सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय पन्ध्र

परमेश्‍वरको उपासना गर्ने सही तरिका

परमेश्‍वरको उपासना गर्ने सही तरिका

१. परमेश्‍वरको उपासना गर्ने सही तरिका कसले मात्र बताउन सक्नुहुन्छ?

धेरैजसो धर्मले परमेश्‍वरबारे सत्य कुरा सिकाएको दाबी गर्छन्‌। तर यो सही होइन किनभने धर्महरूले परमेश्‍वरबारे र उहाँको उपासना गर्ने तरिकाबारे बिलकुलै फरक-फरक कुरा सिकाउँछन्‌। त्यसोभए परमेश्‍वरको उपासना गर्ने सही तरिका हामी कसरी थाह पाउन सक्छौँ? त्यसबारे साँचो परमेश्‍वर यहोवाले मात्र बताउन सक्नुहुन्छ।

२. परमेश्‍वरको उपासना गर्ने सही तरिका कहाँ बताइएको छ?

यहोवा परमेश्‍वरले उहाँको उपासना गर्ने सही तरिका बाइबलमा बताउनुभएको छ। त्यसैले बाइबल अध्ययन गर्नुहोस्‌। यहोवा परमेश्‍वर तपाईँको साँच्चै ख्याल राख्नुहुन्छ। त्यसैले उहाँ तपाईँलाई बाइबलको कुरा बुझ्न र त्यसको शिक्षाअनुसार जीवन बिताउन मदत गर्नुहुन्छ।—यसैया ४८:१७.

३. हामीले के गरेको परमेश्‍वर चाहनुहुन्छ?

परमेश्‍वरले सबै धर्म स्विकार्नुहुन्छ भनेर कोही-कोही भन्छन्‌। तर येसुले त्यस्तो कुरा कहिल्यै सिकाउनुभएन। उहाँले यसो भन्‍नुभयो: “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर . . . मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।” त्यसैले परमेश्‍वरको इच्छा के हो भनेर थाह पाउनु र त्यसअनुसार गर्नु आवश्‍यक छ। यो महत्त्वपूर्ण कुरा हो किनभने येसुले परमेश्‍वरको आज्ञा पालन नगर्ने मानिसहरूलाई “कुकर्मी” भन्‍नुभयो।—मत्ति ७:२१-२३.

४. परमेश्‍वरको इच्छाअनुसार चल्नेबारे येसुले के भन्‍नुभयो?

परमेश्‍वरको इच्छाअनुसार चल्न खोज्नेहरूले जीवनमा धेरै बाधाविघ्न अनि विरोध झेल्नुपर्नेछ भनेर येसुले चेतावनी दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “साँघुरो ढोकाबाट भित्र पस किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो र बाटो चौडा हुन्छ अनि यसमा हिँड्‌नेहरू धेरै हुन्छन्‌। तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।” (मत्ति ७:१३, १४) अप्ठेरो बाटोमा हिँड्‌नुको अर्थ सही तरिकामा परमेश्‍वरको उपासना गर्नु हो। यसले हामीलाई अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। चौडा बाटोमा हिँड्‌नुको अर्थ गलत तरिकामा उहाँको उपासना गर्नु हो। यसले मृत्युमा पुऱ्‍याउँछ। तर यहोवा परमेश्‍वर कोही पनि नाश भएको चाहनुहुन्‍न। त्यसैले उहाँले सबैलाई उहाँबारे सिक्ने मौका दिनुभएको छ।—२ पत्रुस ३:९.

परमेश्‍वरको उपासना गर्ने सही तरिका

५. सही तरिकामा परमेश्‍वरको उपासना गर्नेहरूलाई कसरी चिन्‍न सक्नुहुन्छ?

