सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १२

याकुबले ज्येष्ठ अधिकार पाए

याकुबले ज्येष्ठ अधिकार पाए

इसहाक रिबेकासित विवाह गर्दा ४० वर्षका थिए। तिनी रिबेकालाई असाध्यै माया गर्थे। केही समयपछि तिनीहरूका जुम्ल्याहा छोरा भए।

जेठो छोराको नाम एसाव र कान्छोको नाम याकुब थियो। एसाव वनतिर डुलिहिँड्‌थे र तिनी सिकार खेल्न खप्पिस थिए। याकुबचाहिँ घरमै बस्न रुचाउँथे।

त्यतिबेला बुबाको मृत्युपछि जेठो छोराले बुबाको धेरैजसो जग्गाजमिन र धनसम्पत्ति पाउँथ्यो। त्यसलाई पैतृक सम्पत्ति भनिन्थ्यो। इसहाकको परिवारमा चाहिँ यहोवाले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पनि पैतृक सम्पत्तिमा पर्थ्यो। एसावलाई त्यसको मतलब थिएन तर याकुबलाई भने त्यसको महत्त्व थाह थियो।

एकदिन एसाव सिकारबाट लखतरान भएर घर फर्कँदा तिनलाई याकुबले पकाइरहेको मीठो खानाको मगमग बास्ना आयो। अनि तिनले यसो भने: ‘झट्टै मलाई त्यो रातो सुरुवा अलिकता देऊ! म भोकले मर्नै लागिसकेँ!’ त्यसपछि याकुबले यसो भने: ‘म दिन्छु तर पहिला मलाई ज्येष्ठ अधिकार दिनुहोस्‌।’ एसावले यसो भने: ‘त्यो ज्येष्ठ अधिकारको मलाई के काम? त्यो तिमी नै लेऊ। मलाई त्यो सुरुवा देऊ।’ तिम्रो विचारमा एसावले जे गरे, के त्यो सही थियो? अहँ, थिएन। एसावले जाबो एक कचौरा सुरुवाको लागि एकदमै बहुमूल्य कुरा बेचे।

इसहाक धेरै बूढो भइसकेका थिए र आफ्नो जेठो छोरालाई आशिष्‌ दिने समय भएको थियो। तर रिबेका आफ्नो कान्छो छोरा याकुबले आशिष्‌ पाएको चाहन्थिन्‌, त्यसैले तिनले याकुबलाई मदत गरिन्‌। यो कुरा थाह पाएपछि एसाव धेरै रिसाए र तिनले आफ्नो जुम्ल्याहा भाइ याकुबलाई मार्ने योजना बनाए। इसहाक र रिबेका याकुबलाई बचाउन चाहन्थे। त्यसैले तिनीहरूले याकुबलाई यसो भने: ‘यहाँबाट भाग र एसावको रिस शान्त नभएसम्म हारानमा तिम्रो मामा लाबानको घरमा बस।’ याकुबले आफ्ना आमाबुबाको कुरा सुने र आफ्नो ज्यान जोगाउन भागे।

“कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र? साँच्चै, मानिसले आफ्नो ज्यानको सट्टामा के दिन सक्छ र?”—मर्कुस ८:३६, ३७