अध्याय आठ

परमेश्‍वरको राज्य के हो?

परमेश्‍वरको राज्य के हो?

१. हामी कुन प्रख्यात प्रार्थनाबारे छलफल गर्नेछौँ?

येसुले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्ने भनेर सिकाउनुभएको थियो। त्यस प्रार्थनालाई ‘प्रभुको प्रार्थना’ भनिन्छ। बाइबल पढ्‌ने धेरैजसो मानिसलाई त्यो प्रख्यात प्रार्थना थाह छ। उहाँले कुन कुराको लागि प्रार्थना गर्नुभयो? त्यो प्रार्थना आज हाम्रो लागि पनि किन महत्त्वपूर्ण छ?

२. येसुले कुन तीन वटा कुराको निम्ति प्रार्थना गर्न सिकाउनुभयो?

येसुले भन्‍नुभयो: “यसकारण तिमीहरूले यसरी प्रार्थना गर्नू: ‘हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌। तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।’” (मत्ति ६:९-१३ पढ्‌नुहोस्‌) येसुले किन यी तीन वटा कुराको निम्ति प्रार्थना गर्न सिकाउनुभयो?—नोट २० हेर्नुहोस्‌।

३. हामी परमेश्‍वरको राज्यबारे के कुरा सिक्नेछौँ?

हामीले परमेश्‍वरको नाम यहोवा हो भनेर सिकिसक्यौँ। अनि उहाँले पृथ्वी अनि मानिसजाति किन सृष्टि गर्नुभयो, त्यो पनि हामीले सिकिसक्यौँ। अब हामी येसुले “तपाईँको राज्य आओस्‌” भनेर किन भन्‍नुभयो, त्यसबारे सिक्नेछौँ। अनि परमेश्‍वरको राज्य के हो, यस राज्यले के गर्नेछ र यस राज्यले परमेश्‍वरको नामलाई कसरी पवित्र पार्नेछ भनेर बुझ्नेछौँ।

परमेश्‍वरको राज्य के हो?

४. परमेश्‍वरको राज्य के हो र यसको राजा को हुनुहुन्छ?

यहोवा परमेश्‍वरले स्वर्गमा एउटा सरकार गठन गर्नुभयो। बाइबलमा त्यस सरकारलाई परमेश्‍वरको राज्य भनिएको छ। अनि परमेश्‍वरले येसुलाई त्यस राज्यको राजा नियुक्‍त गर्नुभयो। येसु “राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ।” (१ तिमोथि ६:१५) मानिसको भलाइ हुने काम उहाँले जत्तिको राम्ररी संसारको कुनै पनि नेता वा राजाले गर्न सक्दैन। येसु यत्ति धेरै शक्‍तिशाली हुनुहुन्छ कि संसारको सबै नेता वा राजा मिले पनि उहाँको बराबरीमा आउन सक्दैनन्‌।

५. परमेश्‍वरको राज्यले कहाँबाट शासन गर्नेछ? यसले केमाथि शासन गर्नेछ?

यहोवा परमेश्‍वरले येसुलाई मृत्युबाट ब्युँताउनुभएको ४० दिनपछि उहाँ स्वर्ग फर्कनुभयो। अनि केही समयपछि परमेश्‍वरले उहाँलाई राजा नियुक्‍त गर्नुभयो। (प्रेषित २:३३) बाइबलमा परमेश्‍वरको राज्यलाई “स्वर्गको राज्य” भनिएको छ। (२ तिमोथि ४:१८) किनभने परमेश्‍वरको राज्यले स्वर्गबाट पृथ्वीमाथि शासन गर्नेछ।—प्रकाश ११:१५.

६, ७. येसु किन अरू राजाभन्दा उत्तम हुनुहुन्छ?

