सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ९२

येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

येसु जलारीहरूसामु देखा पर्नुहुन्छ

येसु प्रेषितहरूसामु देखा पर्नुभएको केही समयपछि पत्रुस गालिल समुद्रमा माछा मार्न गए। थोमा, याकुब, युहन्‍ना र अरू केही चेला पनि तिनीसँगै गए। तिनीहरूले रातभरि जाल हाने तर जालमा एउटै माछा परेन।

बिहान हुनै लाग्दा तिनीहरूले एक जना मानिस किनारामा उभिरहेको देखे। ती मानिसले तिनीहरूलाई सोधे: ‘जालमा माछा पऱ्‍यो?’ तिनीहरूले भने: ‘अहँ, परेन।’ ती मानिसले तिनीहरूलाई भने: “डुङ्‌गाको दाहिनेतिर जाल हान।” तिनीहरूले त्यसो गर्दा जालमा यत्ति धेरै माछा पऱ्‍यो कि तिनीहरूले जाल तान्‍नै सकेनन्‌। तब युहन्‍नाले ती मानिस येसु हुनुहुँदो रहेछ भनेर थाह पाइहाले र भने: “उहाँ प्रभु हुनुहुन्छ!” पत्रुस तुरुन्तै समुद्रमा हामफाले अनि पौडिएर किनारामा गए। अरू चेलाचाहिँ डुङ्‌गा खियाएर किनारामा आए।

किनारामा आइपुग्दा तिनीहरूले कोइलाको भुङ्‌ग्रोमा रोटी र माछा देखे। येसुले तिनीहरूलाई खानको लागि भर्खरै समातेको केही माछा पनि ल्याउन भन्‍नुभयो। त्यसपछि उहाँले भन्‍नुभयो: “आओ, नास्ता गर।”

तिनीहरूले नास्ता गरिसकेपछि उहाँले पत्रुसलाई सोध्नुभयो: ‘के तिमी मलाई माछा मार्ने कामलाई भन्दा धेरै प्रेम गर्छौ?’ तिनले जवाफ दिए: ‘गर्छु प्रभु, तपाईँलाई थाहै छ नि।’ उहाँले भन्‍नुभयो: ‘त्यसो हो भने मेरा पाठाहरूलाई खुवाऊ।’ उहाँले तिनलाई फेरि सोध्नुभयो: ‘पत्रुस, के तिमी मलाई प्रेम गर्छौ?’ तिनले जवाफ दिए: ‘गर्छु भनेर तपाईँलाई थाहै छ नि।’ उहाँले भन्‍नुभयो: “मेरा साना भेडाहरूको हेरचाह गर।” उहाँले पत्रुसलाई तेस्रो चोटि पनि त्यही प्रश्‍न सोध्नुभयो। तिनी असाध्यै दुःखी भए। तिनले भने: ‘प्रभु, तपाईँलाई सबै कुरा थाह छ। म तपाईँलाई माया गर्छु भनेर पनि तपाईँलाई थाह छ।’ तब उहाँले तिनलाई भन्‍नुभयो: “मेरा साना भेडाहरूलाई खुवाऊ।” उहाँले पत्रुसलाई यसो पनि भन्‍नुभयो: “तिमी निरन्तर मेरो पछि लाग।”

“[येसुले] तिनीहरूलाई भन्‍नुभयो: ‘मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।’ उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।”—मत्ति ४:१९, २०