सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १३

“मन्दिरको वर्णन गरिदेऊ”

“मन्दिरको वर्णन गरिदेऊ”

इजकिएल ४३:१०

मुख्य कुरा: इजकिएलले दर्शनमा देखेको महिमित मन्दिरको अर्थ

१-३. (क) भव्य मन्दिरको दर्शन देखेर इजकिएलले किन सान्त्वना पाएको हुनुपर्छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) यस अध्यायमा हामी के छलफल गर्नेछौँ?

 इजकिएल ५० वर्ष पुगिसकेका छन्‌। तिनले निर्वासनमा २५ वर्ष बिताइसकेका छन्‌। लामो समयदेखि यरुसलेमको मन्दिर भग्नावशेष बनेको छ। यदि इजकिएलले त्यस मन्दिरको पुजारीको रूपमा सेवा गर्ने आशा गरेका थिए भने त्यो सपना साकार हुने सम्भावना छैन। निर्वासनको समय सिद्धिन लगभग ५६ वर्ष बाँकी छ। त्यसैले यहोवा परमेश्‍वरका मानिसहरू आफ्नो मातृभूमि फर्कने समयसम्म आफू बाँच्दिनँ होला भनेर इजकिएललाई थाह छ, मन्दिर पुनर्निर्माण भएको हेर्न पाउने कुरा त परै जाओस्‌। (यर्मि. २५:११) यस्तो कुरा सोच्दा के इजकिएल दुःखी हुन्छन्‌?

यही समयमा यहोवा परमेश्‍वरले इजकिएललाई एउटा विस्तृत दर्शन देखाउनु कत्ति दयालु कुरा! त्यस दर्शनले गर्दा यी वफादार व्यक्‍तिले पक्कै पनि सान्त्वना र आशा पाउने थिए। त्यस दर्शनमार्फत यी भविष्यवक्‍तालाई तिनको मातृभूमिमा फर्काइन्छ र तिनलाई एउटा असाध्यै अग्लो डाँडामा लगिन्छ। त्यस अग्लो डाँडामा तिनलाई “तामाजस्तै चम्किरहेका एक जना मानिस”-ले भेट्‌छन्‌। ती स्वर्गदूतले तिनलाई त्यो भव्य मन्दिर विस्तृत रूपमा घुमाउँछन्‌। (इजकिएल ४०:१-४ पढ्‌नुहोस्‌) सबै कुरा एकदमै वास्तविक देखिन्छ! यस अनुभवले गर्दा इजकिएलको विश्‍वास बलियो भएको हुनुपर्छ। तिनी छक्क परेका हुन सक्छन्‌ र सायद अलिअलि अलमलमा परेका पनि हुन सक्छन्‌। यस मन्दिरमा देखेको थुप्रै कुरासित तिनी परिचित भए तापनि यो तिनले यरुसलेममा देखेको मन्दिरभन्दा एकदमै फरक छ।

इजकिएलको किताबको अन्तिम नौ वटा अध्यायमा यही आश्‍चर्यलाग्दो दर्शनबारे वर्णन गरिएको छ। सबैभन्दा पहिला, यस दर्शनलाई बुझ्न हामीले देखाउनुपर्ने मनोवृत्तिबारे छलफल गर्नेछौँ। त्यसपछि इजकिएलले देखेको मन्दिर प्रेषित पावलले सयौँ वर्षपछि वर्णन गरेको महान्‌ आध्यात्मिक मन्दिर थियो वा थिएन भनेर छलफल गर्नेछौँ। अन्तमा, त्यस दर्शनले इजकिएल र तिनीसँगै निर्वासित जीवन बिताइरहेकाहरूको लागि कस्तो अर्थ राख्यो भनेर बुझ्नेछौँ।

फरक दृष्टिकोणले हेर्नुपर्ने आवश्‍यकता

४. मन्दिरको दर्शनबारे पहिला के भनिएको थियो तर अहिले के गर्नुपर्छ जस्तो देखिन्छ?

