सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ८

‘म एउटा गोठालो नियुक्‍त गर्नेछु’

‘म एउटा गोठालो नियुक्‍त गर्नेछु’

इजकिएल ३४:२३

मुख्य कुरा: मसीहसम्बन्धी चार वटा भविष्यवाणी र त्यसको पूर्ति

१-३. इजकिएलको मन किन भारी भएको छ र अब तिनले परमेश्‍वरबाट कस्तो कुरा रेकर्ड गर्न प्रेरणा पाउँछन्‌?

 इजकिएल निर्वासनमा परेको यो छैटौँ वर्ष हो। * सयौँ किलोमिटर टाढा पर्ने आफ्नो प्यारो मातृभूमि यहुदा खराब शासकहरूको हातमा परेको कुरा सोच्दा इजकिएलको मन भारी हुन्छ। तिनले त्यहाँ थुप्रै शासक परिवर्तन भएको देखेका छन्‌।

इजकिएलको जन्म वफादार राजा योसियाहको शासनकालको बीचतिर भएको थियो। कुँदिएका मूर्तिहरू नाश गरेर यहुदामा शुद्ध उपासना पुनर्स्थापना गर्न योसियाहले चलाएको अभियानबारे थाह पाउँदा तिनी खुसी भएको हुनुपर्छ। (२ इति. ३४:१-८) तर योसियाहले गरेको सुधार लामो समयसम्म रहेन किनभने तिनीपछिका प्रायजसो राजाहरू मूर्तिपूजामा लागे। त्यस्ता खराब शासकहरूको शासनकालमा यहुदा आध्यात्मिक र नैतिक पतनको दलदलमा फस्दै गयो। तर के अब कुनै आशा थिएन? त्यसो त पक्कै होइन!

यहोवा परमेश्‍वरले वफादार भविष्यवक्‍ता इजकिएललाई भविष्यका शासक र गोठालो अर्थात्‌ मसीहबारे थुप्रै भविष्यवाणीमध्ये पहिलो भविष्यवाणी रेकर्ड गर्न लगाउनुहुन्छ। मसीहले सदाको लागि शुद्ध उपासना पुनर्स्थापना गर्नुहुनेछ र यहोवा परमेश्‍वरका भेडाहरूको कोमल हेरचाह गर्नुहुनेछ। हामीले मसीहसम्बन्धी गरिएका यी भविष्यवाणीहरू राम्ररी केलाउनुपर्छ किनभने त्यसको पूर्तिले हाम्रो अनन्त भविष्यलाई असर गर्छ। अब हामी मसीहसम्बन्धी इजकिएलको किताबमा पाइने चार वटा भविष्यवाणी केलाऔँ।

“एउटा कलिलो डाँठ” “झ्याम्म परेको देवदारको ठूलो रूख” बन्छ

४. इजकिएलले केबारे भविष्यवाणी गरे र यहोवा परमेश्‍वरले त्यस भविष्यवाणीको सुरुमा के गर्न लगाउनुभयो?

ईसापूर्व ६१२ तिर “यहोवाको वचन” इजकिएलकहाँ आयो र तिनले मसीहको शासन कस्तो हुनेछ र हामीले किन उहाँको राज्यमा भरोसा राख्नुपर्छ भनेर बताउने भविष्यवाणी गरे। त्यस भविष्यवाणीको सुरुमा यहोवा परमेश्‍वरले इजकिएललाई निर्वासनमा रहेका सङ्‌गी यहुदीहरूसामु एउटा भविष्यसूचक अड्‌को थाप्न लगाउनुभयो, जसले यहुदाका शासकहरूको अवफादारीलाई उदाङ्‌ग पार्नुका साथै असल मसीही शासकको आवश्‍यकतालाई जोड दियो।—इज. १७:१, २.

५. अड्‌कोको सार बताउनुहोस्‌।

इजकिएल १७:३-१० पढ्‌नुहोस्‌। उक्‍त अड्‌कोको सार यसप्रकार छ: “एउटा ठूलो चील”-ले देवदारको रूखको टुप्पो चुडाउँछ र त्यसलाई “व्यापारीहरूको देशमा” लगेर रोप्छ। त्यसपछि त्यस चीलले ‘लेबनानबाट केही बिउ ल्याउँछ’ र “प्रशस्त पानी भएको” मलिलो जमिनमा रोप्छ। अनि त्यो बिउ बढेर ‘अङ्‌गुरको बोट बन्छ।’ त्यसपछि दोस्रो “ठूलो चील” देखा पर्छ। त्यो अङ्‌गुरको बोटले “आतुर हुँदै” आफ्नो जरा त्यो दोस्रो चीलतिर फर्काउँछ; यसो गर्नुको कारण त्यस चीलले आफूलाई प्रशस्त पानी भएको अर्को ठाउँमा लगेर रोपिदेओस्‌ भन्‍ने थियो। यहोवा परमेश्‍वर त्यस अङ्‌गुरको बोटको व्यवहारलाई निन्दा गर्नुहुन्छ; उहाँ त्यसको जरा उखेलिने र “त्यो सुकेर खङ्‌ग्रङ्‌ङै” हुने सङ्‌केत गर्नुहुन्छ।

