पाठ ५२
यहोवा परमेश्वरको अग्निमय सेना
सिरियाका राजा बेन-हददले इस्राएलमाथि आक्रमण गरी नै रहे। तर भविष्यवक्ता एलिसाले हरेक पटक इस्राएलका राजालाई होसियार गराएकोले तिनी बच्न सफल हुन्थे। त्यसैले बेन-हददले एलिसालाई पक्रन खोजे। एलिसा दोथान भन्ने सहरमा भएको कुरा थाह पाएपछि तिनले एलिसालाई पक्रन सिरियाली सेनालाई पठाए।
सिरियालीहरू त्यो रात दोथानमा आए। भोलिपल्ट बिहान एलिसाको चाकर बाहिर निस्कँदा सहरलाई ठूलो सेनाले घेरेको देखे। उनी निकै डराए र यसरी कराए: “मालिक! अब हामी के गरौँ?” एलिसाले भने: “तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्।” त्यति नै बेला यहोवाले ती चाकरको आँखा खोलिदिनुभयो र उनले चारैतिरका डाँडा अग्निमय घोडाहरू र रथहरूले भरिएको देखे।
सिरियाली सेनाले एलिसालाई पक्रन खोज्दा तिनले यस्तो प्रार्थना गरे: ‘हे यहोवा, बिन्ती छ, यिनीहरूलाई अन्धो बनाइदिनुहोस्।’ एलिसाले बिन्ती गरेझैँ भयो। ती सिपाहीहरूले देख्न त देखिरहेका थिए तर तिनीहरू कहाँ छन् भनेर थाह पाउनै सकेनन्। एलिसाले ती सिपाहीहरूलाई भने: ‘तिमीहरू गलत सहरमा आइपुग्यौ।
मेरो पछि आओ। तिमीहरूले खोजेको मानिसकहाँ म तिमीहरूलाई पुऱ्याइदिन्छु।’ एलिसाले तिनीहरूलाई इस्राएलका राजा बस्ने ठाउँ सामरिया लगिदिए।सिरियालीहरूले आफूहरू कहाँ छौँ भनेर थाह पाउँदा ढिला भइसकेको थियो। इस्राएलका राजाले एलिसालाई सोधे: “के म यिनीहरूलाई मारिदिऊँ?” के एलिसाले आफूलाई हानि पुऱ्याउन खोज्ने ती मानिसहरूसँग बदला लिने मौका यही हो भनेर सोचे? अहँ, सोचेनन्। बरु एलिसाले भने: ‘यिनीहरूलाई नमार्नुहोस्। यिनीहरूलाई रोटी र पानी खान दिनुहोस् अनि आफ्नो बाटो फर्काइदिनुहोस्।’ त्यसैले राजाले तिनीहरूलाई ठूलो भोज दिए र घर फर्काइदिए।
“हामी परमेश्वरमा पूरा भरोसा राख्छौँ कि उहाँको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।”—१ युहन्ना ५:१४