विगतमा हाम्रा प्रकाशनहरूमा इजकिएलले देखेको मन्दिर प्रेषित पावलले हिब्रू ख्रिष्टियनहरूलाई बताएको यहोवाको महान्‌ आध्यात्मिक मन्दिर हो भनिएको थियो। * यस निष्कर्षको आधारमा पावलले वासस्थानबारे गरेको वर्णनलाई विचार गर्दै इजकिएलले दर्शनमा देखेको मन्दिरको विभिन्‍न भाग तथा सरसामानको लाक्षणिक अर्थ छ भन्‍नु तार्किक जस्तो देखिन्थ्यो। तर थप अनुसन्धान र मनन गर्दा इजकिएलले दर्शनमा देखेको मन्दिरलाई सरल तरिकामा व्याख्या गर्नुपर्ने जस्तो देखिन्छ।

५, ६. (क) वासस्थानबारे छलफल गर्दा प्रेषित पावलले कसरी नम्रता देखाए? (ख) वासस्थानका केही भाग तथा सरसामानबारे पावलले के भने र पावलले भनेको कुरा इजकिएलको दर्शनमा पनि कसरी लागू गर्न सक्छौँ?

इजकिएलले दर्शनमा देखेको मन्दिरको सबै भाग तथा सरसामानको लाक्षणिक वा भविष्यसूचक अर्थ खोज्नु बुद्धिमानी होइन जस्तो देखिन्छ। किन? एउटा चाखलाग्दो उदाहरण विचार गर्नुहोस्‌। पावलले वासस्थानमा भएका सुनको धुपौरो, सन्दुकको ढकनी, मन्‍न भएको सुनको भाँडोजस्ता विभिन्‍न सरसामानबारे वर्णन गरे। तर के तिनले ती सबै सरसामानको भविष्यसूचक अर्थ छ भनेर बताए? स्पष्ट छ, पवित्र शक्‍तिले तिनलाई त्यसो गर्न प्रेरणा दिएन। बरु तिनले यस्तो लेखे: “यी कुराहरूको विषयमा विस्तृत तवरले बताइरहने समय अहिले होइन।” (हिब्रू ९:४, ५) पावल पवित्र शक्‍तिको डोऱ्‍याइअनुसार चल्न र नम्र भई यहोवाको बाटो हेर्न तयार थिए। (हिब्रू ९:८) वासस्थान र आध्यात्मिक मन्दिरबारे छलफल गर्दा पावलले भनेको यो कुरा इजकिएलको दर्शनबारे हाम्रो बुझाइमा पनि लागू गर्न सक्छौँ।

इजकिएलले दर्शनमा देखेको मन्दिरबारे पनि त्यसै भन्‍न सकिन्छ। यस दर्शनमा पनि मन्दिरबारे एक-एक कुरा बताइएको छ। अनि हाम्रो बुझाइमा थप छाँटकाँट गर्नुपर्ने आवश्‍यकता देखिएमा यहोवा परमेश्‍वरले नै सबै कुरा स्पष्ट पार्नुहुनेछ भनेर उहाँलाई पर्खनु नै बुद्धिमानी देखिन्छ। (मिका ७:७ पढ्‌नुहोस्‌) तर यहोवाको पवित्र शक्‍तिले यस दर्शनबारे थप ज्योति दिएको छैन भन्‍ने निष्कर्षमा पुग्नु सही हो? त्यसो त पक्कै होइन!

के इजकिएलले महान्‌ आध्यात्मिक मन्दिर देखेका थिए?

७, ८. (क) कुन बुझाइमा अहिले छाँटकाँट गरिएको छ? (ख) इजकिएलले दर्शनमा देखेको मन्दिर र पावलले वर्णन गरेको आध्यात्मिक मन्दिर कसरी फरक छ?

