सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १०

लुतकी पत्नीलाई सम्झ

लुतकी पत्नीलाई सम्झ

लुत आफ्नो काका अब्राहामसँगै कनानमा बस्थे। अब्राहाम र लुत दुवैको गाईवस्तु बढ्‌दै गएपछि तिनीहरूलाई सँगै बस्न ठाउँ पुगेन। त्यसैले अब्राहामले लुतलाई यसो भने: ‘हेर बाबु, अब हामीलाई एकै ठाउँमा बस्न गाह्रो भयो। तिमी कतातिर बस्न चाहन्छौँ, छान र म तिमीले छानेको ठाउँको अर्कोतिर जानेछु।’ अब्राहामले आफ्नो मात्र फाइदा नखोजेको के तिमीले याद गऱ्‍यौ?

लुतले सदोम भनिने ठाउँनजिकै एउटा राम्रो इलाका देखे। त्यहाँ प्रशस्त पानी र हरियो घाँस थियो। त्यसैले तिनले त्यो ठाउँ छाने र आफ्नो परिवारसँगै त्यहाँ बस्न थाले।

सदोम र त्यसनजिकैको सहर गमोराका मानिसहरू असाध्यै खराब थिए। त्यहाँका मानिसहरू यत्ति खराब थिए कि यहोवाले ती सहरहरू नाश गर्ने निर्णय गर्नुभयो। तर परमेश्‍वर लुत र तिनको परिवारलाई बचाउन चाहनुहुन्थ्यो। त्यसैले उहाँले दुई जना स्वर्गदूत पठाउनुभएर तिनीहरूलाई यस्तो चेतावनी दिनुभयो: ‘उठ! यस सहरबाट झट्टै निस्किहाल! यहोवा परमेश्‍वरले यो सहर नाश गर्नुहुनेछ!’

लुत तुरुन्तै निस्केनन्‌। तिनले आलेटाले गरिरहे। त्यसैले ती स्वर्गदूतहरूले लुत, तिनकी पत्नी र तिनका दुई छोरीको हातै समातेर सहरबाहिर पुऱ्‍याए र यसो भने: ‘ल, आफ्नो ज्यान जोगाउन यहाँबाट तुरुन्तै भागिहाल! तिमीहरूले पछाडि फर्केर नहेर्नू, नत्र तिमीहरू मर्नेछौ!’

तिनीहरू जोअर भन्‍ने सहरमा पुगेपछि यहोवा परमेश्‍वरले सदोम र गमोरामाथि आगो र गन्धक बर्साउनुभयो। ती दुई सहरलाई परमेश्‍वरले पूरै नाश गर्नुभयो। अटेरी हुँदै जब लुतकी पत्नीले पछाडि फर्केर हेरिन्‌ तब तिनी नुनको खम्बा भइन्‌! तर लुत र तिनका छोरीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरे र तिनीहरू बचे। लुतकी पत्नी अटेरी भएकोमा तिनीहरू असाध्यै दुःखी भएको हुनुपर्छ। तर तिनीहरू यहोवा परमेश्‍वरको आज्ञा पालन गरेकोमा चाहिँ खुसी भए।

“लुतकी पत्नीलाई सम्झ!”—लुका १७:३२