सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्न ४

गल्ती हुँदा म के गरूँ?

गल्ती हुँदा म के गरूँ?

यसबारे किन चासो राख्नुपर्छ?

आफ्नो गल्ती स्वीकार्नुभयो भने तपाईं अझ भरोसायोग्य र जिम्मेवार व्यक्ति हुनुहुनेछ।

तपाईं के गर्नुहुनेछ?

कल्पना गर्नुहोस्: साथीहरूसँग खेल्दै गर्दा रमनले फालेको बल छिमेकीको गाडीमा लाग्छ अनि त्यसको सिसा फुट्‌छ।

तपाईं रमन हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्!

तपाईंसँग तीनवटा उपाय छन्‌:

  1. १. भाग्ने।

  2. २. अरूलाई दोष लगाउने।

  3. ३. छिमेकीलाई साँचो कुरा बताउने अनि क्षतिपूर्ति गर्न अघि सर्ने।

तपाईंलाई पहिलो उपाय अपनाउन उपयुक्त लाग्छ होला। तर गल्ती स्वीकार्नु राम्रो हुन्छ चाहे त्यो सानो गल्ती होस् वा ठूलो।

गल्ती स्वीकार्नुपर्ने तीन वटा कारण

  1. १. गल्ती स्वीकार्नु सही हो।

    बाइबल भन्छ: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।”—हिब्रू १३:१८.

  2. २. आफ्नो गल्ती स्वीकार्नेहरुलाई मानिसहरू माफी दिन तयार हुन्छन्‌।

    बाइबल भन्छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्नति हुँदैन, तर स्वीकार गरेर ती छोड्‌यौ भने तिमीले कृपा दृष्टि पाउनेछौ।”—हितोपदेश २८:१३.

  3. ३. सबैभन्दा महत्त्वपूर्ण कुरा गल्ती स्वीकारेर ईश्वरलाई खुसी बनाउन सक्नुहुन्छ।

    बाइबल भन्छ: “जो सोझो छैन, त्यसलाई परमप्रभु घिन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्वरका विश्वास-पात्र हुन्छन्‌।”—हितोपदेश ३:३२.

बीस वर्षीया करिश्माले द्रुतगतिमा गाडी चलाएकोले जरिबाना तिर्नुपर्ने कुरा बुबाबाट लुकाइन्‌। तर यो कुरा तिनले सधैंभरि लुकाएर राख्न सकिनन्‌। करिश्मा भन्छिन्‌, “लगभग एक वर्षपछि मैले जरिबाना तिर्नुपर्ने कुरा बुबाले थाह पाउनु भयो। त्यसपछि म यत्ति धेरै समस्यामा परें, कुरै नगरौं!”

यसबाट के सिक्न सक्छौं? करिश्मा भन्छिन्‌: “गल्ती लुकाउँदा परिस्थिति झन्‌ बिग्रन्छ। कुनै न कुनै दिन त्यसको नतिजा भोग्नै पर्ने हुन्छ।”

गल्तीहरूबाट कसरी पाठ सिक्न सकिन्छ?

बाइबल भन्छ: “हामी सबै जना धेरै चोटि चुक्छौं।” (याकूब ३:२) तुरुन्तै आफ्नो गल्ती स्वीकार्नु भनेको नम्र र परिपक्व छौं भन्ने कुराको चिन्ह हो।

अर्को कदम भनेको आफ्नो गल्तीबाट पाठ सिक्नु हो। निशा नाम गरेकी केटी यसो भन्छिन्‌: “गल्तीहरूबाट थुप्रै कुरा सिक्न सक्छौं। यसले मलाई अझ असल व्यक्ति बन्न मदत गर्छ। साथै अर्को चोटि फरक तरिकामा परिस्थिति सम्हाल्न पनि मदत गर्छ।” तपाईं कसरी त्यसो गर्न सक्नुहुन्छ, हेरौं।

तपाईंले बुबाको बाइक मागेर चलाउनुभयो अनि बाइक बिग्रियो। अब तपाईं के गर्नुहुन्छ?

  • त्यसबारे केही पनि भन्नुहुन्न र बुबाले याद नगरोस् भन्ने आशा गर्नुहुन्छ।

  • बुबालाई सबै कुरा बताउनुहुन्छ।

  • बुबालाई सबै कुरा बताउनुहुन्छ तर त्यसको दोष अरूलाई दिनुहुन्छ।

नपढेकोले तपाईं जाँचमा फेल हुनुभयो। अब तपाईं के गर्नुहुन्छ?

  • जाँचलाई दोष दिनुहुन्छ।

  • आफ्नै गल्ती स्वीकार्नुहुन्छ।

  • शिक्षकले मलाई मन नपराएकोले फेल गरेको हो भनेर दाबी गर्नुहुन्छ।

विगतको गल्तीबारे सोचिरहनु भनेको गाडी चलाउँदा पछाडिका कुराहरू हेर्ने ऐनामा हेरिरहनु जस्तै हो

तपाईंको बुबा र शिक्षकको ठाउँमा आफूलाई राख्नुहोस्। तपाईंले सहर्ष आफ्नो गल्ती स्वीकार्नुभयो भने तपाईंको बुबा र शिक्षकले तपाईंबारे के सोच्नुहुन्छ? तर आफ्नो गल्ती लुकाउन खोज्नुभयो भने चाहिं उहाँहरूले तपाईंबारे के सोच्नुहुन्छ?

गएको वर्ष तपाईंले कस्ता गल्तीहरू गर्नुभयो, विचार गर्नुहोस्। अनि तल दिइएका प्रश्नहरूको जवाफ दिनुहोस्।

कस्तो गल्ती भयो? त्यसलाई कसरी सम्हाल्नुभयो?

  • गल्ती लुकाएँ।

  • त्यसको दोष अरूलाई दिएँ।

  • सहर्ष गल्ती स्वीकारें।

गल्ती स्वीकार्नु भएको थिएन भने कस्तो महसुस भयो?

  • ढुक्क महसुस गरें—कसैले थाह पाएन!

  • दोषी महसुस गरें—साँचो बोलेको भए हुन्थ्यो।

परिस्थितिलाई कसरी राम्रोसँग सम्हाल्न सक्नुहुन्थ्यो?

तपाईंले आफ्नो गल्तीबाट के सिक्नुभयो?

तपाईंलाई कस्तो लाग्छ?

केही मानिसहरू किन गल्ती स्वीकार्न हिचकिचाउँछन्‌?

आफ्ना गल्तीहरू सधैं लुकाउन खोज्नुहुन्छ भने अरूले तपाईंबारे के सोच्छन्‌? आफ्ना गल्तीहरू स्वीकार्नुहुन्छ भने अरूले तपाईंबारे के सोच्छन्‌?—लूका १६:१०.