अगाडि उल्लेख गरिएझैँ हाम्रा प्रकाशनहरूमा धेरै वर्षसम्म इजकिएलले देखेको मन्दिर प्रेषित पावलले हिब्रू ख्रिष्टियनहरूलाई बताएको यहोवाको महान्‌ आध्यात्मिक मन्दिर हो भनिएको थियो। तर थप अध्ययन गर्दा इजकिएलले देखेको मन्दिर महान्‌ आध्यात्मिक मन्दिर हुन सक्दैन भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौँ। किन?

पहिलो, इजकिएलले देखेको मन्दिर पावलले परमेश्‍वरबाट प्रेरणा पाएर गरेको वर्णनसित मेल खाँदैन। यो कुरा विचार गर्नुहोस्‌: मोसाको समयको वासस्थान अझ महत्त्वपूर्ण कुराको छाया र नमुना मात्र थियो भनेर प्रेषित पावलले स्पष्ट पारे। वासस्थानको ढाँचा सुलेमान र यरुबाबेलको मन्दिरको जस्तै थियो, यी सबैमा “महापवित्र-कोठा” थियो। पावलले त्यस भागलाई “हातले बनाइएको पवित्र ठाउँ” भने, जुन सक्कल होइन तर “सक्कलको नक्कल मात्र” थियो। सक्कलचाहिँ के थियो? पावलले यसो भने: “स्वर्ग।” (हिब्रू ९:३, २४) के इजकिएलले पनि स्वर्ग देखेका थिए? अहँ, थिएनन्‌। इजकिएलले दर्शनमा स्वर्गका कुराहरू देखेका थिए भन्‍ने कुनै सङ्‌केत पाइँदैन।—दानिएल ७:९, १०, १३, १४ तुलना गर्नुहोस्‌।

९, १०. बलिदानहरू चढाउने विषयमा इजकिएलले दर्शनमा देखेको मन्दिर र पावलले वर्णन गरेको महान्‌ आध्यात्मिक मन्दिरबीच कस्तो भिन्‍नता छ?

इजकिएलले दर्शनमा देखेको मन्दिरमा चढाइएको बलिदानहरूलाई विचार गर्ने हो भने तिनले देखेको मन्दिर र पावलले वर्णन गरेको मन्दिरबीचको ठूलो भिन्‍नता अझ स्पष्ट हुन्छ। इजकिएलले मानिसहरूलाई, कुलनायकहरूलाई र पुजारीहरूलाई बलिदानहरू चढाउनेबारे विस्तृत निर्देशन दिइएको सुने। तिनीहरूले आफ्नै पापको लागि बलिदानहरू चढाउनुपर्थ्यो। तिनीहरूले मेलबलि पनि चढाउनुपर्थ्यो, जसको केही भाग तिनीहरूले मन्दिरको भोजनकक्षमा खान सक्थे। (इज. ४३:१८, १९; ४४:११, १५, २७; ४५:१५-२०, २२-२५) तर के महान्‌ आध्यात्मिक मन्दिरमा बारम्बार बलिदानहरू चढाइन्छ र?

इजकिएलले दर्शनमा देखेको मन्दिर महान्‌ आध्यात्मिक मन्दिर होइन

१० जवाफ स्पष्ट र सरल छ। पावलले यसो भने: “जब ख्रिष्ट पूरा भइसकेका उत्तम कुराहरूको प्रधानपुजारीको रूपमा आउनुभयो, तब उहाँ अझ ठूलो र पूर्ण पालभित्र पस्नुभयो, जुन हातले बनाइएको अर्थात्‌ पार्थिव सृष्टिको भाग होइन। उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।” (हिब्रू ९:११, १२) त्यसैले महान्‌ आध्यात्मिक मन्दिरमा सदाको लागि एउटै मात्र बलिदान चढाइयो। त्यो थियो, फिरौतीको बलिदान, जुन महान्‌ प्रधानपुजारी येसु ख्रिष्ट आफैले चढाउनुभएको थियो। स्पष्ट छ, इजकिएलले दर्शनमा देखेको मन्दिरमा थुप्रै बोका र बहर बलिदान चढाइएकोले त्यो महान्‌ आध्यात्मिक मन्दिर हुन सक्दैन।

११. इजकिएलको समयमा परमेश्‍वरले महान्‌ आध्यात्मिक मन्दिरबारे सत्य कुरा प्रकट गर्ने समय किन भएको थिएन?

