पाठ ८१
डाँडाको उपदेश
बाह्र प्रेषित रोज्नुभएपछि येसु डाँडाबाट ओर्लेर एउटा ठाउँमा आउनुभयो। त्यहाँ मानिसहरूको भीड जम्मा भएको थियो। तिनीहरू गालिल, यहुदिया, टायर, सिदोन, सिरिया र यर्दन नदीपारिबाट आएका थिए। तिनीहरूले विभिन्न रोग लागेका र प्रेतले सताएका मानिसहरूलाई उहाँकहाँ ल्याए। येसुले उनीहरू सबैलाई निको पार्नुभयो। पछि उहाँ डाँडामा उक्लनुभएर भीडलाई सिकाउन थाल्नुभयो। यहोवाको साथी बन्न हामीले के गर्नुपर्छ, उहाँले सिकाउनुभयो। हामीलाई यहोवाको मदत चाहिन्छ भनेर स्विकार्नुपर्छ र उहाँलाई प्रेम गर्नुपर्छ। तर हामी मानिसहरूलाई प्रेम गर्दैनौँ भने परमेश्वरलाई पनि प्रेम गर्न सक्दैनौँ। हामीले सबैलाई दया देखाउनुपर्छ र हामीसित नराम्रो व्यवहार गर्नेहरूलाई समेत राम्रो व्यवहार गर्नुपर्छ।
येसुले भन्नुभयो: ‘साथीहरूलाई मात्र प्रेम गरेर पुग्दैन। शत्रुहरूलाई पनि प्रेम गर्नुपर्छ र अरूलाई मनैदेखि क्षमा दिनुपर्छ। कोही तिम्रो कारणले दुःखी भएको छ भने तुरुन्तै ऊकहाँ गएर माफी माग। अरूले तिमीलाई जस्तो व्यवहार गरेको चाहन्छौ, तिमीले पनि उसलाई त्यस्तै व्यवहार गर।’
येसुले मानिसहरूलाई धनसम्पत्तिबारे पनि राम्रो सल्लाह दिनुभयो। उहाँले भन्नुभयो: ‘धेरै धनसम्पत्ति थुपार्नुभन्दा यहोवाको साथी बन्नु महत्त्वपूर्ण छ। धनसम्पत्ति चोरले चोर्न सक्छ तर यहोवासितको तिम्रो मित्रतालाई कसैले चोर्न सक्दैन। के खाने, के पिउने वा के लगाउने भनेर चिन्ता गर्न छोडिहाल। चराचुरुङ्गीलाई हेर। परमेश्वरले तिनीहरूको लागि पुग्दो खानेकुरा छ कि छैन भनेर याद गर्नुहुन्छ। चिन्ता गर्दैमा तिमी थप एक दिन बाँच्न सक्दैनौ। नबिर्स, तिमीलाई के चाहिन्छ, यहोवा परमेश्वरलाई थाह छ।’
यसअघि अरू कसैले यसरी सिकाएको भीडले कहिल्यै सुनेको थिएन। धर्मगुरुहरूले तिनीहरूलाई यस्ता कुराहरू सिकाएका थिएनन्। येसु किन असल शिक्षक हुनुहुन्थ्यो? किनकि उहाँले यी सबै कुरा यहोवा परमेश्वरबाट सिक्नुभएको थियो।
“मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु अनि तिमीहरूले स्फूर्ति पाउनेछौ।”—मत्ति ११:२९