पहिलो ठूलो चीलले बेबिलोनका राजा नबुकद्‌नेजरलाई चित्रण गर्थ्यो (अनुच्छेद ६ हेर्नुहोस्‌)

६. अड्‌कोको अर्थ बताउनुहोस्‌।

उक्‍त अड्‌कोको अर्थ के थियो? (इजकिएल १७:११-१५ पढ्‌नुहोस्‌) ईसापूर्व ६१७ मा बेबिलोनका राजा नबुकद्‌नेजरले (पहिलो “ठूलो चील”) यरुसलेमलाई घेराबन्दी गरे। तिनले यहुदाका राजा यहोयाकिनलाई (‘टुप्पोको डाँठ’) उनको सिंहासनबाट हटाएर बेबिलोन (“व्यापारीहरूको देश”) ल्याए। त्यसपछि नबुकद्‌नेजरले सिदकियाहलाई (शाही “बिउ”-मध्ये एक जना) यरुसलेमको सिंहासनमा बसाले। यहुदाका यी नयाँ राजालाई परमेश्‍वरको नाममा शपथ खान लगाइयो, जसअनुसार तिनले बेबिलोनको अधीनमा रहेर शासन गर्नुपर्थ्यो। (२ इति. ३६:१३) तर सिदकियाहले आफूले खाएको शपथलाई तुच्छ ठाने; तिनले बेबिलोनको विद्रोह गरे र मिश्रका फारोलाई (दोस्रो “ठूलो चील”) गुहारेर सेना मगाए तर त्यो व्यर्थ साबित भयो। सिदकियाहको त्यस विश्‍वासघाती व्यवहारको यहोवा परमेश्‍वरले निन्दा गर्नुभयो। (इज. १७:१६-२१) आखिरमा सिदकियाहलाई सिंहासनबाट हटाइयो र तिनी बेबिलोनको झ्यालखानामा मरे।—यर्मि. ५२:६-११.

७. भविष्यसूचक अड्‌कोबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

यो भविष्यसूचक अड्‌कोबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? पहिलो, हामी शुद्ध उपासकहरू भएकोले हामी आफ्नो वचनमा पक्का हुनुपर्छ। येसुले यसो भन्‍नुभएको थियो: “तिमीहरूको वचन ‘हुन्छ’ भने ‘हुन्छ’ र ‘हुँदैन’ भने ‘हुँदैन’ होस्‌।” (मत्ति ५:३७) जस्तै: अदालतमा बयान दिँदा सत्य बोल्छु भनेर परमेश्‍वरको नाममा शपथ खानुपऱ्‍यो भने त्यस्तो शपथलाई हामी गम्भीरतासाथ लिन्छौँ। दोस्रो, हामी कसमाथि भरोसा गर्छौँ, त्यसबारे होसियार हुनुपर्छ। बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “शासकमाथि भरोसा नगर, अरू कुनै मानिसमाथि पनि भरोसा नगर किनकि तिनीहरूले तिम्रो उद्धार गर्न सक्दैनन्‌।”—भज. १४६:३.

८-१०. यहोवा परमेश्‍वरले भविष्यको मसीही शासकको वर्णन कसरी गर्नुभयो र त्यो भविष्यवाणी कसरी पूरा भयो? (“मसीहसम्बन्धी भविष्यवाणी—झ्याम्म परेको देवदारको ठूलो रूख” भन्‍ने पेटी पनि हेर्नुहोस्‌)

तर एक जना यस्तो शासक हुनुहुन्छ, जो हाम्रो भरोसाको लायक हुनुहुन्छ। डाँठ अर्को ठाउँमा लगेर रोपिएको भविष्यसूचक अड्‌को बताउनुभएपछि यहोवा परमेश्‍वरले भविष्यको मसीही शासकको व्याख्या गर्न सोही जीवन्त उदाहरणतर्फ ध्यान खिच्नुभयो।

भविष्यवाणी के भन्छ? (इजकिएल १७:२२-२४ पढ्‌नुहोस्‌) अबचाहिँ ती ठूला चीलहरूले होइन तर यहोवा परमेश्‍वर आफैले केही गर्नुहुनेछ। उहाँले “देवदारको अग्लो रूखको टुप्पो”-बाट एउटा कलिलो डाँठ भाँच्नुहुनेछ र ‘त्यसलाई एउटा अग्लो डाँडामा रोप्नुहुनेछ।’ यो डाँठ फस्टाएर “सबै किसिमका चराचुरुङ्‌गी”-लाई बास दिन सक्ने “झ्याम्म परेको देवदारको ठूलो रूख बन्‍नेछ।” अनि “मैदानका सबै रूखले” यहोवा परमेश्‍वरले नै त्यस रूखलाई बढाउनुभएको हो भनेर जान्‍नेछन्‌।

