सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ८

अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे

अब्राहाम र साराले परमेश्‍वरको आज्ञा पालन गरे

बाबेल सहरनजिकै उर भन्‍ने सहर थियो। त्यहाँका मानिसहरू यहोवालाई नभई अन्य थुप्रै देवीदेवतालाई पुज्थे। तर एक जना मानिस भने यहोवाको उपासना गर्थे। तिनको नाम अब्राहाम थियो।

यहोवा परमेश्‍वरले अब्राहामलाई यसो भन्‍नुभयो: ‘आफ्नो घर र नातेदार छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।’ त्यसपछि परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभयो: ‘म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। तिमी नै सबै मानिसहरूका लागि आशिष्‌ साबित हुनेछौ।’

अब्राहामलाई आफू कहाँ जानुपर्ने हो थाह थिएन तर तिनले यहोवा परमेश्‍वरमाथि भरोसा राखे। त्यसैले अब्राहाम आज्ञाकारी हुँदै आफ्नी पत्नी सारा, बुबा तेरह, भतिजा लुत र आफ्नो सबै सामान लिएर लामो यात्राको लागि निस्के।

अब्राहाम र तिनको परिवार यहोवाले भन्‍नुभएको ठाउँमा पुग्दा तिनी ७५ वर्षका थिए। त्यस ठाउँको नाम कनान थियो। त्यहाँ यहोवा परमेश्‍वरले अब्राहामसित यस्तो प्रतिज्ञा गर्नुभयो: ‘तिमीले देखिरहेको यो ठाउँ म तिम्रो सन्तानलाई दिनेछु।’ तर अब्राहाम र सारा बूढाबूढी भइसकेका थिए र तिनीहरूको छोराछोरी थिएन। त्यसोभए यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञा कसरी पूरा गर्नुहुने थियो?

“विश्‍वासैले गर्दा [अब्राहाम] आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउने थिए। आफू कहाँ जाँदै छु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए।”—हिब्रू ११:८