सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय चार

येसु ख्रिष्ट को हुनुहुन्छ?

येसु ख्रिष्ट को हुनुहुन्छ?

१, २. (क) प्रख्यात व्यक्‍तिको नाम थाह हुँदैमा तिनलाई राम्ररी चिनेको छु भन्‍न किन मिल्दैन? (ख) मानिसहरू येसुबारे के भन्छन्‌?

संसारमा नाम चलेका मानिसहरू धेरै छन्‌। तपाईँलाई पनि उनीहरूमध्ये कसै-कसैको नाम थाह छ होला। तर नाम थाह हुँदैमा तपाईँले उनीहरूलाई राम्ररी चिनेको छु भन्‍न मिल्दैन। किनकि उनीहरूको एक-एक कुरा तपाईँलाई थाह छैन अनि उनीहरू वास्तवमा कस्ता मान्छे हुन्‌, त्यो पनि तपाईँलाई थाह छैन।

तपाईँले येसु ख्रिष्टबारे सुन्‍नुभएको छ होला। उहाँ लगभग २ हजार वर्षअघि यस पृथ्वीमा हुनुहुन्थ्यो। तर धेरै मानिसलाई येसु कस्तो व्यक्‍ति हुनुहुन्थ्यो भनेर थाह छैन। कसै-कसैले उहाँ असल मानिस हुनुहुन्थ्यो भन्छन्‌। अरूले उहाँ भविष्यवक्‍ता हुनुहुन्थ्यो भन्छन्‌। अरू कतिपयचाहिँ येसु ईश्‍वर हुनुहुन्छ भन्छन्‌। तपाईँलाई चाहिँ येसु को हुनुहुन्छ जस्तो लाग्छ?—नोट १३ हेर्नुहोस्‌।

३. यहोवा परमेश्‍वर अनि येसु ख्रिष्टलाई किन चिन्‍नुपर्छ?

येसु को हुनुहुन्छ भन्‍नेबारे हामीले साँचो कुरा थाह पाउनु आवश्‍यक छ। किन? बाइबल यसो भन्छ: “अनन्त जीवन पाउन तिनीहरूले तपाईँ एक मात्र साँचो परमेश्‍वरलाई अनि तपाईँले पठाउनुभएको येसु ख्रिष्टलाई चिन्‍नुपर्छ।” (युहन्‍ना १७:३) हो, यहोवा परमेश्‍वर र येसु ख्रिष्ट को हुनुहुन्छ, त्यसबारे साँचो कुरा थाह पायौँ भने प्रमोदवनमा सधैँभरि जीवन बिताउने सुअवसर पाउनेछौँ। (युहन्‍ना १४:६) येसुबारे सिक्दा अहिले पनि हामीलाई फाइदा हुन्छ किनभने हामीले कसरी जीवन बिताउनुपर्छ र अरूसित कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा येसुले हाम्रो निम्ति धेरै राम्रो उदाहरण बसाल्नुभएको छ। (युहन्‍ना १३:३४, ३५) अध्याय १ मा हामीले परमेश्‍वरबारे साँचो कुरा सिक्यौँ। यस अध्यायमा बाइबलले येसुबारे के सिकाउँछ भनी बुझ्नेछौँ।

हामीले मसीहलाई भेट्टाएका छौँ!

४. “मसीह” अनि “ख्रिष्ट” शब्दको अर्थ के हो?

येसुलाई अक्सर येसु मसीह अथवा येसु ख्रिष्ट भनिन्छ। “मसीह” हिब्रू भाषाबाट आएको शब्द हो अनि “ख्रिष्ट”-चाहिँ ग्रीक भाषाबाट आएको शब्द हो। यी दुवै उपाधि हुन्‌ र यी दुवैको अर्थ ‘परमेश्‍वरले विशेष भूमिका पूरा गर्न रोज्नुभएको व्यक्‍ति’ हो। येसु जन्मनुभन्दा धेरै वर्षअगाडि यहोवा परमेश्‍वरले ख्रिष्ट अर्थात्‌ मसीह पठाउनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। बाइबलअनुसार परमेश्‍वरले गर्नुभएका सबै प्रतिज्ञा मसीहले पूरा गर्नुहुनेछ। तर येसुले अहिले पनि तपाईँलाई मदत गर्न सक्नुहुन्छ। येसु यस पृथ्वीमा जन्मनुभन्दा धेरै वर्षअघिदेखि मानिसहरू ‘मसीह को हुने होला’ भनेर सोच्ने गर्थे।

५. के येसुका चेलाहरू उहाँ मसीह हुनुहुन्छ भनेर विश्‍वास गर्थे?

