सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ४५

इस्राएल दुई भाग हुन्छ

इस्राएल दुई भाग हुन्छ

सुलेमानले यहोवा परमेश्‍वरको उपासना गरुन्जेल इस्राएलमा शान्ति थियो। तर पछि तिनले मूर्तिपूजा गर्ने थुप्रै विदेशी स्त्रीसित विवाह गरे। सुलेमान बिस्तारै परमेश्‍वरदेखि टाढिए र मूर्तिपूजा पनि गर्न थाले। उहाँ तिनीसित रिसाउनुभयो। उहाँले सुलेमानलाई भन्‍नुभयो: ‘म इस्राएललाई तिम्रो परिवारबाट खोस्नेछु र दुई भागमा विभाजित गर्नेछु। म तिम्रो राज्यको धेरैजसो भाग तिम्रा सेवकहरूमध्ये एक जनालाई दिनेछु तर तिम्रो परिवारले भने सानो भागमा मात्रै शासन गर्नेछ।’

यहोवाले अर्को तरिकामा पनि आफ्नो निर्णय स्पष्ट पार्नुभयो। सुलेमानका एक सेवक यरोबामले बाटोमा हिँड्‌दै गर्दा भविष्यवक्‍ता अहियाहलाई भेटे। अहियाहले आफ्नो लुगा च्यातेर १२ टुक्रा पारे र यरोबामलाई भने: ‘यहोवाले इस्राएललाई सुलेमानको परिवारबाट खोस्नुहुनेछ र त्यसलाई दुई भागमा विभाजित गर्नुहुनेछ। यो १० टुक्रा तिमी लेऊ किनकि तिमीले १० कुलमाथि शासन गर्नेछौ।’ यो सुनेपछि सुलेमानले यरोबामलाई मार्न खोजे। त्यसैले उनी भागेर मिश्र गए। पछि सुलेमानको मृत्यु भयो। तिनका छोरा रहबाम राजा भए। त्यसपछि यरोबाम इस्राएल फर्के।

इस्राएलका नाइकेहरूले रहबामलाई भने: ‘तपाईँले मानिसहरूलाई राम्रो व्यवहार गर्नुभयो भने उनीहरू तपाईँप्रति वफादार रहनेछन्‌।’ तर तिनका जवान साथीहरूले भने: ‘तपाईँले मानिसहरूसित कठोर व्यवहार गर्नुपर्छ! उनीहरूलाई काममा दलाउनुहोस्‌!’ तिनले साथीहरूको कुरा सुनेर मानिसहरूसित क्रूर व्यवहार गरे। त्यसैले मानिसहरूले तिनको विद्रोह गर्न थाले। तिनीहरूले यरोबामलाई १० कुलको राजा बनाए र उनको राज्य इस्राएल राज्य भनेर चिनिन थाल्यो। अर्को दुई वटा कुलचाहिँ यहुदा राज्य भनेर चिनिन थाल्यो र तिनीहरू रहबामप्रति वफादार रहे। यसरी इस्राएलको १२ कुल दुई भाग भयो।

यरोबामका प्रजा उपासना गर्न रहबामको राज्यमा पर्ने यरुसलेम जान्थे। तर यरोबाम तिनीहरू त्यहाँ गएको चाहँदैनथे। किन, तिमीलाई थाह छ? उनलाई आफ्नो प्रजाले विद्रोह गरेर रहबामको साथ दिने हुन्‌ कि भन्‍ने डर थियो। त्यसैले उनले सुनको दुई वटा बाछा बनाएर आफ्नो प्रजालाई भने: ‘यरुसलेम धेरै टाढा छ। त्यसैले तिमीहरू यहीँ उपासना गर्न सक्छौ।’ तिनीहरूले सुनको बाछाको उपासना गर्न थाले र फेरि यहोवालाई बिर्सिए।

“विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिओ किनकि यस्तो जोडा मिल्दैन। सुकर्म र कुकर्मबीच के मेल? . . . वा विश्‍वास गर्ने र विश्‍वास नगर्नेबीच के समानता?”—२ कोरिन्थी ६:१४, १५