सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ६

“तँमाथि अन्त आउनै लागेको छ”

“तँमाथि अन्त आउनै लागेको छ”

इजकिएल ७:३

मुख्य कुरा: यरुसलेमविरुद्ध यहोवा परमेश्‍वरको भविष्यसूचक न्यायको घोषणा कसरी पूरा भयो?

१, २. (क) इजकिएल कस्तो अनौठो व्यवहार देखाउँछन्‌? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) तिनको व्यवहारले कुन कुरालाई सङ्‌केत गर्थ्यो?

 भविष्यवक्‍ता इजकिएलले देखाएको अनौठो व्यवहारबारे बेबिलोनको निर्वासनमा भएका यहुदीहरूमाझ चाँडै हल्ला फैलिन्छ। ती यहुदीहरूमाझ तिनी अक्क न बक्क भएर चुपचाप बसेको एक हप्ता भइसकेको छ। तर तिनी अचानक जऱ्‍याकजुरुक उठ्‌छन्‌ र घरभित्र गएर ढोका थुन्छन्‌। छिमेकीहरू तिनको चाल देखेर छक्क परेर हेरिरहेका छन्‌। त्यति नै बेला तिनी फेरि घरबाट निस्कन्छन्‌, एउटा इँटा उठाउँछन्‌, त्यसलाई आफ्नो अगाडि राख्छन्‌ र त्यसमा चित्र कोर्न थाल्छन्‌। अनि एक शब्द पनि नबोली त्यसको वरपर पर्खाल वा बार लगाउन थाल्छन्‌।—इज. ३:१०, ११, १५, २४-२६; ४:१, २.

तिनलाई हेर्ने मानिसहरूको सङ्‌ख्या पक्कै पनि झन्‌झन्‌ बढ्‌दै गएको हुनुपर्छ। तिनीहरूले यस्तो सोचे होलान्‌: “यी सबको अर्थ के हो?” भविष्यवक्‍ता इजकिएलको अनौठो व्यवहारले अब चाँडै हुन लागेको डरलाग्दो घटनालाई सङ्‌केत गर्छ भनेर ती यहुदीहरूले पछि मात्र राम्ररी बुझ्ने थिए। त्यस घटनाद्वारा यहोवा परमेश्‍वरले ती मानिसहरूमाथि आफ्नो क्रोध खन्याउनुहुने थियो र त्यो उचित पनि थियो। त्यो घटना के थियो? पुरातन इस्राएल राष्ट्रलाई त्यस घटनाले कस्तो असर गऱ्‍यो? आज शुद्ध उपासना चढाउने मानिसहरूको लागि त्यसले कस्तो अर्थ राख्छ?

“एउटा इँटा लेऊ . . . गहुँ [लेऊ] . . . एउटा धारिलो तरबार लेऊ”

३, ४. (क) इजकिएलले परमेश्‍वरको न्यायदण्डको कुन तीन वटा पक्ष अभिनय गरेर देखाए? (ख) इजकिएलले यरुसलेमको घेराबन्दीको अभिनय कसरी गरे?

ईसापूर्व ६१३ तिर यहोवा परमेश्‍वरले इजकिएललाई यरुसलेमविरुद्ध उहाँले ल्याउनै लाग्नुभएको न्यायदण्डको तीन वटा पक्ष अभिनय गरेर देखाउन भन्‍नुभयो। ती तीन वटा पक्ष थिए: सहरको घेराबन्दी, त्यहाँका बासिन्दाहरूले भोग्ने दुःखकष्ट अनि त्यो सहर र त्यसका बासिन्दाहरूको विनाश। * आउनुहोस्‌, ती तीन वटा पक्ष अझ विस्तृत रूपमा केलाऔँ।