येसु नै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मसीह हुनुहुन्छ भन्‍ने कुरामा उहाँका चेलाहरूलाई कुनै शङ्‌का थिएन। (युहन्‍ना १:४१) उदाहरणको लागि, सिमोन पत्रुसले येसुलाई यसो भने: “तपाईँ . . . ख्रिष्ट हुनुहुन्छ।” (मत्ति १६:१६) त्यसोभए येसु नै मसीह हुनुहुन्छ भनेर हामी कसरी पक्का हुन सक्छौँ?

६. येसु नै मसीह हुनुहुन्छ भनेर चिन्‍न यहोवा परमेश्‍वरले नम्र मानिसहरूलाई कसरी मदत गर्नुभयो?

येसु जन्मनुभन्दा धेरै वर्षअघि परमेश्‍वरका भविष्यवक्‍ताहरूले लेखेका थुप्रै कुराले गर्दा मानिसहरूलाई मसीह को हो भनेर चिन्‍न सजिलो भयो। कसरी? मानिलिनुहोस्‌, पहिला कहिल्यै नदेखेको मानिसलाई तपाईँले व्यस्त बस स्टपमा लिन जानुपऱ्‍यो। यदि कसैले तपाईँलाई उक्‍त व्यक्‍तिको हुलिया राम्ररी बताइदियो भने उसलाई चिन्‍न तपाईँलाई सजिलो हुन्छ नि, होइन र? त्यसैगरि यहोवा परमेश्‍वरले पनि मसीहले के-के गर्नेछन्‌ अनि उनलाई के-के हुनेछ भनेर आफ्ना भविष्यवक्‍ताहरूलाई बताउन लगाउनुभयो। उनीहरूले गरेको सबै भविष्यवाणी येसुमा पूरा भएकोले नम्र मानिसहरूलाई येसु नै मसीह हुनुहुन्छ भनेर चिन्‍न सजिलो भयो।

७. येसु नै मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्ने दुई वटा भविष्यवाणी बताउनुहोस्‌।

आउनुहोस्‌, हामी दुई वटा भविष्यवाणी विचार गरौँ। पहिलो, येसु जन्मनुभन्दा ७०० वर्षअघि मसीह एउटा सानो सहर बेतलेहेममा जन्मनेछन्‌ भनेर मिकाले गरेको भविष्यवाणी। (मिका ५:२) भविष्यवाणी गरिएजस्तै येसुको जन्म बेतलेहेममा नै भयो! (मत्ति २:१, ३-९) दोस्रो, मसीह इस्वी संवत्‌ २९ मा प्रकट हुनेछन्‌ भनेर दानिएलले गरेको भविष्यवाणी। (दानिएल ९:२५) येसु नै परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको मसीह हुनुहुन्छ भनेर प्रमाणित गर्ने थुप्रै भविष्यवाणीमध्ये यी दुइटा उदाहरण मात्र हुन्‌।—नोट १४ हेर्नुहोस्‌।

बप्तिस्मा गरेपछि येसु मसीह अर्थात्‌ ख्रिष्ट हुनुभयो

८, ९. येसु नै मसीह हुनुहुन्छ भनेर उहाँको बप्तिस्माको बेला कसरी स्पष्ट भयो?

येसु नै मसीह हुनुहुन्छ भनेर यहोवा परमेश्‍वर आफैले पनि राम्ररी चिनाउनुभयो। जस्तै, बप्तिस्मा गराउने युहन्‍नाले येसु नै मसीह हुनुहुन्छ भनेर चिनोस्‌ भनी उहाँले एउटा चिह्न दिनुभयो। इस्वी संवत्‌ २९ मा येसु यर्दन नदीमा बप्तिस्मा गर्न आउँदा युहन्‍नाले त्यो चिन्ह देखे। त्यतिबेला के भयो, बाइबल हामीलाई यसरी बताउँछ: “बप्तिस्मा गरेपछि येसु तुरुन्तै पानीमाथि निस्कनुभयो अनि हेर! आकाश खुल्यो र युहन्‍नाले परमेश्‍वरको पवित्र शक्‍ति ढुकुरको रूपमा उहाँमाथि ओर्लँदै गरेको देखे। अनि हेर! आकाशबाट यसो भन्‍ने आवाज पनि आयो: ‘यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।’” (मत्ति ३:१६, १७) त्यो चिह्न देखेपछि अनि आवाज सुनेपछि येसु नै मसीह हुनुहुन्छ भनेर युहन्‍नाले थाह पाए। त्यस दिन यहोवा परमेश्‍वरले येसुलाई पवित्र शक्‍तिद्वारा मसीह अभिषेक गर्नुभयो। यसरी यहोवा परमेश्‍वरले राजा अनि अगुवा हुन छान्‍नुभएको व्यक्‍ति येसु नै हुनुहुन्छ भनेर स्पष्ट भयो।—यसैया ५५:४.