सही तरिकामा परमेश्‍वरको उपासना गर्नेहरूलाई चिन्‍न तिनीहरू के विश्‍वास गर्छन्‌ र कसरी जीवन बिताउँछन्‌ भनेर केलाउनुपर्छ भनेर येसुले भन्‍नुभयो। उहाँले यसो भन्‍नुभयो: “तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ।” साथै उहाँले यसो पनि भन्‍नुभयो: “हरेक असल रूखले असल फल फलाउँछ।” (मत्ति ७:१६, १७) तर यसको अर्थ साँचो परमेश्‍वरलाई उपासना गर्नेहरूले कहिल्यै गल्ती गर्दैनन्‌ भन्‍ने होइन। तर तिनीहरू सधैँ सही काम गर्ने कोसिस गर्छन्‌। सही तरिकामा परमेश्‍वरको उपासना गर्नेहरूलाई कसरी चिन्‍न सकिन्छ, आउनुहोस्‌ जाँचौँ।

६, ७. (क) साँचो परमेश्‍वरका उपासकहरू किन बाइबलमा आधारित कुरा मात्र सिकाउँछन्‌? (ख) येसुको उदाहरणबाट हामी के सिक्न सक्छौँ?

तिनीहरू बाइबलमा आधारित कुरा सिकाउँछन्‌। बाइबल यसो भन्छ: “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो सिकाउन, सुधार्न, सच्याउन र परमेश्‍वरको स्तरबमोजिम अनुशासन दिनका लागि उपयोगी छ, जसले परमेश्‍वरको जनलाई पूर्णतया योग्य र हरेक असल कामका लागि पूर्ण रूपमा तयार बनाउँछ।” (२ तिमोथि ३:१६, १७) प्रेषित पावलले ख्रिष्टियनहरूलाई यस्तो लेखे: “तिमीहरूले हामीबाट सुनेको परमेश्‍वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्‍वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्‍यौ।” (१ थिस्सलोनिकी २:१३) हो, साँचो परमेश्‍वरका उपासकहरू उहाँको वचन बाइबलमा आधारित कुरा मात्रै सिकाउँछन्‌। तिनीहरू बाइबलको शिक्षालाई कुनै मानव दर्शन, परम्परा वा अन्य कुरासित मिसाउँदैनन्‌।

येसुले सिकाउनुभएको सबै कुरा परमेश्‍वरको वचनमा आधारित हुन्थ्यो। (युहन्‍ना १७:१७ पढ्‌नुहोस्‌) उहाँ सिकाउनुहुँदा अक्सर धर्मशास्त्रबाट उद्धरण गर्नुहुन्थ्यो। (मत्ति ४:४, ७, १०) साँचो परमेश्‍वरका उपासकहरू येसुको उदाहरण अनुकरण गर्छन्‌ र बाइबलमा आधारित शिक्षा मात्र सिकाउँछन्‌।

८. यहोवा परमेश्‍वरको उपासना गर्नेबारे येसुले के सिकाउनुभयो?

तिनीहरू यहोवा परमेश्‍वरको मात्र उपासना गर्छन्‌। भजन ८३:१८ मा यसो भनिएको छ: “तपाईँ, जसको नाम यहोवा हो, सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।” मानिसहरूले साँचो परमेश्‍वर को हो भनेर थाह पाएको येसु चाहनुहुन्थ्यो। त्यसैले उहाँले मानिसहरूलाई परमेश्‍वरको नाम बताउनुभयो। (युहन्‍ना १७:६ पढ्‌नुहोस्‌) येसुले यसो भन्‍नुभयो: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।” (मत्ति ४:१०) त्यसैले साँचो परमेश्‍वरका उपासकहरू येसुको अनुकरण गर्छन्‌। तिनीहरू यहोवा परमेश्‍वरको मात्रै उपासना गर्छन्‌, उहाँलाई नामैले पुकार्छन्‌ र उहाँको नामबारे अनि उहाँले भविष्यमा हाम्रो लागि गर्नुहुने कुराबारे अरूलाई सिकाउँछन्‌।

९, १०. हामी कसरी एकअर्कालाई प्रेम देखाउँछौँ?

