सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रश्न ५

कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?

कसैले स्कुलमा दादागिरी देखाउँदा के गरूँ?

यसबारे किन चासो राख्नुपर्छ?

तपाईंको प्रतिक्रियाले परिस्थितिलाई सुधार्न वा अझ बिगार्न सक्छ।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्: सुलभलाई स्कुल जान मन लाग्दैन। ऊ अबदेखि कहिल्यै स्कुल जान चाहँदैन। तीन महिना अगाडिको कुरा हो, स्कुलका साथीहरूले ऊबारे असाध्यै नराम्रो हल्ला फैलाए। उसको नाम बिगारेर बोलाउन थाले। कहिलेकाहीं तिनीहरूले सुलभको हातमा भएको किताबहरू खसाली दिन्थे। अनि कसैले पछाडिबाट उसलाई धकेल्थ्यो, कसले धकेलेको भनी उसलाई थाहै हुँदैन थियो। हिजो त सुलभलाई अनलाइनमा धम्की समेत दिइयो . . .

तपाईं सुलभ हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्!

तपाईं कमजोर हुनुहुन्न। कसैले दादागिरी देखाउँदा तपाईं झगडा नगरी त्यसको सामना गर्न सक्नुहुन्छ। तर कसरी?

  • शान्त रहनुहोस्। बाइबल भन्छ: “मूर्ख मानिसले रिस पोखाउँछ, तर बुद्धिमान्‌ मानिसले पर्खेर त्यो शान्त हुन दिन्छ।” (हितोपदेश २९:११) तपाईं शान्त हुनुभयो भने दादागिरी गर्नेहरूले तपाईंलाई सताउन छोड्‌न सक्छन्‌।

  • बदला नलिनुहोस्। बाइबल भन्छ: “कसैलाई खराबीको बदला खराबी नगर।” (रोमी १२:१७) बदला लिन खोज्दा परिस्थिति झन्‌ बिग्रन्छ।

  • खतरामा पर्न सक्ने परिस्थितिबाट टाढै बस्नुहोस्। बाइबल भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।” (हितोपदेश २२:३) तपाईंलाई सताउने साथीहरूबाट टाढै बस्नुहोस् र एक्लै-एक्लै नहिंड्‌नुहोस्।

  • उनीहरूले नसोचेको जवाफ दिनुहोस्। बाइबल भन्छ: “मीठो जवाफले क्रोधलाई शान्त गर्छ।” (हितोपदेश १५:१) परिस्थिति सामान्य बनाउन हँसीमजाक गर्न सक्नुहुन्छ। उदाहरणको लागि, तपाईं निकै मोटो हुनुहुन्छ भनेर दादागिरी गर्नेले भन्यो भने टाउको हल्लाउँदै यसो भन्न सक्नुहुन्छ, “त्यही त अलिकति घटाउनुपर्ला जस्तो छ।”

  • चुपचाप त्यो ठाउँ छोडेर जानुहोस्। १९ वर्षीया नोरा यसो भन्छिन्‌, “जवाफ नफर्काउँदा तपाईं परिपक्व हुनुहुन्छ र तपाईंलाई सताउने व्यक्तिभन्दा तपाईं बलियो हुनुहुन्छ भन्ने कुरा देखिन्छ। यसो गर्दा आत्मसंयम झल्किन्छ जुन दादागिरी गर्नेहरूमा हुँदैन।”—२ तिमोथी २:२४.

  • आत्मविश्वास बढाउनुहोस्। आफूप्रति नकारात्मक सोच राख्ने अनि कमजोर व्यक्तिहरूलाई दादागिरी गर्नेहरूले चिन्छन्‌। तर तपाईंले आफूमाथि कुनै अधिकार जमाउन दिनुभएन भने उनीहरू आफै पर हट्‌छन्‌।

  • कसैलाई बताउनुहोस्। पहिला स्कुलमा पढाउने एक शिक्षक यसो भन्छन्‌: “दादागिरीको सिकार भएकाहरूलाई आफ्नो समस्याबारे कसैलाई बताउन आग्रह गर्छु। यसो गऱ्यो भने अरू कोही दादागिरीको सिकार हुनदेखि जोगिन सक्छ।”

आत्मविश्वासले तपाईंलाई दादागिरी गर्नेहरू भन्दा बलियो बनाउँछ