सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय उन्‍नाइस

यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌

यहोवा परमेश्‍वरसित नजिक हुनुहोस्‌

१, २. आज हामी कहाँ सुरक्षा पाउन सक्छौँ?

कल्पना गर्नुहोस्‌, तपाईँ बाहिर हिँड्‌दै हुनुहुन्छ। अचानक मौसम बदलिन्छ। आकाशमा कालो बादल मडारिन्छ, बिजुली चम्किन्छ र मेघ गर्जन्छ। अनि हेर्दाहेर्दै मुसलधारे पानी पर्न थाल्छ। तपाईँ ओत लाग्ने ठाउँ खोज्नुहुन्छ। बल्लतल्ल एउटा सुरक्षित ठाउँ भेट्टाउनुहुन्छ। के त्यतिबेला तपाईँ ढुक्क महसुस गर्नुहुन्‍न र?

आज हामी त्यस्तै परिस्थितिमा छौँ। संसारको अवस्था झन्‌झनै बिग्रिरहेको छ। तपाईँलाई लाग्ला, ‘म कहाँ सुरक्षा पाउन सक्छु?’ बाइबलका एक जना लेखकले यस्तो लेखे: “म यहोवालाई भन्‍नेछु: ‘तपाईँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्‍वर, जसमाथि म भरोसा गर्छु।’” (भजन ९१:२) हो, अहिले हामीलाई समस्याहरूले घेरे तापनि यहोवा परमेश्‍वर हाम्रो रक्षा गर्न सक्नुहुन्छ अनि भविष्यको लागि उहाँले हामीलाई सुन्दर आशा पनि दिनुभएको छ।

३. हामी यहोवा परमेश्‍वरलाई कसरी आफ्नो शरणस्थान बनाउन सक्छौँ?

यहोवा परमेश्‍वर हामीलाई कसरी सुरक्षा दिन सक्नुहुन्छ? हामीलाई जस्तोसुकै समस्या आइपरे तापनि त्यससित जुझ्न उहाँले मदत गर्न सक्नुहुन्छ। हामीलाई हानि पुऱ्‍याउन खोज्ने हाम्रा शत्रुहरूभन्दा उहाँ धेरै शक्‍तिशाली हुनुहुन्छ। हामीलाई कुनै हानिनोक्सानी पुगिहाल्यो भने पनि भविष्यमा यहोवा परमेश्‍वरले त्यसलाई सच्याउनुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौँ। बाइबलमा हामीलाई यस्तो प्रोत्साहन दिइएको छ: “तिमीहरूले आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख्न सक।” (यहुदा २१) कठिन समयमा यहोवा परमेश्‍वरको मदत पाउन हामी उहाँको नजिक हुनुपर्छ। तर हामी कसरी उहाँको नजिक हुन सक्छौँ?

तपाईँलाई प्रेम गर्ने परमेश्‍वरलाई प्रेम गर्नुहोस्‌

४, ५. यहोवा परमेश्‍वरले हामीप्रति कसरी प्रेम देखाउनुभएको छ?

यहोवा परमेश्‍वरको नजिक हुन उहाँ हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भनेर बुझ्नु आवश्‍यक छ। उहाँले हाम्रो लागि गर्नुभएका कुराहरूबारे विचार गर्नुहोस्‌। उहाँले हामीलाई सुन्दर पृथ्वी दिनुभएको छ र किसिम-किसिमका बोटबिरुवा र जनावरहरूले पृथ्वी भर्नुभएको छ। उहाँले हामीलाई स्वादिष्ठ खानेकुरा र स्वच्छ पानी दिनुभएको छ। बाइबलमार्फत यहोवा परमेश्‍वरले हामीलाई उहाँको नाम अनि उहाँका मनमोहक गुणहरूबारे सिकाउनुभएको छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीप्रतिको प्रेमको कारण हाम्रो लागि जीवन दिन उहाँले आफ्नो एक मात्र छोरालाई पृथ्वीमा पठाउनुभयो। (युहन्‍ना ३:१६) त्यस बलिदानको कारण हामीले भविष्यको सुन्दर आशा पाएका छौँ।

