सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ८२

येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

येसु आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाउनुहुन्छ

फरिसीहरू जे गर्थे, त्यो अरूलाई देखाउन मात्र गर्थे। अरूले याद गरोस्‌ भनेर तिनीहरू दया देखाउने गर्थे अनि सबैले देख्ने ठाउँमा उभिएर प्रार्थना गर्थे। तिनीहरू लामो प्रार्थना कण्ठ गर्थे अनि सभाघर र गल्लीहरूमा गएर सबैले सुन्‍नेगरि दोहोऱ्‍याउँथे। त्यसैले येसुले यसो भन्‍नुहुँदा मानिसहरू छक्क परे: ‘फरिसीहरूले जस्तो प्रार्थना नगर। धेरै बोल्यो भने परमेश्‍वर खुसी हुनुहुनेछ भनेर तिनीहरू सोच्छन्‌ तर त्यसो गर्दा उहाँ खुसी हुनुहुन्‍न। प्रार्थना भनेको तिमी र यहोवाबीच हुनुपर्छ। एउटै कुरा दोहोऱ्‍याई नराख। यहोवा तिमीले मनको सबै कुरा बताएको चाहनुहुन्छ।

‘तिमीले यसरी प्रार्थना गर्नुपर्छ: “हे स्वर्गमा बस्नुहुने हाम्रा बुबा, तपाईँको नाम पवित्र पारियोस्‌। तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा जसरी स्वर्गमा पूरा हुन्छ, त्यसरी नै पृथ्वीमा पनि पूरा होस्‌।”’ येसुले तिनीहरूलाई दिनभरिको खानाको लागि, पापको क्षमाको लागि र व्यक्‍तिगत कुराहरूको लागि पनि प्रार्थना गर्न सिकाउनुभयो।

येसुले भन्‍नुभयो: ‘प्रार्थना गर्न कहिल्यै नछोड। स्वर्गमा बस्नुहुने बुबा यहोवा परमेश्‍वरसँग असल कुराहरू मागिरह। हरेक आमाबुबाले छोराछोरीलाई राम्रा कुराहरू दिन चाहन्छन्‌। यदि तिमीहरूको छोराले रोटी माग्यो भने के तिमीहरू उसलाई ढुङ्‌गा दिन्छौ र? यदि उसले माछा माग्यो भने के तिमीहरू उसलाई सर्प दिन्छौ र?’

त्यसपछि येसुले यस्तो पाठ सिकाउनुभयो: ‘यदि तिमीहरू आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबा यहोवाले उहाँसित माग्नेहरूलाई झन्‌ कत्ति धेरै पवित्र शक्‍ति दिनुहुनेछ। त्यसैले तिमीहरूले मागे मात्र पुग्छ।’ के तिमी येसुको यो सल्लाह मान्छौ? तिमी कस्ता कुराहरूको लागि प्रार्थना गर्छौ?

“मागिरहो अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।”—मत्ति ७:७