सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ५१

एक योद्धा र एउटी ठिटी

एक योद्धा र एउटी ठिटी

एउटी इस्राएली ठिटी आफ्नो घरबाट धेरै टाढा सिरिया भन्‍ने ठाउँमा थिइन्‌। उनलाई सिरियाली सेनाले जबरजस्ती उनको परिवारबाट ल्याएका थिए। उनी सेनापति नामानकी पत्नीकी दासी थिइन्‌। वरपरका मानिसहरूले यहोवाको उपासना नगरे पनि उनी उहाँको उपासना गर्थिन्‌।

नामानलाई छालाको गम्भीर रोग लागेको थियो। तिनलाई सधैँ दुखिरहन्थ्यो। ती ठिटी तिनलाई मदत गर्न चाहन्थिन्‌। उनले नामानकी पत्नीलाई भनिन्‌: ‘तपाईँको पतिलाई निको पारिदिन सक्ने व्यक्‍ति म चिन्छु। इस्राएलमा एलिसा भन्‍ने यहोवाका एक जना भविष्यवक्‍ता छन्‌। उनले निको पारिदिन सक्छन्‌।’

नामानकी पत्नीले ती ठिटीको कुरा आफ्नो पतिलाई बताइन्‌। नामान निको हुन जे पनि गर्न तयार थिए। त्यसैले तिनी इस्राएलमा एलिसाको घर गए। नामानले आफू ठूलो मान्छे भएकोले एलिसाले भव्य स्वागत गर्नेछन्‌ भन्ठानेका थिए। तर एलिसा तिनलाई भेट्‌न आएनन्‌। बरु एक जना नोकरमार्फत यस्तो सन्देश पठाए: ‘यर्दन नदीमा गएर सात पटक डुबुल्की मार्नुहोस्‌ अनि तपाईँ निको हुनुहुनेछ।’

यो सुनेर नामान निराश भए। तिनले भने: ‘ती भविष्यवक्‍ताले आफ्नो परमेश्‍वरको नाम पुकारेर अनि ममाथि हात हल्लाएर निको पारिदिनेछन्‌ भन्ठानेको थिएँ। उल्टो मलाई इस्राएलको यर्दन नदीमा जान पो भन्छन्‌। सिरियामा त्योभन्दा राम्रो नदी छैन र? म त्यहीँ डुबुल्की मारेर शुद्ध हुन सक्दिनँ र?’ यति भनेर नामान रिसको झोँकमा एलिसाको घरबाट निस्किए।

नामानका सेवकहरूले तिनलाई राम्ररी सोच्न मदत गरे। तिनीहरूले भने: ‘तपाईँ निको हुनको लागि जे पनि गर्न तयार हुनुहुन्‍न र? ती भविष्यवक्‍ताले तपाईँलाई गाह्रो काम गर्न भनेका छैनन्‌। गएर नदीमा डुबुल्की मार्नुहोस्‌।’ नामानले तिनीहरूको कुरा सुने। तिनले यर्दन नदीमा गएर सात पटक डुबुल्की मारे। सातौँ पटक डुबुल्की मारेर बाहिर निस्कँदा तिनी पूरै निको भए। तिनी एकदमै खुसी भए र एलिसालाई धन्यवाद दिन उनीकहाँ फर्किए। नामानले भने: ‘अब मैले थाह पाएँ, यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।’ नामान निको भएर घर फर्कँदा ती इस्राएली ठिटीलाई कस्तो लाग्यो होला?

“तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो।”—मत्ति २१:१६