१० भविष्यवाणी कसरी पूरा भयो? यहोवा परमेश्‍वरले आफ्नो छोरा येसु ख्रिष्टलाई दाउदको राजकीय वंशबाट (“देवदारको अग्लो रूख”) रोज्नुभयो र उहाँलाई स्वर्गीय सियोन डाँडामा (“अग्लो डाँडा”) रोप्नुभयो। (भज. २:६; यर्मि. २३:५; प्रका. १४:१) यसरी यहोवा परमेश्‍वरले आफ्नो छोरा, जसलाई शत्रुहरूले “मानिसहरूमध्ये सबैभन्दा तल्लो स्तरको” ठाने, उहाँलाई लिनुभयो र “उहाँको पुर्खा दाउदको सिंहासन”-मा बसालेर उच्च पार्नुभयो। (दानि. ४:१७, TBS; लुका १:३२, ३३) झ्याम्म परेको देवदारको ठूलो रूखजस्तै मसीही राजा येसु ख्रिष्ट पनि सारा पृथ्वीमाथि छाउनुहुनेछ र आफ्ना सबै प्रजाको लागि आशिष्‌को स्रोत बन्‍नुहुनेछ। हो, हामीले भरोसा गर्न लायकको शासक उहाँ नै हुनुहुन्छ! येसुको शासनको छत्रछायामा पृथ्वीभरिका आज्ञाकारी मानिसहरू ‘सुरक्षित रहनेछन्‌ अनि विपत्तिको डरले तिनीहरूलाई पिरोल्नेछैन।’—हितो. १:३३.

११. “कलिलो डाँठ” “झ्याम्म परेको देवदारको ठूलो रूख” बन्‍ने भविष्यवाणीबाट हामी कस्तो महत्त्वपूर्ण पाठ सिक्न सक्छौँ?

११ भविष्यवाणीबाट कस्तो पाठ सिक्न सक्छौँ? “कलिलो डाँठ” “झ्याम्म परेको देवदारको ठूलो रूख” बन्‍ने रोचक भविष्यवाणीबाट हामी एउटा अत्यन्तै महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउन सक्छौँ। त्यो प्रश्‍न हो: हामीले कसमाथि भरोसा गर्नुपर्छ? मानव सरकार र तिनीहरूको सैन्य शक्‍तिमा भरोसा गर्नु मूर्खता हो। साँचो सुरक्षाको लागि आफ्नो पूर्ण भरोसा मसीही राजा येसु ख्रिष्टमाथि राख्नु बुद्धिमानी हो। मानिसजातिको एक मात्र आशा भनेको उहाँको सक्षम हातमा सुम्पिइएको स्वर्गीय सरकार नै हो।—प्रका. ११:१५.

“जसको त्यस मुकुटमाथि अधिकार छ”

१२. यहोवा परमेश्‍वरले दाउदसित बाँधेको करारलाई कायमै राखेको कुरा कसरी स्पष्ट पार्नुभयो?

१२ जब परमेश्‍वरले दुइटा ठूलो चीलबारे भविष्यसूचक अड्‌कोको अर्थ खुलाउनुभयो, तब दाउदको राजकीय वंशको विश्‍वासघाती राजा सिदकियाह सिंहासनबाट हटाइनेछन्‌ र तिनलाई बेबिलोनमा बन्दी बनाएर लगिनेछ भनेर इजकिएलले बुझे। इजकिएलले यस्तो सोचेका हुन सक्छन्‌: ‘तर दाउदको वंशबाट आएको राजाले सदासर्वदा राज्य गर्नेछ भनेर परमेश्‍वरले दाउदसित करार बाँध्नुभएको होइन र?’ (२ समु. ७:१२, १६) इजकिएललाई त्यस्तो लागेको थियो भने तिनले जवाफको लागि धेरै समय कुर्नु परेन। ईसापूर्व ६११ तिर अर्थात्‌ निर्वासनको सातौँ वर्षमा, जब सिदकियाहले नै यहुदामा शासन गरिरहेका थिए, त्यतिबेला इजकिएलकहाँ ‘यहोवाको वचन आयो।’ (इज. २०:२) यहोवा परमेश्‍वरले तिनलाई मसीहसम्बन्धी अर्को एउटा भविष्यवाणी गर्न लगाउनुभयो। परमेश्‍वरले दाउदसित बाँधेको करारलाई कायमै राख्नुभएको छ भनेर त्यस भविष्यवाणीले स्पष्ट पाऱ्‍यो। भविष्यको मसीही शासक दाउदको वंशको हुने भएकोले त्यस मुकुटमाथि ती शासकको अधिकार हुनेछ भनेर त्यस भविष्यवाणीले सङ्‌केत गऱ्‍यो।

१३, १४. इजकिएल २१:२५-२७ मा रेकर्ड गरिएको भविष्यवाणीको मुख्य सार के हो र त्यो भविष्यवाणी कसरी पूरा भयो?

