सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३४

गिदोनले मिद्यानीहरूलाई हराए

गिदोनले मिद्यानीहरूलाई हराए

इस्राएलीहरू पछि फेरि यहोवा परमेश्‍वरबाट टाढिए र झूटा देवताहरू पुज्न थाले। मिद्यानीहरूले तिनीहरूलाई सात वर्षसम्म दुःख दिए। मिद्यानीहरू तिनीहरूको वस्तुभाउ चोर्थे र बाली नष्ट गरिदिन्थे। मिद्यानीहरूबाट बच्न तिनीहरू गुफा र डाँडामा लुक्थे। तिनीहरूले यहोवा परमेश्‍वरलाई गुहारे। त्यसैले उहाँले गिदोन नाम गरेको जवान मानिसकहाँ एक जना स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले भने: ‘यहोवा परमेश्‍वरले तिमीलाई वीर योद्धा हुन रोज्नुभएको छ।’ गिदोनले यस्तो प्रश्‍न गरे: ‘इस्राएलीहरूलाई म कसरी छुटाउन सक्छु र? म एक साधारण मानिस हुँ।’

यहोवा परमेश्‍वरले गिदोनलाई नै रोज्नुभएको हो भनेर तिनले कसरी थाह पाउन सक्थे? भुइँमा अलिकति ऊन राखेर तिनले यहोवा परमेश्‍वरलाई भने: ‘शीत परेर यो ऊन मात्रै भिज्यो तर वरिपरिको भुईँचाहिँ भिजेन भने तपाईँले इस्राएलीहरूलाई ममार्फत बचाउनुहुनेछ भनेर बुझ्नेछु।’ भोलिपल्ट बिहान ऊन पूरै भिजेको थियो तर भुइँ सुक्खा थियो! गिदोनले फेरि उहाँलाई भोलिपल्ट बिहान ऊन मात्र सुक्खा होस्‌ र वरिपरिको भुईँचाहिँ शीतले भिजोस्‌ भनेर आग्रह गरे। त्यस्तै भयो। अब तिनी परमेश्‍वरले आफूलाई रोज्नुभएको हो भनेर पक्का भए। तिनी सिपाहीहरूलाई जम्मा गरेर मिद्यानीहरूसित लड्‌न गए।

यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: ‘म इस्राएलीहरूलाई विजयी बनाउनेछु। तर तिमीसँग अति धेरै सिपाही भएकोले तिमीलाई आफ्नै बलले जित हासिल गरेँजस्तो लाग्ला। डराएकाहरूलाई घर फर्किन भन्‍नू।’ तब २२ हजार सिपाही घर फर्के र १० हजार मात्र बाँकी रहे। त्यसपछि उहाँले भन्‍नुभयो: ‘तिमीसँग अझै धेरै सिपाही छन्‌। त्यसैले तिनीहरूलाई तल खोलामा लैजाऊ र तिनीहरूलाई पानी पिउन लगाऊ। पानी पिउँदा शत्रुहरू आइरहेका छन्‌ कि भनेर चनाखो रहनेहरूलाई मात्र राख।’ जम्मा ३०० जना मात्र चनाखो रहे। यी थोरै पुरुषले १ लाख ३५ हजार मिद्यानी सिपाहीलाई हराउनेछन्‌ भनेर परमेश्‍वरले वाचा गर्नुभयो।

त्यो रात यहोवा परमेश्‍वरले गिदोनलाई भन्‍नुभयो: ‘मिद्यानीहरूलाई आक्रमण गर्ने समय अहिल्यै हो!’ गिदोनले प्रत्येक सिपाहीलाई एउटा-एउटा सिङ र भित्र राँको हालेको एउटा-एउटा गाग्रो दिए। तिनले भने: ‘मलाई हेर! म जे गर्छु, तिमीहरू पनि त्यसै गर।’ तब गिदोनले सिङ फुके, गाग्रो फुटाए, राँको हल्लाए र यसो भनेर कराए: “यहोवाको र गिदोनको तरबार!” तिनका ३०० जना मानिसले पनि त्यसै गरे। मिद्यानीहरू डराएर तितरबितर भए। खलबली मच्चिएपछि तिनीहरूले एकअर्कालाई आक्रमण गर्न थाले। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट फेरि बचाउनुभयो।

“ताकि हामीले पाएको असाधारण शक्‍ति हाम्रो आफ्नै होइन तर परमेश्‍वरको हो भनेर प्रकट होस्‌।”—२ कोरिन्थी ४:७