बाइबलका भविष्यवाणीहरूले, यहोवा परमेश्‍वर आफैले भन्‍नुभएका कुराहरूले अनि येसुले बप्तिस्मा गर्नुहुँदा परमेश्‍वरले दिनुभएको चिन्हले येसु नै मसीह हुनुहुन्छ भनेर साबित गर्छ। तर येसु कहाँबाट आउनुभयो अनि उहाँ कस्तो व्यक्‍ति हुनुहुन्थ्यो? बाइबलले यसबारे के भन्छ, हेरौँ।

येसु कहाँबाट आउनुभयो?

१०. पृथ्वीमा आउनुअघि येसु कहाँ हुनुहुन्थ्यो भनेर बाइबल बताउँछ?

१० पृथ्वीमा आउनुभन्दा अघि येसुले युगौँयुग स्वर्गमा बिताइसक्नुभएको थियो भनी बाइबल बताउँछ। मिकाले मसीह “प्राचीन काल”-देखि नै थिए भनी बताए। (मिका ५:२) येसु आफैले पृथ्वीमा आउनुअघि आफू स्वर्गमा भएको कुरा धेरै पटक बताउनुभयो। (युहन्‍ना ३:१३; ६:३८, ६२; १७:४, ५ पढ्‌नुहोस्‌) त्यसैले पृथ्वीमा आउनुभन्दा धेरै अघिदेखि यहोवा परमेश्‍वर र येसुबीच विशेष सम्बन्ध थियो।

११. यहोवा परमेश्‍वर येसुलाई किन असाध्यै माया गर्नुहुन्छ?

११ यहोवा परमेश्‍वर येसुलाई असाध्यै माया गर्नुहुन्छ। किन? किनभने परमेश्‍वरले सबैभन्दा पहिला येसुलाई सृष्टि गर्नुभएको थियो। त्यसैले येसुलाई “सारा सृष्टिको पहिलो सन्तान” भनिन्छ। * (कलस्सी १:१५) यहोवा परमेश्‍वरले येसुलाई धेरै माया गर्नुको अर्को कारण पनि छ। यहोवा परमेश्‍वर आफैले सृष्टि गर्नुभएको एक मात्र व्यक्‍ति येसु हुनुहुन्छ। त्यसैले येसुलाई “एक मात्र छोरा” पनि भनिन्छ। (युहन्‍ना ३:१६) अरू सबै थोक परमेश्‍वरले येसुसित मिलेर सृष्टि गर्नुभएको हो। (कलस्सी १:१६) अनि बाइबलमा येसुलाई “वचन” पनि भनिएको छ किनभने यहोवा परमेश्‍वरले स्वर्गदूतहरू र मानिसहरूलाई आफ्नो सन्देश र निर्देशन सुनाउन येसुलाई चलाउनुभयो।—युहन्‍ना १:१४.

१२. येसु र परमेश्‍वर दुवै एकै व्यक्‍ति हुनुहुन्‍न भनी हामी कसरी भन्‍न सक्छौँ?

१२ कसै-कसैले येसु र परमेश्‍वर दुवै एकै व्यक्‍ति हो भनी विश्‍वास गर्छन्‌। तर बाइबलले त्यस्तो कुरा सिकाउँदैन। येसुलाई सृष्टि गरिएको थियो भनी बाइबल बताउँछ। त्यसको मतलब येसुको सुरुवात छ। तर सबै थोक सृष्टि गर्नुहुने यहोवा परमेश्‍वरको कुनै सुरुवात छैन। (भजन ९०:२) परमेश्‍वरको छोरा हुनुभएकोले येसु कहिल्यै परमेश्‍वरको बराबर हुन खोज्नुभएन। छोराभन्दा बुबा महान्‌ हुनुहुन्छ भनी बाइबलले स्पष्टसित बताउँछ। (युहन्‍ना १४:२८ पढ्‌नुहोस्‌; १ कोरिन्थी ११:३) यहोवा मात्र “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” हुनुहुन्छ। (उत्पत्ति १७:१) उहाँ ब्रह्‍माण्डकै सबैभन्दा महान्‌ र शक्‍तिशाली व्यक्‍ति हुनुहुन्छ।—नोट १५ हेर्नुहोस्‌।

१३. बाइबलमा येसुलाई किन “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भनिएको छ?