तिनीहरू एकअर्कालाई निःस्वार्थ प्रेम गर्छन्‌। येसुले आफ्ना चेलाहरूलाई आपसमा प्रेम गर्न सिकाउनुभयो। (युहन्‍ना १३:३५ पढ्‌नुहोस्‌) हाम्रो देश वा संस्कृति जुनसुकै भए पनि, धनी वा गरिब जस्तोसुकै भए पनि हामी सबैलाई प्रेम गर्छौँ। हामी एकअर्कालाई आफ्नै दाजुभाइ दिदीबहिनी ठानेर व्यवहार गर्छौँ। यस्तो प्रेमले हामीलाई एकतामा गाँस्छ। (कलस्सी ३:१४) त्यसैले हामी युद्धमा भाग लिएर अरूको ज्यान लिँदैनौँ। बाइबल भन्छ: “परमेश्‍वरका सन्तान र दियाबलका सन्तान यसैबाट प्रस्ट हुन्छ: जसले असल काम गरिरहँदैन, ऊ परमेश्‍वरबाट आएको होइन अनि जसले आफ्नो भाइलाई प्रेम गर्दैन, ऊ पनि परमेश्‍वरबाट आएको होइन। . . . हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। हामी कयिनजस्तो हुनु हुँदैन, जो त्यस दुष्टबाट आएको थियो र आफ्नो भाइको हत्या गऱ्‍यो।”—१ युहन्‍ना ३:१०-१२; ४:२०, २१.

१० हामी आफ्नो समय, शक्‍ति अनि भौतिक सरसम्पत्ति खर्चेर एकअर्कालाई मदत र प्रोत्साहन दिन्छौँ। (हिब्रू १०:२४, २५) हामी “सबैको भलाइ” हुने काम गर्छौँ।—गलाती ६:१०.

११. येसुले मात्र मानिसहरूको उद्धार गर्न सक्नुहुन्छ भनेर हामी किन मानिलिन्छौँ?

११ येसुले मात्र मानिसहरूको उद्धार गर्न सक्ने भएकोले तिनीहरू उहाँको आज्ञा पालन गर्छन्‌। बाइबल भन्छ: “उहाँबाहेक अरू कसैद्वारा उद्धार हुन सक्दैन किनकि स्वर्गमुनि मानिसहरूमध्ये कसैलाई अर्को कुनै नाम दिइएको छैन, जुन नाम लिएर हामीले उद्धार पाउन सक्छौँ।” (प्रेषित ४:१२) आज्ञाकारी मानिसहरूको उद्धारको लागि यहोवा परमेश्‍वरले येसुलाई आफ्नो जीवन फिरौतीस्वरूप दिन पठाउनुभयो भनेर हामीले यस किताबको अध्याय ५ मा सिक्यौँ। (मत्ति २०:२८) यहोवा परमेश्‍वरले पृथ्वीमाथि शासन गर्न येसुलाई राजा नियुक्‍त गर्नुभएको छ। त्यसैले हामी सधैँभरि बाँच्न चाहन्छौँ भने हामीले येसुको आज्ञा पालन गर्नै पर्छ भनेर बाइबल सिकाउँछ।युहन्‍ना ३:३६ पढ्‌नुहोस्‌।

१२. हामी किन राजनीतिमा भाग लिँदैनौँ?

१२ तिनीहरू राजनीतिमा भाग लिँदैनन्‌। येसुले राजनीतिमा भाग लिनुभएन। येसुलाई गिरफ्तार गरेर रोमी शासक पिलातससामु हाजिर गराइँदा उहाँले यसो भन्‍नुभयो: “मेरो राज्य यस संसारको होइन।” (युहन्‍ना १८:३६ पढ्‌नुहोस्‌) येसुजस्तै हामी पनि स्वर्गमा बसालिएको परमेश्‍वरको राज्यप्रति वफादार रहन्छौँ। त्यसैले जुनसुकै देशमा बसे तापनि हामी राजनीतिमा भाग लिँदैनौँ। तर बाइबलले हामी “उच्च अख्तियारवालाहरूको” अर्थात्‌ सरकारहरूको अधीनमा बस्नुपर्छ भनेर आज्ञा दिएको छ। (रोमी १३:१) त्यसैले हामी आफू बसेको देशको नियमकानुन पालन गर्छौँ। तर कुनै नियम परमेश्‍वरले दिनुभएको आज्ञासित बाझिन्छ भने त्यतिखेर हामी प्रेषितहरूको अनुकरण गर्छौँ, जसले यसो भनेका थिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२९; मर्कुस १२:१७.

