सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४१

दाउद र साउल

दाउद र साउल

दाउदले गोल्यतलाई मारेपछि राजा साउलले तिनलाई सेनाको नाइके बनाए। तिनले थुप्रै लडाइँ जिते र मानिसहरूमाझ लोकप्रिय भए। तिनी लडाइँ जितेर फर्कँदा स्त्रीहरू यसरी नाच्दै-गाउँदै बाहिर निस्कन्थे: ‘साउलले हजारौँलाई मारे तर दाउदले लाखौँलाई मारे।’ साउलले दाउदको डाह गरे र तिनलाई मार्न खोजे।

दाउद राम्ररी वीणा बजाउँथे। एकदिन तिनी साउलको लागि वीणा बजाइरहँदा साउलले तिनलाई भालाले हिर्काए। तिनले छले र भाला भित्तामा गड्यो। पछि साउलले थुप्रै चोटि तिनलाई मार्न खोजे। आखिर तिनी भागेर निर्जनभूमिमा लुके।

साउल ३ हजार सिपाही लिएर दाउदलाई खोज्न निस्के। एकचोटि दाउद र तिनका मानिसहरू लुकिरहेको गुफामै साउल पनि पुगे। दाउदका मानिसहरूले यसो भन्दै खासखुस गरे: ‘तपाईँले साउललाई मार्ने मौका यही हो।’ दाउद बिस्तारै साउल भएतिर गए र उनले चालै नपाउनेगरि उनको अलखाको एक छेउ काटे। तर पछि दाउदलाई यहोवा परमेश्‍वरको अभिषिक्‍त जनको अनादर गरेकोमा एकदमै नमीठो लाग्यो। तिनले आफ्ना मानिसहरूलाई साउलमाथि आक्रमण गर्न दिएनन्‌। पछि तिनले साउललाई ठूलो स्वरले बोलाउँदै तिनले मौका पाए पनि साउललाई मारेनन्‌ भनेर बताए। के साउलले आफ्नो मन बदले?

अहँ, साउलले दाउदलाई खोज्न छोडेनन्‌। एक रात दाउद र तिनका भान्जा अबिसै साउलको छाउनीमा पसे। साउलका सुरक्षागार्ड अब्नेर पनि सुतिरहेका थिए। अबिसैले भने: ‘साउललाई मार्ने मौका यही हो। मलाई अनुमति दिनुहोस्‌।’ दाउदले भने: ‘यहोवा परमेश्‍वरले नै उहाँको न्याय गर्नुहुनेछ। उहाँको भाला र सुराही मात्र लिएर जाऔँ।’

दाउद साउलको छाउनीको पारिपट्टि गएर डाँडाको टुप्पामा उभिए। तिनी यसो भनेर कराए: ‘अब्नेर! तिमीले किन तिम्रा महाराजको सुरक्षा गरेनौ? राजाको भाला र सुराही कहाँ छ?’ साउलले तिनको स्वर चिने र भने: ‘तिमीले मलाई मार्न सक्थ्यौ तर मलाई केही गरेनौ। मपछिको इस्राएलको राजा तिमी नै हौ।’ साउल आफ्नो महलमा फर्के। तर उनको परिवारका सबैले दाउदलाई घृणा गर्दैनथे।

“सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर। प्रियहरू हो, बदला नलेओ बरु परमेश्‍वरको क्रोधलाई ठाउँ देओ।”—रोमी १२:१८, १९