११ इजकिएलले दर्शनमा देखेको मन्दिर महान्‌ आध्यात्मिक मन्दिर हुन नसक्नुको दोस्रो कारण अब हामी छलफल गरौँ। त्यो हो, इजकिएलको समयमा परमेश्‍वरको महान्‌ आध्यात्मिक मन्दिरबारे सत्य कुरा प्रकट गर्ने समय भएको थिएन। याद गर्नुहोस्‌, इजकिएलको दर्शन विशेषगरि बेबिलोनको निर्वासनमा रहेका यहुदीहरूका लागि थियो। तिनीहरू मोसाको व्यवस्थाको अधीनमा थिए। निर्वासनको समय सिद्धिएपछि तिनीहरू यरुसलेम फर्कनुपर्थ्यो अनि मन्दिर र त्यसको वेदी पुनर्निर्माण गरेर शुद्ध उपासनासित सम्बन्धित व्यवस्था लागू गर्नुपर्थ्यो। त्यसपछि तिनीहरूले त्यहाँ बलिदानहरू चढाउनुपर्ने थियो। हामीलाई थाह छ, तिनीहरूले झन्डै ६०० वर्षसम्म त्यहाँ बलिदानहरू चढाए। इजकिएलले देखेको मन्दिर आध्यात्मिक मन्दिर भएको भए त्यसले यहुदीहरूलाई कस्तो असर पार्ने थियो होला, कल्पना गर्नुहोस्‌ त! प्रधानपुजारीले जनावरको सट्टा आफैलाई बलिदानको रूपमा अर्पण गर्नुपर्ने थियो, त्यसपछि अरू सबै बलिदानको अन्त हुने थियो। त्यस्तो दर्शन तिनीहरूले बुझ्न सक्थे होला र? यसले मोसाको व्यवस्था पालन गर्ने तिनीहरूको सङ्‌कल्पलाई कमजोर बनाउने थिएन र? यहोवा परमेश्‍वर सही समयमा र आफ्ना मानिसहरू तयार भएपछि मात्र सत्य कुराहरू प्रकट गर्नुहुन्छ।

१२-१४. इजकिएलले दर्शनमा देखेको मन्दिर र पावलले वर्णन गरेको आध्यात्मिक मन्दिरबीच कस्तो सम्बन्ध छ? (“फरक मन्दिर, फरक पाठ” भन्‍ने पेटी हेर्नुहोस्‌)

१२ त्यसोभए इजकिएलले दर्शनमा देखेको मन्दिर र पावलले वर्णन गरेको आध्यात्मिक मन्दिरबीच कस्तो सम्बन्ध छ? नबिर्सनुहोस्‌, इजकिएलले दर्शनमा देखेको मन्दिरलाई आधार बनाएर पावलले आध्यात्मिक मन्दिरको वर्णन गरेनन्‌। बरु तिनले मोसाको समयको वासस्थानमा आधारित भएर वर्णन गरे। हो, पावलले बताएको आध्यात्मिक मन्दिरका केही पक्ष सुलेमान र यरुबाबेलको मन्दिरमा अनि इजकिएलले दर्शनमा देखेको मन्दिरमा पनि थियो। तर इजकिएल र पावलले फरक-फरक कुरामा जोड दिए। * दुवैले एउटै कुराको वर्णन गर्नुको सट्टा तिनीहरूले बताएको कुरा एकअर्काको पूरक थियो। कसरी?