१३ भविष्यवाणी के भन्छ? (इजकिएल २१:२५-२७ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वरले इजकिएलमार्फत “इस्राएलको दुष्ट कुलनायक”-लाई सम्बोधन गर्नुहुन्छ र तिनलाई सजाय दिने समय आएको कुरा सीधै बताउनुहुन्छ। यहोवा परमेश्‍वर त्यस दुष्ट शासकलाई त्यसको “पगरी” र “मुकुट” (राजकीय शक्‍तिको चिन्ह) उतारिनेछ भनेर बताउनुहुन्छ। त्यसपछि “तल” खसालिएको शक्‍ति उच्च पारिने थियो र “उच्च” पारिएको चाहिँ तल खसालिने थियो। तर ‘जसको त्यस मुकुटमाथि अधिकार छ, ऊ नआउन्जेल’ उच्च पारिएको शक्‍तिले शासन गरिरहने थियो। त्यसपछि यहोवा परमेश्‍वरले उसलाई राज्य सुम्पनुहुने थियो।

१४ भविष्यवाणी कसरी पूरा भयो? ईसापूर्व ६०७ मा बेबिलोनीहरूले यरुसलेम विनाश गरेर राजा सिदकियाहलाई सिंहासनबाट हटाए अनि तिनलाई बन्दी बनाएर लगे। यसरी “उच्च पारिएको” यहुदाको राज्य तल खसालियो, जसको केन्द्र यरुसलेममा थियो। यरुसलेममा दाउदको वंशको कुनै पनि राजाले शासन नगरेको समयमा “तल” खसालिएको अन्यजातिको शक्‍तिलाई “उच्च” पारियो। तर त्यसले पृथ्वीमाथि केही समयको लागि मात्र शासन गर्ने थियो। इस्वी संवत्‌ १९१४ मा यहोवा परमेश्‍वरले येसु ख्रिष्टलाई राजा नियुक्‍त गर्नुहुँदा “राष्ट्रहरूलाई दिइएको समय” अन्त भयो। (लुका २१:२४) येसु राजा दाउदको वंशबाट आउनुभएकोले “त्यस मुकुटमाथि अधिकार” भएको व्यक्‍ति उहाँ नै हुनुहुन्थ्यो। * (उत्प. ४९:१०) यसरी यहोवा परमेश्‍वरले दाउदको वंशको स्थायी उत्तराधिकारीलाई सदासर्वदा रहने राज्य दिन्छु भनेर गर्नुभएको वाचा येसुमा पूरा गर्नुभयो।—लुका १:३२, ३३.

येसुसित परमेश्‍वरको राज्यको राजा हुने अधिकार छ (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. हामी राजा येसु ख्रिष्टमा किन शत प्रतिशत भरोसा गर्न सक्छौँ?

१५ भविष्यवाणीबाट कस्तो पाठ सिक्न सक्छौँ? हामी राजा येसु ख्रिष्टमा शत प्रतिशत भरोसा गर्न सक्छौँ। किन? येसु मानिसहरूले रोजेको राजा हुनुहुन्‍न वा उहाँ सत्ता हडपेर राजा बन्‍नुभएको पनि होइन। बरु उहाँलाई यहोवा परमेश्‍वरले नै रोज्नुभयो र उहाँको अधिकार लाग्ने ‘राज्य दिनुभयो।’ (दानि. ७:१३, १४) यहोवा परमेश्‍वर आफैले नियुक्‍त गर्नुभएको राजा पक्कै हाम्रो भरोसाको लायक हुनुहुन्छ!

‘मेरो सेवक दाउद तिनीहरूको गोठालो हुनेछन्‌’

१६. यहोवा परमेश्‍वर आफ्ना भेडाहरूबारे कस्तो महसुस गर्नुहुन्छ र इजकिएलको समयका “इस्राएलका गोठालाहरू”-ले बगाललाई कस्तो व्यवहार गरे?

१६ सर्वोच्च गोठालो यहोवा आफ्ना भेडाहरू—पृथ्वीमा रहेका आफ्ना उपासकहरूको गहिरो चासो राख्नुहुन्छ। (भज. १००:३) आफ्ना भेडाहरूको हेरचाह गर्ने जिम्मेवारी मानव उपगोठालाहरूलाई सुम्पँदा तिनीहरूले उहाँका भेडाहरूसित कस्तो व्यवहार गर्छन्‌ भनेर उहाँ नियाल्नुहुन्छ। त्यसैले सोच्नुहोस्‌ त, इजकिएलको समयका “इस्राएलका गोठालाहरू” देखेर उहाँलाई कस्तो लाग्यो होला! किनकि ती गोठालाहरूले लाजै नमानी इस्राएलीहरूलाई “कठोर र निर्दयी व्यवहार” गरिरहेका थिए। फलस्वरूप बगालले दुःख पायो र तिनीहरूमध्ये धेरैले शुद्ध उपासना नै त्यागे।—इज. ३४:१-६.