यरुसलेमको घेराबन्दी। यहोवा परमेश्‍वरले इजकिएललाई यसो भन्‍नुभयो: “एउटा इँटा लेऊ र त्यसलाई आफ्नो अगाडि राख। . . . त्यसको चारैतिर घेरा हाल।” (इजकिएल ४:१-३ पढ्‌नुहोस्‌) इँटाले यरुसलेमलाई सङ्‌केत गर्थ्यो भने इजकिएलले चाहिँ यहोवा परमेश्‍वरले प्रयोग गर्नुभएको बेबिलोनी सेनालाई सङ्‌केत गर्थ्यो। परमेश्‍वरले इजकिएललाई एउटा पर्खाल, घेरा-मचान र बख्तरबन्द गाडीहरू बनाउने निर्देशन दिनुभयो। त्यसपछि तिनले ती सबै कुरा इँटाको वरिपरि राख्नुपर्थ्यो। ती कुराहरूले शत्रुहरूले यरुसलेम सहरलाई घेराबन्दी गरेर आक्रमण गर्न प्रयोग गर्ने हतियारहरूलाई सङ्‌केत गर्थ्यो। शत्रु पक्षका सिपाहीहरू फलामजस्तै बलियो छन्‌ भन्‍ने कुरा सङ्‌केत गर्न इजकिएलले आफू र त्यस सहरको बीचमा “एउटा फलामको तावा” राख्नुपर्थ्यो। त्यसपछि तिनले ‘रिसाउँदै सहरलाई हेर्नुपर्थ्यो।’ इजकिएलले गरेको यो अभिनय “इस्राएलको घरानाको लागि . . . एउटा चिन्ह” थियो; सोच्दै नसोचेको एउटा घटना घट्‌नै लागेको थियो। यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूको मुख्य सहर, उहाँको मन्दिर भएको स्थान यरुसलेमलाई घेराबन्दी गर्न शत्रु पक्षका सिपाहीहरूलाई चलाउनुहुने थियो।

५. इजकिएलले यरुसलेमका बासिन्दाहरूले भोग्ने दुःखकष्टको अभिनय कसरी गरे?

यरुसलेमका बासिन्दाहरूले भोग्ने दुःखकष्ट। यहोवा परमेश्‍वरले इजकिएललाई यस्तो आज्ञा दिनुभयो: “गहुँ, जौ, बकुला, मुसुरो, कोदो र कठिया गहुँ लेऊ र . . . त्यसको रोटी बनाऊ” अनि “एक दिनको लागि २० शेकेल खाना जोख्नू।” त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।” (इज. ४:९-१६) यस दृश्‍यमा चाहिँ इजकिएलले बेबिलोनी सेनाको नभई यरुसलेमका बासिन्दाहरूको भूमिका निर्वाह गरे। तिनको यस अभिनयले अब हुने घेराबन्दीको कारण यरुसलेम सहरमा खानेकुराको अभाव हुने कुरालाई सङ्‌केत गऱ्‍यो। साधारणतया प्रयोग नगरिने मिश्रणहरू मिलाएर रोटी बनाइने थियो। यसले त्यतिबेला मानिसहरूले जे भेटिन्छ, त्यही खानुपर्ने कुरालाई सङ्‌केत गऱ्‍यो। त्यो भोकमरी कत्तिको भयानक हुने थियो? सीधै यरुसलेमका बासिन्दाहरूलाई सम्बोधन गरेझैँ गरी इजकिएलले यसो भने: “आमाबुबाले आफ्नै छोराछोरीलाई खानेछन्‌ र छोराछोरीले पनि आफ्नै आमाबुबालाई खानेछन्‌।” अन्तमा थुप्रै मानिस “अनिकालको घातक बाण”-को मारमा पर्ने थिए अनि मानिसहरू ‘सुक्दै जाने थिए।’—इज. ४:१७; ५:१०, १६.

६. (क) इजकिएलले एकै चोटि कुन दुई वटा भूमिका निर्वाह गरे? (ख) “खौरेको कपाल र दाह्रीजुँगा जोखेर भाग-भाग लगाऊ” भनी परमेश्‍वरले दिनुभएको आज्ञाले कुन कुरालाई सङ्‌केत गर्थ्यो?

