पाठ २६
बाह्र जना जासुस
इस्राएलीहरू सिनै डाँडा छोडेर पारानको निर्जनभूमि हुँदै कादेस गए। त्यहाँ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: ‘मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशमा १२ जना जासुसहरू पठाउनू। तिनीहरू हरेक कुलबाट एक-एक जना हुनुपर्छ।’ त्यसैले तिनले १२ जना पुरुष छानेर यसो भने: ‘कनानमा गएर त्यहाँको जमिन उर्वर छ कि छैन, हेरेर आउनू। त्यहाँका मानिसहरू बलिया छन् कि कमजोर, पालमा बस्छन् कि सहरहरूमा, पत्ता लगाउनू।’ त्यसैले तिनीहरू कनानको जासुसी गर्न निस्के। तिनीहरूमध्ये यहोसु र कालेब पनि थिए।
ती जासुसहरू ४० दिनपछि अनार, अन्जिर र अङ्गुर लिएर फर्के। तिनीहरूले यस्तो खबर ल्याए: ‘त्यो देश साँच्चै राम्रो छ तर त्यहाँका मानिसहरू एकदमै बलिया छन्। त्यहाँका सहरहरू ठूलठूला पर्खालले घेरिएका छन्।’ त्यसपछि कालेबले भने: ‘हामी त्यस देशलाई जित्न सक्छौँ। त्यसैले तुरुन्तै कब्जा गर्न जाऔँ!’ कालेबले किन त्यसो भने, के तिमीलाई थाह छ? कालेब र यहोसु यहोवामा भरोसा राख्थे। तर बाँकी १० जना जासुसले भने: ‘होइन! त्यहाँका मानिसहरू राक्षसहरूजस्तै बडेमाका छन्। तिनीहरूको अगाडि हामी फट्याङ्ग्राजस्तै देखियौँ।’
यो सुनेर इस्राएलीहरू निराश भए। तिनीहरूले गनगन गर्दै आपसमा यसो भने: ‘अब अर्कै एक जना नाइके छानौँ र मिश्र फर्कौँ! त्यस देशका मानिसहरूले हामीलाई मार्नेछन् भने त्यहाँ किन जानु।’ यहोसु र कालेबले भने: ‘यहोवाको आज्ञा मान। त्यहाँका मानिसहरूसित नडराओ। उहाँले हाम्रो रक्षा गर्नुहुनेछ।’ तर
इस्राएलीहरूले तिनीहरूको कुरा सुनेनन्। उनीहरूले यहोसु र कालेबलाई मार्ने सल्लाहसमेत गरे।परमेश्वरले के गर्नुभयो? उहाँले मोसालाई भन्नुभयो: ‘मैले इस्राएलीहरूको लागि यति धेरै गरिसकेँ तैपनि तिनीहरू मेरो आज्ञा मान्दैनन्। त्यसैले तिनीहरू यही निर्जनभूमिमा ४० वर्षसम्म रहनेछन् र मर्नेछन्। मैले तिनीहरूलाई दिन्छु भनेर कसम खाएको देशमा तिनीहरूका छोराछोरीहरू, यहोसु र कालेब मात्र जान पाउनेछन्।’
“तिमीहरू किन यतिबिघ्न डराउँछौ? तिमीहरूको विश्वास कत्ति कमजोर!”—मत्ति ८:२६