१७. यहोवा परमेश्‍वरले आफ्नो बगाललाई कसरी छुटाउनुभयो?

१७ यहोवा परमेश्‍वरले के गर्नुहुने थियो? इस्राएलका ती कठोर शासकहरूलाई उहाँले यसो भन्‍नुभयो, “म तिमीहरूसित मेरा भेडाहरूको हिसाब माग्नेछु।” उहाँले यसो पनि भन्‍नुभयो: “म मेरा भेडाहरूलाई . . . छुटाएर ल्याउनेछु।” (इज. ३४:१०) यहोवा परमेश्‍वरले सधैँ आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुभएको छ। (यहो. २१:४५) ईसापूर्व ६०७ मा उहाँले बेबिलोनीहरूलाई चलाएर ती स्वार्थी गोठालाहरूको हातबाट शासन गर्ने अधिकार खोस्नुभयो र आफ्ना भेडाहरूलाई छुटाउनुभयो। सत्तरी वर्षपछि उहाँले आफ्नो बगाललाई बेबिलोनबाट छुटाउनुभयो र तिनीहरूलाई मातृभूमिमा फर्काउनुभयो, ताकि तिनीहरूले साँचो उपासना पुनर्स्थापना गर्न सकून्‌। तर मातृभूमिमा फर्के पनि तिनीहरू अझै संसारका शक्‍तिहरूकै अधीनमा रहने भएकोले तिनीहरू निस्सहाय नै भइरहे। किनभने “राष्ट्रहरूलाई दिइएको समय” अझ सयौँ वर्षसम्म चल्ने थियो।—लुका २१:२४.

१८, १९. ईसापूर्व ६०६ मा इजकिएलले कस्तो भविष्यवाणी गरे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

१८ ईसापूर्व ६०६ मा अर्थात्‌ यरुसलेम विनाश भएको झन्डै एक वर्षपछि यहोवा परमेश्‍वरले इजकिएललाई एउटा भविष्यवाणी गर्न प्रेरणा दिनुभयो। इस्राएलीहरू बेबिलोनको निर्वासनबाट छुट्‌नुभन्दा दशकौँअघि गरिएको त्यस भविष्यवाणीले सर्वोच्च गोठालो आफ्ना भेडाहरूको अनन्त हितमा गहिरो चासो राख्नुहुन्छ भनेर देखाउँछ। त्यस भविष्यवाणीमा मसीही शासकले यहोवा परमेश्‍वरका भेडाहरूलाई कसरी गोठालोले झैँ हेरचाह गर्नेछन्‌ भनेर व्याख्या गरिएको छ।

१९ भविष्यवाणी के भन्छ? (इजकिएल ३४:२२-२४ पढ्‌नुहोस्‌) परमेश्‍वरले ‘एउटा गोठालो नियुक्‍त गर्नुहुनेछ,’ जसलाई उहाँले “मेरो सेवक दाउद” भन्‍नुभएको छ। यस पदमा “एउटा गोठालो” र “सेवक” भन्‍ने एकवचन रूप चलाइएको छ। यसबाट तिनले दाउदको राजघरानालाई फेरि निरन्तरता दिनेछैनन्‌, बरु तिनी आफै स्थायी उत्तराधिकारी हुनेछन्‌ भन्‍ने कुरा बुझिन्छ। ती गोठालोले परमेश्‍वरका भेडाहरूलाई खुवाउनेछन्‌ र उनी “तिनीहरूका शासक हुनेछन्‌।” यहोवा परमेश्‍वरले आफ्ना भेडाहरूसित “शान्तिको करार” गर्नुहुनेछ। “झरीजस्तै तिनीहरूमाथि आशिष्‌ बर्सनेछ” र तिनीहरूले सुरक्षा, फलिफाप र समृद्धिको अनुभव गर्नेछन्‌। त्यतिबेला मानिसहरूबीच मात्र होइन तर मानिस र जनावरहरूबीच पनि शान्ति छाउनेछ!—इज. ३४:२५-२८.

२०, २१. (क) “मेरो सेवक दाउद”-बारे गरिएको भविष्यवाणी कसरी पूरा भयो? (ख) “शान्तिको करार”-बारे इजकिएलले बताएको कुरा भविष्यमा कसरी पूरा हुनेछ?

