सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय ११

“मैले तिमीलाई . . . पहरेदार नियुक्‍त गरेको छु”

“मैले तिमीलाई . . . पहरेदार नियुक्‍त गरेको छु”

इजकिएल ३३:७

मुख्य कुरा: यहोवा परमेश्‍वर पहरेदार नियुक्‍त गर्नुहुन्छ र तिनको जिम्मेवारीबारे बताउनुहुन्छ

१. यहोवा परमेश्‍वरका पहरेदारहरूले के गर्दै आएका थिए र त्यसपछि के भयो, व्याख्या गर्नुहोस्‌।

 एक जना पहरेदार यरुसलेमको पर्खालमा उभिरहेका छन्‌। डुब्नै लागेको घामको किरण आँखामा परेकोले तिनी आफ्नो हत्केलाले आँखा छेक्दै टाढा क्षितिजमा हेर्छन्‌। बेबिलोनी सेना आइरहेको देखेर तिनी झस्कन्छन्‌ र यसबारे चेतावनी दिन सिङ फुक्न थाल्छन्‌! तर ती पहरेदारले सिङ फुके तापनि त्यहाँका अटेरी बासिन्दाहरूको लागि धेरै ढिलो भइसकेको छ। यहोवा परमेश्‍वरले नियुक्‍त गर्नुभएका पहरेदारहरू अर्थात्‌ भविष्यवक्‍ताहरूले दशकौँदेखि यस दिनबारे चेतावनी दिँदै आएका थिए। तर मानिसहरूले वास्तै गरेनन्‌। अब बेबिलोनी सेनाले सहरलाई घेर्छ। थुप्रै महिना सहरलाई घेराबन्दी गरेपछि सिपाहीहरू सहरका पर्खालहरू फोर्दै सहरभित्र पस्छन्‌, मन्दिरलाई तहसनहस पार्छन्‌, यरुसलेमका विश्‍वासघाती र मूर्तिपूजक बासिन्दाहरूको हत्या गर्छन्‌ अनि कसै-कसैलाई कैदी बनाएर लैजान्छन्‌।

२, ३. (क) पृथ्वीका बासिन्दाहरूले कस्तो परिस्थितिको सामना गर्नुपर्नेछ? (ख) हामी के-कस्ता प्रश्‍नहरू विचार गर्नेछौँ?

यहोवा परमेश्‍वरको स्वर्गीय सेना पृथ्वीका विश्‍वासघाती बासिन्दाहरूसित भिड्‌न अघि बढिरहेको छ। (प्रका. १७:१२-१४) त्यो भिडन्त मानवजातिले पहिला कहिल्यै अनुभव नगरेको महासङ्‌कष्टको चरमोत्कर्ष हुनेछ। (मत्ति २४:२१) तर यहोवा परमेश्‍वरले नियुक्‍त गर्नुभएका पहरेदारहरूले दिने चेतावनी सुन्‍न धेरै ढिलो भइसकेको छैन।

यहोवा परमेश्‍वर पहरेदारहरू नियुक्‍त गर्न किन उत्प्रेरित हुनुभयो? पहरेदारले कस्तो प्रकारको सन्देश घोषणा गर्छन्‌? पहरेदारको भूमिका क-कसले निर्वाह गरेका छन्‌ र यसमा हाम्रो भूमिका के हो? यी प्रश्‍नहरूको जवाफ केलाऔँ।

“तिमीले मानिसहरूलाई मेरो चेतावनी सुनाउनू”

४. यहोवा परमेश्‍वरले किन पहरेदारहरू नियुक्‍त गर्नुभयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

