सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३०

राहाबले जासुसहरूलाई लुकाइन्‌

राहाबले जासुसहरूलाई लुकाइन्‌

इस्राएली जासुसहरू यरिहो जाँदा तिनीहरू राहाब नाम गरेकी स्त्रीको घरमा बसेका थिए। यरिहोका राजाले यो खबर पाएपछि उनले सिपाहीहरूलाई राहाबको घरमा पठाए। राहाबले ती दुई जासुसलाई आफ्नो घरको छतमा लुकाइन्‌ र सिपाहीहरूलाई अर्कैतिर पठाइदिइन्‌। तिनले जासुसहरूलाई भनिन्‌: ‘म तपाईँहरूलाई मदत गर्छु किनकि मलाई थाह छ, यहोवा परमेश्‍वर तपाईँहरूको साथमा हुनुहुन्छ र तपाईँहरूले यो देशलाई हराउनुहुनेछ। कृपया कसम खानुहोस्‌, तपाईँहरूले मेरो परिवारलाई बचाउनुहुनेछ।’

ती जासुसहरूले राहाबलाई भने: ‘हामी कसम खान्छौँ, तिम्रो घरमा भएको कसैले पनि ज्यान गुमाउनेछैन। अनि तिमीले आफ्नो घरको झ्यालमा रातो डोरी बाँध्नु र तिम्रो घरमा भएको सबै जना बच्नेछ।’

राहाबले ती जासुसहरूलाई आफ्नो घरको झ्यालबाट तल ओरालिन्‌। तिनीहरू पहाडी इलाकातिर गए र तीन दिनसम्म लुकेर बसे। त्यसपछि मात्र तिनीहरू यहोसुकहाँ फर्के। इस्राएलीहरूले यर्दन नदी पार गरे र यरिहो सहरलाई आक्रमण गर्न तयारी गरे। तिनीहरूले जितेको पहिलो सहर यरिहो थियो। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई हरेक दिन त्यस सहरलाई एक फन्को लगाउन भन्‍नुभयो। सातौँ दिनमा चाहिँ तिनीहरूले सात चोटि फन्को लगाउनुपर्ने थियो। त्यसपछि पुजारीहरूले सिङ फुके र लडाकुहरू ठूलो स्वरले कराए। सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो! तर पर्खालमाथि बनाइएको राहाबको घरचाहिँ केही भएन। राहाबले यहोवा परमेश्‍वरमाथि भरोसा राखेकीले तिनी र तिनको परिवार बच्यो।

“त्यसैगरि . . . राहाबले सन्देशवाहकहरूलाई आफ्नो घरमा स्वागत गरेर अर्कै बाटोबाट पठाइदिएकी हुनाले नै तिनी पनि कामद्वारा धर्मी ठहरिएकी होइनन्‌ र?”—याकुब २:२५