पाठ १७
मोसाले यहोवा परमेश्वरको उपासना गर्ने निर्णय गरे
मिश्रमा याकुबको परिवारलाई इस्राएलीहरू भनिन्थ्यो। याकुब र युसुफको मृत्युपछि नयाँ फारोले शासन गर्न थाले। इस्राएलीहरू मिश्रीहरूभन्दा शक्तिशाली हुन थालेकोले उनी डराए। त्यसैले यी फारोले इस्राएलीहरूलाई आफ्नो दास बनाए। उनले तिनीहरूलाई इँटा बनाउन र खेतमा काम गर्न लगाए। मिश्रीहरूले इस्राएलीहरूलाई जति-जति काममा जोताए, उति-उति तिनीहरूको सङ्ख्या बढ्न थाल्यो। फारोलाई यो कुरा मन परेन। त्यसैले उनले इस्राएलीहरूबाट जन्मेका छोराजतिलाई मार्ने आदेश दिए। इस्राएलीहरू कत्ति डराए होलान्!
योकेबेद नाम गरेकी एक जना इस्राएली स्त्रीले एउटा सुन्दर छोरा जन्माइन्। आफ्नो छोरालाई बचाउन तिनले उसलाई टोकरीमा राखिन् र त्यो टोकरीलाई नाइल नदीको किनारामा भएका नर्कटहरूको बीचमा लुकाइन्। ती बालककी दिदी मरियम आफ्नो भाइलाई के होला भनेर हेर्न टाढै उभिरहिन्।
फारोकी छोरी नाइल नदीमा नुहाउन आउँदा उनले त्यो टोकरी देखिन्। टोकरी खोलेर हेर्दा त्यसमा रोइरहेको बच्चा थियो। यो देखेर उनलाई साह्रै माया लाग्यो। मरियमले सोधी:
‘यो बाबुलाई दूध खुवाउन धाईआमा बोलाएर ल्याऊँ?’ फारोकी छोरीले ‘हुन्छ’ भनेपछि मरियमले आफ्नी आमा योकेबेदलाई बोलाएर ल्याई। फारोकी छोरीले तिनलाई भनिन्: ‘यो बच्चा लिएर जाऊ अनि उसलाई दूध खुवाऊ। म तिमीलाई ज्याला दिनेछु।’बालक हुर्केपछि योकेबेदले उसलाई फारोकी छोरीकहाँ लगिन्। अनि फारोकी छोरीले त्यो बालकको नाम मोसा राखिन् र उसलाई आफ्नो छोराजस्तै गरी पालिन्। मोसा एक जना राजकुमारको रूपमा हुर्किए। तिनी आफूले चाहेको जे पनि पाउन सक्थे। तर मोसाले यहोवा परमेश्वरलाई कहिल्यै बिर्सिएनन्। तिनलाई आफू मिश्री नभई इस्राएली हुँ भनेर थाह थियो। अनि तिनले यहोवा परमेश्वरको सेवा गर्ने निर्णय गरे।
चालीस वर्षको हुँदा मोसाले आफ्ना मानिसहरूलाई मदत गर्ने निर्णय गरे। तिनले एक जना मिश्रीले एक जना इस्राएली दासलाई कुटिरहेको देखेपछि त्यस मिश्रीलाई यत्ति बेस्सरी हाने कि ऊ मऱ्यो। मोसाले त्यस मिश्रीको लास बालुवामा पुरिदिए। फारोले यो कुरा थाह पाएपछि मोसालाई मार्न खोजे। तर मोसा भागेर मिद्यानीहरूको देशमा गए। त्यहाँ यहोवाले तिनको ख्याल राख्नुभयो।
“विश्वासैले गर्दा मोसाले . . . फारोकी छोरीको छोरा कहलाइन इन्कार गरे अनि . . . परमेश्वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे।”—हिब्रू ११:२४, २५