सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ९३

येसु स्वर्ग फर्कनुहुन्छ

येसु स्वर्ग फर्कनुहुन्छ

गालिलमा येसुले आफ्ना अनुयायीहरूलाई भेट्‌नुभयो। उहाँले तिनीहरूलाई यस्तो एउटा एकदमै महत्त्वपूर्ण आज्ञा दिनुभयो: ‘जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ। मैले सिकाएको कुरा तिनीहरूलाई सिकाओ अनि बप्तिस्मा गराओ।’ त्यसपछि उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: ‘म सधैँभरि तिमीहरूसितै रहनेछु भनेर नबिर्स।’

येसु जीवित हुनुभएको ४० दिनसम्म गालिल र यरुसलेममा सयौँ चेलासामु देखा पर्नुभयो। उहाँले तिनीहरूलाई महत्त्वपूर्ण पाठहरू सिकाउनुभयो र चमत्कारहरू गर्नुभयो। त्यसपछि उहाँले जैतुन डाँडामा अन्तिम पटक प्रेषितहरूलाई भेट्‌नुभयो। उहाँले भन्‍नुभयो: ‘यरुसलेम छोडेर कतै नजाओ। बुबाले प्रतिज्ञा गर्नुभएको कुराको लागि पर्खिरहो।’

प्रेषितहरूले उहाँको कुरा बुझेनन्‌। त्यसैले तिनीहरूले सोधे: ‘के तपाईँ अहिल्यै इस्राएलको राजा हुन लाग्नुभएको हो?’ येसुले भन्‍नुभयो: ‘म राजा बन्‍न यहोवा परमेश्‍वरले तोक्नुभएको समय आएको छैन। तिमीहरूले चाँडै पवित्र शक्‍ति पाउनेछौ र मेरो साक्षी दिनेछौ। यरुसलेम, यहुदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा गएर प्रचार गर।’

त्यसपछि येसु मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। उहाँका अनुयायीहरूले आकाशतिर हेरिरहे तर उहाँ गइसक्नुभएको थियो।

त्यसपछि उहाँका अनुयायीहरू जैतुन डाँडाबाट ओर्लेर यरुसलेम गए। तिनीहरू माथिल्लो तलाको कोठामा नियमित रूपमा भेला हुन्थे र प्रार्थना गर्थे। तिनीहरू येसुबाट थप निर्देशन पाउन पर्खिरहेका थिए।

“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ति २४:१४