मान्दैन।” अरूचाहिँ यसो भन्छन्: “पापी मानिसले कसरी त्यस्ता किसिमका चमत्कारहरू गर्न सक्छ र?” (यसरी आपसमा कुरा नमिलेपछि तिनीहरू उसलाई सोध्छन्: “तिमी उसको विषयमा के भन्छौ? किनकि उसले तिम्रै आँखा खोलिदिएको हो।” उसलाई येसुमाथि कुनै शङ्का छैन। त्यसैले ऊ यस्तो जवाफ दिन्छ: “उहाँ भविष्यवक्ता हुनुहुन्छ।”—युहन्ना ९:१७.
तर यहुदीहरू यो कुरामा विश्वास गर्दैनन्। तिनीहरू येसु र त्यो मानिस मिलेर अरूलाई मूर्ख बनाउन खोज्दै छन् भनेर सोच्छन्। त्यसैले यस विवादको टुङ्गो लगाउने तरिका भनेको त्यो माग्नेको आमाबुबालाई नै ऊ साँच्चै अन्धो थियो कि थिएन भनेर सोध्नु हो भन्ने निष्कर्षमा तिनीहरू पुग्छन्।