इजकिएल ३३:७ पढ्‌नुहोस्‌। पुरातन समयमा पहरेदारहरू सहरका बासिन्दाहरूको सुरक्षाको लागि अक्सर सहरको पर्खालमा तैनाथ हुन्थे। यसले सहरको शासक आफ्नो प्रजाको ख्याल राख्छन्‌ भन्‍ने कुराको स्पष्ट प्रमाण दिन्थ्यो। पहरेदारले सिङ फुक्दा त्यो कानै खाने आवाजले सहरका बासिन्दाहरूको निद्रा खलबलिए तापनि त्यो सुनेर कदम चाल्नेहरूको ज्यान जोगिन सक्थ्यो। त्यसैगरि यहोवा परमेश्‍वरले पहरेदारहरू नियुक्‍त गर्नुको उद्देश्‍य इस्राएलीहरूलाई विनाशको सन्देशद्वारा तर्साउनु थिएन। बरु यो उहाँ आफ्ना मानिसहरूको ख्याल राख्नुहुन्छ र तिनीहरूलाई जोगाउन चाहनुहुन्छ भन्‍ने कुराको प्रमाण थियो।

५, ६. यहोवा परमेश्‍वर न्यायी हुनुहुन्छ भन्‍न सकिने एउटा कारण के हो?

यहोवा परमेश्‍वरले इजकिएललाई पहरेदार नियुक्‍त गर्नुहुँदा उहाँको व्यक्‍तित्वको केही पक्ष स्पष्ट झल्कियो, जुन हाम्रो लागि पनि आश्‍वासनदायी छ। आउनुहोस्‌, तीमध्ये दुइटा गुणबारे छलफल गरौँ।

न्याय: यहोवा परमेश्‍वर न्यायी हुनुहुन्छ भन्‍ने कुरा उहाँले हामी व्यक्‍तिविशेषसित गर्नुहुने निष्पक्ष व्यवहारबाट स्पष्ट हुन्छ। उदाहरणको लागि, इजकिएलको सन्देश धेरै मानिसले सुने तापनि तिनीहरूले त्यो सन्देशलाई वास्ता गरेनन्‌; तर यहोवा परमेश्‍वरले सबै इस्राएलीलाई विद्रोही जमातको रूपमा हेर्नुभएन। बरु उहाँले व्यक्‍तिविशेषले देखाउने प्रतिक्रिया हेर्न चाहनुभयो। उहाँले पटक-पटक “कुनै दुष्ट मानिस” र “कुनै धर्मी मानिस”-सित कुरा गरेको उल्लेख गर्नुभएको छ। यहोवा परमेश्‍वरले व्यक्‍तिविशेषले देखाएको प्रतिक्रियाको आधारमा तिनीहरूको न्याय गर्नुहुन्छ।—इज. ३३:८, १८-२०.

७. यहोवा परमेश्‍वर केको आधारमा मानिसहरूको न्याय गर्नुहुन्छ?

यहोवा परमेश्‍वर केको आधारमा मानिसहरूको न्याय गर्नुहुन्छ, त्यसबाट पनि उहाँ न्यायी हुनुहुन्छ भन्‍ने कुरा देखिन्छ। व्यक्‍तिविशेषलाई तिनीहरूले विगतमा गरेको कामको आधारमा होइन तर अहिले पाइरहेको चेतावनीप्रति तिनीहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌, त्यसको आधारमा उहाँ लेखा लिनुहुन्छ। यहोवा परमेश्‍वरले इजकिएललाई यसो भन्‍नुभयो: “मैले दुष्ट मानिसलाई ‘तँ पक्कै मर्नेछस्‌’ भनेँ तर त्यसले पाप गर्न छोडेर न्यायसङ्‌गत र असल काम गऱ्‍यो . . . भने त्यो पक्कै बाँच्नेछ।” त्यसपछि उहाँले यस्तो उल्लेखनीय कुरा भन्‍नुभयो: “त्यसले गरेको कुनै पनि कुकर्म याद गरिनेछैन।” (इज. ३३:१४-१६) अर्कोतर्फ, धार्मिकताको मार्गमा हिँडेकाहरूले आफूले विगतमा देखाएको आज्ञाकारिताको आधारमा अहिले अनाज्ञाकारी भए पनि छुट पाइन्छ भन्‍ने आशा गर्न सक्दैनन्‌। यदि कुनै मानिसले “आफूले पहिला गरेको असल कामको कारण कुनै सजाय पाइँदैन भन्ठान्दै . . . गलत काम गऱ्‍यो भने उसको कुनै पनि असल काम याद गरिनेछैन। ऊ आफ्नो गलत कामको कारण मर्नेछ” भनेर यहोवा परमेश्‍वरले भन्‍नुभयो।—इज. ३३:१३.

