सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ६

आठ जना बचे

आठ जना बचे

नुह, तिनको परिवार र जनावरहरू जहाजभित्र पसे अनि यहोवा परमेश्‍वरले जहाजको ढोका थुनिदिनुभयो। त्यसपछि पानी पर्न थाल्यो। पानी यत्ति बेस्सरी पऱ्‍यो कि जहाज तैरिन थाल्यो। पूरै पृथ्वी पानीले भरियो। जहाजबाहिर भएका सबै खराब मानिस मरे। तर नुह र तिनको परिवार जहाजभित्र भएकोले जोगिए। यहोवाको आज्ञा मानेकोमा तिनीहरू कत्ति खुसी भए होलान्‌!

चालीस दिनसम्म दिनरात पानी पऱ्‍यो अनि रोकियो। पानी बिस्तारै-बिस्तारै घट्‌न थाल्यो। पछि जहाज एउटा डाँडामा अडियो। तर जमिनमा अझै पानी नै पानी थियो। त्यसैले जहाज अडिएलगत्तै नुह र तिनको परिवार जहाजबाट बाहिर निस्किन सकेनन्‌।

बिस्तारै जमिन सुक्खा हुन थाल्यो। नुह र तिनको परिवार जहाजभित्र एक वर्षभन्दा लामो समय रहे। त्यसपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई जहाजबाट बाहिर निस्कन भन्‍नुभयो। परमेश्‍वरले बचाउनुभएकोमा उहाँलाई धन्यवाद दिन तिनीहरूले भेटी चढाए।

यहोवा परमेश्‍वरले तिनीहरूले चढाएको भेटी स्विकार्नुभयो। उहाँले जलप्रलय ल्याएर फेरि कहिल्यै पृथ्वीलाई नाश नगर्ने वाचा गर्नुभयो। त्यस वाचाको चिन्हस्वरूप उहाँले आकाशमा पहिलो चोटि इन्द्रेनी देखाउनुभयो। के तिमीले कहिल्यै इन्द्रेनी देखेका छौ?

त्यसपछि यहोवाले नुह र तिनको परिवारलाई सन्तान जन्माएर पृथ्वी ढाक्न भन्‍नुभयो।

“जलप्रलय आएर [मानिसहरू] सबैलाई स्वात्तै नबगाएसम्म तिनीहरूले यादै गरेनन्‌।”—मत्ति २४:३८, ३९