सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १५

यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन

यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन

युसुफ झ्यालखानामा छँदा मिश्रका राजा फारोले सपनाहरू देखे तर त्यसको अर्थ कसैले खोलिदिन सकेन। युसुफले तिनको सपनाको अर्थ खोलिदिन सक्छन्‌ भनेर फारोका एक जना सेवकले तिनलाई बताए। फारोले तुरुन्तै युसुफलाई झ्यालखानाबाट ल्याउन मानिसहरू पठाए।

फारोले युसुफलाई सोधे: ‘के तिमीले मेरो सपनाको अर्थ खोलिदिन सक्छौ?’ युसुफले फारोलाई भने: ‘मिश्रभरि सात वर्ष प्रशस्त उब्जनी हुनेछ। तर त्यसपछि सात वर्षसम्म अनिकाल पर्नेछ। अब एक जना बुद्धिमान्‌ मानिस खोज्नुहोस्‌ र उसलाई अन्‍न भण्डार गर्ने जिम्मा दिनुहोस्‌ ताकि अनिकालले गर्दा तपाईँका मानिसहरू भोकभोकै नपरून्‌।’ तब फारोले भने: ‘म तिमीलाई नै रोज्छु! तिमी मिश्रमा मपछिको सबैभन्दा शक्‍तिशाली व्यक्‍ति हुनेछौ।’ युसुफले फारोको सपनाको अर्थ कसरी खोलिदिन सके? यहोवा परमेश्‍वरले युसुफलाई मदत गर्नुभएको थियो।

तिनले सात वर्षसम्म अन्‍न बटुलेर भण्डार गरे। त्यसपछि युसुफले भनेझैँ पृथ्वीभरि अनिकाल पऱ्‍यो। चारैतिरका मानिसहरू युसुफसित अन्‍न किन्‍न मिश्र आए। तिनका बुबा याकुबले मिश्रमा अन्‍न छ भन्‍ने सुनेपछि आफ्ना दस जना छोरालाई अन्‍न किन्‍न पठाए।

याकुबका छोराहरू युसुफकहाँ गए र तिनले उनीहरूलाई चिनिहाले। तर तिनका दाइहरूले भने तिनलाई चिनेनन्‌। युसुफले सानो छँदा सपनामा देखेजस्तै तिनका दाइहरूले तिनलाई दण्डवत्‌ गरे। युसुफ आफ्ना दाइहरूको मन अझै घृणाले भरिएको छ कि भनेर जान्‍न चाहन्थे। त्यसैले युसुफले उनीहरूलाई भने: “तिमीहरू जासुस हौ! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ!” उनीहरूले भने: ‘होइन हजुर, हामी कनानका हौँ र हामी १२ दाजुभाइ छौँ। अहिले कान्छो भाइ बुबासितै छ र अर्को भाइचाहिँ मरिसक्यो।’ त्यसपछि युसुफले भने: ‘जाऊ, तिमीहरूको कान्छो भाइलाई मकहाँ लिएर आऊ अनि मात्र म तिमीहरूको विश्‍वास गर्नेछु।’ त्यसैले उनीहरू आफ्नो बुबाकहाँ फर्के।

आफूकहाँ भएको अन्‍न सिद्धिएपछि याकुबले आफ्ना छोराहरूलाई फेरि मिश्र पठाए। यसपटक उनीहरूले आफूसँग कान्छो भाइ बिन्यामिनलाई लिएर गए। युसुफले दाइहरूलाई जाँच्न बिन्यामिनको धोक्रोमा आफ्नो चाँदीको कचौरा लुकाए र उनीहरूलाई चोरेको आरोप लगाए। युसुफका नोकरहरूले बिन्यामिनको धोक्रोमा कचौरा भेट्टाउँदा उनीहरू जिल्ल परे। त्यसपछि उनीहरूले ‘बिन्यामिनको सट्टा हामीलाई सजाय दिनुहोस्‌’ भनेर बिन्ती गरे।

अबचाहिँ युसुफ दाइहरू परिवर्तन भएछन्‌ भन्‍ने कुरामा पक्का भए। तिनले आफ्नो मन थाम्नै सकेनन्‌। तिनी डाँको छोडेर रोए। अनि आफ्ना दाइहरूलाई भने: “म युसुफ हुँ। के मेरो बुबा जीवितै हुनुहुन्छ?” तिनका दाजुभाइ अक्क न बक्क भए। तर तिनले उनीहरूलाई भने: ‘तपाईँहरूले मसँग गर्नुभएको व्यवहार सम्झेर दुःख नमान्‍नुहोस्‌। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्‍वरले मलाई यहाँ पठाउनुभएको हो। अब झट्टै गएर बुबालाई यहाँ ल्याउनुहोस्‌।’

बुबालाई यो खुसीको खबर सुनाउन र मिश्रमा लिएर आउन उनीहरू घर फर्किए। वर्षौँपछि युसुफ र तिनको बुबाको पुनर्मिलन भयो।

“यदि तिमीहरूले मानिसहरूका अपराधहरू क्षमा गरेनौ भने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”—मत्ति ६:१५