१३ यी दुई बाइबल विवरणबीचको सम्बन्धलाई हामी यसरी लिन सक्छौँ: पावलबाट उपासनाको लागि यहोवा परमेश्‍वरले मिलाउनुभएको प्रबन्धबारे सिक्न सक्छौँ तर इजकिएलबाट भने उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका स्तरहरूबारे सिक्न सक्छौँ। शुद्ध उपासनाको लागि यहोवा परमेश्‍वरले मिलाउनुभएको प्रबन्धबारे हामीलाई सिकाउन पावलले प्रधानपुजारी, बलिदानहरू, वेदी, महापवित्र-कोठाजस्ता आध्यात्मिक मन्दिरका विभिन्‍न पक्षको अर्थ खुलाउँछन्‌। तर इजकिएलले देखेको मन्दिरको दर्शनले शुद्ध उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका उच्च स्तरहरूमा जोड दिने विस्तृत विवरण दिन्छ, जसले हाम्रो दिमाग अनि हृदयमा यहोवाका स्तरहरूबारे अमेट छाप पार्छ।

१४ त्यसोभए हाम्रो बुझाइमा भएको यस छाँटकाँटलाई हामीले कसरी लिनुपर्छ? इजकिएलको दर्शनले आज हाम्रो समयमा कम महत्त्व राख्छ भन्‍ने त पक्कै होइन। यस दर्शनले हामीलाई कसरी फाइदा पुऱ्‍याउँछ भनेर बुझ्न यसले इजकिएलको समयका र त्यसपछिका वफादार यहुदीहरूलाई कसरी फाइदा पुऱ्‍यायो, हेरौँ।

निर्वासनमा रहेका यहुदीहरूका लागि यस दर्शनले कस्तो अर्थ राख्यो?

१५. (क) समग्रमा भन्‍नुपर्दा इजकिएलको दर्शनको भविष्यसूचक सन्देश के थियो? (ख) इजकिएल अध्याय ८ को विवरण र इजकिएल अध्याय ४० देखि ४८ को विवरणबीच कस्तो भिन्‍नता छ?

१५ यस प्रश्‍नको जवाफ पाउन हामीलाई मनमा स्पष्ट र पूरा चित्र उतार्न मदत गर्ने यसैसित सम्बन्धित प्रश्‍नहरू क्रमिक रूपमा विचार गरौँ। पहिलो, समग्रमा भन्‍नुपर्दा यस दर्शनको भविष्यसूचक सन्देश के थियो? सरल शब्दमा भन्‍ने हो भने शुद्ध उपासना पुनर्स्थापित हुने थियो! यो कुरा इजकिएलले पक्कै पनि राम्ररी बुझेका थिए। तिनले यसबारे अध्याय ८ मा लेखिसकेका थिए। उक्‍त अध्यायमा यरुसलेमको मन्दिरमा व्याप्त घृणित कुराहरूबारे यहोवा परमेश्‍वरले जीवन्त ढङ्‌गमा बताउनुभएको छ। तर अध्याय ४० देखि ४८ मा बिलकुलै फरक कुरा विस्तृत रूपमा लेख्न पाउँदा इजकिएल पक्कै पनि खुसी भएको हुनुपर्छ। उक्‍त अध्यायहरूमा भ्रष्ट अवस्थामा पुगेको शुद्ध उपासना जस्तो हुनुपर्ने हो, त्यस्तै अवस्थामा फर्केको अर्थात्‌ मोसाको व्यवस्थाअनुसारै यहोवा परमेश्‍वरलाई शुद्ध उपासना चढाइएको विवरण पाउँछौँ।

१६. लगभग १०० वर्षअघि यसैयाले भविष्यवाणी गरेको कुरा इजकिएलको दर्शनले कसरी प्रमाणित गऱ्‍यो?