यरुसलेम र त्यसका बासिन्दाहरूको विनाश। भविष्यसूचक अभिनयको यस भागमा इजकिएलले एकै चोटि दुई वटा भूमिका निर्वाह गरे। पहिलो, तिनले यहोवा परमेश्‍वरले गर्नुहुने कामको अभिनय गरेर देखाए। यहोवाले तिनलाई यसो भन्‍नुभयो: “एउटा धारिलो तरबार लेऊ। अनि हजामको छुरीले खौरेझैँ . . . खौर।” (इजकिएल ५:१, २ पढ्‌नुहोस्‌) इजकिएलले तरबार चलाएको हातले यहोवा परमेश्‍वरको हातलाई अर्थात्‌ उहाँको न्यायदण्डलाई सङ्‌केत गर्थ्यो, जुन न्यायदण्ड उहाँले बेबिलोनी सेनालाई चलाएर दिनुहुने थियो। दोस्रो, इजकिएलले यहुदीहरूले भोग्ने अवस्थाको अभिनय गरेर देखाए। यहोवा परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “आफ्नो कपाल अनि दाह्रीजुँगा खौर।” इजकिएलले कपाल खौरनुले यहुदीहरूमाथि कसरी आक्रमण गरिने थियो र तिनीहरू कसरी मारिने थिए भन्‍ने कुरालाई सङ्‌केत गर्थ्यो। साथै “एउटा तराजु लेऊ र खौरेको कपाल र दाह्रीजुँगा जोखेर भाग-भाग लगाऊ” भन्‍ने आज्ञाले यरुसलेमविरुद्ध यहोवा परमेश्‍वरले सुनाउनुभएको न्यायदण्ड अन्धाधुन्ध होइन तर होसियारीसाथ र विस्तृत तरिकामा दिइने कुरालाई सङ्‌केत गर्थ्यो।

७. यहोवा परमेश्‍वरले खौरिएको कपाल र दाह्रीजुँगालाई तीन भाग लगाउन र ती प्रत्येक भागलाई फरक-फरक तरिकामा प्रयोग गर्न इजकिएललाई किन अह्राउनुभयो?

  यहोवा परमेश्‍वरले खौरिएको कपाल र दाह्रीजुँगालाई तीन भाग लगाउन र ती प्रत्येक भागलाई फरक-फरक तरिकामा प्रयोग गर्न इजकिएललाई किन अह्राउनुभयो? (इजकिएल ५:७-१२ पढ्‌नुहोस्‌) यरुसलेमका केही बासिन्दा यरुसलेम सहरमै मर्नेछन्‌ भनेर मानिसहरूलाई देखाउन इजकिएलले रौँको पहिलो भागलाई “सहरभित्र” जलाए। अरू केही बासिन्दाचाहिँ सहरबाहिर मारिनेछन्‌ भनेर देखाउन इजकिएलले रौँको दोस्रो भागलाई चाहिँ “सहरको चारैतिर” लगेर तरबारले टुक्राटुक्रा पारे। साथै केही बासिन्दाचाहिँ विभिन्‍न राष्ट्रमा तितरबितर हुनेछन्‌ भनेर देखाउन अन्तिम भागलाई चाहिँ तिनले हावामा हुर्ऱ्याए। तर “एउटा तरबार”-ले तिनीहरूलाई ‘लखेट्‌ने थियो।’ त्यसैले ती बचेकाहरू जहाँ गए पनि तिनीहरू शान्तिसित बस्न पाउने थिएनन्‌।

८. (क) इजकिएलको भविष्यसूचक अभिनयमा आशाको कस्तो सन्देश लुकेको थियो? (ख) “अलिकता रौँ”-बारे गरिएको भविष्यसूचक शब्दहरू कसरी पूरा भयो?

तर इजकिएलको भविष्यसूचक अभिनयमा आशाको सन्देश पनि लुकेको थियो। यहोवा परमेश्‍वरले इजकिएललाई तिनले खौरेको कपाल र दाह्रीजुँगाको विषयमा यसो भन्‍नुभयो: “अलिकता रौँ लेऊ र आफ्नो लुगाको किनारामा पोको पारेर राख।” (इज. ५:३) त्यस आज्ञाले विभिन्‍न राष्ट्रमा तितरबितर हुने यहुदीहरूमध्ये कोही-कोही जोगिने थिए भन्‍ने कुरालाई सङ्‌केत गर्थ्यो। ती “अलिकता रौँ”-मध्ये कोही-कोही बेबिलोनमा ७० वर्षसम्म निर्वासित जीवन बिताएर यरुसलेम फर्कने मानिसहरू पनि हुने थिए। (इज. ६:८, ९; ११:१७) के त्यो भविष्यसूचक शब्दहरू पूरा भयो? भयो। यहुदीहरू बेबिलोनको निर्वासनमा रहेको समय सिद्धिएको थुप्रै वर्षपछि भविष्यवक्‍ता हाग्गैले तितरबितर भएका केही यहुदी यरुसलेम फर्किए भनी बताए। तिनीहरू ती ‘वृद्धहरू थिए, जसले पहिलेको भवन’ अर्थात्‌ सुलेमानको मन्दिर “देखेका थिए।” (एज्रा ३:१२; हाग्गै २:१-३) यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञाअनुसारै शुद्ध उपासनालाई जोगाउनुभयो। शुद्ध उपासनाको पुनर्स्थापनाबारे थप विवरण यस प्रकाशनको अध्याय ९ मा छलफल गरिनेछ।—इज. ११:१७-२०.

