सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ७५

दियाबल येसुको परीक्षा लिन्छ

दियाबल येसुको परीक्षा लिन्छ

येसुले बप्तिस्मा गर्नुभएपछि पवित्र शक्‍तिले उहाँलाई निर्जनभूमिमा डोऱ्‍यायो। उहाँले ४० दिन केही नखानुभएकोले धेरै भोकाउनुभएको थियो। दियाबलले उहाँलाई प्रलोभनमा पार्न खोज्दै भन्यो: ‘तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।’ तर येसुले बाइबलमा लेखिएको कुरा यसरी बताउनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”

त्यसपछि दियाबलले येसुलाई यस्तो चुनौती दियो: ‘तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुन्छ भने मन्दिरको सबैभन्दा अग्लो ठाउँबाट हाम फाल्नुहोस्‌। तपाईँलाई जोगाउन परमेश्‍वरले स्वर्गदूतहरूलाई पठाउनुहुनेछ भनेर लेखिएको छ।’ यसपटक पनि येसुले बाइबलमा लेखिएको कुरा यसरी बताउनुभयो: ‘यस्तो लेखिएको छ, “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।”’

त्यसपछि सैतानले येसुलाई संसारको सबै राज्य अनि त्यसको सान र महिमा देखाउँदै भन्यो: ‘तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै राज्य र त्यसको महिमा म तपाईँलाई दिनेछु।’ येसुले भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ।’”

दियाबल गयो र स्वर्गदूतहरूले येसुलाई खानेकुरा दिए। त्यसपछि येसुले राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँलाई पृथ्वीमा यसै कामको लागि पठाइएको थियो। येसुको शिक्षा मानिसहरूलाई मन पऱ्‍यो र उहाँ जहाँ गए पनि तिनीहरू उहाँको पछि लागे।

“जब [दियाबलले] झूट बोल्छ, तब आफ्नो स्वभावअनुसारै बोल्छ किनकि त्यो झूटा हो र झूटको बुबा हो।”—युहन्‍ना ८:४४