पाठ ७२
येसु बाह्र वर्षको हुनुहुँदा
युसुफ र मरियम येसुलगायत अरू छोराछोरीसँग नासरतमा बस्थे। युसुफ परिवार पाल्न सिकर्मी काम गर्थे। तिनले परिवारलाई यहोवा र उहाँको व्यवस्थाबारे सिकाए। युसुफको परिवार उपासना गर्न नियमित सभाघर जान्थे अनि हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जान्थे।
येसु १२ वर्षको हुनुहुँदा हरेक वर्षजस्तै आफ्नो परिवारसँगै लामो यात्रा गरेर यरुसलेम जानुभयो। त्यहाँ निस्तार चाड मनाउन आएका मानिसहरूको भीड थियो। चाडपछि युसुफ र मरियमले घर फर्कन यात्रा सुरु गरे अनि तिनीहरूले येसु घर फर्किरहेका अरू यात्रीसँगै हुनुहुन्छ भन्ठाने। तर तिनीहरूले उहाँलाई नातागोतामाझ भेट्टाएनन्।
तिनीहरू यरुसलेम फर्के र तीन दिनसम्म आफ्नो छोरालाई खोजे। अन्तमा तिनीहरू मन्दिर गए। येसु त्यहाँ शिक्षकहरूको बीचमा बसिरहनुभएको थियो। उहाँ ध्यान दिएर सुन्दै र प्रश्नहरू सोध्दै हुनुहुन्थ्यो। शिक्षकहरू उहाँसँग यत्ति प्रभावित भए कि उनीहरूले उहाँलाई नै प्रश्नहरू सोध्न थाले। उनीहरू उहाँको जवाफ सुनेर
छक्क परे। उहाँले परमेश्वरको व्यवस्था राम्ररी बुझ्नुभएको कुरा उनीहरूले थाह पाए।युसुफ र मरियम एकदमै चिन्तित भएका थिए। त्यसैले मरियमले भनिन्: ‘बाबु, तिमीलाई हामीले कत्ति खोजिसक्यौँ! तिमी कहाँ थियौ?’ येसुले भन्नुभयो: “म आफ्नो बुबाको घरमा हुनुपर्छ भनेर के तपाईँहरूलाई थाह थिएन?”
येसु आफ्ना आमाबुबासितै नासरत फर्कनुभयो। युसुफले येसुलाई सिकर्मीको काम सिकाए। तिम्रो विचारमा येसु बालक छँदा कस्तो हुनुहुन्थ्यो? हुर्कँदै जाँदा येसु बुद्धिमान् हुँदै जानुभयो अनि उहाँले परमेश्वर र मानिसहरूको अनुग्रह पाउनुभयो।
“हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।”—भजन ४०:८