१३. हामी परमेश्‍वरको राज्यबारे मानिसहरूलाई के सिकाउँछौँ?

१३ तिनीहरू परमेश्‍वरको राज्यले मात्र सबै समस्या हटाउन सक्छ भनेर मानिलिन्छन्‌। येसुले ‘राज्यको सुसमाचार’ सारा पृथ्वीभरि प्रचार गरिनेछ भन्‍नुभयो। (मत्ति २४:१४ पढ्‌नुहोस्‌) परमेश्‍वरको राज्यले हाम्रो लागि जे गर्नेछ, त्यो अरू कुनै मानव सरकारले गर्न सक्दैन। (भजन १४६:३) येसुले हामीलाई परमेश्‍वरको राज्यबारे यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।” (मत्ति ६:१०) परमेश्‍वरको राज्यले सबै मानव सरकारलाई हटाउनेछ र “यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ” भनी बाइबल बताउँछ।—दानिएल २:४४.

१४. तपाईँको विचारमा कसले मात्र सही तरिकामा परमेश्‍वरको उपासना गरिरहेका छन्‌?

१४ साँचो परमेश्‍वरका उपासकहरूलाई चिन्‍ने यी तरिकाहरू अध्ययन गरिसकेपछि आफैलाई सोध्नुहोस्‌: ‘कसले बाइबलमा आधारित कुरा सिकाउँछन्‌? कसले परमेश्‍वरको नामबारे अरूलाई बताउँछन्‌? कसले एकअर्कालाई निःस्वार्थ प्रेम गर्छन्‌? कसले परमेश्‍वरले हाम्रो उद्धार गर्न येसुलाई पठाउनुभयो भनेर विश्‍वास गर्छन्‌? कसले राजनीतिमा भाग लिँदैनन्‌? कसले परमेश्‍वरको राज्यले मात्र हाम्रा सबै समस्या समाधान गर्न सक्छ भनेर सिकाउँछन्‌?’ यी सब प्रश्‍नको जवाफ हो, यहोवाका साक्षीहरूले।—यसैया ४३:१०-१२.

तपाईँ के गर्नुहुन्छ?

१५. परमेश्‍वरले हाम्रो उपासना स्विकार्नुभएको चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

१५ हामीले परमेश्‍वर साँच्चै हुनुहुन्छ भनेर विश्‍वास गरेर मात्र पुग्दैन। प्रेतहरूले पनि परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छन्‌ तर तिनीहरू उहाँको आज्ञा पालन गर्दैनन्‌। (याकुब २:१९) परमेश्‍वरले हाम्रो उपासना स्विकार्नुभएको चाहन्छौँ भने हामीले उहाँ हुनुहुन्छ भनेर विश्‍वास गरेर मात्र पुग्दैन तर उहाँले भन्‍नुभएअनुसार काम पनि गर्नुपर्छ।

१६. हामीले झूटो धर्म किन त्याग्नुपर्छ?

१६ परमेश्‍वरले स्विकार्नुहुने तरिकामा उहाँको उपासना गर्ने हो भने हामीले झूटो धर्म त्याग्नै पर्छ। भविष्यवक्‍ता यसैयाले यस्तो लेखे: “त्यसको बीचबाट निस्केर आओ, तिमीहरू शुद्ध रहिरहो!” (यसैया ५२:११; २ कोरिन्थी ६:१७) त्यसैले हामीले झूटो धर्मसित सम्बन्धित सबै कुरालाई तिरस्कार गर्नै पर्छ।

१७, १८. “महान्‌ बेबिलोन” भनेको के हो? अनि हामीले यसलाई किन तुरुन्तै छोड्‌नुपर्छ?

