परमेश्‍वरले हाम्रो लागि कस्तो उद्देश्‍य राख्नुभएको छ?

परमेश्‍वरले हाम्रो लागि कस्तो उद्देश्‍य राख्नुभएको छ?

पत्रिका पढ्‌नुभयो, टिभी हेर्नुभयो वा रेडियो सुन्‍नुभयो भने अपराध, युद्ध र आतङ्‌कवादकै समाचारहरू पाउनुहुनेछ। तपाईँका आफ्नै समस्याबारे पनि विचार गर्नुहोस्‌ त! रोगबिमारले गर्दा वा आफूले माया गरेको व्यक्‍तिको मृत्युले गर्दा सायद एकदमै दुःखी हुनुहुन्छ होला।

आफैलाई सोध्नुहोस्‌:

  • के म र मेरो परिवारको लागि परमेश्‍वरको उद्देश्‍य यही हो?

  • समस्याहरूको सामना गर्न म कहाँ मदत पाउन सक्छु?

  • के साँचो शान्ति कहिल्यै छाउला?

बाइबलले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।

परमेश्‍वरले पृथ्वीमा अचम्मका परिवर्तनहरू गर्नुहुनेछ भनी बाइबल सिकाउँछ।

  • मानिसहरूले फेरि कहिल्यै दुःख भोग्नेछैनन्‌, उनीहरू बूढाबूढी हुनेछैनन्‌ अनि मर्नेछैनन्‌।—प्रकाश २१:४

  • “लङ्‌गडो मृगझैँ उफ्रनेछ।”—यसैया ३५:६

  • “अन्धाहरूका आँखा खोलिनेछन्‌।”—यसैया ३५:५

  • मरेकाहरू फेरि जीवित हुनेछन्‌।—युहन्‍ना ५:२८, २९

  • कोही पनि बिरामी हुनेछैन।—यसैया ३३:२४

  • सबैको लागि प्रशस्त खानेकुरा हुनेछ।—भजन ७२:१६

बाइबलको शिक्षाबाट लाभ उठाउनुहोस्‌

यस किताबको सुरुका पृष्ठहरूमा पढ्‌नुभएका कुराहरू काल्पनिक मात्र हुन्‌ जस्तो तपाईँलाई लाग्न सक्छ। तर परमेश्‍वरले चाँडै पृथ्वीमा त्यस्ता परिवर्तनहरू गर्ने प्रतिज्ञा गर्नुभएको छ। उहाँले ती प्रतिज्ञाहरू कसरी पूरा गर्नुहुनेछ भनेर बाइबलले बताउँछ।

बाइबलले अरू कुरा पनि बताउँछ। सुखी जीवन बिताउन र साँचो आनन्द पाउन के गर्नुपर्छ भनेर बाइबलमा बताइएको छ। एकछिन तपाईँलाई चिन्ता लाग्ने कुराहरूबारे सोच्नुहोस्‌। जस्तै: पैसाको अभाव, पारिवारिक समस्या, बिग्रँदो स्वास्थ्य अथवा तपाईँले माया गर्नुभएको व्यक्‍तिको मृत्यु। बाइबलले तपाईँलाई यी समस्याहरूसित डट्‌न मदत गर्न सक्छ। बाइबलले तलका प्रश्‍नहरूको पनि चित्तबुझ्दो जवाफ दिन्छ:

तपाईँ बाइबलले के सिकाउँछ भनी जान्‍न इच्छुक हुनुहुन्छ भन्‍ने कुरा तपाईँले यो किताब पढिरहनुभएको कुराबाट पनि प्रस्ट हुन्छ। यस किताबले तपाईँलाई बाइबलको कुरा बुझ्न मदत गर्नेछ। प्रत्येक अनुच्छेदको लागि प्रश्‍नहरू दिइएका छन्‌, जसले तपाईँलाई बाइबलको कुरा अझ राम्रोसँग बुझ्न मदत गर्नेछ। आज लाखौँ मानिसले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गरेर आनन्द उठाइरहेका छन्‌। हामीलाई आशा छ, तपाईँले पनि आनन्द उठाउनुहुनेछ। बाइबलले के सिकाउँछ भनेर बुझ्दै जानुहुँदा परमेश्‍वरले तपाईँलाई आशिष्‌ देऊन्‌।