सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १०३

“तपाईँको राज्य आओस्‌”

“तपाईँको राज्य आओस्‌”

यहोवा परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: ‘रुवाइ, पीडा, रोगबिमार वा मृत्यु फेरि कहिल्यै हुनेछैन। म तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनेछु। पहिलेका सबै खराब कुराहरू बितिसकेका हुनेछन्‌।’

यहोवा परमेश्‍वरले आदम र हव्वालाई अदनको बगैँचामा राख्नुभएको थियो। त्यहाँ तिनीहरूले शान्तिमय र आनन्दित जीवन बिताउन सक्थे। तिनीहरूले स्वर्गमा बस्नुहुने बुबाको उपासना गर्नुपर्ने थियो र छोराछोरी जन्माएर पृथ्वी भर्नुपर्ने थियो। आदम र हव्वाले यहोवा परमेश्‍वरको आज्ञा मानेनन्‌ तर उहाँको उद्देश्‍य परिवर्तन भएको छैन। यस किताबबाट हामीले परमेश्‍वरको सबै प्रतिज्ञा पूरा हुन्छ भनेर बुझ्यौँ। उहाँले अब्राहामसित प्रतिज्ञा गर्नुभएजस्तै उहाँको राज्यमार्फत हामीले थुप्रै आशिष्‌ पाउनेछौँ।

अब चाँडै सैतान, त्यसका प्रेतहरू र सबै खराब मानिस नाश हुनेछन्‌। त्यतिबेला जीवितै हुने सबैले यहोवा परमेश्‍वरको उपासना गर्नेछन्‌। हामी बिरामी पर्नेछैनौँ र मर्नेछैनौँ। बरु हामी हरेक बिहान फुर्तिलो भएर उठ्‌नेछौँ र जीवन पाएकोमा आनन्दित हुनेछौँ। पूरै पृथ्वी प्रमोदवन हुनेछ। सबैले स्वस्थकर खानेकुरा र सुरक्षित घर पाउनेछन्‌। मानिसहरू दुष्ट वा हिंसात्मक होइन, दयालु हुनेछन्‌। जङ्‌गली जनावरहरू हामीदेखि डराउनेछैनन्‌ र हामी पनि तिनीहरूदेखि डराउनुपर्नेछैन।

यहोवा परमेश्‍वरले मरिसकेका मानिसहरूलाई जीवित पार्न थाल्नुहुँदा हामीलाई कत्ति अचम्म लाग्नेछ! हामीले हाबिल, नुह, अब्राहाम, सारा, मोसा, रुथ, एस्तर र दाउदजस्ता परमेश्‍वरका सेवकहरूलाई स्वागत गर्नेछौँ। पृथ्वीलाई प्रमोदवन बनाउने काममा तिनीहरूले हामीलाई सघाउनेछन्‌। त्यतिबेला हामीले हरेक दिन थुप्रै रमाइला कामहरू गर्न सक्नेछौँ।

यहोवा परमेश्‍वर तिमी पनि त्यहाँ भएको चाहनुहुन्छ। त्यहाँ तिमीले उहाँबारे कहिल्यै थाह नपाएका कुराहरू थाह पाउनेछौ। त्यसैले हरेक दिन, अहिले र सधैँभरि यहोवा परमेश्‍वरसित झन्‌झनै नजिक होऔँ!

“हे यहोवा हाम्रा परमेश्‍वर, तपाईँ महिमा, आदर अनि शक्‍ति ग्रहण गर्न योग्य हुनुहुन्छ किनकि तपाईँले नै सबै थोक सृष्टि गर्नुभयो।”—प्रकाश ४:११