८. भविष्यसूचक चेतावनीहरूबाट हामी यहोवा परमेश्‍वरको न्यायबारे के सिक्न सक्छौँ?

यहोवा परमेश्‍वर कुनै कदम चाल्नुअघि त्यसबारे चेतावनी दिनुहुन्छ। यसबाट पनि उहाँ न्यायी हुनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। बेबिलोनीहरूले यरुसलेम विनाश गर्नुभन्दा लगभग छ वर्षअघि नै इजकिएलले चेतावनी दिन थालिसकेका थिए। तर परमेश्‍वरका मानिसहरूसित लेखा लिइनेछ भनेर चेतावनी दिने पहिलो व्यक्‍ति तिनी थिएनन्‌। यरुसलेम विनाश भएको सय वर्षभन्दा अघिदेखि यहोवा परमेश्‍वरले होसे, यसैया, मिका, ओदेद र यर्मियाजस्ता भविष्यवक्‍तालाई पहरेदारको रूपमा पठाउनुभएको थियो। यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई यर्मियामार्फत यसरी सम्झाउनुभएको थियो: “मैले तिनीहरूमाथि पहरेदारहरू नियुक्‍त गरेँ, जसले यसो भने, ‘सिङ फुकेको आवाज ध्यानसित सुन!’” (यर्मि. ६:१७) अन्ततः यहोवा परमेश्‍वरले बेबिलोनीहरूमार्फत न्यायदण्ड ल्याउनुहुँदा ज-जसले ज्यान गुमाए, त्यसको लागि न त यहोवा परमेश्‍वरलाई न ती पहरेदारहरूलाई नै दोष दिन मिल्थ्यो।

९. यहोवा परमेश्‍वरले कसरी अटल प्रेम देखाउनुभयो?

प्रेम: यहोवा परमेश्‍वरले धर्मीहरूलाई मात्र होइन तर उहाँको मन दुखाउने र उहाँको नाममा कलङ्‌क लगाउने दुष्टहरूलाई समेत चेतावनी दिन पहरेदारहरू पठाएर अटल प्रेम देखाउनुभयो। विचार गर्नुहोस्‌ त, इस्राएलीहरू यहोवा परमेश्‍वरका मानिसहरू भनेर चिनिन्थे तर तिनीहरूले नै बारम्बार परमेश्‍वरतर्फ आफ्नो पिठ्यूँ फर्काए र झूटा देवताहरूको पछि लागे! तिनीहरूले गरेको विश्‍वासघातले आफ्नो मन कुन हदसम्म दुखेको छ भनेर बुझाउन उहाँले त्यस राष्ट्रलाई व्यभिचारिणी स्वास्नीसित तुलना गर्नुभयो। (इज. १६:३२) तैपनि उहाँले तिनीहरूलाई तुरुन्तै त्याग्नुभएन। उहाँले तिनीहरूसित बदला लिनुको सट्टा मिलाप गर्न खोज्नुभयो। केही सीप नलागेपछि मात्र उहाँले आफ्नो तरबार झिक्नुभयो। किन? उहाँले इजकिएललाई यसो भन्‍नुभयो: “दुष्ट मर्दा म खुसी हुन्‍नँ बरु त्यसले कुकर्म त्यागेर बाँचेको म चाहन्छु।” (इज. ३३:११) अहिले पनि उहाँ त्यस्तै महसुस गर्नुहुन्छ।—मला. ३:६.