यहोवा परमेश्‍वरले मसीही राज्य स्थापना गर्नुभएको छ। स्वर्गमा स्थापना भएको यस राज्यले चाँडै पृथ्वीबाट सबै दुःख अनि पीडा हटाउनेछ। यस राज्यले पृथ्वीलाई प्रमोदवन बनाउनेछ र त्यहाँ सबै जनाले शान्त वातावरणमा सधैँभरि हाँसीखुसी जीवन बिताउनेछन्‌। (भजन ३७:२९) अहिले हामी कसरी सुखी जीवन बिताउन सक्छौँ भन्‍ने कुरा सिकाएर पनि यहोवा परमेश्‍वरले हामीप्रतिको प्रेम देखाउनुभएको छ। उहाँ हामीलाई प्रार्थना गर्न पनि निम्तो दिनुहुन्छ र सधैँ हाम्रो प्रार्थना सुन्‍नुहुन्छ। हो, यहोवा परमेश्‍वरले हामी प्रत्येकलाई प्रेम देखाउनुभएको छ।

६. तपाईँलाई प्रेम गर्ने परमेश्‍वरलाई तपाईँ कसरी प्रेम गर्न सक्नुहुन्छ?

तपाईँलाई प्रेम गर्ने परमेश्‍वरलाई तपाईँ कसरी प्रेम गर्न सक्नुहुन्छ? उहाँले तपाईँको निम्ति गर्नुभएको सबै कुराको लागि धन्यवादी भएको देखाउनुहोस्‌। दुःखको कुरा, आज थुप्रै मानिस कृतज्ञ छैनन्‌। येसु पृथ्वीमा हुनुहुँदा पनि मानिसहरू त्यस्तै थिए। एक चोटि येसुले कुष्ठरोग लागेको दस जना मानिसलाई निको पार्नुभयो तर एक जनाले मात्र उहाँलाई धन्यवाद दियो। (लुका १७:१२-१७) हामी येसुलाई धन्यवाद दिने मानिसजस्तै हुनुपर्छ। हामी सधैँ यहोवा परमेश्‍वरप्रति धन्यवादी हुन चाहन्छौँ।

७. यहोवा परमेश्‍वरप्रतिको हाम्रो प्रेम कत्तिको गहिरो हुनुपर्छ?

हामीले पनि यहोवा परमेश्‍वरलाई प्रेम गर्नुपर्छ। येसुले आफ्ना चेलाहरूलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले यहोवा परमेश्‍वरलाई प्रेम गर्नू भन्‍नुभयो। (मत्ति २२:३७ पढ्‌नुहोस्‌) यसको अर्थ के हो?

८, ९. यहोवा परमेश्‍वरलाई प्रेम गरेको कुरा हामी कसरी देखाउन सक्छौँ?

‘म यहोवा परमेश्‍वरलाई प्रेम गर्छु’ भनेर मुखले भन्‍नु मात्र पर्याप्त छ? छैन। हामी आफ्नो सारा हृदय, ज्यान र दिमागले यहोवा परमेश्‍वरलाई प्रेम गर्छौँ भने त्यो आफ्नो कामबाट पनि देखाउँछौँ। (मत्ति ७:१६-२०) परमेश्‍वरलाई प्रेम गर्छौँ भने हामी उहाँको आज्ञा पनि पालन गर्छौँ भनी बाइबलमा बताइएको छ। के यसो गर्न गाह्रो छ? छैन। किनभने यहोवा परमेश्‍वरका “आज्ञाहरू बोझिला छैनन्‌।”—१ युहन्‍ना ५:३ पढ्‌नुहोस्‌।

यहोवा परमेश्‍वरको आज्ञा पालन गर्दा हामीले आनन्दित र सन्तोषजनक जीवन बिताउन सक्छौँ। (यसैया ४८:१७, १८) तर उहाँको नजिक हुन हामीलाई कुन कुराले मदत गर्नेछ? आउनुहोस्‌, बुझौँ।

यहोवा परमेश्‍वरसित नजिक भइरहनुहोस्‌

१०. तपाईँले किन यहोवा परमेश्‍वरबारे सिकिरहनुपर्छ?

१० तपाईँ कसरी यहोवा परमेश्‍वरको मित्र बन्‍नुभयो? बाइबलका कुराहरू सिक्न थालेपछि तपाईँले यहोवा परमेश्‍वरलाई चिन्‍न र उहाँसित मित्रता गाँस्न थाल्नुभयो। यो मित्रता तपाईँले सधैँ बलिरहेको चाहने आगोजस्तै हो। आगो निभ्न नदिन दाउरा चाहिएजस्तै उहाँसितको मित्रतालाई बलियो बनाइराख्न उहाँबारे सिकिरहनुपर्छ।—हितोपदेश २:१-५.