बाइबलमा येसु कुनै पनि मानव राजाभन्दा महान्‌ हुनुहुन्छ भनी बताइएको छ किनभने उहाँसित मात्र “अमरता छ।” (१ तिमोथि ६:१६) सबै मानव नेता वा राजा कुनै न कुनै दिन मृत्युको सिकार हुनै पर्छ तर येसुको कहिल्यै मृत्यु हुँदैन। त्यसैले येसुले हाम्रो लागि गर्नुहुने असल काम सधैँभरि रहिरहनेछ।

येसुले कसैको पक्षपात गर्नुहुनेछैन अनि दयालु भई शासन गर्नुहुनेछ भनेर बाइबलमा पहिल्यै यस्तो भविष्यवाणी गरिएको थियो: “यहोवाको शक्‍ति तिनमा बास गर्नेछ। त्यसैले तिनी बुद्धिमान्‌ र समझदार हुनेछन्‌। तिनी असल सल्लाहकार हुनेछन्‌ र शक्‍तिशाली हुनेछन्‌। तिनी ज्ञानले भरिपूर्ण हुनेछन्‌ र तिनले यहोवाको भय मान्‍नेछन्‌। यहोवाको भय मान्‍न पाउँदा तिनी रमाउनेछन्‌। आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्‌। अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्‌। तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌।” (यसैया ११:२-४) के तपाईँ यस्तै राजा चाहनुहुन्‍न र?

८. येसु एक्लैले शासन गर्नुहुनेछैन भनेर हामी कसरी थाह पाउँछौँ?

परमेश्‍वरले केही मानिसलाई येसुसँगै मिलेर शासन गर्न रोज्नुभएको छ। उदाहरणको लागि, प्रेषित पावलले तिमोथिलाई यसो भने: “यदि हामीले कष्ट सहिरह्‍यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ।” (२ तिमोथि २:१२) येसुसँगै राजाको रूपमा शासन गर्नेहरू कति जना हुनेछन्‌?

९. येसुसँगै कति जनाले शासन गर्नेछन्‌? परमेश्‍वरले कहिलेदेखि तिनीहरूलाई रोज्न थाल्नुभयो?

हामीले अध्याय ७ मा सिकेझैँ स्वर्गमा येसुले १ लाख ४४ हजार अरू राजासँगै शासन गरिरहनुभएको प्रेषित युहन्‍नाले दर्शनमा देखेका थिए। ती १ लाख ४४ हजार को हुन्‌? युहन्‍नाले तिनीहरूको “निधारमा [येसुको] र तिनको बुबाको नाम लेखिएका थिए” भनी बताए। अनि तिनले यसो पनि भने: “यिनीहरू तिनै हुन्‌, जो पाठो [अर्थात्‌ येसु] जताजता जान्छन्‌, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्‌। यिनीहरू . . . मानिसहरूमध्येबाट किनिएका थिए।” (प्रकाश १४:१,  पढ्‌नुहोस्‌) ती १ लाख ४४ हजार जना परमेश्‍वरले येसुसँगै “राजाको रूपमा पृथ्वीमाथि शासन” गर्न रोज्नुभएको वफादार ख्रिष्टियनहरू हुन्‌। मृत्यु भएपछि तिनीहरूलाई ब्युँताएर स्वर्गमा नयाँ जीवन दिइनेछ। (प्रकाश ५:१०) यहोवा परमेश्‍वरले इस्वी संवत्‌ प्रथम शताब्दीदेखि नै १ लाख ४४ हजारमध्ये हुन वफादार ख्रिष्टियनहरूलाई रोज्दै आउनुभएको छ।

१०. यहोवा परमेश्‍वरले मानिसहरूमाथि शासन गर्न येसु र १ लाख ४४ हजारलाई रोज्नु किन मायालु कुरा हो?

१० यहोवा परमेश्‍वर हामीलाई धेरै माया गर्नुहुन्छ। त्यसैले उहाँले येसुसँगै मिलेर शासन गर्न मानिसहरूलाई रोज्नुभयो। येसु असल राजा हुनुहुनेछ किनभने उहाँ हाम्रो अवस्था राम्ररी बुझ्नुहुन्छ। मानिसको जीवन कस्तो हुन्छ र दुःख भोग्नु भनेको के हो, उहाँलाई थाह छ। पावलले येसु “हाम्रा कमजोरीहरूमा सहानुभूति” देखाउनुहुन्छ अनि उहाँ “हामीजस्तै हर तवरमा परीक्षित” हुनुभएको छ भनी बताए। (हिब्रू ४:१५; ५:८) येसुसँगै शासन गर्ने १ लाख ४४ हजारलाई पनि हाम्रो जीवन कति चुनौतीपूर्ण छ भनेर थाह छ। तिनीहरू आफैले त्रुटिपूर्ण मानव शरीरले निम्त्याउने दुःख-पीडा अनि रोगबिमारसित सङ्‌घर्ष गरिसकेका छन्‌। त्यसैले येसु अनि उहाँसँगै शासन गर्ने १ लाख ४४ हजारले हाम्रा भावनाहरू मात्र होइन तर हामीले सामना गर्नुपर्ने विभिन्‍न समस्या पनि बुझ्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ।

परमेश्‍वरको राज्यले के गर्नेछ?

११. येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको इच्छा स्वर्गमा पूरा होस्‌ भनेर प्रार्थना गर्न किन सिकाउनुभयो?

११ येसुले आफ्ना चेलाहरूलाई परमेश्‍वरको इच्छा स्वर्गमा पूरा होस्‌ भनेर प्रार्थना गर्न सिकाउनुभयो। किन? सैतानले यहोवा परमेश्‍वरको विद्रोह गऱ्‍यो भनेर हामीले अध्याय ३ मा सिकेका थियौँ। सैतानले विद्रोह गरे तापनि यहोवा परमेश्‍वरले त्यसलाई अनि विश्‍वासघाती स्वर्गदूतहरू अर्थात्‌ प्रेतहरूलाई केही समय स्वर्गमै रहन दिनुभयो। त्यसैले त्यतिबेला स्वर्गमा सबैले परमेश्‍वरको इच्छाअनुसार गरिरहेका थिएनन्‌। हामी सैतान र त्यसका प्रेतहरूबारे अध्याय १० मा अझ धेरै सिक्नेछौँ।

१२. प्रकाश १२:१० मा कुन दुइटा महत्त्वपूर्ण घटना बताइएको छ?

१२ राजा हुनेबित्तिकै येसुले सैतानसित लडाइँ गर्नुहुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। (प्रकाश १२:७-१० पढ्‌नुहोस्‌) पद १० मा दुइटा महत्त्वपूर्ण घटना बताइएको छ। परमेश्‍वरको राज्यले शासन गर्न सुरु गर्छ र त्यसलगत्तै सैतानलाई स्वर्गबाट पृथ्वीमा फ्याँकिन्छ। यी दुवै घटना पूरा भइसके भनेर अब हामी सिक्नेछौँ।

१३. सैतान तल पृथ्वीमा फ्याँकिएपछि स्वर्गमा के भयो?

१३ सैतान र त्यसका समर्थकहरू स्वर्गबाट तल पृथ्वीमा फ्याँकिएपछि वफादार स्वर्गदूतहरू रमाए भनेर बाइबलमा वर्णन गरिएको छ। बाइबलमा यस्तो लेखिएको छ: “हे स्वर्ग अनि त्यसमा बास गर्नेहरू हो, रमाओ!” (प्रकाश १२:१२) अहिले स्वर्गमा शान्ति अनि एकता छ किनभने स्वर्गमा हुनेजति सबै जनाले परमेश्‍वरको इच्छाअनुसार गरिरहेका छन्‌।

सैतान र त्यसका प्रेतहरू स्वर्गबाट तल पृथ्वीमा फ्याँकिएपछि पृथ्वीमा दुःखकष्ट बढेको छ। ती दुःखकष्ट चाँडै अन्त हुनेछ

१४. सैतानलाई स्वर्गबाट फ्याँकिएपछि पृथ्वीमा के भएको छ?

१४ तर पृथ्वीको हालत भने धेरै नराम्रो भएको छ। किनकि “दियाबल तल . . . आएको छ अनि आफ्नो समय थोरै मात्र बाँकी छ भनी थाह भएकोले त्यो असाध्यै रिसाएको छ।” (प्रकाश १२:१२) मानिसहरूले दुःख पाइरहेका छन्‌ किनकि सैतान असाध्यै क्रुद्ध भएको छ। त्यसलाई आफ्नो नाश चाँडै हुनेछ भनेर थाह छ। त्यसैले आफ्नो भएभरको तागत लगाएर त्यसले पृथ्वीमा दुःख दिइरहेको छ।

१५. पृथ्वी कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ?