१०, ११. यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूसित गर्नुभएको व्यवहारबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

१० यहोवा परमेश्‍वरले इस्राएलीहरूप्रति देखाउनुभएको प्रेम र तिनीहरूसित गर्नुभएको न्यायी व्यवहारबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? एउटा पाठ हो, हामीले प्रचार गर्ने मानिसहरूलाई सामूहिक रूपमा होइन तर व्यक्‍तिविशेषको रूपमा हेर्नुपर्छ। कुनै मानिसको विगतको आचरण वा तिनको जात, आर्थिक अवस्था र भाषाको आधारमा तिनी हाम्रो सन्देश सुन्‍न लायकका छैनन्‌ भन्ठान्‍नु ठूलो गल्ती हुनेछ! यहोवा परमेश्‍वरले प्रेषित पत्रुसलाई सिकाउनुभएको पाठ आज पनि उत्तिकै सान्दर्भिक छ: “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न। बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषि. १०:३४, ३५.

के हामी मानिसहरूप्रति परमेश्‍वरको जस्तै दृष्टिकोण राख्छौँ? (अनुच्छेद १० हेर्नुहोस्‌)

११ हामीले सिक्नुपर्ने अर्को महत्त्वपूर्ण पाठ भनेको हामीले आफूलाई पनि जाँचिरहनुपर्छ; विगतमा गरेको असल कामको आधारमा अहिले गलत काम गर्ने छुट पाउँदैनौँ। हाम्रो झुकाव पनि हामीले प्रचार गर्ने मानिसहरूको जस्तै पापी छ भनेर हामीले बिर्सनु हुँदैन। प्रेषित पावलले कोरिन्थ मण्डलीलाई दिएको यो सल्लाह आज हामीलाई पनि उत्तिकै लागू हुन्छ: “जसले आफू खडा छु भनी सोच्छ, ऊ होसियार रहोस्‌ नत्र त ऊ लड्‌नेछ। साधारणतया सबै मानिसलाई आइपर्ने परीक्षाबाहेक अरू परीक्षामा तिमीहरू परेका छैनौ।” (१ कोरि. १०:१२, १३) “आफूले पहिला गरेको असल कामको कारण” कुनै गलत काम गरे पनि सजाय पाइँदैन भन्‍ने सोचाइ हामीले कहिल्यै राख्नु हुँदैन। (इज. ३३:१३) यहोवा परमेश्‍वरको सेवा गरेको जति नै लामो समय भइसकेको भए तापनि हामीले नम्र र आज्ञाकारी मनोभाव कायम राख्नु महत्त्वपूर्ण छ।

१२. हामीले विगतमा गम्भीर गल्ती गरेका थियौँ भने के कुरा मनमा राख्नुपर्छ?

१२ तर विगतमा गरेको गम्भीर गल्तीले गर्दा तपाईँलाई अझै पछुतो लागिरहेको छ भने नि? गल्ती गरेर पश्‍चात्ताप नगर्नेहरूलाई यहोवा परमेश्‍वर सजाय दिनुहुन्छ भनेर हामी इजकिएलको सन्देशबाट सिक्न सक्छौँ। तर हामी यो कुरा पनि सिक्न सक्छौँ, यहोवा मुख्यतया प्रेमको परमेश्‍वर हुनुहुन्छ, बदलाको होइन। (१ युह. ४:८) हामीले आफ्नो कामद्वारा पश्‍चात्ताप गरेको देखायौँ भने आफू परमेश्‍वरको कृपा पाउन लायकको छैन भनेर कहिल्यै सोच्नु पर्दैन। (याकु. ५:१४, १५) अन्य देवीदेवताको उपासना गरेर प्रतीकात्मक अर्थमा व्यभिचार गरेका इस्राएलीहरूलाई क्षमा दिन यहोवा परमेश्‍वर तयार हुनुहुन्थ्यो र उहाँ हामीलाई पनि क्षमा दिन तयार हुनुहुन्छ।—भज. ८६:५.

‘आफ्ना देशवासीहरूलाई भन’

१३, १४. (क) पहरेदारहरूले कस्तो प्रकारको सन्देश सुनाउनुपर्थ्यो? (ख) यसैयाले कस्तो सन्देश सुनाए?