१३ स्वर्ग र पृथ्वी सृष्टि गर्नुअघि यहोवा परमेश्‍वर र उहाँको छोरा येसुले अरबौँ वर्ष सँगै काम गर्नुभयो। त्यसैले यहोवा परमेश्‍वर र येसु एकअर्कालाई यति गहिरो माया गर्नुहुन्छ, जसको हामी कल्पनासमेत गर्न सक्दैनौँ! (युहन्‍ना ३:३५; १४:३१) येसुले आफ्नो बुबाका गुणहरू दुरुस्तै नकल गर्नुभएकोले बाइबलमा उहाँलाई “अदृश्‍य परमेश्‍वरको प्रतिरूप” भनिएको छ।—कलस्सी १:१५.

१४. यहोवा परमेश्‍वरको प्यारो छोरा येसु मानिसको रूपमा जन्मन कसरी सम्भव भयो?

१४ यहोवा परमेश्‍वरको इच्छा पूरा गर्न उहाँको प्यारो छोरा येसु स्वर्ग छोडेर पृथ्वीमा मानिसको रूपमा जन्मन तयार हुनुभयो। उहाँ कसरी पृथ्वीमा जन्मन सम्भव भयो? यहोवा परमेश्‍वरले आफ्नो पवित्र शक्‍ति प्रयोग गरेर आफ्नो छोराको जीवन कन्ये केटी मरियमको गर्भमा सार्नुभयो। मरियम कुनै पुरुषले गर्दा गर्भवती भएकी थिइनन्‌। त्यसैले उनले त्रुटिरहित छोरा जन्माइन्‌ र तिनको नाम येसु राखिन्‌।—लुका १:३०-३५.

येसु कस्तो व्यक्‍ति हुनुहुन्थ्यो?

१५. तपाईँ यहोवा परमेश्‍वरलाई कसरी अझ राम्ररी चिन्‍न सक्नुहुन्छ?

१५ बाइबलको मत्ति, मर्कुस, लुका र युहन्‍नाका पुस्तकहरू पढ्यौँ भने येसु कस्तो किसिमको व्यक्‍ति हुनुहुन्थ्यो, उहाँले आफ्नो जीवन कसरी बिताउनुभयो र उहाँसित कस्ता गुणहरू थिए भन्‍नेबारे धेरै कुरा सिक्न सक्छौँ। यी चार वटा पुस्तकलाई सुसमाचारको पुस्तक भनिन्छ। येसुको विषयमा पढेर यहोवा परमेश्‍वरलाई अझ राम्ररी चिन्‍न सक्छौँ किनभने येसु आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसैले येसुले यसो भन्‍न सक्नुभयो: “जसले मलाई देखेको छ, उसले बुबालाई पनि देखेको छ।”—युहन्‍ना १४:९.

१६. येसुले सिकाउनुभएको एउटा महत्त्वपूर्ण कुरा के थियो? येसुले कसको कुरा सिकाउनुहुन्थ्यो?

१६ येसु मानिसहरूलाई सिकाउनुहुन्थ्यो, त्यसैले धेरैले उहाँलाई “गुरु” भनेर बोलाउँथे। (युहन्‍ना १:३८; १३:१३) येसुले सिकाउनुभएको एउटा महत्त्वपूर्ण कुरा “राज्यको सुसमाचार” थियो। यो कुन राज्य हो? यो परमेश्‍वरको सरकार हो, जसले स्वर्गबाट सारा पृथ्वीमाथि शासन गर्नेछ अनि परमेश्‍वरको आज्ञा पालन गर्नेजति सबैलाई असल कुराहरू दिनेछ। (मत्ति ४:२३) येसुले सधैँ यहोवा परमेश्‍वरबाट सिकेका कुराहरू मात्र सिकाउनुहुन्थ्यो। त्यसैले येसुले यसो भन्‍नुभयो: “म जे सिकाउँछु, त्यो मेरो होइन तर मलाई पठाउनुहुनेको शिक्षा हो।” (युहन्‍ना ७:१६) परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्नेछ भन्‍ने सुसमाचार मानिसहरूले सुनेको यहोवा चाहनुहुन्छ भनेर येसुलाई थाह थियो।

१७. येसुले कहाँ-कहाँ सिकाउनुभयो? मानिसहरूलाई सिकाउन उहाँले किन धेरै मेहनत गर्नुभयो?