२० भविष्यवाणी कसरी पूरा भयो? ती शासकलाई “मेरो सेवक दाउद” भन्‍नुहुँदा परमेश्‍वरले भविष्यसूचक ढङ्‌गमा येसुबारे कुरा गर्दै हुनुहुन्थ्यो, जो दाउदको वंशको हुनुहुन्छ र जसको त्यस मुकुटमाथि अधिकार छ। (भज. ८९:३५, ३६) पृथ्वीमा छँदा येसुले आफूलाई “असल गोठालो” साबित गर्दै “भेडाहरूको निम्ति” आफ्नो जीवन अर्पण गर्नुभयो। (युह. १०:१४, १५) अहिले उहाँ स्वर्गमा हाम्रो गोठालो हुनुहुन्छ। (हिब्रू १३:२०) इस्वी संवत्‌ १९१४ मा परमेश्‍वरले येसुलाई राजा नियुक्‍त गर्नुभयो अनि पृथ्वीमा रहेको परमेश्‍वरका भेडाहरूलाई गोठालोले झैँ हेरचाह गर्ने र उनीहरूलाई खुवाउने काम सुम्पनुभयो। त्यसको केही समयपछि इस्वी संवत्‌ १९१९ मा भर्खरै नियुक्‍त भएका राजाले “घरका अरू दासहरू” अर्थात्‌ स्वर्गीय र पार्थिव आशा भएका परमेश्‍वरका वफादार उपासकहरूलाई खुवाउन “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गर्नुभयो। (मत्ति २४:४५-४७) ख्रिष्टको निर्देशनमा विश्‍वासी दासले परमेश्‍वरका भेडाहरूलाई प्रशस्त आध्यात्मिक भोजन खुवाएको छ। यस्तो भोजन पाएकोले परमेश्‍वरको बगालले फस्टाउँदै गइरहेको आध्यात्मिक प्रमोदवनमा शान्ति र सुरक्षा कायम राख्न सकेको छ।

२१ “शान्तिको करार” र झरीजस्तै बर्सने आशिष्‌बारे इजकिएलले बताएको कुरा भविष्यमा कसरी पूरा हुनेछ? आउँदै गरेको नयाँ संसारमा यहोवा परमेश्‍वरका शुद्ध उपासकहरूले “शान्तिको करार”-ले ल्याउने आशिष्‌हरूबाट पूरापूर फाइदा उठाउनेछन्‌। पृथ्वी प्रमोदवनमा परिणत हुँदा विश्‍वासी मानिसहरूलाई युद्ध, अपराध, भोकमरी, रोगबिमार र जङ्‌गली जनावरहरूको खतरा हुनेछैन। (यसै. ११:६-९; ३५:५, ६; ६५:२१-२३) हो, पार्थिव प्रमोदवनमा परमेश्‍वरका भेडाहरू “ढुक्कसित बस्नेछन्‌ र कसैले पनि तिनीहरूलाई तर्साउनेछैन।” त्यस्तो ठाउँमा सदासर्वदा बाँच्ने आशा पाएकोमा के तपाईँ रोमाञ्चित हुनुहुन्‍न?—इज. ३४:२८.

येसुले स्वर्गमा हुनुभएको गोठालोको रूपमा परमेश्‍वरका भेडाहरूसित कस्तो व्यवहार गरिँदै छ भनेर नियाल्नुहुन्छ (अनुच्छेद २२ हेर्नुहोस्‌)

२२. भेडाहरूबारे येसु कस्तो महसुस गर्नुहुन्छ र उपगोठालाहरूले कसरी उहाँले जस्तै चासो देखाउन सक्छन्‌?

२२ भविष्यवाणीबाट कस्तो पाठ सिक्न सक्छौँ? आफ्नो बुबाले जस्तै येसुले पनि भेडाहरूको हितमा गहिरो चासो लिनुहुन्छ। आफ्नो बुबाका भेडाहरूले प्रशस्त आध्यात्मिक भोजन पाइरहून्‌ अनि आध्यात्मिक प्रमोदवनमा शान्ति र सुरक्षा पाइरहून्‌ भनेर गोठालो-राजाले सुनिश्‍चित गर्नुहुन्छ। त्यस्तो शासकको निगरानीमा बस्न पाउनु हाम्रो लागि साँच्चै आश्‍वासनदायी कुरा हो। उपगोठालाहरूले भेडाहरूप्रति येसुले जस्तै चासो देखाउनुपर्छ। एल्डरहरूले “स्वेच्छाले” र “तत्परतासाथ” बगाललाई गोठालोले झैँ हेरचाह गर्नुपर्छ र बगालले अनुकरण गर्न लायकको उदाहरण बसाल्नुपर्छ। (१ पत्रु. ५:२, ३) कुनै पनि एल्डरले यहोवा परमेश्‍वरको भेडासित कहिल्यै कठोर व्यवहार गर्नु हुँदैन। यहोवा परमेश्‍वरले इजकिएलको समयका इस्राएलका कठोर गोठालाहरूलाई भन्‍नुभएको यो कुरा नबिर्सनुहोस्‌: “म तिमीहरूसित मेरा भेडाहरूको हिसाब माग्नेछु।” (इज. ३४:१०) आफ्ना भेडाहरूसित तिनीहरूले कस्तो व्यवहार गरिरहेका छन्‌ भनेर सर्वोच्च गोठालोले अनि उहाँको छोराले पनि नजिकबाट हेरिरहनुहुन्छ।

“मेरो सेवक दाउदचाहिँ सधैँभरिका लागि तिनीहरूका शासक हुनेछन्‌”

२३. इस्राएल राष्ट्रलाई एकतामा बाँध्ने कस्तो प्रतिज्ञा यहोवा परमेश्‍वरले गर्नुभयो र उहाँले त्यो कसरी पूरा गर्नुभयो?