१३ इजकिएल ३३:२, ३ पढ्‌नुहोस्‌। यहोवा परमेश्‍वरका पहरेदारहरूले कस्तो प्रकारको सन्देश सुनाउनुपर्थ्यो? तिनीहरूले सुनाउने सन्देशको एउटा महत्त्वपूर्ण पक्ष चेतावनी घोषणा गर्नु थियो। तर तिनीहरूले सुसमाचार पनि सुनाए। केही उदाहरण विचार गर्नुहोस्‌।

१४ करिब ईसापूर्व ७७८ देखि ७३२ सम्म सेवा गरेका यसैयाले बेबिलोनीहरूले यरुसलेमलाई कब्जा गर्नेछन्‌ र त्यहाँका बासिन्दाहरूलाई कैदी बनाएर लैजानेछन्‌ भन्‍ने चेतावनी दिए। (यसै. ३९:५-७) तर तिनले परमेश्‍वरबाट प्रेरणा पाएर यस्तो पनि लेखे: “सुन! तिम्रा पहरेदारहरू खुसीले कराइरहेका छन्‌, एकै स्वरले तिनीहरू गाइरहेका छन्‌ किनभने यहोवाले सियोनलाई फिर्ता ल्याउनुहुँदा तिनीहरूले आफ्नै आँखाले त्यो देख्नेछन्‌।” (यसै. ५२:८) यसैयाले साँचो उपासना पुनर्स्थापना हुने असाध्यै राम्रो समाचार सुनाए।

१५. यर्मियाले कस्तो सन्देश घोषणा गरे?

१५ ईसापूर्व ६४७ देखि ५८० सम्म सेवा गरेका यर्मिया विपत्तिको मात्र समाचार सुनाउने मानिस भनेर चिनिन्छन्‌ तर त्यो सही होइन। हो, तिनले दुष्ट इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले तिनीहरूमाथि ल्याउनुहुने विपत्तिको सन्देश सुनाउने महत्त्वपूर्ण काम गरे। * तर तिनले सुसमाचार पनि घोषणा गरे—परमेश्‍वरका मानिसहरू आफ्नो मातृभूमि फर्कनेछन्‌ र त्यहाँ तिनीहरूले शुद्ध उपासना पुनर्स्थापना गर्नेछन्‌ भनेर तिनले भविष्यवाणी गरे।—यर्मि. २९:१०-१४; ३३:१०, ११.

१६. बेबिलोनको कैदमा भएकाहरूले इजकिएलको सन्देशबाट कस्तो लाभ उठाए?

१६ इजकिएल ईसापूर्व ६१३ मा पहरेदारको रूपमा नियुक्‍त भएका थिए र तिनले यो काम कम्तीमा पनि ईसापूर्व ५९१ सम्म गरे। हामीले यस प्रकाशनको अध्याय ५ मा छलफल गरेझैँ इजकिएलले इस्राएलीहरूले भोग्ने विनाशबारे तिनीहरूलाई जोसिलो भई चेतावनी दिए, जसले गर्दा तिनी अरूको जीवनको रक्‍तदोषी हुने थिएनन्‌। यहोवा परमेश्‍वरले यरुसलेमका धर्मत्यागीहरूलाई सजाय दिनुहुनेछ भनेर तिनले निर्वासनमा रहेकाहरूलाई चेतावनी दिए। यसको साथै तिनीहरूलाई आध्यात्मिक रूपमा नसेलाउन र भविष्यको कामको लागि तयार रहन पनि तिनले मदत गरे। सत्तरी वर्ष लामो निर्वासनपछि यहोवा परमेश्‍वरले बाँकी रहेकाहरूलाई पुनर्स्थापित इस्राएल राष्ट्रमा फर्काउनुहुने थियो। (इज. ३६:७-११) ती बाँकी रहेकाहरू मुख्यगरि इजकिएलको सन्देश सुनेका व्यक्‍तिहरूको छोराछोरी र नातिनातिना हुने थिए। यस प्रकाशनको भाग ३ को अरू अध्यायमा चर्चा गरिएझैँ इजकिएलसित मानिसहरूलाई सुनाउने सुसमाचार पनि थियो, जसले यरुसलेममा शुद्ध उपासना पुनर्स्थापित हुने कुरा पक्का गर्थ्यो।

१७. यहोवा परमेश्‍वरले कुन-कुन बेला पहरेदारहरू नियुक्‍त गर्नुभयो?