आगो निभ्न नदिन दाउरा चाहिएझैँ परमेश्‍वरप्रतिको प्रेमलाई सेलाउन नदिन तपाईँले उहाँबारे सिकिरहनुपर्छ

११. बाइबलका शिक्षाहरूले तपाईँलाई कस्तो प्रभाव पार्छ?

११ बाइबल अध्ययन गर्दै जाँदा तपाईँले यस्ता कुराहरू सिक्नुहुनेछ, जसले तपाईँको मन छुन्छ। येसुले आफ्ना दुई चेलालाई बाइबलका भविष्यवाणीहरू बुझाउनुहुँदा तिनीहरूले कस्तो महसुस गरे, विचार गर्नुहोस्‌। तिनीहरूले यसो भने: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय बलिरहेको थिएन र?”—लुका २४:३२.

१२, १३. (क) परमेश्‍वरप्रतिको हाम्रो प्रेम के हुन सक्छ? (ख) परमेश्‍वरप्रतिको प्रेम सेलाउन नदिन तपाईँले के गर्नुपर्छ?

१२ धर्मशास्त्रको कुरा बुझेपछि यी चेलाहरूको हृदय जोसले भरिएझैँ बाइबलका कुराहरू बुझ्न थालेपछि तपाईँको हृदय पनि जोसले भरियो होला। यसले तपाईँलाई यहोवा परमेश्‍वरलाई चिन्‍न र उहाँलाई प्रेम गर्न मदत गऱ्‍यो। तपाईँ पक्कै पनि यो प्रेम सेलाउन दिन चाहनुहुन्‍न।—मत्ति २४:१२.

१३ परमेश्‍वरको मित्र बनेपछि यो मित्रतालाई कायम राख्न मेहनत गर्नुपर्छ। यहोवा परमेश्‍वर र येसु ख्रिष्टबारे अझ धेरै सिकिरहनुपर्छ र सिकेको कुरा आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु भनेर पनि विचार गर्नुपर्छ। (युहन्‍ना १७:३) बाइबल पढ्‌दा वा अध्ययन गर्दा आफैलाई यस्तो प्रश्‍न गर्नुहोस्‌: ‘यसबाट म यहोवा परमेश्‍वरबारे के सिक्न सक्छु? मैले उहाँलाई किन आफ्नो सारा हृदय र ज्यानले प्रेम गर्नुपर्छ?’—१ तिमोथि ४:१५.

१४. प्रार्थनाले यहोवा परमेश्‍वरप्रतिको प्रेमलाई बलियो बनाइराख्न कसरी मदत गर्छ?

१४ तपाईँ आफ्नो मन मिल्ने साथीसित नियमित रूपमा कुरा गर्नुहुन्छ र यसले तपाईँहरूको मित्रतालाई अझ बलियो बनाउँछ। त्यसैगरि यहोवा परमेश्‍वरलाई नियमित रूपमा प्रार्थना गर्दा उहाँप्रतिको हाम्रो प्रेम अझ बलियो हुन्छ। (१ थिस्सलोनिकी ५:१७ पढ्‌नुहोस्‌) स्वर्गमा बस्नुहुने बुबालाई प्रार्थना गर्न पाउनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। हामीले उहाँलाई आफ्नो मनको बह पोखाउनुपर्छ। (भजन ६२:८) हामीले कण्ठस्थ पारेर प्रार्थना गर्नु हुँदैन, मनैदेखि प्रार्थना गर्नुपर्छ। हो, बाइबल अध्ययन गरिरह्‍यौँ र मनैदेखि उहाँलाई प्रार्थना गरिरह्‍यौँ भने यहोवा परमेश्‍वरप्रतिको प्रेमलाई बलियो बनाइराख्न सक्नेछौँ।

यहोवा परमेश्‍वरबारे अरूलाई बताउनुहोस्‌

१५, १६. तपाईँ प्रचारकार्यप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ?

