पाठ ८४
येसु पानीमाथि हिँड्नुहुन्छ
येसु बिरामीलाई निको पार्न र मरेकालाई ब्युँताउन सक्ने मात्र नभई आँधी र वर्षालाई समेत वशमा राख्न सक्नुहुन्थ्यो। डाँडामा उक्लेर प्रार्थना गरेपछि उहाँले तल गालिल समुद्रतिर हेर्नुहुँदा आँधी चलेको देख्नुभयो। आँधीले गर्दा प्रेषितहरूलाई डुङ्गा खियाउन गाह्रो भइरहेको थियो। त्यसपछि येसु तल ओर्लनुभयो र पानीमाथि हिँड्दै तिनीहरूको डुङ्गातर्फ जानुभयो। कोही पानीमाथि हिँडिरहेको देखेर प्रेषितहरू डराए। तर येसुले तिनीहरूलाई भन्नुभयो: ‘म हुँ, नडराओ।’
पत्रुसले भने: “प्रभु, यदि तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्।” येसुले पत्रुसलाई जवाफ दिनुभयो: “हुन्छ, आऊ।” तब पत्रुस आँधी चलिरहेकै बेला डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येसु भएतिर गए। तर येसुको नजिक पुग्नै लाग्दा आँधी चलिरहेको देखेर तिनी डराए। तिनले आफू डुब्न थालेको चाल पाए। त्यसपछि तिनी यसो भन्दै कराए: “प्रभु, मलाई बचाउनुहोस्!” येसुले तिनको हात समात्दै भन्नुभयो: ‘तिमीले किन शङ्का गऱ्यौ? तिम्रो विश्वास खोइ?’
त्यसपछि येसु र पत्रुस डुङ्गामा चढ्नुभयो र तुरुन्तै बतास थामियो। प्रेषितहरूले कस्तो महसुस गरे होलान्, के तिमी कल्पना गर्न सक्छौ? तिनीहरूले भने: “तपाईँ साँच्चै परमेश्वरको छोरा हुनुहुँदो रहेछ।”
येसुले मौसमलाई वशमा राख्नुभएको घटना यो मात्र होइन। एकपटक येसु र उहाँका प्रेषितहरू समुद्रको पारिपट्टि डुङ्गामा गइरहनुभएको बेला येसु डुङ्गाको पछिल्तिर निदाइरहनुभएको थियो। त्यतिबेला एउटा ठूलो आँधी चल्यो र छाल उर्लेर डुङ्गालाई हिर्काउन थाल्यो अनि डुङ्गा पानीले भरिन लाग्यो। तब प्रेषितहरूले येसुलाई ब्युँझाएर भने: ‘हे गुरु, हामी यहाँ मर्नै आँटिसक्यौँ! हामीलाई बचाउनुहोस्!’ यो सुनेर येसु उठ्नुभयो र आँधीलाई हप्काउँदै भन्नुभयो: “चुप लाग्!” तब आँधी थामियो र समुद्र पूरै शान्त भयो। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरूको विश्वास खोइ?” तर तिनीहरू आपसमा यसो भन्न थाले: “आँधी र समुद्रले समेत यिनको आज्ञा मान्छन्।” येसुमाथि पूरा भरोसा राखेमा केहीदेखि डराउनुपर्दैन भनेर तिनीहरूले सिके।
“जीवितहरूको देशमा यहोवाको भलाइ हेर्न पाउनेछु भन्ने विश्वास ममा नहुँदो हो त म अहिले कहाँ हुने थिएँ?”—भजन २७:१३