यस भविष्यवाणीले आउनै लागेका घटनाहरूबारे हामीलाई के बताउँछ?

९, १०. इजकिएलले अभिनय गरेका घटनाहरूले हामीलाई भविष्यमा हुने कस्ता उल्लेखनीय घटनाहरूको सम्झना गराउँछ?

इजकिएलले अभिनय गरेका घटनाहरूले हामीलाई परमेश्‍वरको वचनमा बताइएका भविष्यमा हुने उल्लेखनीय घटनाहरूको सम्झना गराउँछ। तीमध्ये केही घटना के-के हुन्‌? यरुसलेमको विनाशको समयमा जस्तै भविष्यमा सोच्दै नसोचेको घटना हुनेछ; पृथ्वीमा भएका सबै झूटा धार्मिक सङ्‌गठनमाथि आक्रमण गर्न यहोवा परमेश्‍वरले राजनैतिक शक्‍ति प्रयोग गर्नुहुनेछ। (प्रका. १७:१६-१८) जसरी यरुसलेमको विनाश “पहिला कहिल्यै नभोगेको विपत्ति” थियो, त्यसरी नै “महासङ्‌कष्ट” र त्यसको अन्तमा हुने आरमागेडोनको युद्ध ‘अहिलेसम्म नभएको’ घटना हुनेछ।—इज. ५:९; ७:५; मत्ति २४:२१.

१० धार्मिक सङ्‌गठनहरूको विनाश हुँदा झूटो धर्मका कोही-कोही समर्थक जोगाइनेछन्‌ भनेर परमेश्‍वरको वचनले सङ्‌केत गर्छ। तिनीहरूले डराउँदै अरू मानिसहरूसँगै लुक्ने ठाउँ खोज्नेछन्‌। (जक. १३:४-६; प्रका. ६:१५-१७) तिनीहरूको अवस्थाले हामीलाई पुरातन समयका यरुसलेमका बासिन्दाहरूको सम्झना गराउँछ, जो यरुसलेम विनाश हुँदा जोगिए र “हावामा” तितरबितर पारिएझैँ भए।  अनुच्छेद ७ मा सिकेझैँ तिनीहरू केही समयको लागि जोगिए तापनि यहोवा परमेश्‍वरले तिनीहरूलाई ‘तरबार थुतेर लखेट्‌नुभयो।’ (इज. ५:२) त्यसरी नै धर्ममाथि आक्रमण हुँदा जोगिएका मानिसहरू लुक्नको लागि जुनसुकै ठाउँमा भागे पनि तिनीहरू यहोवा परमेश्‍वरको तरबारबाट बच्ने छैनन्‌। आरमागेडोनमा तिनीहरूलाई अरू बाख्राखाले मानिसहरूसँगै नाश गरिनेछ।—इज. ७:४; मत्ति २५:३३, ४१, ४६; प्रका. १९:१५, १८.

सुसमाचार सुनाउने सन्दर्भमा हामी “गुँगो” हुनेछौँ

११, १२. (क) यरुसलेमको घेराबन्दीबारे इजकिएलले गरेको भविष्यवाणी बुझ्दा त्यसले प्रचारकार्यप्रतिको हाम्रो दृष्टिकोणलाई कस्तो असर गर्छ? (ख) हाम्रो प्रचारकार्य र हामीले सुनाउने सन्देशमा कस्तो परिवर्तन आउन सक्छ?