१५ हामी यहोवा परमेश्‍वरसित नजिक भइरहन चाहन्छौँ भने बाइबलबाट सिकेको कुरा अरूलाई पनि बताउनुपर्छ। यहोवा परमेश्‍वरबारे अरूलाई बताउन पाउनु ठूलो सुअवसर हो। (लुका १:७४) अनि येसु ख्रिष्टले सबै साँचो ख्रिष्टियनलाई यो जिम्मेवारी दिनुभएको छ। हामी प्रत्येकले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुपर्छ। के तपाईँले त्यसो गर्न थालिसक्नुभयो?—मत्ति २४:१४; २८:१९, २०.

१६ प्रेषित पावल पनि प्रचारकार्यलाई एकदमै अनमोल ठान्थे; तिनले यसलाई “धन” भने। (२ कोरिन्थी ४:७) अरूलाई यहोवा परमेश्‍वर र उहाँको उद्देश्‍यबारे बताउनु तपाईँले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम हो। यसरी तपाईँ यहोवा परमेश्‍वरको सेवा गर्न सक्नुहुन्छ; तपाईँले उहाँको लागि गर्नुहुने कामको उहाँ मोल गर्नुहुन्छ। (हिब्रू ६:१०) प्रचार गर्दा तपाईँ र तपाईँको कुरा सुन्‍ने मानिस दुवैलाई फाइदा हुन्छ किनभने तपाईँले अरूलाई र आफैलाई पनि यहोवा परमेश्‍वरको नजिक हुन र अनन्त जीवन पाउन मदत गरिरहनुभएको हुनेछ। (१ कोरिन्थी १५:५८ पढ्‌नुहोस्‌) यस कामबाट तपाईँ जुन सन्तुष्टि पाउनुहुन्छ, त्यस्तो सन्तुष्टि अरू कुनै कामले दिन्छ र?

१७. प्रचार गर्नु किन एकदमै जरुरी छ?

१७ प्रचार गर्नु एकदमै जरुरी छ। हामीले “वचन प्रचार” गर्नुपर्छ र त्यो पनि “जोडतोडले।” (२ तिमोथि ४:२) मानिसहरूले परमेश्‍वरको राज्यबारे सुन्‍नु आवश्‍यक छ। बाइबल यसो भन्छ: “यहोवाको महान्‌ दिन नजिकै छ! त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!” “त्यसले ढिला गर्नेछैन!” (सपन्याह १:१४; हबकुक २:३) हो, अब चाँडै यहोवा परमेश्‍वरले सैतानको दुष्ट संसारलाई नाश गर्नुहुनेछ। तर त्योभन्दा अघि मानिसहरूलाई त्यस दिनबारे चेतावनी दिनुपर्छ। यसो गर्दा तिनीहरूले यहोवा परमेश्‍वरको सेवा गर्ने छनौट गर्न सक्छन्‌।

१८. हामीले किन अरू साँचो ख्रिष्टियनहरूसँगै यहोवा परमेश्‍वरको उपासना गर्नुपर्छ?

१८ यहोवा परमेश्‍वर हामीले अरू साँचो ख्रिष्टियनहरूसँगै उहाँको उपासना गरेको चाहनुहुन्छ। बाइबल यसो भन्छ: “आपसमा गहिरो चासो राखेर हामी एकअर्कालाई प्रेम र सुकर्म गर्न उत्साहित बनाऔँ, कसै-कसैलाई एकसाथ भेला हुन छोड्‌ने बानी परेको छ तर हामी भने त्यसरी भेला हुन नछोडौँ बरु एकअर्कालाई प्रोत्साहन दिइरहौँ अनि दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी त्यसो गरिरहौँ।” (हिब्रू १०:२४, २५) हामीले सबै सभामा उपस्थित हुन सक्दो प्रयास गर्नुपर्छ। सभाहरूमा हामीले एकअर्कालाई प्रोत्साहन दिने र बलियो बनाउने मौका पाउँछौँ।

१९. ख्रिष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्न तपाईँलाई कुन कुराले मदत गर्नेछ?

