सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ६५

एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌

एस्तर आफ्ना मानिसहरूलाई बचाउँछिन्‌

एस्तर यहुदी थिइन्‌। तिनी फारसको सुसन सहरमा बस्थिन्‌। धेरै वर्षअघि नबुकद्‌नेजरले तिनको परिवारलाई यरुसलेमबाट लगेका थिए। तिनलाई तिनको आफन्त मोर्दकैले हुर्काएका थिए। मोर्दकै फारसी राजा आहासुरसका सेवक थिए।

राजा आहासुरस नयाँ रानी चाहन्थे। तिनका सेवकहरूले त्यस ठाउँका सबैभन्दा सुन्दरी स्त्रीहरूलाई तिनीकहाँ ल्याए। ती स्त्रीहरूमध्ये एस्तर पनि थिइन्‌ र राजाले एस्तरलाई रानी बनाउन रोजे। मोर्दकैले एस्तरलाई आफू यहुदी भएको कुरा नभन्‍नू भने।

हामान नाम गरेका घमन्डी मानिस सबै भारदारका हाकिम थिए। उनी सबैले उनलाई ढोगेको चाहन्थे। तर मोर्दकैले ढोगेनन्‌। त्यसैले हामान असाध्यै रिसाए र मोर्दकैलाई मार्न खोजे। मोर्दकै यहुदी हुन्‌ भन्‍ने थाह पाएपछि हामानले फारस साम्राज्यका सबै यहुदीलाई मार्ने योजना बनाए। उनले राजालाई भने: ‘यहुदीहरू खतरनाक छन्‌। तपाईँले तिनीहरूलाई नाश गर्नुपर्छ।’ आहासुरसले भने: ‘तिमीलाई जे ठीक लाग्छ, त्यही गर।’ तिनले उनलाई यससम्बन्धी कानुन बनाउने अधिकार दिए। उनले अदार महिनाको १३ औँ दिनमा सबै यहुदीलाई मार्नुपर्ने कानुन बनाए। यहोवाले यो सबै हेरिरहनुभएको थियो।

एस्तरलाई यो कानुनबारे थाह थिएन। त्यसैले मोर्दकैले तिनलाई त्यसको एक प्रति पठाए र भने: ‘राजाकहाँ गएर कुरा गर।’ एस्तरले भनिन्‌: ‘राजाले नबोलाईकनै राजमहलमा जानेहरूलाई मृत्युदण्ड दिइन्छ। राजाले मलाई नबोलाउनुभएको ३० दिन भइसक्यो! तर म राजाकहाँ जान्छु। उहाँले आफ्नो राजदण्ड मतर्फ तेर्स्याउनुभयो भने म बाँच्नेछु, तेर्स्याउनुभएन भने मर्नेछु।’

एस्तर राजमहलको भित्री चोकमा गइन्‌। राजाले तिनलाई देखेपछि आफ्नो राजदण्ड तिनीतर्फ तेर्स्याए। तिनी राजाको नजिक गइन्‌ र राजाले तिनलाई सोधे: ‘एस्तर, तिमी मबाट के चाहन्छ्यौ?’ तिनले भनिन्‌: ‘म तपाईँ र हामानलाई भोजको निम्तो दिन चाहन्छु।’ त्यस भोजमा एस्तरले तिनीहरूलाई फेरि अर्को भोजको निम्तो दिइन्‌। दोस्रो भोजमा राजाले फेरि एस्तरलाई सोधे: “तिमी मबाट के चाहन्छ्यौ?” तिनले भनिन्‌: ‘कसैले म र मेरा मानिसहरूलाई मार्न खोजिरहेको छ। बिन्ती छ, हामीलाई बचाउनुहोस्‌।’ राजाले तिनलाई सोधे: ‘कसले तिमीलाई मार्न खोजिरहेको छ?’ तिनले भनिन्‌: ‘त्यो दुष्ट मानिस यही हामान हो।’ आहासुरस रिसले आगो भए र तुरुन्तै हामानलाई मार्ने आदेश दिए।

तर हामानले बनाएको कानुन कसैले खारेज गर्न सक्दैनथ्यो, राजाले समेत। त्यसैले राजाले मोर्दकैलाई भारदारहरूको हाकिम बनाए र नयाँ कानुन बनाउने अधिकार दिए। कसैले आक्रमण गरेमा यहुदीहरूले आफ्नो बचाउ गर्न पाउने कानुन मोर्दकैले बनाए। अदार महिनाको १३ औँ दिनमा यहुदीहरूले तिनीहरूका शत्रुहरूलाई जिते। त्यसबेलादेखि हरेक वर्ष तिनीहरूले त्यस जितको उत्सव मनाए।

“मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ। अनि तिमीहरूले तिनीहरूलाई र जातिजातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।”—मत्ति १०:१८