११ यो भविष्यवाणी बुझ्दा यसले प्रचारकार्य र यसको महत्त्वप्रतिको हाम्रो दृष्टिकोणलाई कस्तो असर गर्छ? हामीले मानिसहरूलाई यहोवा परमेश्‍वरको सेवक बन्‍न सक्दो मदत गर्नुपर्छ भनेर बुझ्न यस भविष्यवाणीले हामीलाई मदत गर्छ। किनकि ‘सबै जातिका मानिसहरूलाई चेला बनाउने’ समय अब धेरै छैन। (मत्ति २८:१९, २०; इज. ३३:१४-१६) धर्महरूमाथि “लौरो”-ले (राजनैतिक शक्‍तिले) आक्रमण गर्न थाल्दा हामी उद्धारको सन्देश सुनाउने छैनौँ। (इज. ७:१०) जसरी इजकिएल आफ्नो सेवाको एक समय “गुँगो” भए अर्थात्‌ तिनले सन्देश सुनाउन बन्द गरे, त्यसरी नै सुसमाचार सुनाउने सन्दर्भमा हामी पनि गुँगो हुनेछौँ। (इज. ३:२६, २७; ३३:२१, २२) झूटो धर्मको विनाशपछि मानिसहरूले अत्तालिँदै एक अर्थमा “भविष्यवक्‍ताबाट दर्शन खोज्नेछन्‌” तर तिनीहरूले जीवन बचाउन चाहिने कुनै निर्देशन पाउने छैनन्‌। (इज. ७:२६) यस्तो निर्देशन पाउने र ख्रिष्टको चेला बन्‍ने मौका सिद्धिसकेको हुनेछ।

१२ तर हामीले प्रचारकको रूपमा गर्ने काम बन्द हुनेछैन। किन? महासङ्‌कष्टको दौडान सायद हामी न्यायको सन्देश सुनाउन थाल्नेछौँ, त्यो सन्देश असिनाको विपत्तिसरह हुनेछ। त्यो सन्देशले दुष्ट युगको अन्त हुनै लागेको स्पष्ट सङ्‌केत दिनेछ।—प्रका. १६:२१.

“हेर्‌! अन्त आउँदै छ”

१३. यहोवा परमेश्‍वरले इजकिएललाई किन बायाँतिर र त्यसपछि दायाँतिर कोल्टे परेर सुत्न भन्‍नुभयो?

१३ इजकिएलले यरुसलेमको विनाश कसरी हुनेछ भनेर भविष्यवाणी गर्नुका साथै त्यो कहिले हुनेछ भन्‍ने कुराको पनि अभिनय गरेर देखाए। यहोवा परमेश्‍वरले इजकिएललाई ३९० दिनसम्म बायाँतिर कोल्टे परेर र ४० दिनसम्म दायाँतिर कोल्टे परेर सुत्न भन्‍नुभयो। एक दिन बराबर एक वर्ष थियो। (इजकिएल ४:४-६ पढ्‌नुहोस्‌; गन्ती १४:३४) इजकिएलले त्यस्तो अभिनय हरेक दिन सायद केही घण्टाको लागि गरे। त्यस अभिनयले यरुसलेमको विनाश हुने निश्‍चित वर्षलाई सङ्‌केत गर्थ्यो। इस्राएलको गल्तीको ३९० वर्ष सम्भवतः ईसापूर्व ९९७ मा सुरु भयो। त्यसै वर्ष १२ गोत्रे राज्य दुई भागमा विभाजन भएको थियो। (१ राजा १२:१२-२०) यहुदाको पापको ४० वर्ष ईसापूर्व ६४७ मा सुरु भएको हुनुपर्छ। यहुदा राज्यलाई त्यसमाथि आउनै लागेको विनाशबारे सुस्पष्ट चेतावनी दिन यर्मिया त्यसै वर्ष भविष्यवक्‍ता नियुक्‍त भएका थिए। (यर्मि. १:१, २, १७-१९; १९:३, ४) यसरी दुइटै समयावधिको अन्त ईसापूर्व ६०७ मा हुने थियो। यहोवा परमेश्‍वरले भविष्यवाणी गर्नुभएअनुसारै त्यसै वर्ष यरुसलेमको विनाश भयो। *

इजकिएलले यरुसलेमको विनाश हुने निश्‍चित वर्षलाई कसरी सङ्‌केत गरे? (अनुच्छेद १३ हेर्नुहोस्‌)

१४. (क) यहोवा आफ्नो वचन ठीक समयमै पूरा गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त भएको इजकिएलले कसरी देखाए? (ख) यरुसलेमको विनाशअघि के हुने थियो?