१७ ईसापूर्व ६०७ तिर यहोवा परमेश्‍वरका मानिसहरूलाई सन्देश सुनाएका भविष्यवक्‍ताहरू मात्र उहाँका पहरेदारहरू थिए त? अहँ, थिएनन्‌। यहोवा परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा हुने क्रममा भएका प्रत्येक मुख्य घटनाअघि दुष्टहरूलाई चेतावनी दिन र सुसमाचार घोषणा गर्न पहरेदारहरू नियुक्‍त गर्नुभएको छ।

प्रथम शताब्दीमा पहरेदारहरू

१८. बप्तिस्मा गराउने युहन्‍नाले के काम गरे?

१८ प्रथम शताब्दीमा बप्तिस्मा गराउने युहन्‍नाले पहरेदारको काम गरे। इस्राएलको घरानालाई परमेश्‍वरले चाँडै त्याग्नुहुनेछ भनेर तिनले उनीहरूलाई चेतावनी दिए। (मत्ति ३:१, २, ९-११) तर तिनले गरेको काम त्यति मात्र त थिएन। तिनी भविष्यवाणी गरिएका “दूत” थिए र तिनले मसीहको लागि बाटो तयार पारे। (मला. ३:१; मत्ति ११:७-१०) तिनको त्यस काममा “परमेश्‍वरको पाठो” येसु आउनुभएको छ र उहाँले “संसारको पाप हटाउनुहुन्छ” भन्‍ने सुसमाचार घोषणा गर्नु पनि समावेश थियो।—युह. १:२९, ३०.

१९, २०. येसु र उहाँका चेलाहरूले कसरी पहरेदारको काम गर्नुभयो?

१९ पहरेदारहरूमध्ये येसु अग्रपङ्‌क्‍तिमा हुनुहुन्छ। इजकिएललाई जस्तै उहाँलाई पनि यहोवा परमेश्‍वरले “इस्राएलको घराना”-कहाँ पठाउनुभयो। (इज. ३:१७; मत्ति १५:२४) परमेश्‍वरले इस्राएल राष्ट्रलाई चाँडै त्याग्नुहुनेछ र यरुसलेम विनाश हुनेछ भनेर येसुले चेतावनी दिनुभयो। (मत्ति २३:३७, ३८; २४:१, २; लुका २१:२०-२४) तर उहाँको प्रमुख काम भनेको सुसमाचार घोषणा गर्नु थियो।—लुका ४:१७-२१.

२० पृथ्वीमा छँदा येसुले आफ्ना चेलाहरूलाई स्पष्टसित यसो भन्‍नुभयो: “जागा रहो।” (मत्ति २४:४२) तिनीहरूले उहाँको आज्ञा पालन गरे र यहोवा परमेश्‍वरले इस्राएल राष्ट्र र यरुसलेम सहरलाई त्याग्नुभएको छ भन्‍ने चेतावनी दिएर पहरेदारको काम गरे। (रोमी ९:६-८; गला. ४:२५, २६) तिनीहरूले आफूहरूभन्दा अघिका पहरेदारहरूले जस्तै सुसमाचार पनि घोषणा गरे। अभिषिक्‍त जनहरू मिलेर बनेको परमेश्‍वरको इस्राएलमा अन्यजातिलाई पनि सामेल गरिनेछ र उनीहरूले पनि पृथ्वीमा शुद्ध उपासना पुनर्स्थापना गर्ने काममा ख्रिष्टलाई सघाउनेछन्‌ भन्‍ने महत्त्वपूर्ण सन्देश तिनीहरूले सुनाए।—प्रेषि. १५:१४; गला. ६:१५, १६; प्रका. ५:९, १०.

