सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ६१

तिनीहरूले ढोगेनन्‌

तिनीहरूले ढोगेनन्‌

राजा नबुकद्‌नेजरले मूर्तिको सपना देखेको केही समयपछि सुनको ठूलो मूर्ति बनाए। तिनले त्यो मूर्ति दुराको मैदानमा स्थापना गरे र सद्रक, मेसक र अबेद्‌नेगोलगायत सबै प्रमुखलाई त्यस मूर्तिको अगाडि भेला हुन भने। त्यसपछि राजाले यस्तो आदेश दिए: ‘जब तिमीहरूले बिगुल, वीणा र ठूलो बाँसुरी बजाएको सुन्छौ, तब तिमीहरूले भुईँसम्मै घोप्टो परेर मूर्तिलाई ढोग्नू। जसले ढोग्दैन, उसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।’ ती तीन हिब्रूले मूर्तिलाई ढोग्ने थिए कि तिनीहरूले यहोवाको मात्र उपासना गर्ने थिए?

राजाले बाजा बजाउने आदेश दिए। सद्रक, मेसक र अबेद्‌नेगोबाहेक अरू सबैले ढोगे। केही मानिसले यो कुरा याद गरे र राजालाई भने: ‘ती तीन हिब्रूले तपाईँको मूर्तिलाई ढोगेनन्‌।’ नबुकद्‌नेजरले तिनीहरूलाई आफूकहाँ ल्याउन हुकुम गरे र भने: ‘म तिमीहरूलाई मूर्तिलाई ढोग्ने अर्को मौका दिन्छु। तिमीहरूले इन्कार गऱ्‍यौ भने तिमीहरूलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिदिन्छु। अनि हेरौँला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउँदो रहेछ!’ तिनीहरूले भने: ‘हामीलाई अर्को मौका चाहिँदैन। हाम्रा परमेश्‍वरले हामीलाई बचाउनुहुनेछ। तर हे महाराज, यदि उहाँले त्यसो गर्नुभएन भने पनि हामी त्यस मूर्तिलाई ढोग्नेछैनौँ।’

नबुकद्‌नेजर रिसले चूर भए। तिनले आफ्ना मानिसहरूलाई भने: ‘आगोको भट्टीलाई सदाभन्दा सात गुणा बढी दन्काओ!’ त्यसपछि तिनले आफ्ना सिपाहीहरूलाई यस्तो हुकुम दिए: ‘यी मानिसहरूलाई बाँधेर दन्किरहेको आगोको भट्टीमा फालिदेओ!’ त्यो भट्टी यत्ति दन्किरहेको थियो कि तिनीहरूलाई लाने सिपाहीहरू आगोको ज्वालाले गर्दा मरे। ती तीन हिब्रू आगोको भट्टीमा परे। तर नबुकद्‌नेजरले दनदनी बलिरहेको आगोमा चार जना पुरुष हिँडिरहेको देखे। तिनी एकदमै डराए र आफ्ना उच्च अधिकारीहरूलाई भने: ‘हामीले ती तीन जनालाई बाँधेर आगोमा फालेका थियौँ, होइन? म त चार जना पो देख्छु अनि चौथोचाहिँ स्वर्गदूतजस्तो देखिन्छ!’

नबुकद्‌नेजर भट्टीको नजिक गएर तिनीहरूलाई भने: ‘सर्वोच्च परमेश्‍वरका सेवकहरू हो, बाहिर निस्क!’ सद्रक, मेसक र अबेद्‌नेगो आगोको भट्टीबाट बाहिर आउँदा तिनीहरूलाई केही नभएको देखेर सबै छक्क परे। तिनीहरूको शरीर, केश र लुगा जस्ताको तस्तै थियो अनि तिनीहरूको शरीरबाट आगोको गन्धसमेत आएको थिएन।

नबुकद्‌नेजरले भने: ‘सद्रक, मेसक र अबेद्‌नेगोका ईश्‍वर महान्‌ हुनुहुन्छ। यिनीहरूलाई बचाउन उहाँले स्वर्गदूत पठाउनुभयो। उहाँजस्तो ईश्‍वर अरू कोही छैन।’

के तिमी ती तीन हिब्रूजस्तै जस्तोसुकै अवस्थामा पनि यहोवाप्रति वफादार रहिरहन्छौ?

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।”—मत्ति ४:१०