१४ इजकिएलले ३९० दिन र ४० दिनसम्बन्धी भविष्यवाणी गर्दा तिनलाई यरुसलेमको विनाश ठ्याक्कै कुन वर्षमा हुनेछ भनेर थाह थिएन होला। तैपनि यरुसलेमको विनाश नभएसम्म तिनले आउनै लागेको न्यायदण्डबारे यहुदीहरूलाई बारम्बार चेतावनी दिए। “तँमाथि अन्त आउनै लागेको छ” भनेर तिनले घोषणा गरे। (इजकिएल ७:३, ५-१० पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वर आफ्नो वचन ठीक समयमै पूरा गर्नुहुन्छ भन्‍ने कुरामा इजकिएललाई कुनै शङ्‌का थिएन। (यसै. ४६:१०) तिनले यरुसलेमको विनाश हुनुअघि के-कस्ता घटना हुनेछन्‌ भनेर पनि भविष्यवाणी गरे। तिनले भने: “विपत्तिमाथि विपत्ति आउनेछ।” ती घटनाहरूले गर्दा सामाजिक अवस्था झन्‌झनै खस्कने थियो, धर्मगुरुहरूले उपासनामा नेतृत्व लिने थिएनन्‌ र अबउसो शासकहरू मानिसहरूलाई डोऱ्‍याउन असक्षम हुने थिए।—इज. ७:११-१३, २५-२७.

घेराबन्दी गरिएको यरुसलेम ‘आगो बालेर बसालिएको खड्‌कुँलोजस्तै’ भयो (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. ईसापूर्व ६०९ देखि इजकिएलको भविष्यवाणीको कुन भाग पूरा हुन थाल्यो?

१५ इजकिएलले यरुसलेमको विनाशको घोषणा गरेको केही वर्षपछि उक्‍त भविष्यवाणी पूरा हुन थाल्यो। ईसापूर्व ६०९ मा इजकिएलले यरुसलेममाथिको आक्रमण सुरु भएको कुरा थाह पाए। बिगुलको आवाजले त्यतिबेला त्यस सहरका बासिन्दाहरूलाई सहरको रक्षा गर्नको लागि भेला हुन जनाउ दियो तर इजकिएलले भविष्यवाणी गरेझैँ ‘युद्धभूमिमा कोही गएनन्‌।’ (इज. ७:१४) यरुसलेमका बासिन्दाहरू सहरको रक्षाको लागि बेबिलोनी आक्रमणकारीहरूसित युद्ध गर्न एकजुट भएनन्‌। केही यहुदीले यहोवा परमेश्‍वर तिनीहरूको उद्धार गर्न आउनुहुन्छ भन्ठानेको हुनुपर्छ। किनभने यसअघि अस्सेरियालीहरूले यरुसलेममाथि आक्रमण गर्ने धम्की दिँदा यहोवा परमेश्‍वरले तिनीहरूलाई जोगाउनुभएको थियो। उहाँको एक जना स्वर्गदूतले उनीहरूका थुप्रै सिपाहीलाई मारेका थिए। (२ राजा १९:३२) तर यस पटक स्वर्गदूतहरू मदतको लागि आएनन्‌। घेराबन्दी गरिएको त्यो सहर केही समय नबित्दै ‘आगो बालेर बसालिएको खड्‌कुँलोजस्तै’ भयो। अनि त्यस सहरका बासिन्दाहरू त्यस भाँडोभित्र भएका “मासुका टुक्राहरू”-जस्तै भए। (इज. २४:१-१०) अठार महिनासम्मको त्यस्तो कष्टकर घेराबन्दीपछि यरुसलेम विनाश भयो।

“आफ्नो निम्ति स्वर्गमा धनसम्पत्ति थुपार”

१६. यहोवाले आफ्नो वचन ठीक समयमै पूरा गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त भएको आज हामी कसरी देखाउन सक्छौँ?