१६ यहोवा परमेश्‍वरलाई चढाइने उपासनालाई पहिलाकै अवस्थामा पुनर्स्थापना गर्न यसलाई उच्च स्थानमा पुऱ्‍याउनुपर्ने थियो। इजकिएलको समयभन्दा लगभग १०० वर्षअघि भविष्यवक्‍ता यसैयाले प्रेरणा पाएर यस्तो लेखेका थिए: “आखिरी समयमा यहोवा परमेश्‍वरको भवनको डाँडा अरू डाँडाभन्दा माथि उठाइनेछ, त्यसलाई टाकुरामाथि नहल्लिनेगरि बसालिनेछ।” (यसै. २:२) अग्लो डाँडामा बसालिएझैँ यहोवा परमेश्‍वरको शुद्ध उपासना पुनर्स्थापित हुने र उच्च पारिने कुरा यसैयाले स्पष्टै बताए। इजकिएलले पाएको दर्शनमा पनि यहोवा परमेश्‍वरको भवन कहाँ थियो? “एउटा असाध्यै अग्लो डाँडामा” थियो। (इज. ४०:२) यसरी इजकिएलको दर्शनले शुद्ध उपासना पुनर्स्थापित हुनेछ भनेर प्रमाणित गऱ्‍यो।

इजकिएलले दर्शनमा देखेको मन्दिर अग्लो डाँडामा बसालिएको थियो (अनुच्छेद १६ हेर्नुहोस्‌)

१७. इजकिएल अध्याय ४० देखि ४८ को कुरा सरसरती बताउनुहोस्‌।

१७ इजकिएल अध्याय ४० देखि ४८ मा तिनले देखेका र सुनेका कुराहरू रेकर्ड गरिएका छन्‌। आउनुहोस्‌, त्यसलाई सरसरती विचार गरौँ। एक जना स्वर्गदूतले मन्दिरका प्रवेशद्वारहरू, पर्खाल, चोकहरू र पवित्र स्थान नापिरहेको इजकिएलले देखे। (इज. ४०-४२) त्यसपछि एउटा रोमाञ्चकारी घटना घट्यो: मन्दिरमा यहोवा परमेश्‍वरको महिमित आगमन भयो! यहोवा परमेश्‍वरले आफ्ना बरालिएका मानिसहरू, पुजारीहरू र कुलनायकहरूलाई सल्लाहका साथै निर्देशन दिनुभयो। (इज. ४३:१-१२; ४४:१०-३१; ४५:९-१२) इजकिएलले पवित्र स्थानबाट एउटा नदी बगिरहेको देखे, जसले मृतसागरतर्फ बग्दै जाँदा जीवन र आशिष्‌ दिने थियो। (इज. ४७:१-१२) अनि तिनले जमिन बराबर हुनेगरि भाग लगाइएको देखे र त्यस जमिनको बीचतिर शुद्ध उपासना चढाइँदै थियो। (इज. ४५:१-८; ४७:१३–४८:३५) यसले समग्रमा कस्तो सन्देश दिइरहेको थियो? स्पष्ट छ, शुद्ध उपासना पुनर्स्थापित हुनेछ र उच्च पारिनेछ भनेर यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई आश्‍वासन दिइरहनुभएको थियो। उहाँले आफ्नो मन्दिरलाई आफ्नो उपस्थितिद्वारा आशिष्‌ दिनुहुने थियो र उपासना गर्ने त्यस प्रबन्धबाट आशिष्‌हरू बग्ने थियो, जसले गर्दा जमिन निको हुने थियो, जीवित हुने थियो र त्यहाँ सुव्यवस्था कायम हुने थियो।

इजकिएलले दर्शनमा देखेको मन्दिर यहोवा परमेश्‍वरले शुद्ध उपासनालाई कसरी पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने कुराको झलक थियो (अनुच्छेद १७ हेर्नुहोस्‌)