१९ सभाहरूमा तपाईँले असल मित्रहरू पाउनुहुनेछ। तिनीहरूले तपाईँलाई यहोवा परमेश्‍वरको उपासना गर्न मदत गर्नेछन्‌। तपाईँले विभिन्‍न पृष्ठभूमि र व्यक्‍तित्वका दाजुभाइ दिदीबहिनीलाई भेट्‌नुहुनेछ, जसले परमेश्‍वरको सेवा गर्न तपाईँले जस्तै यथासक्दो प्रयास गरेका छन्‌। तिनीहरू पनि तपाईँजस्तै त्रुटिपूर्ण छन्‌ र गल्तीहरू गर्छन्‌। तिनीहरूले गल्ती गर्दा क्षमा दिन तयार हुनुहोस्‌। (कलस्सी ३:१३ पढ्‌नुहोस्‌) सधैँ आफ्ना ख्रिष्टियन दाजुभाइ दिदीबहिनीको राम्रा गुणहरूमा ध्यान दिनुहोस्‌। यसो गर्नुभयो भने तिनीहरूलाई प्रेम गर्न र यहोवा परमेश्‍वरसित अझ नजिक हुन सक्नुहुनेछ।

साँच्चैको जीवन

२०, २१. “साँच्चैको जीवन” भनेको के हो?

२० यहोवा परमेश्‍वर आफ्ना मित्रहरूले सबैभन्दा उत्तम जीवन पाएको चाहनुहुन्छ। भविष्यमा हामीले पाउने जीवन अहिले हामीले बिताइरहेको जीवनभन्दा बिलकुलै फरक हुनेछ भनेर बाइबल हामीलाई बताउँछ।

यहोवा परमेश्‍वर तपाईँले “साँच्चैको जीवन” पाएको चाहनुहुन्छ। के तपाईँ यस्तो जीवन पाउन चाहनुहुन्छ?

२१ भविष्यमा हामी ७०/८० वर्षसम्म मात्र नभई सधैँभरि बाँच्नेछौँ। हामीले सुन्दर पृथ्वीमा सुस्वास्थ्य, शान्ति र आनन्दका साथ “अनन्त जीवन”-को मजा उठाउन सक्नेछौँ। यस्तो जीवनलाई बाइबलमा “साँच्चैको जीवन” भनिएको छ। यहोवा परमेश्‍वरले हामीलाई साँच्चैको जीवन दिने प्रतिज्ञा गर्नुभएको छ तर यसलाई “दह्रोसित पक्रिराख्न” हामीले यथासक्दो गर्नुपर्छ।—१ तिमोथि ६:१२, १९.

२२. (क) हामी कसरी “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्छौँ? (ख) हामी आफ्नै प्रयासमा साँच्चैको जीवन पाउन किन सक्दैनौँ?

२२ हामी कसरी “साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न” सक्छौँ? हामीले “भलाइको काम” गर्नुपर्छ र हामी “असल काममा धनी” हुनुपर्छ। (१ तिमोथि ६:१८) यसको अर्थ, बाइबलबाट सिकेका कुराहरू हामीले जीवनमा लागू गर्नुपर्छ। तर हामी आफ्नै प्रयासमा साँच्चैको जीवन पाउन सक्दैनौँ। यो यहोवा परमेश्‍वरले आफ्ना सेवकहरूलाई सित्तैंमा दिनुभएको वरदान हो। यो उहाँको “असीम अनुग्रह”-को एउटा उदाहरण हो। (रोमी ५:१५) स्वर्गमा हुनुहुने हाम्रो बुबा आफ्ना वफादार सेवकहरूलाई साँच्चै यो वरदान दिन चाहनुहुन्छ।

२३. तपाईँले किन अहिल्यै सही छनौट गर्नुपर्छ?

२३ आफैलाई सोध्नुहोस्‌, ‘के मैले परमेश्‍वरलाई स्वीकार्य हुने तरिकामा उहाँको उपासना गरिरहेको छु?’ परिवर्तन गर्नुपर्ने कुरा देख्नुभयो भने तुरुन्तै परिवर्तन गर्नुहोस्‌। यहोवा परमेश्‍वरमा भर पर्दा र उहाँको आज्ञा पालन गर्न सक्दो गर्दा उहाँ हाम्रो शरणस्थान हुनुहुनेछ। सैतानको दुष्ट संसारको आखिरी दिनमा उहाँले आफ्ना वफादार सेवकहरूलाई सुरक्षित राख्नुहुनेछ। त्यसपछि उहाँले प्रतिज्ञा गर्नुभएअनुसारै हामीलाई प्रमोदवनमा अनन्त जीवन दिनुहुनेछ। हो, अहिल्यै सही छनौट गर्नुभयो भने तपाईँले साँच्चैको जीवन पाउनुहुनेछ!