२१. पावलले कस्तो उदाहरण बसाले?

२१ प्रथम शताब्दीका पहरेदारहरूमध्ये प्रेषित पावलले उल्लेखनीय उदाहरण बसाले। तिनले आफ्नो जिम्मेवारीलाई गम्भीरतासाथ लिए। आफूलाई सुम्पिइएको काम पूरा गर्न चुकेमा आफू रक्‍तदोषी हुने कुरा इजकिएललाई जस्तै तिनलाई पनि थाह थियो। (प्रेषि. २०:२६, २७) अन्य पहरेदारले जस्तै पावलले चेतावनी दिनुका साथै सुसमाचार पनि घोषणा गरे। (प्रेषि. १५:३५; रोमी १:१-४) पवित्र शक्‍तिको डोऱ्‍याइ पाएर तिनले यसैयाको यो भविष्यवाणी उद्धरण गरे: “डाँडाहरूमा सुसमाचार घोषणा गर्ने मानिसको खुट्टा कत्ति सुन्दर!” अनि तिनले यस भविष्यवाणीलाई परमेश्‍वरको राज्यको प्रचार गर्ने ख्रिष्टका अनुयायीहरूमा लागू गरे।—यसै. ५२:७, ८; रोमी १०:१३-१५.

२२. प्रेषितहरूको मृत्युपछि के भयो?

२२ भविष्यवाणी गरिएझैँ प्रेषितहरूको मृत्युपछि ख्रिष्टियन मण्डलीमा धर्मत्याग छ्यासछ्यासती फैलियो। (प्रेषि. २०:२९, ३०; २ थिस्स. २:३-८) गहुँ र सामा सँगसँगै बढ्‌ने लामो समयावधिमा सामारूपी नक्कली ख्रिष्टियनहरूको सङ्‌ख्या यति बढ्यो कि ख्रिष्टका गहुँरूपी वफादार ख्रिष्टियनहरू ओझेलमा परे। झूटा शिक्षाहरूले गर्दा परमेश्‍वरको राज्यको स्पष्ट सन्देश छायामा पऱ्‍यो। (मत्ति १३:३६-४३) तर जब यहोवा परमेश्‍वरले हस्तक्षेप गर्ने समय आयो तब सुस्पष्ट चेतावनी दिन र सुसमाचार घोषणा गर्न उहाँले पहरेदारहरू नियुक्‍त गर्नुभयो। यसरी उहाँले फेरि एक चोटि आफ्नो प्रेम र न्याय प्रकट गर्नुभयो। ती पहरेदारहरू को थिए?

दुष्टहरूलाई चेतावनी दिन यहोवा परमेश्‍वर फेरि पहरेदारहरू नियुक्‍त गर्नुहुन्छ

२३. चार्ल्स टेज रसल र उहाँका सहयोगीहरूले कस्तो भूमिका निर्वाह गर्नुभयो?

२३ इस्वी संवत्‌ १९१४ अघिका वर्षहरूमा चार्ल्स टेज रसल र उहाँका सहयोगीहरूले मसीही राज्यको लागि “बाटो तयार पार्ने” “दूत”-को काम गर्नुभयो। * (मला. ३:१) त्यस समूहले पहरेदारको काम पनि गऱ्‍यो। त्यस समूहले सियोनको प्रहरीधरहरा र ख्रिष्टको उपस्थितिको सूचक (अङ्‌ग्रेजी) पत्रिकामार्फत मानिसहरूलाई परमेश्‍वरको न्यायदण्डबारे चेतावनी दियो र परमेश्‍वरको राज्यको सुसमाचार घोषणा गऱ्‍यो।

२४. (क) विश्‍वासी दासले कसरी पहरेदारको काम गरिरहेको छ? (ख) पहिले-पहिलेका पहरेदारहरूको उदाहरणबाट तपाईँले के सिक्नुभयो? (“केही उदाहरणीय पहरेदार” भन्‍ने चार्ट हेर्नुहोस्‌)