१८. के दर्शनलाई शाब्दिक अर्थमा लिन मिल्थ्यो? व्याख्या गर्नुहोस्‌।

१८ दोस्रो, के दर्शनलाई शाब्दिक अर्थमा लिन मिल्थ्यो? अहँ, मिल्दैनथ्यो। इजकिएलले निर्वासनमा रहेका सङ्‌गी यहुदीहरूलाई आफूले देखेको दर्शनबारे व्याख्या गर्दा तिनी र ती यहुदीहरूले उक्‍त दर्शनलाई शाब्दिक अर्थमा लिन मिल्दैन भनेर बुझेको हुनुपर्छ। किन? याद गर्नुहोस्‌, इजकिएलले यो मन्दिर “एउटा असाध्यै अग्लो डाँडामा” देखेका थिए। यसैयाको भविष्यवाणीसित यो कुरा मेल खाए तापनि मन्दिरको वास्तविक स्थानसित चाहिँ मेल खाँदैनथ्यो। सुलेमानको मन्दिर यरुसलेमको मोरियाह डाँडामा थियो र पछि त्यहीँ नै यो मन्दिर पुनर्निर्माण गरिने थियो। तर के त्यो “असाध्यै अग्लो डाँडा” थियो? थिएन। वास्तवमा मोरियाह डाँडाको छेउछाउमा भएका अरू डाँडाहरू पनि उत्तिकै अग्ला छन्‌ वा त्योभन्दा अग्ला छन्‌। साथै इजकिएलले देखेको मन्दिर परिसर विशाल थियो। अनि यो विशाल इलाका पर्खालले घेरिएको थियो, जुन मोरियाह डाँडामा अट्‌न सक्दैन थियो। सुलेमानको समयको यरुसलेम सहरमा पनि इजकिएलले देखेको मन्दिर अट्‌न सक्दैन थियो! साथै निर्वासनमा रहेकाहरूले मन्दिरबाट साँच्चैको नदी बग्ने अनि त्यो नदी मृतसागरमा गएर मिसिने र निर्जीव पानीलाई निको पार्ने आशा पक्कै गरेका थिएनन्‌। यसबाहेक प्रतिज्ञा गरिएको देश पहाडी इलाकामा थियो र त्यहाँको भूभाग समतल थिएन, जसले गर्दा दर्शनमा वर्णन गरिएजस्तै हरेक कुलको सीमाना सीधा र समानान्तर हुनेगरि छुट्ट्याउन सम्भव थिएन। यी सबै कुरा विचार गर्दा उक्‍त दर्शनलाई शाब्दिक अर्थमा लिन मिल्दैन।

१९-२१. इजकिएलको दर्शनले मानिसहरूमा कस्तो प्रभाव पारेको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो? यस दर्शनले उनीहरूमा किन त्यस्तो प्रभाव पार्ने थियो?

१९ तेस्रो, इजकिएलको दर्शनले मानिसहरूमा कस्तो प्रभाव पार्नुपर्ने थियो? शुद्ध उपासनाको लागि यहोवा परमेश्‍वरले तोक्नुभएका उच्च स्तरहरूबारे सोच्दा ती मानिसहरू लज्जित हुनुपर्ने थियो। यहोवा परमेश्‍वरले इजकिएललाई यसो भन्‍नुभयो: “इस्राएलको घरानालाई मन्दिरको वर्णन गरिदेऊ।” इजकिएलले इस्राएलीहरूलाई मन्दिरबारे विस्तृत रूपमा व्याख्या गर्नुपर्ने थियो, जसले गर्दा उनीहरूले ‘मन्दिरको नक्सा राम्ररी बुझ्ने थिए।’ इजकिएलले दर्शनमा देखेको मन्दिरबारे मानिसहरूले किन मनन गर्नुपर्थ्यो? हामीले बुझेझैँ उनीहरूले त्यो मन्दिर निर्माण गर्ने त थिएनन्‌। बरु उनीहरूले मनन गर्नुपर्ने कारणबारे यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “तिनीहरू आफ्ना अपराध सम्झेर लाजमा परून्‌।”इजकिएल ४३:१०-१२ पढ्‌नुहोस्‌।

