सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३

आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌

आदम र हव्वाले परमेश्‍वरको आज्ञा मानेनन्‌

एकदिन हव्वा बगैँचामा एक्लै हुँदा सर्पले उनलाई भन्यो: ‘के परमेश्‍वरले तिमीहरूलाई साँच्चै बगैँचाको कुनै रूखको फल नखानू भन्‍नुभएको हो?’ हव्वाले भनिन्‌: ‘हामी बगैँचाको बीचमा भएको एउटा रूखको फलबाहेक अरू सबै रूखको फल खान सक्छौँ। त्यस रूखको फल खायौँ भने हामी मर्नेछौँ।’ तर सर्पले भन्यो: ‘तिमीहरू मर्नेछैनौ। खासमा त्यो खायौ भने तिमीहरू परमेश्‍वरजस्तै हुनेछौ।’ के त्यो कुरा साँचो थियो? अहँ, थिएन। तर हव्वाले सर्पको झूट पत्याइन्‌। उनले त्यो फल हेरिरहिन्‌ र उनलाई झन्‌झनै खाऊँ-खाऊँ लाग्यो। उनले त्यो खाइन्‌ र आदमलाई पनि दिइन्‌। आदमलाई परमेश्‍वरको आज्ञा नमान्दा मर्नुपर्नेछ भनेर थाह थियो। तैपनि तिनले त्यो फल खाए।

त्यसै दिनको साँझपख यहोवाले आदम र हव्वासित कुरा गर्नुभयो। परमेश्‍वरले तिनीहरूलाई उहाँको आज्ञा किन नमानेको भनेर सोध्नुभयो। हव्वाले सर्पलाई दोष लगाइन्‌ अनि आदमले हव्वालाई। तिनीहरूले यहोवाको आज्ञा नमानेकोले उहाँले तिनीहरूलाई बगैँचाबाट निकालिदिनुभयो। तिनीहरू फेरि कहिल्यै बगैँचामा जान नपाऊन्‌ भनेर उहाँले बगैँचा भित्र छिर्ने ठाउँमा स्वर्गदूतहरू र ज्वालामय तरबार राख्नुभयो।

हव्वालाई झूटो कुरा बताउनेले पनि सजाय पाउनेछ भनेर यहोवाले भन्‍नुभयो। उनीसित बोल्ने सर्प नै त थिएन। यहोवाले सर्पहरूलाई बोल्न सक्नेगरि बनाउनुभएको थिएन। खासमा एक जना दुष्ट स्वर्गदूतले सर्पलाई चलाएर हव्वासित कुरा गरेको थियो। यसरी त्यसले हव्वालाई झुक्यायो। त्यो स्वर्गदूतलाई सैतान अर्थात्‌ दियाबल भनिन्छ। त्यसले मानिसहरूलाई खराब काम गर्न बहकाउन नपाओस्‌ भनेर यहोवाले चाँडै त्यसलाई नाश गर्नुहुनेछ।

“दियाबल . . . सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा अडिग रहेन किनकि त्यसमा सत्य छैन।”—युहन्‍ना ८:४४