सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अध्याय १६

“मानिसहरूको निधारमा चिन्ह लगाऊ”

“मानिसहरूको निधारमा चिन्ह लगाऊ”

इजकिएल ९:४

मुख्य कुरा: इजकिएलको समयमा वफादार मानिसहरूलाई बचाउको लागि कसरी चिन्ह लगाइयो र त्यसले आज हाम्रो समयमा कस्तो अर्थ राख्छ?

१-३. (क) इजकिएल किन स्तब्ध भएका छन्‌ अनि यरुसलेमको विनाशको सन्दर्भमा तिनले के थाह पाउँछन्‌? (ख) हामी कुन प्रश्‍नहरू छलफल गर्नेछौँ?

 इजकिएल स्तब्ध भएका छन्‌! तिनले भर्खरै धर्मत्यागी यहुदीहरूले यरुसलेमको मन्दिरमा घिनलाग्दा कामहरू गरिरहेको दर्शन देखेका छन्‌। * ती विद्रोहीहरूले इस्राएलमा भएको शुद्ध उपासनाको केन्द्रलाई नै बिटुलो पारेका छन्‌। तर मन्दिर मात्र बिटुलो भएको त होइन। यहुदा राष्ट्र नै हिंसाले भरिएको छ र सुध्रने कुनै छाँटकाँट देखिँदैन। आफूले रोजेका मानिसहरूको कर्तुत देखेर अपमानित महसुस गरेकोले यहोवा परमेश्‍वर इजकिएललाई यसो भन्‍नुहुन्छ: “तिनीहरूमाथि मेरो क्रोध दन्कनेछ।”—इज. ८:१७, १८.

यरुसलेम र कुनै समय पवित्र मानिएको त्यहाँको मन्दिरमाथि अब यहोवा परमेश्‍वरको क्रोध दन्कनेछ र त्यो विनाश हुनेछ भनेर थाह पाउँदा इजकिएलको मन कत्ति रोयो होला! पक्कै पनि इजकिएलको मनमा यस्तो कुरा खेलेको हुनुपर्छ: ‘सहरमा वफादार मानिसहरू पनि रहेछन्‌ भने नि? के परमेश्‍वरले उनीहरूलाई जोगाउनुहुनेछ? जोगाउनुहुनेछ भने कसरी?’ जवाफको लागि इजकिएलले लामो समय पर्खनु परेन। यरुसलेममाथि आइपर्ने कठोर न्यायदण्डबारे सुनेको केही बेरमै इजकिएलले सहर विनाश गर्न खटाइएकाहरूलाई बोलाऊ भनेर ठूलो स्वरमा आदेश दिइएको सुन्छन्‌। (इज. ९:१) यरुसलेमको विनाश अन्धाधुन्ध नभई त्यसबाट बच्नेहरू पनि हुनेछन्‌ भनेर इजकिएलले दर्शनबाट थाह पाउँछन्‌। यो कुरा थाह पाउँदा तिनले कत्ति ढुक्क महसुस गरे होलान्‌!

हामी बाँचिरहेको यो दुष्ट युगको अन्त नजिकै छ। त्यसैले हामीलाई पनि आउनै लागेको महासङ्‌कष्टबाट को-को बच्ला जस्तो लाग्न सक्छ। त्यसैले आउनुहोस्‌, यी कुराहरूबारे छलफल गरौँ: (१) इजकिएलले दर्शनमा त्यसपछि के देखे? (२) तिनको समयमा यो दर्शन कसरी पूरा भयो? (३) यो भविष्यसूचक दर्शनले हाम्रो समयमा कस्तो अर्थ राख्छ?