२० यस दर्शनले असल हृदय भएका मानिसहरूको अन्तस्करण घोचेर उनीहरूलाई किन लाजमा पार्न सक्थ्यो? इजकिएललाई के भनियो, याद गर्नुहोस्‌: “हे मानिसको छोरा, म यहोवा तिमीलाई मेरो मन्दिरको विधिविधान र व्यवस्था बताउँदै छु। त्यसैले मेरो कुरामा ध्यान देऊ, मैले देखाएको कुरा नियालेर हेर र मेरो कुरा कान थापेर सुन।” (इज. ४४:५) इजकिएलले परमेश्‍वरको विधिविधान र व्यवस्थाबारे पटक-पटक सुने। (इज. ४३:११, १२; ४४:२४; ४६:१४) तिनलाई यहोवा परमेश्‍वरका स्तरहरूबारे पनि बारम्बार सम्झाइयो—नाप र तौलबारे समेत। (इज. ४०:५; ४५:१०-१२; हितोपदेश १६:११ तुलना गर्नुहोस्‌) यो दर्शनको मात्र कुरा गर्ने हो भने पनि इजकिएलले “नाप,” “नाप्नु”-जस्ता अर्थ लाग्ने मूल भाषाको शब्द ५० पटकभन्दा धेरै प्रयोग गरेका छन्‌।

२१ नाप, तौल, व्यवस्था, विधिविधान—वास्तवमा यहोवा परमेश्‍वर आफ्ना मानिसहरूलाई के भन्‍न खोज्दै हुनुहुन्थ्यो? उहाँले एकदमै सशक्‍त ढङ्‌गमा उनीहरूलाई यो अकाट्य सत्यबारे सम्झाउँदै हुनुहुन्थ्यो जस्तो देखिन्छ: शुद्ध उपासनाका स्तरहरू तोक्ने अधिकार यहोवा परमेश्‍वरसित मात्र छ। ती स्तरहरूबाट टाढिएका मानिसहरू साँच्चै लज्जित हुनुपर्ने थियो! यस दर्शनले यहुदीहरूलाई के-कस्ता तरिकामा यस्ता पाठहरू सिकायो? यसपछिको अध्यायमा हामी केही खास उदाहरणहरू छलफल गर्नेछौँ। ती उदाहरणहरू छलफल गर्दा आज हाम्रो समयमा यो उल्लेखनीय दर्शनले कस्तो अर्थ राख्छ भनेर बुझ्नेछौँ।

असल हृदय भएका मानिसहरूलाई मन्दिरको दर्शनले किन लाजमा पार्ने थियो? (अनुच्छेद १९-२१ हेर्नुहोस्‌)

^ आध्यात्मिक मन्दिर भनेको येसु ख्रिष्टको फिरौतीको बलिदानको आधारमा यहोवा परमेश्‍वरलाई शुद्ध उपासना चढाउन उहाँले मिलाउनुभएको प्रबन्ध हो। यो मन्दिर इस्वी संवत्‌ २९ मा अस्तित्वमा आयो भनेर हामीले बुझेका छौँ।

^ उदाहरणको लागि, पावलले प्रधानपुजारीमा र हरेक वर्ष मनाइने प्रायश्‍चितको दिनमा ती प्रधानपुजारीले निर्वाह गर्ने भूमिकामा जोड दिए। (हिब्रू २:१७; ३:१; ४:१४-१६; ५:१-१०; ७:१-१७, २६-२८; ८:१-६; ९:६-२८) तर इजकिएलले देखेको दर्शनमा प्रधानपुजारी र प्रायश्‍चितको दिनबारे कुनै उल्लेख गरिएको छैन।