२३ यहोवा परमेश्‍वर आफ्ना उपासकहरूले एकतामा रहेर सेवा गरेको चाहनुहुन्छ। पुनर्स्थापनासम्बन्धी भविष्यवाणीमा परमेश्‍वरले आफ्ना मानिसहरूलाई—यहुदाको दुई-गोत्रे राज्य र इस्राएलको दस-गोत्रे राज्य दुवैका प्रतिनिधिहरूलाई जम्मा गर्ने र दुइटा “लौरो” आफ्नो हातमा लिएर “एउटै लौरो” बनाएजस्तैगरि तिनीहरूलाई “एउटै जाति” बनाउने प्रतिज्ञा गर्नुभयो। (इज. ३७:१५-२३) परमेश्‍वरले एकीकृत इस्राएललाई ईसापूर्व ५३७ मा प्रतिज्ञा गरिएको देशमा पुनर्स्थापना गर्नुहुँदा यो भविष्यवाणी पूरा भयो। * तर त्यो एकता पछि अझै व्यापक र स्थायी रूपमा छाउने एकताको झलक मात्र थियो। इस्राएललाई एकतामा बाँध्ने प्रतिज्ञा गर्नुभएपछि भविष्यका राजाले पृथ्वीभरिका साँचो उपासकहरूलाई सदासर्वदा रहिरहने एकतामा कसरी बाँध्नुहुनेछ भनेर यहोवा परमेश्‍वरले इजकिएललाई एउटा भविष्यवाणी गर्न लगाउनुभयो।

२४. यहोवा परमेश्‍वर मसीही शासकको वर्णन कसरी गर्नुहुन्छ र यी राजाको शासन कस्तो हुनेछ?

२४ भविष्यवाणी के भन्छ? (इजकिएल ३७:२४-२८ पढ्‌नुहोस्‌) यहोवा परमेश्‍वर मसीही शासकलाई फेरि एकचोटि “मेरो सेवक दाउद,” “एउटा गोठालो” र “शासक” भन्‍नुहुन्छ तर अब भने प्रतिज्ञा गरिएका यी व्यक्‍तिलाई उहाँ “राजा” पनि भन्‍नुहुन्छ। (इज. ३७:२२) यी राजाको शासन कस्तो हुनेछ? उहाँको शासन स्थायी हुनेछ। “सधैँभरि” र “सदाको लागि” भन्‍ने अभिव्यक्‍तिले यी राजाको शासनमा असीमित आशिष्‌ पाइनेछ भनेर सङ्‌केत गर्छ। * उहाँको शासनमा एकता छाउनेछ। वफादार प्रजाले “एकै जना राजा”-को अधीनमा रहेर एउटै खालका “फैसलाहरू” पालन गर्नेछन्‌ र तिनीहरू सबै जना “त्यहाँ सधैँभरि बस्नेछन्‌।” उहाँको शासनले उहाँका प्रजालाई यहोवा परमेश्‍वरसित अझ घनिष्ठ बनाउनेछ। यी प्रजासित यहोवा परमेश्‍वरले “शान्तिको करार” बाँध्नुहुनेछ। यहोवा तिनीहरूको परमेश्‍वर हुनुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन्‌। अनि उहाँको मन्दिर “सदाको लागि [तिनीहरूमाझ] हुनेछ।”

२५. मसीही राजाबारे गरिएको भविष्यवाणी कसरी पूरा भयो?

२५ भविष्यवाणी कसरी पूरा भयो? इस्वी संवत्‌ १९१९ मा विश्‍वासी अभिषिक्‍त जनहरू तिनीहरूका “एउटा गोठालो” अर्थात्‌ मसीही राजा येसु ख्रिष्टको नेतृत्वमा एक भए। पछि “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” “एउटा ठूलो भीड” अभिषिक्‍त जनहरूसितै एक भयो। (प्रका. ७:९) यसरी तिनीहरू “एकै जना गोठालो”-को नेतृत्वमा “एउटै बगाल” भएका छन्‌। (युह. १०:१६) तिनीहरूको आशा स्वर्गीय होस्‌ वा पार्थिव, तिनीहरू यहोवा परमेश्‍वरका फैसलाहरू आज्ञाकारी भई पालन गर्छन्‌। यसको नतिजास्वरूप तिनीहरू आध्यात्मिक प्रमोदवनमा एकताबद्ध भई विश्‍वव्यापी भाइचाराको आनन्द उठाउँछन्‌। यहोवा परमेश्‍वरको आशिष्‌ले गर्दा तिनीहरूमाझ शान्ति छाएको छ र उहाँको शुद्ध उपासनालाई चित्रण गर्ने उहाँको मन्दिर तिनीहरूमाझ छ। यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ र तिनीहरू अहिले र सदासर्वदा उहाँको उपासक हुन पाएकोमा गर्व गर्छन्‌!