“सहर विनाश गर्न खटाइएकाहरूलाई बोलाऊ”

४. इजकिएलले दर्शनमा के देखे र सुने, बताउनुहोस्‌।

इजकिएलले दर्शनमा त्यसपछि के देखे र सुने? (इजकिएल ९:१-११ पढ्‌नुहोस्‌) सात जना पुरुष “उत्तरतिरको माथिल्लो ढोकातिरबाट” आइरहेका थिए। सायद तिनीहरू “परमेश्‍वरलाई रिस उठाउने मूर्ति” भएको ठाउँ अथवा स्त्रीहरू तम्मुज देवताको लागि रोइरहेको ठाउँ नजिकैबाट आएका थिए। (इज. ८:३, १४) ती सात जना पुरुष मन्दिरको भित्री चोकमा पसे र तामाको वेदीनजिकै उभिए। तर ती पुरुषहरू त्यहाँ बलिदान चढाउन आएका थिएनन्‌ किनकि यहोवा परमेश्‍वरले त्यस मन्दिरमा चढाइने बलिदानहरू स्विकार्न छोडिसक्नुभएको थियो। त्यहाँ उभिरहेका छ जना पुरुषको “हातमा फोर्ने डन्डा” थियो। तर सातौँ पुरुष भने बिलकुलै फरक देखिन्थे। तिनले मलमलको लुगा लगाएका थिए र तिनले हतियार नभई “लेखनदासको मसीदानी” अथवा फुटनोटमा भनिएझैँ “मसी हाल्ने सिङ” भिरेका थिए।

५, ६. चिन्ह लगाइएका मानिसहरूबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

मसीदानी भिरेको पुरुषले के गर्नुपर्ने थियो? तिनले यहोवा परमेश्‍वर स्वयम्‌बाट यस्तो महत्त्वपूर्ण जिम्मेवारी पाए: “यरुसलेम सहरमा चारैतिर जाऊ र सहरमा भइरहेका घिनलाग्दा कामहरू देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका मानिसहरूको निधारमा चिन्ह लगाऊ।” सायद त्यतिबेला इजकिएलले वफादार इस्राएली आमाबुबाहरूले विगतमा गरेको एउटा कुरा सम्झेको हुनुपर्छ। ती आमाबुबाहरूले आफ्नो घरको ढोकाको दुवैपट्टिका खामा र माथिल्लो भागमा रगत छर्केका थिए। यो चिन्हले गर्दा तिनीहरूको पहिलो सन्तान विनाशबाट बच्ने थिए। (प्रस्थ. १२:७, २२, २३) इजकिएलको दर्शनमा मसीदानी भिरेको पुरुषले मानिसहरूको निधारमा लगाइदिएको चिन्हले पनि के त्यस्तै काम गर्ने थियो? के त्यो चिन्ह लगाइएका मानिसहरू यरुसलेमको विनाशबाट बच्ने थिए?

त्यो चिन्ह केको आधारमा लगाइने थियो भन्‍ने कुरा बुझ्यौँ भने हामी यस प्रश्‍नको जवाफ पाउन सक्छौँ। “सहरमा भइरहेका” घिनलाग्दा कामहरू देखेर “सुस्केरा हाल्दै अफसोस गरिरहेका मानिसहरूको” निधारमा त्यो चिन्ह लगाउनुपर्ने थियो। त्यसोभए हामी त्यो चिन्ह लगाइएका मानिसहरूबारे कस्तो निष्कर्षमा पुग्न सक्छौँ? एउटा त, मन्दिरमा भइरहेको मूर्तिपूजा मात्र नभई यरुसलेमभरि फैलिएको हिंसा, अनैतिकता र भ्रष्टाचार देखेर तिनीहरूको मन छियाछिया भएको थियो। (इज. २२:९-१२) यसबाहेक, तिनीहरूले आफ्नो भावना पनि व्यक्‍त गरेका हुन सक्छन्‌। त्यस्ता असल हृदय भएका मानिसहरूको बोली र कामबाट त्यस भूमिमा भइरहेका कामहरूप्रति तिनीहरूको घृणा र शुद्ध उपासनाप्रति तिनीहरूको भक्‍ति स्पष्टै देखिन्थ्यो। यहोवा कृपालु परमेश्‍वर हुनुभएकोले उहाँले ती मानिसहरूलाई बचाउनुहुने थियो।

७, ८. हातमा फोर्ने डन्डा बोकेका छ जना पुरुषले के गर्नुपर्ने थियो र अन्तिम नतिजा कस्तो भयो?