१७ येसुले कहाँ-कहाँ सिकाउनुभयो? मानिसहरू भेटिने सबै ठाउँमा। उहाँले गाउँ, सहर, बजार, परमेश्‍वरको उपासना गर्ने ठाउँ अनि मानिसहरूको घरमा गएर सिकाउनुभयो। उहाँ मानिसहरू आफै उहाँकहाँ सिक्न आऊन्‌ भनेर पर्खेर बस्नुभएन। बरु उहाँ आफै मानिसहरू भएको ठाउँमा जानुभयो। (मर्कुस ६:५६; लुका १९:५, ६) येसुले धेरै मेहनत गर्नुभयो र मानिसहरूलाई सिकाउन आफ्नो समय र शक्‍ति खर्च गर्नुभयो। किन? किनभने उहाँले त्यसै गरेको परमेश्‍वर चाहनुहुन्छ भनेर येसुलाई थाह थियो अनि उहाँ सधैँ आफ्नो बुबाको आज्ञा पालन गर्नुहुन्थ्यो। (युहन्‍ना ८:२८, २९) मानिसहरूको अवस्था देखेर उहाँलाई असाध्यै दया लाग्थ्यो। त्यसैले पनि उहाँ तिनीहरूलाई प्रचार गर्नुहुन्थ्यो। (मत्ति ९:३५, ३६ पढ्‌नुहोस्‌) धर्मगुरुहरूले मानिसहरूलाई परमेश्‍वर र उहाँको राज्यबारे सत्य कुरा सिकाइरहेका छैनन्‌ भनेर येसुलाई थाह थियो। त्यसैले उहाँ सकेसम्म धेरैलाई सुसमाचार सुनाउन चाहनुहुन्थ्यो।

१८. तपाईँलाई येसुको कुन गुण असाध्यै मन पर्छ?

१८ येसु मानिसहरूलाई माया गर्नुहुन्थ्यो र उनीहरूको ख्याल राख्नुहुन्थ्यो। उहाँ दयालु हुनुहुन्थ्यो र मानिसहरूलाई उहाँसित कुरा गर्न सजिलो लाग्थ्यो। केटाकेटीसमेत उहाँकहाँ जान मन पराउँथे। (मर्कुस १०:१३-१६) येसु कसैको पक्षपात गर्नुहुन्‍नथ्यो। उहाँ भ्रष्टाचार र अन्यायलाई घृणा गर्नुहुन्थ्यो। (मत्ति २१:१२, १३) येसुको समयमा स्त्रीहरूलाई समाजमा खासै महत्त्व दिइँदैनथ्यो र उनीहरूलाई आदर पनि गरिँदैनथ्यो। तर येसु स्त्रीहरूलाई सधैँ आदर गर्नुहुन्थ्यो र उनीहरूसित मर्यादित व्यवहार गर्नुहुन्थ्यो। (युहन्‍ना ४:९, २७) येसु नम्र पनि हुनुहुन्थ्यो। उदाहरणको लागि, एक चोटि उहाँले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो, जुन काम अक्सर नोकरहरूले गर्ने गर्थे।—युहन्‍ना १३:२-५, १२-१७.

मानिसहरू भेटिने सबै ठाउँमा येसुले प्रचार गर्नुभयो

१९. मानिसहरूलाई कस्तो मदत चाहिएको छ भनेर येसु बुझ्नुहुन्थ्यो र उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो भनी कुन उदाहरणले देखाउँछ?

