पाठ १००
पावल र तिमोथि
तिमोथि लिस्त्रा मण्डलीका एक जवान भाइ थिए। तिनका बुबा ग्रीक थिए भने आमा यहुदी थिइन्। तिनले सानैदेखि आमा युनिस र बज्यै लोइसबाट यहोवा परमेश्वरबारे सिकेका थिए।
पावल दोस्रो प्रचार-यात्राको दौडान लिस्त्रा जाँदा तिमोथिले भाइहरूलाई साँच्चै माया गरेको र तिनीहरूलाई मदत गर्न उत्सुक भएको याद गरे। तिनले तिमोथिलाई आफूसँगै यात्रामा जान निम्तो दिए। समयको दौडान पावलले तिमोथिलाई असल प्रचारक र सुसमाचारको शिक्षक हुन तालिम दिए।
पावल र तिमोथि जहाँसुकै गए पनि पवित्र शक्तिले तिनीहरूलाई डोऱ्याउँथ्यो। एक रात दर्शनमा पावललाई एक जना मानिसले म्यासिडोनिया आएर तिनीहरूलाई मदत गर्न भने। त्यसैले पावल, तिमोथि, सिलास र लुका त्यहाँ प्रचार गर्न र मण्डलीहरू स्थापना गर्न गए।
थिस्सलोनिकाको म्यासिडोनिया भन्ने सहरमा थुप्रै पुरुष र स्त्री ख्रिष्टियन बने। तर यो देखेर केही यहुदीले पावल र तिनका सहयात्रीहरूको डाह गर्न थाले। ती यहुदीहरूले हुल जम्मा गरेर पावल र तिनका सहयात्रीहरूलाई नगर प्रशासकहरूकहाँ घिसार्दै लगे अनि यसो भन्दै कराए: ‘यिनीहरू रोमी सरकारका शत्रुहरू हुन्।’ पावल र तिमोथिको ज्यान खतरामा थियो। त्यसैले तिनीहरू राती नै बिरिया भागे।
बिरियाका मानिसहरू सुसमाचारबारे सिक्न उत्सुक थिए। त्यहाँका ग्रीकहरू र यहुदीहरूले ख्रिष्टमा विश्वास गर्न थाले। तर केही यहुदीहरूले थिस्सलोनिकाबाट आएर हुलदङ्गा मच्चाउन थाले। त्यसैले पावल एथेन्स गए। तिमोथि र सिलासचाहिँ भाइहरूलाई बलियो बनाउन बिरियामै बसे। थिस्सलोनिकाका भाइहरूले एकदमै खेदो भोगिरहेकोले पावलले तिमोथिलाई पछि फेरि त्यहाँ पठाए। पछि पावलले तिमोथिलाई अरू थुप्रै मण्डलीको भ्रमण गर्न र प्रोत्साहन दिन पठाए।
पावलले तिमोथिलाई भने: ‘परमेश्वरको सेवा गर्न चाहनेहरू सबैमाथि खेदो आइपर्नेछ।’ तिमोथिले खेदो भोगे र आफ्नो विश्वासको लागि कैदमा परे। तर यहोवा परमेश्वरप्रति आफ्नो वफादारी देखाउने मौका पाएकोमा तिनी आनन्दित थिए।
पावलले फिलिप्पिका भाइहरूलाई भने: ‘म तिमीहरूकहाँ तिमोथिलाई पठाउँदै छु। तिनले तिमीहरूलाई यहोवा परमेश्वरको सेवकको रूपमा जिउनुको अर्थ सिकाउनेछन्।’ तिमोथि भरोसायोग्य छन् भनेर पावललाई थाह थियो। तिनीहरू मिल्ने साथी थिए र धेरै वर्ष सँगै मिलेर सेवा गरेका थिए।
“तिमीहरूको साँचो चासो राख्ने तिनको जस्तो मनोभाव भएका अरू मानिस मसित छैन। अरू सबै जना येसु ख्रिष्टको कुरामा होइन, आफ्नै कुरामा मात्र ध्यान दिन्छन्।”—फिलिप्पी २:२०, २१