१६ इजकिएलको भविष्यवाणीको यस भागबाट हामी के सिक्न सक्छौँ? हामीले प्रचारमा सुनाउने सन्देश र प्रचारमा हामीले भेट्‌ने मानिसहरूको प्रतिक्रियासित के यसको कुनै सम्बन्ध छ? झूटो धर्मको विनाश कहिले हुनेछ भनेर यहोवा परमेश्‍वरले निधो गरिसक्नुभएको छ। यस सन्दर्भमा पनि उहाँले आफ्नो वचन ठीक समयमै पूरा गर्नुहुनेछ। (२ पत्रु. ३:९, १०; प्रका. ७:१-३) हामीलाई त्यो घटना ठ्याक्कै कहिले हुनेछ भनेर थाह छैन। तर हामी इजकिएलले जस्तै यहोवा परमेश्‍वरको निर्देशन पछ्याउँदै मानिसहरूलाई बारम्बार यस्तो चेतावनी दिन्छौँ: ‘तिमीहरूमाथि अन्त आउनै लागेको छ।’ हामीले यो सन्देश किन बारम्बार सुनाउनुपर्छ? इजकिएलले जुन कारणले बारम्बार सुनाउनुपर्थ्यो, त्यही कारणले। * इजकिएलले यरुसलेमको विनाशबारे परमेश्‍वरले गर्नुभएको भविष्यवाणी घोषणा गर्दा धेरैजसो मानिसले पत्याएनन्‌। (इज. १२:२७, २८) तर पछि, बेबिलोनमा निर्वासित जीवन बिताइरहेका केही यहुदीले सही मनोवृत्ति देखाए र तिनीहरू आफ्नो मातृभूमि फर्के। (यसै. ४९:८) त्यसैगरि आज थुप्रै मानिस यस संसारको अन्त हुनै लागेको छ भन्‍ने कुरा पत्याउँदैनन्‌। (२ पत्रु. ३:३, ४) तैपनि जबसम्म परमेश्‍वरले मानिसहरूलाई उहाँको सन्देश स्विकार्ने मौका दिनुहुन्छ, तबसम्म हामी इमानदार हृदय भएका मानिसहरूलाई जीवनतर्फ लैजाने बाटो भेट्टाउन मदत गर्न चाहन्छौँ।—मत्ति ७:१३, १४; २ कोरि. ६:२.

धेरैले नसुने पनि हामी इमानदार हृदय भएका मानिसहरूलाई खोजिरहन्छौँ (अनुच्छेद १६ हेर्नुहोस्‌)

पुरातन यरुसलेमका बासिन्दाहरूले किन ‘आफूसित भएको चाँदी सडकमा फाले’? (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. आउनै लागेको महासङ्‌कष्टमा हामीले के-कस्तो अवस्था र घटनाहरू देख्नेछौँ?

१७ भविष्यमा धार्मिक सङ्‌गठनहरूमाथि आक्रमण हुँदा चर्चका सदस्यहरू आफ्नो धर्मको रक्षा गर्न ‘युद्धभूमिमा जानेछैनन्‌’ भनेर पनि इजकिएलको भविष्यवाणीले हामीलाई सम्झाउँछ। तिनीहरूले “प्रभु, प्रभु” भनेर पुकार्नेछन्‌ तर त्यसको जवाफ नपाएको महसुस गर्दा “तिनीहरूका हात लुला हुनेछन्‌” र तिनीहरू ‘लगलग काँप्नेछन्‌।’ (इज. ७:३, १४, १७, १८; मत्ति ७:२१-२३) तिनीहरूले अरू के गर्नेछन्‌? (इजकिएल ७:१९-२१ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिनीहरूले आफूसित भएको चाँदी सडकमा फाल्नेछन्‌।” पुरातन यरुसलेमका बासिन्दाहरूको विषयमा बताइएको यस कुराले महासङ्‌कष्टमा हुने कुरालाई पनि छर्लङ्‌ग पार्छ। आउनै लागेको विपत्तिबाट पैसाले बचाउन सक्दैन भनेर त्यसबेला मानिसहरूले महसुस गर्नेछन्‌।

१८. प्राथमिकता दिने सम्बन्धमा हामी इजकिएलको भविष्यवाणीबाट कस्तो पाठ सिक्न सक्छौँ?