२६. आध्यात्मिक प्रमोदवनको एकतामा तपाईँ कसरी योगदान पुऱ्‍याउन सक्नुहुन्छ?

२६ भविष्यवाणीबाट कस्तो पाठ सिक्न सक्छौँ? यहोवा परमेश्‍वरलाई शुद्ध उपासना चढाउने विश्‍वव्यापी भाइचाराको भाग हुन पाउनु हाम्रो लागि सुअवसर हो। तर यो सुअवसर सँगसँगै जिम्मेवारी पनि आउँछ। त्यो हो, हामीले पनि एकतामा योगदान पुऱ्‍याउनुपर्छ। त्यसैले हामी सबैको एउटै विश्‍वास र एउटै काम हुनुपर्छ। (१ कोरि. १:१०) हुन पनि हामी सबै तत्परताका साथ एउटै आध्यात्मिक भोजन लिन्छौँ, एउटै नैतिक स्तर पालन गर्छौँ अनि एउटै महत्त्वपूर्ण काम—राज्य प्रचारकार्य र चेला बनाउने काममा भाग लिन्छौँ। तर हाम्रो एकताको मुख्य आधार भनेको प्रेम हो। हामीले प्रेम अनि प्रेमका विभिन्‍न पक्षहरू जस्तै, समानुभूति, अनुकम्पा र क्षमाजस्ता गुणहरू खेती गर्दै त्यसलाई व्यवहारमा पनि देखायौँ भने एकतामा योगदान पुऱ्‍याइरहेका हुनेछौँ। “प्रेम” “एकतामा पूर्ण रूपमा गाँस्ने बन्धन” हो भनी बाइबल बताउँछ।—कल. ३:१२-१४; १ कोरि. १३:४-७.

यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूको विश्‍वव्यापी भाइचारालाई आशिष्‌ दिनुभएको छ (अनुच्छेद २६ हेर्नुहोस्‌)

२७. (क) इजकिएलको किताबमा पाइने मसीहसम्बन्धी भविष्यवाणीहरूबारे तपाईँ कस्तो महसुस गर्नुहुन्छ? (ख) अर्को अध्यायमा हामी के छलफल गर्नेछौँ?

२७ इजकिएलको किताबमा पाइने मसीहसम्बन्धी भविष्यवाणीहरूको लागि हामी कत्ति आभारी छौँ! ती भविष्यवाणीहरू पढ्‌दा र मनन गर्दा हाम्रो प्यारो राजा येसु ख्रिष्ट हाम्रो भरोसाको लायक हुनुहुन्छ, “त्यस मुकुटमाथि” उहाँको अधिकार छ, उहाँले कोमलतासाथ गोठालोले झैँ हाम्रो हेरचाह गर्नुहुन्छ र सधैँभरि रहने एकताको बन्धनमा हामीलाई बाँधेर राख्नुहुन्छ भनेर सिक्न सक्छौँ। मसीही राजाको प्रजा हुन पाउनु हाम्रो लागि साँच्चै ठूलो सुअवसर हो। यो कुरा पनि मनमा राख्नुहोस्‌, मसीहबारे गरिएका यी भविष्यवाणीहरू इजकिएलको किताबमा वर्णन गरिएको मुख्य विषय पुनर्स्थापनाकै भाग हुन्‌। यहोवा परमेश्‍वरले येसुमार्फत आफ्ना मानिसहरूलाई जम्मा गरेर तिनीहरूमाझ शुद्ध उपासना पुनर्स्थापना गर्नुहुन्छ। (इज. २०:४१) यसपछिका अध्यायहरूमा हामी त्यस रोमाञ्चकारी पुनर्स्थापनाबारे र इजकिएलको किताबमा त्यसको वर्णन कसरी गरिएको छ भन्‍नेबारे छलफल गर्नेछौँ।

^ ईसापूर्व ६१७ मा यहुदीहरूको पहिलो समूहलाई बन्दी बनाएर बेबिलोनमा लगिँदा निर्वासनको पहिलो वर्ष सुरु भयो। त्यसैले छैटौँ वर्ष ईसापूर्व ६१२ मा सुरु भयो भन्‍न सकिन्छ।

^ येसु दाउदको वंशबाटै आउनुभएको थियो भन्‍ने कुरा परमेश्‍वरबाट प्रेरणा पाएर लेखिएको सुसमाचारका पुस्तकहरूले प्रस्ट पार्छ। —मत्ति १:१-१६; लुका ३:२३-३१.

^ दुइटा लौरोबारे इजकिएलको भविष्यवाणी र यसको पूर्तिबारे यस किताबको अध्याय १२ मा छलफल गरिनेछ।

^ “सधैँभरि” र “सदाको लागि” भनी अनुवाद गरिएको हिब्रू शब्दबारे एउटा किताबमा यस्तो टिप्पणी गरिएको छ: “यो शब्दमा समयावधिको अलावा स्थायी, दिगो र अपरिवर्तनशील भन्‍ने भाव पनि झल्किन्छ।”