१९ मानिसहरूलाई कस्तो मदत चाहिएको छ भनेर येसु बुझ्नुहुन्थ्यो र उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। त्यसैले त परमेश्‍वरको शक्‍ति पाएर येसुले मानिसहरूलाई निको पार्नुभयो। (मत्ति १४:१४) उदाहरणको लागि, एक जना कुष्ठरोगी येसुकहाँ आयो र उहाँलाई यसो भन्यो: “तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।” त्यस मानिसको पीडा देखेर येसुलाई असाध्यै दुःख लाग्यो। उहाँको मनमा दया जाग्यो र उहाँ त्यस मानिसलाई मदत गर्न इच्छुक हुनुभयो। त्यसैले उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” त्यसपछि त्यो मानिस साँच्चै निको भयो! (मर्कुस १:४०-४२) त्यो मानिस कत्ति खुसी भयो होला, कल्पना गर्नुहोस्‌ त।

आफ्नो बुबाप्रति सधैँ वफादार हुनुभयो

२०, २१. परमेश्‍वरप्रति आज्ञाकारी हुने सम्बन्धमा येसुले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो?

२० परमेश्‍वरप्रति आज्ञाकारी हुने सम्बन्धमा येसुले उत्कृष्ट उदाहरण बसाल्नुभयो। जतिसुकै गाह्रो भए तापनि अथवा शत्रुहरूले जतिसुकै दुःख दिए तापनि येसु आफ्नो बुबाप्रति सधैँ वफादार हुनुभयो। उदाहरणको लागि, सैतानले लोभ देखाएर प्रलोभनमा पार्ने कोसिस गर्दा येसु त्यसको बहकाउमा पर्नुभएन। (मत्ति ४:१-११) येसुका नातेदारमध्ये कोही-कोहीले उहाँ मसीह हुनुहुन्छ भनेर पत्याएनन्‌ अनि तिनीहरूले उहाँको “दिमाग खुस्केको छ” समेत भने। तैपनि येसुले हरेस नखाई परमेश्‍वरले अह्राउनुभएको काम गरिरहनुभयो। (मर्कुस ३:२१) शत्रुहरूले निर्दयी व्यवहार गर्दा समेत येसु परमेश्‍वरप्रति वफादार भइरहनुभयो र तिनीहरूसित साटो फेर्ने कोसिस गर्नुभएन।—१ पत्रुस २:२१-२३.

२१ पीडादायी मृत्यु भोग्नुपर्दा समेत येसुले यहोवा परमेश्‍वरलाई त्याग्नुभएन। (फिलिप्पी २:८ पढ्‌नुहोस्‌) उहाँले आफ्नो मृत्युको दिन जुन पीडा र दुःख सहनुपरेको थियो, हामी त्यसको कल्पनासमेत गर्न सक्दैनौँ। शत्रुहरूले उहाँलाई पक्रे, झूटा साक्षीहरूले उहाँलाई ईश्‍वर-निन्दा गरेको आरोप लगाए, भ्रष्ट न्यायाधीशहरूले उहाँलाई अपराधी ठहऱ्‍याए, भीडले उहाँको गिल्ला गऱ्‍यो अनि सिपाहीहरूले उहाँलाई सास्ती दिएर खम्बामा टाँगे। अन्तिम सास लिँदै येसुले ठूलो स्वरमा यसो भन्‍नुभयो: “सबै पूरा भयो!” (युहन्‍ना १९:३०) तर येसुको मृत्यु भएको तीन दिनपछि यहोवा परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो। (१ पत्रुस ३:१८) केही हप्तापछि येसु स्वर्ग फर्किनुभयो, “परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो” र परमेश्‍वरले उहाँलाई राजा अभिषेक गर्ने बेला नभएसम्म पर्खेर बस्नुभयो।—हिब्रू १०:१२, १३.

२२. येसु आफ्नो बुबाप्रति वफादार हुनुभएकोले हामीले कस्तो आशा पाएका छौँ?

२२ येसु आफ्नो बुबाप्रति वफादार हुनुभएकोले हामीले यहोवा परमेश्‍वरको सुरुदेखिकै चाहनाअनुसार प्रमोदवनमा सधैँभरि बाँच्ने आशा पाएका छौँ। अर्को अध्यायमा येसुको मृत्युले गर्दा हामी सधैँभरि बाँच्न कसरी सम्भव भयो, त्यसबारे छलफल गर्नेछौँ।

^ अनु. 11 बाइबलमा यहोवा परमेश्‍वरलाई बुबा भनिएको छ किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ। (यसैया ६४:८) अनि येसुलाई परमेश्‍वरको छोरा भनिएको छ किनभने यहोवाले उहाँलाई सृष्टि गर्नुभयो। स्वर्गदूतहरू अनि आदमलाई पनि परमेश्‍वरका छोराहरू भनिएको छ।—अय्युब १:६; लुका ३:३८.