१८ इजकिएलको भविष्यवाणीको यस भागबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यसबाट सही कुरालाई प्राथमिकता दिनुपर्छ भन्‍ने पाठ सिक्न सक्छौँ। यो कुरा विचार गर्नुहोस्‌: यरुसलेमका बासिन्दाहरूले तिनीहरूको सहर नाश हुनै लागेको छ, तिनीहरूको जीवन खतरामा छ अनि भौतिक कुराहरूले आफूहरूलाई बचाउन सक्दैन भनेर बुझेपछि मात्र तिनीहरूले आफ्नो प्राथमिकतामा आमूल परिवर्तन गरे। तिनीहरूले आफ्ना सरसम्पत्ति फ्याँके र ‘भविष्यवक्‍ताबाट दर्शन खोजे।’ तर त्यस्तो परिवर्तन गर्न ढिला भइसकेको थियो। (इज. ७:२६) हामीलाई भने यस दुष्ट युगको अन्त नजिकै छ भन्‍ने कुरा राम्ररी थाह छ। त्यसैले परमेश्‍वरका प्रतिज्ञाहरूमाथिको विश्‍वासले हामीलाई सही कुरालाई प्राथमिकता दिन उत्प्रेरित गरेको छ। यसको नतिजास्वरूप हामी आध्यात्मिक धन थुपार्ने काममा व्यस्त छौँ, जुन धनको महत्त्व कहिल्यै घट्‌दैन र जसलाई कहिल्यै “सडकमा” फालिनेछैन।मत्ति ६:१९-२१, २४ पढ्‌नुहोस्‌।

१९. इजकिएलको भविष्यवाणीले आज हामीलाई के-कस्तो तरिकामा असर गर्छ?

१९ सारांशमा भन्‍नुपर्दा इजकिएलले यरुसलेमको विनाशबारे गरेको भविष्यवाणीले आज हामीलाई के-कस्तो तरिकामा असर गर्छ? यसले हामीलाई परमेश्‍वरको सेवक बन्‍न अरूलाई मदत गर्ने समय थोरै मात्र बाँकी छ भनेर सम्झाउँछ। त्यसैले हामी चेला बनाउने काममा ढिलासुस्ती नगरी लाग्छौँ। इमानदार हृदय भएका मानिसहरूले हाम्रो बुबा यहोवा परमेश्‍वरको उपासना गर्न थाल्दा हामी असाध्यै रमाउँछौँ। तर त्यस्तो कदम नचाल्नेहरूलाई पनि हामी इजकिएलले तिनको समयका मानिसहरूलाई दिएको यो चेतावनी दिइरहन्छौँ: ‘तिमीहरूमाथि अन्त आउनै लागेको छ।’ (इज. ३:१९, २१; ७:३) यसका साथै, हामी यहोवा परमेश्‍वरमाथि भरोसा राख्ने र शुद्ध उपासनालाई प्राथमिकता दिने सङ्‌कल्प गर्छौँ।—भज. ५२:७, ८; हितो. ११:२८; मत्ति ६:३३.

^ इजकिएलले यी सबै चिन्हको अभिनय मानिसहरूकै अगाडि गरेका थिए भन्‍नु तार्किक छ। किन? किनकि यहोवा परमेश्‍वरले इजकिएललाई कुनै-कुनै अभिनय, जस्तै: रोटी पकाउने र पोको बोकेर निस्कने अभिनय मानिसहरू “सबैले देख्नेगरि” गर्न भन्‍नुभयो।—इज. ४:१२; १२:७.

^ यरुसलेमको विनाश हुन दिएर यहोवा परमेश्‍वरले यहुदाको दुई-गोत्रे राज्यमाथि मात्र होइन, इस्राएलको दस-गोत्रे राज्यमाथि पनि न्यायदण्ड ल्याउनुभयो। (यर्मि. ११:१७; इज. ९:९, १०) धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी) किताबको खण्ड १, पृ. ४६२ मा भएको “कालक्रम—ईसापूर्व ९९७ देखि यरुसलेमको विनाशसम्म” हेर्नुहोस्‌।

^ याद गर्नुहोस्‌, इजकिएल ७:५-७ सम्मको छोटो विवरणमा यहोवा परमेश्‍वरले आफ्नो सन्देशलाई जोड दिन “आउनेछ,” “आउँदै छ,” “आएको छ” भन्‍ने शब्दहरू थुप्रै चोटि प्रयोग गर्नुभएको छ।