पाठ ८९
पत्रुस येसुलाई चिन्न इन्कार गर्छन्
येसु प्रेषितहरूसित माथिल्लो तलाको कोठामा हुनुहुँदा उहाँले तिनीहरूलाई भन्नुभयो: ‘आज राती तिमीहरू सबैले मलाई छोडेर जानेछौ।’ त्यतिबेला पत्रुसले भने: ‘अरू सबैले छोडेर गए पनि म सधैँ तपाईँको साथमा हुनेछु।’ तर येसुले पत्रुसलाई भन्नुभयो: ‘भाले बास्नुअघि तिमीले तीन पटक मलाई चिनेको छैनँ भन्नेछौ।’
सिपाहीहरूले येसुलाई कैयाफाको घरमा लैजाँदा प्रायः सबै प्रेषित भागे। तर दुई जना भने भीडको पछिपछि लागे। तीमध्ये एक पत्रुस थिए। तिनी कैयाफाको घरको चोकमा गए र आगो तापेर बसिरहे। एउटी नोकर्नीले तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि भनी: ‘म तपाईँलाई चिन्छु! तपाईँ येसुसँग हुनुहुन्थ्यो!’
तर पत्रुसले भने: ‘होइनँ, म थिइनँ! तिमी के भन्दै छ्यौ, म जान्दिनँ!’ अनि तिनी मूलढोकातिर लागे। त्यतिबेला अर्की एउटी नोकर्नीले तिनलाई देखी र भीडलाई भनी: ‘यो मानिस येसुसँग थियो!’ पत्रुसले भने: ‘म येसुलाई चिन्दिनँ।’ एक जना मानिसले भने: ‘तिमी पक्कै तिनीहरूमध्येकै हौ। तिम्रो बोलीबाटै तिमी पनि येसुजस्तै गालिली हौ भनेर थाह हुन्छ।’ तर पत्रुसले कसम खाँदै भने: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!”
त्यतिखेरै भाले बास्यो। तब पत्रुसले येसुले तिनलाई फर्केर हेर्नुभएको देखे। तिनले येसुले भन्नुभएको कुरा सम्झे र बाहिर निस्केर धुरुधुरु रोए।
यस दौडान कैयाफाको घरमा यहुदी न्यायपरिषद् येसुविरुद्ध मुद्दा चलाउन आपसमा सल्लाह गरिरहेको थियो। तिनीहरूले येसुलाई मार्ने निर्णय गरिसकेका थिए र अहिले तिनीहरू उहाँलाई मार्ने कारण खोजिरहेका थिए। तर तिनीहरूले उहाँविरुद्ध कुनै दोष भेट्टाउन सकेनन्। आखिरमा कैयाफाले येसुलाई सीधै सोधे: ‘के तँ परमेश्वरको छोरा होस्?’ येसुले भन्नुभयो: ‘म हुँ।’ अनि कैयाफाले भने: ‘अब हामीलाई अरू साक्षी चाहिँदैन। यसले ईश्वरकै निन्दा गऱ्यो।’ न्यायपरिषद् पनि सहमत भयो र भन्यो: ‘यस मानिसलाई मार्नै पर्छ।’ तिनीहरूले येसुलाई चड्कन हाने, थुके र उहाँको आँखा छोपेर मुड्कीले हिर्काउँदै भने: ‘तँ भविष्यवक्ता होस् भने तँलाई हिर्काउने को हो भन्।’
उज्यालो हुनेबित्तिकै तिनीहरूले येसुलाई यहुदी न्यायपरिषद्को भवनमा लगेर सोधे: “के तँ परमेश्वरको छोरा होस्?” येसुले यस्तो जवाफ दिनुभयो: ‘म हुँ भनेर तपाईँहरू नै भन्दै हुनुहुन्छ।’ त्यसपछि तिनीहरूले उहाँलाई परमेश्वरको निन्दा गरेको आरोपमा दोषी ठहर गरे र रोमी राज्यपाल पन्तियस पिलातसको घर लगे। त्यसपछि के भयो? आऊ हामी पत्ता लगाऔँ।
“यस्तो समय . . . आइसकेको छ, जब तिमीहरू सबै तितरबितर भएर आ-आफ्नो घर जानेछौ र मलाई एक्लै छोड्नेछौ; तैपनि म एक्लो छैनँ किनकि बुबा मसित हुनुहुन्छ।”—युहन्ना १६:३२