१५ तर परमेश्‍वरले जुन उद्देश्‍यले पृथ्वी रच्नुभएको थियो, त्यो परिवर्तन भएको छैन। उहाँ अझै त्रुटिरहित मानिसहरू प्रमोदवनमा सधैँभरि बाँचून्‌ भन्‍ने चाहनुहुन्छ। (भजन ३७:२९) त्यसोभए परमेश्‍वरको राज्यले उहाँको यो इच्छा कसरी पूरा गर्नेछ?

१६, १७. दानिएल २:४४ मा परमेश्‍वरको राज्यबारे के बताइएको छ?

१६ बाइबलमा यस्तो भविष्यवाणी गरिएको छ: “ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश हुनेछैन। अनि त्यो राज्य अरू कसैको हातमा दिइनेछैन। त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।” (दानिएल २:४४) यस भविष्यवाणीबाट परमेश्‍वरको राज्यबारे हामी धेरै कुरा सिक्न सक्छौँ।

१७ पहिलो, परमेश्‍वरको राज्यले “ती राजाहरूको समयमा” शासन गर्न सुरु गर्ने थियो। यसको अर्थ, परमेश्‍वरको राज्यले शासन गर्न थाल्दा पृथ्वीमा अरू सरकार अझै बाँकी हुने थिए। दोस्रो, परमेश्‍वरको राज्य सदासर्वदा रहने थियो र त्यो राज्यको ठाउँ अरू कुनै राज्यले लिने थिएन। तेस्रो, परमेश्‍वरको राज्य र यस संसारका सरकारहरूबीच युद्ध हुने थियो। परमेश्‍वरको राज्यको जित हुने थियो र यही राज्यले मात्र पृथ्वीमाथि शासन गर्ने थियो। यसरी मानवजातिले सबैभन्दा उत्तम सरकार पाउनेछ।

१८. परमेश्‍वरको राज्य र यस संसारका सरकारहरूबीच हुने निर्णायक युद्धको नाम के हो?

१८ परमेश्‍वरको राज्यले पृथ्वीका सबै सरकारलाई कसरी हटाउनेछ? परमेश्‍वरले तिनीहरूसित निर्णायक युद्ध लड्‌नुहुनेछ, जसलाई बाइबलमा आरमागेडोनको युद्ध भनिएको छ। तर त्यस युद्धअघि प्रेतहरूले “पृथ्वीभरिका राजाहरूकहाँ गएर तिनीहरूलाई सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँको निम्ति जम्मा” गर्नेछन्‌। हो, ती प्रेतहरूले बहकाएका मानव सरकारहरू परमेश्‍वरको राज्यविरुद्ध उठ्‌नेछन्‌।—प्रकाश १६:१४, १६; नोट ११ हेर्नुहोस्‌।

१९, २०. हामीलाई परमेश्‍वरको राज्य किन चाहिन्छ, तीन वटा कारण बताउनुहोस्‌।

१९ हामीलाई परमेश्‍वरको राज्य किन चाहिन्छ? कम्तीमा पनि तीन वटा कारण छन्‌। पहिलो, हामी त्रुटिपूर्ण भएकोले बिरामी हुन्छौँ र मर्छौँ। तर पृथ्वीमा परमेश्‍वरको राज्य सुरु भएपछि हामी सधैँभरि बाँच्नेछौँ भनी बाइबल बताउँछ। युहन्‍ना ३:१६ मा यसो भनिएको छ: “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो ताकि ऊमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”

२० दोस्रो कारण हो, हामी वरपर दुष्ट मानिसहरू छन्‌। तिनीहरू झूट बोलेर, ठगी गरेर अरूलाई दुःख दिन्छन्‌। धेरैले असाध्यै छाडा जीवन बिताउँछन्‌। तिनीहरूलाई हटाउन हामी केही गर्न सक्दैनौँ तर परमेश्‍वरले तिनीहरूलाई हटाउनुहुनेछ। दुष्ट काम गर्न नछोड्‌ने मानिसहरू आरमागेडोनको युद्धमा नाश हुनेछन्‌। (भजन ३७:१० पढ्‌नुहोस्‌) तेस्रो कारण हो, मानव सरकारहरू कि त कमजोर, कि त निरङ्‌कुश, कि त भ्रष्ट छन्‌। तिनीहरू आफ्नो जनतालाई परमेश्‍वरले देखाउनुहुने राम्रो बाटोमा हिँड्‌न सिकाउँदैनन्‌। ‘एउटा मानिसले अर्कोलाई दबाउँछ’ भनेर बाइबल भन्छ।—उपदेशक ८:९.