१७ तर झूटो धर्म भनेको के हो? कुनै धर्मले परमेश्‍वरको वचनसित पटक्कै मेल नखाने तरिकामा परमेश्‍वरको उपासना गर्न सिकाउँछ भने त्यो झूटो धर्म हो। बाइबलले सबै झूटो धर्मलाई “महान्‌ बेबिलोन” भनेको छ। (प्रकाश १७:५) किन? नुहको समयमा भएको जलप्रलयपछि बेबिलोन सहरबाट थुप्रै झूटो धार्मिक शिक्षा सुरु भयो। ती झूटो शिक्षा सारा संसारभरि फैलियो। उदाहरणको लागि, बेबिलोनका मानिसहरू तीन वटा देव मिलेर बनेको देवताको उपासना गर्थे। आज पनि थुप्रै धर्मले परमेश्‍वर त्रिएक हुनुहुन्छ भनेर सिकाउँछन्‌। तर बाइबलमा यहोवा एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ र येसु उहाँको छोरा हुनुहुन्छ भनेर स्पष्टसित बताइएको छ। (युहन्‍ना १७:३) मान्छे मरे पनि आत्मा मर्दैन र पापी मानिसहरूको आत्माले नरकमा सधैँभरि सास्ती भोगिरहन्छ भनेर पनि बेबिलोनका मानिसहरू विश्‍वास गर्थे। तर यो शिक्षा साँचो होइन।—नोट १५१८ हेर्नुहोस्‌।

१८ चाँडै सबै झूटो धर्म नाश हुनेछ भनेर परमेश्‍वरले भविष्यवाणी गर्नुभएको छ। (प्रकाश १८:८) त्यसैले हामीले झूटो धर्मलाई तुरुन्तै छोड्‌नुपर्छ। यहोवा परमेश्‍वर हामी झूटो धर्म सँगसँगै नाश भएको चाहनुहुन्‍न।—प्रकाश १८:४.

यहोवा परमेश्‍वरका जनहरूसँगै उहाँको सेवा गरेर तपाईँ विश्‍वव्यापी परिवारको भाग हुन सक्नुहुनेछ

१९. तपाईँले यहोवा परमेश्‍वरको उपासना गर्ने निर्णय गर्नुहुँदा उहाँले कसरी तपाईँको ख्याल राख्नुहुन्छ?

१९ तपाईँले झूटो धर्म त्यागेर साँचो परमेश्‍वर यहोवाको उपासना गर्ने निर्णय गर्नुहुँदा तपाईँका कोही-कोही साथीभाइ अनि परिवारका सदस्यलाई चित्त नबुझ्न सक्छ। उनीहरूले तपाईँको विरोध गर्न सक्छन्‌। तर यहोवा परमेश्‍वर तपाईँलाई त्याग्नुहुन्‍न। तपाईँ एकअर्कालाई साँचो प्रेम गर्ने विश्‍वव्यापी परिवारको भाग हुनुहुनेछ। अनि परमेश्‍वरले ल्याउनुहुने नयाँ संसारमा सधैँभरि बाँच्ने आशा पनि पाउनुहुनेछ। (मर्कुस १०:२८-३०) समय बित्दै जाँदा अहिले तपाईँलाई विरोध गर्ने तपाईँका केही साथीभाइ वा परिवारका सदस्यले बाइबल अध्ययन गर्ने निर्णय पनि गर्न सक्छन्‌।

२०. सही तरिकामा परमेश्‍वरको उपासना गर्नु किन महत्त्वपूर्ण छ?

२० परमेश्‍वरले अब चाँडै सबै दुष्टता हटाउनुहुनेछ। त्यसपछि सारा पृथ्वीभरि उहाँको राज्यले शासन गर्नेछ। (२ पत्रुस ३:९, १३) त्यो क्षण कस्तो होला, कल्पना गर्नुहोस्‌ त! त्यसपछि सबै जनाले यहोवा परमेश्‍वरले चाहनुभएकै तरिकामा उहाँको उपासना गर्नेछन्‌। हामी आफ्नै आँखाले त्यो कुरा हेर्न चाहन्छौँ भने अहिल्यै आवश्‍यक कदम चालेर सही तरिकामा परमेश्‍वरको उपासना गर्न थाल्नुपर्छ।