सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १

परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो

परमेश्‍वरले आकाश र पृथ्वी बनाउनुभयो

यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ। उहाँले हामीले देख्न सक्ने र नसक्ने सबै थोक बनाउनुभयो। हामीले देख्न सक्ने थोकहरू बनाउनुअघि उहाँले धेरै स्वर्गदूत बनाउनुभयो। स्वर्गदूतहरू को हुन्‌, तिमीलाई थाह छ? स्वर्गदूतहरू यहोवाका सेवकहरू हुन्‌ अनि तिनीहरू उहाँजस्तै छन्‌। हामीले यहोवालाई देख्न नसकेजस्तै स्वर्गदूतहरूलाई पनि देख्न सक्दैनौँ। यहोवाले सबैभन्दा सुरुमा बनाउनुभएको स्वर्गदूतले पछि उहाँलाई ताराहरू, ग्रहहरू अनि अरू सबै थोक बनाउन मदत गरे। ती ग्रहहरूमध्ये एउटा हाम्रो सुन्दर घर पृथ्वी हो।

त्यसपछि यहोवाले पृथ्वी जनावरहरू अनि मानिसहरू बस्न मिल्ने बनाउनुभयो। उहाँले बनाउनुभएको सूर्यको ज्योतिले गर्दा पृथ्वी उज्यालो भयो। उहाँले डाँडाकाँडा, समुद्र र खोलानाला पनि बनाउनुभयो।

त्यसपछि यहोवाले के बनाउनुभयो? उहाँले यसो भन्‍नुभयो: ‘म घाँसपात, बोटबिरुवा र किसिम-किसिमका रूख बनाउनेछु।’ अनि किसिम-किसिमका फलफूल र सागपात उम्रिन थाले र फूलहरू फुल्न थाले। त्यसपछि यहोवाले आकाशमा उड्‌ने, पानीमा बस्ने र घस्रने जातजातका जनावरहरू बनाउनुभयो। उहाँले खरायोजस्तो सानो जनावरदेखि हात्तीजस्तो ठूलो जनावर सबै बनाउनुभयो। तिमीलाई कुन चाहिँ जनावर सबैभन्दा धेरै मन पर्छ?

त्यसपछि यहोवाले ती पहिलो स्वर्गदूतलाई यसो भन्‍नुभयो: ‘आऊ, हामी मानिस बनाऔँ।’ मानिसहरू जनावरहरूभन्दा फरक हुने थिए। मानिसहरूले नयाँ-नयाँ कुरा पत्ता लगाउन सक्ने थिए। तिनीहरूले बोल्न, हाँस्न र प्रार्थना गर्न सक्ने थिए। तिनीहरूले पृथ्वीको र जनावरहरूको हेरविचार गर्ने थिए। पहिलो मानिस को थियो, तिमीलाई थाह छ? आऊ, अब हामी थाह पाऔँ।

“सुरुमा परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।”—उत्पत्ति १:१