२१. परमेश्‍वरको राज्यले पृथ्वीमा उहाँको इच्छा कसरी पूरा गर्नेछ?

२१ आरमागेडोनको युद्धपछि परमेश्‍वरको राज्यले यो पृथ्वीलाई उहाँले चाहनुभएजस्तै अवस्थामा पुऱ्‍याउनेछ। यसले सैतान र त्यसका प्रेतहरूलाई हटाउनेछ। (प्रकाश २०:१-३) यसले रोगबिमार र मृत्यु हटाउनेछ। अन्तमा फिरौतीको बलिदानको आधारमा सबै वफादार मानिस नयाँ संसारमा सधैँभरि बाँच्नेछन्‌। (प्रकाश २२:१-३) परमेश्‍वरको राज्यले उहाँको नामलाई पवित्र पार्नेछ। भनाइको मतलब परमेश्‍वरको राज्यले पृथ्वीमा शासन गर्न थालेपछि सबै मानिसले यहोवा परमेश्‍वरको नामको आदर गर्नेछन्‌।—नोट २१ हेर्नुहोस्‌।

येसु कहिले राजा बन्‍नुभयो?

२२. येसु पृथ्वीमै हुनुहुँदा वा स्वर्ग फर्कनेबित्तिकै राजा हुनुभएन भनेर किन भन्‍न सक्छौँ?

२२ येसुले आफ्ना चेलाहरूलाई “तपाईँको राज्य आओस्‌” भनेर प्रार्थना गर्न सिकाउनुभयो। उहाँले भन्‍नुभएको यो कुराबाट परमेश्‍वरको राज्य भविष्यमा आउने रहेछ भनेर स्पष्ट हुन्छ। यहोवा परमेश्‍वरले सबैभन्दा पहिला आफ्नो राज्य स्थापना गर्नुहुने थियो अनि येसुलाई त्यस राज्यको राजा बनाउनुहुने थियो। के येसु स्वर्ग फर्कनेबित्तिकै राजा हुनुभयो? हुनुभएन। उहाँले पर्खनुभयो। भजन ११०:१ मा एउटा रोचक भविष्यवाणी गरिएको थियो। त्यो भविष्यवाणीमा यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको छ: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।” पत्रुस र पावल दुवैले यो भविष्यवाणी येसुमा पूरा भयो भनेर उहाँ स्वर्ग फर्कनुभएको केही समयपछि प्रस्ट पारे। (प्रेषित २:३२-३५; हिब्रू १०:१२, १३) त्यसोभए राजा नियुक्‍त हुन येसुले कतिन्जेल पर्खनुपर्ने थियो?

परमेश्‍वरको राज्यले पृथ्वीमा पनि उहाँको इच्छा पूरा गर्नेछ

२३. (क) येसुले कहिलेदेखि शासन थाल्नुभयो? (ख) अर्को अध्यायमा हामी के सिक्नेछौँ?

२३ इस्वी संवत्‌ १९१४ मा बाइबलको एउटा महत्त्वपूर्ण भविष्यवाणी पूरा हुनेछ भनेर साँचो ख्रिष्टियनहरूको सानो समूहले धेरै वर्षअघिदेखि भन्दै आएको थियो। इस्वी संवत्‌ १९१४ देखि संसारभरि भएका घटनाहरूले तिनीहरू सही थिए भनेर प्रमाणित गर्छ। सोही वर्ष येसु राजा हुनुभयो र शासन थाल्नुभयो। (भजन ११०:२) त्यसको केही समयपछि सैतानलाई तल पृथ्वीमा फ्याँकियो र अहिले त्यसको “समय थोरै मात्र बाँकी छ।” (प्रकाश १२:१२) अहिले हामी त्यही “थोरै” समयमा बाँचिरहेका छौँ भन्‍ने कुराका प्रमाणहरू हामी अर्को अध्यायमा केलाउनेछौँ। साथै परमेश्‍वरको राज्यले कसरी पृथ्वीमा परमेश्‍वरको इच्छा चाँडै पूरा गर्नेछ भनेर पनि सिक्नेछौँ।—नोट २२ हेर्नुहोस्‌।