सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ९५

तिनीहरूलाई कुनै कुराले रोक्न सकेन

तिनीहरूलाई कुनै कुराले रोक्न सकेन

एक जना लङ्‌गडो मानिस मन्दिरको ढोकामा बसेर दिनहुँ माग्ने गर्थ्यो। एकदिन उसले पत्रुस र युहन्‍नालाई मन्दिरभित्र छिर्न लागेको देख्यो। उसले तिनीहरूलाई भन्यो: ‘बिन्ती, मलाई केही दिनुहोस्‌।’ पत्रुसले भने: ‘मसित तिमीलाई दिन पैसाभन्दा असल कुरा छ। येसुको नाममा तिमीलाई उठेर हिँड भन्छु!’ पत्रुसले उसलाई उठ्‌न मदत गरे र ऊ हिँड्‌न थाल्यो। यो चमत्कार देखेर मानिसहरू खुसी भए र अझ धेरैले येसुमा विश्‍वास गर्न थाले।

तर पुजारीहरू र सदुकीहरू धेरै रिसाए। तिनीहरूले प्रेषितहरूलाई पक्रेर अदालतमा लगे र यसरी केरकार गर्न थाले: ‘तिमीहरूले कसको अख्तियार पाएर त्यस मानिसलाई निको पाऱ्‍यौ?’ पत्रुसले भने: ‘येसुको, जसलाई तपाईँहरूले मार्नुभयो।’ धर्मगुरुहरू यसो भनेर कराए: ‘येसुबारे कुरा गर्दै नगर्नू!’ तर प्रेषितहरूले भने: ‘हामी उहाँको कुरा नगरी बस्नै सक्दैनौँ। हामी बोल्न छोड्‌दैनौँ।’

पत्रुस र युहन्‍ना छुट्‌नासाथ अरू चेलालाई भेट्‌न गए र सबै कुरा बताए। तिनीहरूले एकसाथ यहोवालाई यसरी प्रार्थना गरे: ‘बिन्ती छ, हामीलाई निर्भयी भएर तपाईँको काम गरिरहन मदत गर्नुहोस्‌।’ यहोवाले तिनीहरूलाई पवित्र शक्‍ति दिनुभयो। तिनीहरूले निको पार्ने र प्रचारको काम गरिरहे। अझ धेरै मानिसले विश्‍वास गर्न थाले। सदुकीहरू डाहले भरिए र तिनीहरूले प्रेषितहरूलाई पक्रेर जेलमा हाले। तर राती यहोवाले स्वर्गदूत पठाउनुभयो र तिनले जेलको ढोका खोलिदिए। तिनले प्रेषितहरूलाई भने: ‘फेरि मन्दिर जाओ र मानिसहरूलाई सिकाओ।’

भोलिपल्ट बिहान अफिसरहरूले यहुदी न्यायपरिषद्‌लाई यस्तो खबर दिए: ‘जेलका ढोकाहरू बन्दै छन्‌ तर तपाईँहरूले पक्रेका मानिसहरू भित्र छैनन्‌। तिनीहरू मन्दिरमा मानिसहरूलाई सिकाउँदै छन्‌।’ प्रेषितहरू फेरि पक्राउ परे र तिनीहरूलाई यहुदी न्यायपरिषद्‌सामु उभ्याइयो। प्रधानपुजारीले भने: ‘हामीले तिमीहरूलाई येसुबारे सिकाउँदै नसिकाउनू भनेका थियौँ।’ तर पत्रुसले भने: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”

यो सुनेर धर्मगुरुहरू क्रोधित भए र तिनीहरूलाई मार्न खोजे। तर गमलिएल भन्‍ने फरिसीले खडा भएर भने: ‘राम्ररी सोच्नुहोस्‌! सायद परमेश्‍वर यी मानिसहरूको साथमा हुनुहुन्छ। के तपाईँहरू परमेश्‍वरविरुद्ध लड्‌न चाहनुहुन्छ?’ धर्मगुरुहरूले गमलिएलको कुरा माने अनि प्रेषितहरूलाई बोलाएर कोर्रा लगाए र येसुको नाममा बोल्दै नबोल्नू भन्‍ने आदेश फेरि दोहोऱ्‍याउँदै छोडिदिए। तर तिनीहरूले सुसमाचार घोषणा गर्न छोडेनन्‌। तिनीहरूले साहसी भई मन्दिर र घरघर गएर सुसमाचार सुनाइरहे।

“हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा मान्‍नै पर्छ।”—प्रेषित ५:२९