सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ९९

एक जना जेलर सत्य सिक्छन्‌

एक जना जेलर सत्य सिक्छन्‌

फिलिप्पिमा एक जना नोकर्नी थिई र उसमा प्रेत बास गरेको थियो। त्यस प्रेतले उसलाई चलाएर भविष्य बताउने काम गर्थ्यो। यसरी त्यस नोकर्नीले आफ्ना मालिकहरूको लागि धेरै कमाइ गर्थी। पावल र सिलास फिलिप्पिमा आएपछि ऊ धेरै दिनसम्म तिनीहरूको पछिपछि लागी। प्रेतले उसलाई यसो भनेर चिच्याउन लगायो: “यी मानिसहरू सर्वोच्च परमेश्‍वरका दास हुन्‌।” वाक्क भएर पावलले त्यस प्रेतलाई भने: ‘म तँलाई येसुको नाममा आज्ञा गर्छु, त्यसबाट निस्केर आइज!’ त्यसपछि त्यो प्रेत उसबाट निस्किहाल्यो।

कमाइ गर्ने बाटो बन्द भएको देखेपछि उसका मालिकहरू असाध्यै रिसाए। उनीहरूले पावल र सिलासलाई घिसार्दै नगर अधिकारीहरूकहाँ ल्याए र भने: ‘यिनीहरूले नियम तोडिरहेका छन्‌ र सहरभरि खैलाबैला मच्चाइरहेका छन्‌!’ नगर अधिकारीहरूले पावल र सिलासलाई पिटेर झ्यालखानामा हाल्ने आदेश दिए। जेलरले तिनीहरूलाई झ्यालखानाको सबैभन्दा अँध्यारो कोठामा लगेर थुने अनि तिनीहरूको खुट्टा ठिँगुरोमा हालिदिए।

झ्यालखानामा पावल र सिलास परमेश्‍वरको स्तुतिगान गाइरहेका थिए र अरू कैदीले सुनिरहेका थिए। अचानक मध्यरातमा ठूलो भूकम्प गयो र झ्यालखाना पूरै हल्लिन थाल्यो। झ्यालखानाका ढोकाहरू एकाएक खुले अनि कैदीहरूलाई बाँधेर राखेको सिक्री र ठिँगुरो फुस्कियो। जेलर दौडेर झ्यालखानाको भित्री कोठामा गए र उनले सबै ढोका खुल्लै देखे। सबै कैदी भागिसके होलान्‌ भन्ठानेर उनले आत्महत्या गर्न आफ्नो तरबार थुते।

त्यतिखेरै पावलले कराउँदै भने: ‘आफूलाई केही हानि नगर्नुहोस्‌, हामी सबै जना यहीँ छौँ!’ ती जेलर हतारिँदै भित्र आए अनि पावल र सिलासको अगाडि घोप्टो परे। तिनले उनीहरूलाई सोधे: “उद्धार पाउन मैले के गर्नुपर्छ?” उनीहरूले भने: ‘तपाईँ र तपाईँको घरानाले येसुमा विश्‍वास गर्नुपर्छ।’ त्यसपछि पावल र सिलासले ती जेलर र उनको घरानालाई यहोवा परमेश्‍वरको वचन सुनाए अनि तिनीहरू सबैले बप्तिस्मा गरे

“मानिसहरूले तिमीहरूलाई पक्रनेछन्‌, खेदो गर्नेछन्‌, सभाघर र झ्यालखानाहरूमा सुम्पिदिनेछन्‌। मेरो नामको खातिर तिमीहरू राजाहरू र राज्यपालहरूसामु उभ्याइनेछौ। तब तिमीहरूले साक्षी दिने मौका पाउनेछौ।”—लुका २१:१२, १३