२४ परमेश्‍वरको राज्य स्थापना भइसकेपछि येसुले एउटा सानो समूहलाई विश्‍वासी दासको रूपमा नियुक्‍त गर्नुभयो। (मत्ति २४:४५-४७) त्यतिबेलादेखि विश्‍वासी दासले पहरेदारको काम गर्दै आएको छ र त्यो दास आज परिचालक निकाय भनेर चिनिन्छ। त्यस दासले “बदला लिने दिनबारे” चेतावनी दिने काममा मात्र होइन तर “यहोवाको अनुग्रहको वर्षको” घोषणा गर्ने काममा पनि अगुवाइ लिइरहेको छ।—यसै. ६१:२; २ कोरिन्थी ६:१, २ पनि हेर्नुहोस्‌।

२५, २६. (क) ख्रिष्टका सबै अनुयायीले कुन काम गर्नुपर्छ र यो काम कसरी गर्नुपर्छ? (ख) अर्को अध्यायमा हामी के छलफल गर्नेछौँ?

२५ हुनत पहरेदारको काममा विश्‍वासी दासले अगुवाइ लिइरहेको छ तर येसुले आफ्ना “सबै” अनुयायीलाई “जागा रहो” भन्‍नुभयो। (मर्कु. १३:३३-३७) आध्यात्मिक रूपमा जागा रहेर र आधुनिक समयको पहरेदारलाई वफादार भई समर्थन गरेर हामी यो आज्ञा पालन गर्छौँ। हामीलाई सुम्पिइएको प्रचार गर्ने जिम्मेवारी पूरा गरेर हामी आफू जागा रहेको प्रमाण दिन्छौँ। (२ तिमो. ४:२) हामीलाई यो काम गर्न केले उत्प्रेरित गर्छ? एउटा त, हामी मानिसहरूको ज्यान जोगाउन चाहन्छौँ। (१ तिमो. ४:१६) आधुनिक समयका पहरेदारको चेतावनी बेवास्ता गरेकोले अब चाँडै थुप्रै मानिसले आफ्नो ज्यान गुमाउनेछन्‌। (इज. ३:१९) तर यो काममा भाग लिनुको मुख्य कारण भनेको हामी शुद्ध उपासना पुनर्स्थापित भएको छ भन्‍ने असाध्यै राम्रो समाचार सुनाउन चाहन्छौँ! अहिले “यहोवाको अनुग्रहको वर्षको” दौडान हामीसँगै मिलेर हाम्रा न्यायी र प्रेमले भरिएको परमेश्‍वर यहोवाको उपासना गर्ने मौका थुप्रैले पाएका छन्‌। अब चाँडै यो दुष्ट युग विनाश भएपछि त्यसबाट बच्ने सबैले परमेश्‍वरको छोरा ख्रिष्ट येसुको कृपालु शासनबाट लाभ उठाउनेछन्‌। आधुनिक समयका पहरेदारलाई सघाउँदै यस्तो सुसमाचार सुनाउनदेखि हामी कसरी पछि हट्‌न सक्छौँ र!—मत्ति २४:१४.

सुसमाचार घोषणा गर्ने काममा भाग लिएर हामी आधुनिक समयका पहरेदारलाई सघाउँछौँ (अनुच्छेद २५ हेर्नुहोस्‌)

२६ यस दुष्ट युगको अन्त हुनुअघि पनि यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई चमत्कारपूर्ण ढङ्‌गमा एकजुट पार्नुभएको छ। यो कसरी सम्भव भयो भनेर बुझ्न हामी अर्को अध्यायमा दुइटा लौरोको भविष्यवाणीबारे छलफल गर्नेछौँ।

^ बाइबलको यर्मियाको किताबमा “विपत्ति” शब्द लगभग ७० चोटि प्रयोग गरिएको छ।

^ यो भविष्यवाणी र यसको पूर्तिबारे बुझ्न परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबमा “स्वर्गमा परमेश्‍वरको राज्यको जन्म भयो” शीर्षकको अध्याय २ हेर्नुहोस्‌।