सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ९

बल्ल एउटा छोरा जन्मियो!

बल्ल एउटा छोरा जन्मियो!

अब्राहाम र साराको विवाह भएको धेरै वर्ष भइसकेको थियो। तिनीहरूले उरको आफ्नो आरामदायी घर छोडेर पालमा जीवन बिताइरहेका थिए। तर साराले गनगन गरिनन्‌ किनभने उनी यहोवामा भरोसा राख्थिन्‌।

सारालाई एउटा बच्चाको एकदमै चाहना थियो। त्यसैले उनले अब्राहामलाई यसो भनिन्‌: ‘यदि तपाईँबाट मेरी दासी हागारको सन्तान भएमा त्यो मेरै बच्चासरह हुनेछ।’ हागारले एउटा छोरा जन्माइन्‌। तिनको नाम इस्माएल राखियो।

धेरै वर्षपछिको कुरा हो, अब्राहाम ९९ र सारा ८९ वर्षकी हुँदा तिनीहरूकहाँ तीन जना पाहुना आए। अब्राहामले उनीहरूलाई रूखमुनि आराम गर्न अनि सँगै खाना खान भने। ती पाहुनाहरू को थिए, के तिमीलाई थाह छ? उनीहरू स्वर्गदूत थिए! उनीहरूले अब्राहामलाई यसो भने: ‘अर्को वर्ष यसै बेला तिम्री पत्नी साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्‌।’ साराले पालबाट यो कुरा सुनिरहेकी थिइन्‌। तिनले मनमनै हाँस्दै सोचिन्‌: ‘म बूढी भइसकेँ, के मैले साँच्चै सन्तानको सुख पाउन सकूँला र?’

यहोवा परमेश्‍वरले पठाउनुभएको स्वर्गदूतले प्रतिज्ञा गरेजस्तै अर्को वर्ष साराले एउटा छोरा जन्माइन्‌। अब्राहामले तिनको नाम इसहाक राखे, जसको अर्थ हो, “हाँसो।”

इसहाक पाँच वर्षजतिको हुँदा इस्माएलले इसहाकको खिसी गरेको साराले याद गरिन्‌। उनी आफ्नो छोराको रक्षा गर्न चाहन्थिन्‌। त्यसैले उनी अब्राहामकहाँ गइन्‌ अनि हागार र इस्माएललाई घरबाट निकालिदिन भनिन्‌। सुरुमा त अब्राहामले साराले भनेअनुसार गर्न मानेनन्‌। तर यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो: ‘साराको कुरा सुन किनकि तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ। तर म इस्माएलको पनि ख्याल राख्नेछु।’

“विश्‍वासैले गर्दा साराले गर्भधारण गर्ने शक्‍ति पाइन्‌ . . . किनकि प्रतिज्ञा गर्नुहुने व्यक्‍तिलाई तिनी विश्‍वासयोग्य ठान्थिन्‌।”—हिब्रू ११:११