त्यसोभए हातमा फोर्ने डन्डा बोकेका छ जना पुरुषले चाहिँ के गर्नुपर्ने थियो? यहोवा परमेश्‍वरले तिनीहरूलाई यस्तो निर्देशन दिनुभएको इजकिएलले सुने: मसीदानी भिरेको पुरुषको पछिपछि जाओ र निधारमा चिन्ह लगाइएका मानिसहरूबाहेक अरू सबैलाई मार। यहोवा परमेश्‍वरले यसो पनि भन्‍नुभयो: “तिमीहरूले मेरो मन्दिरबाटै सुरु गर।” (इज. ९:६) विनाश गर्न खटाइएका पुरुषहरूले आफ्नो काम यरुसलेमको मुख्य भाग—मन्दिरबाटै सुरु गर्नुपर्ने थियो। त्यो मन्दिर अब यहोवा परमेश्‍वरको नजरमा पवित्र थिएन। सबैभन्दा पहिले “मन्दिरको सामुन्‍ने उभिरहेका नाइकेहरू” अर्थात्‌ मन्दिरमा झूटा देवताहरूलाई धूप चढाइरहेका इस्राएलको घरानाको ७० जना नाइकेलाई मार्नुपर्ने थियो।—इज. ८:११, १२; ९:६.

अन्तिम नतिजा कस्तो भयो? इजकिएलले दर्शनमा मसीदानी भिरेको पुरुषले यहोवा परमेश्‍वरलाई यसो भनेको सुने: “मैले तपाईँको आज्ञाअनुसार सबै गरेँ।” (इज. ९:११) तर हाम्रो मनमा यस्तो प्रश्‍न आउन सक्छ: ‘त्यसोभए यरुसलेमका बासिन्दाहरूलाई के भयो? विनाशबाट बचेका वफादार मानिसहरू पनि थिए कि?’

इजकिएलको समयमा यो दर्शन कसरी पूरा भयो?

९, १०. यरुसलेमको विनाशबाट बच्ने केही वफादार मानिस को थिए र तिनीहरूबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौँ?

दोस्रो इतिहास ३६:१७-२० पढ्‌नुहोस्‌। बेबिलोनी सेनाले ईसापूर्व ६०७ मा यरुसलेम र यसको मन्दिर विनाश गर्दा इजकिएलको यो भविष्यवाणी पूरा भयो। विश्‍वासघाती यरुसलेमलाई सजाय दिन यहोवा परमेश्‍वरले माध्यमको रूपमा बेबिलोनीहरूलाई चलाउनुभयो। यसरी बेबिलोनीहरू ‘यहोवाको हातमा कचौराबराबर’ भए। (यर्मि. ५१:७) के विनाशमा सबै मारिए? अहँ मारिएनन्‌। इजकिएलको दर्शनमा बेबिलोनीहरूको हातबाट बच्नेहरू पनि हुनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो।—उत्प. १८:२२-३३; २ पत्रु. २:९.

१० रेकाबीहरू, इथियोपियाली एबेद-मेलेक, भविष्यवक्‍ता यर्मिया र तिनका सचिव बारुकलगायत अन्य वफादार मानिसहरू बचे। (यर्मि. ३५:१-१९; ३९:१५-१८; ४५:१-५) तिनीहरू यरुसलेममा भइरहेका “घिनलाग्दा कामहरू देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेका” थिए भन्‍ने निष्कर्षमा हामी इजकिएलको दर्शनबाट पुग्न सक्छौँ। (इज. ९:४) पक्कै पनि तिनीहरूले विनाशअघि नै सहरमा भइरहेको दुष्ट कुराहरूप्रतिको घृणा र शुद्ध उपासनाप्रतिको भक्‍ति देखाएका थिए। यसरी तिनीहरू विनाशबाट बच्नेहरूमध्ये भए।

११. मसीदानी भिरेको पुरुष र फोर्ने डन्डा बोकेका छ जना पुरुषले कसलाई बुझाउँथ्यो?

११ के ती वफादार मानिसहरूलाई बचाउको चिन्ह साँच्चै लगाइएको थियो? इजकिएल वा अन्य कुनै भविष्यवक्‍ता यरुसलेमको चारैतिर गएर वफादार मानिसहरूको निधारमा चिन्ह लगाएको कुनै रेकर्ड छैन। त्यसैले इजकिएलको भविष्यसूचक दर्शनले त्यतिबेला स्वर्गदूतहरूले गरिरहेको कामलाई चित्रण गरेको हुनुपर्छ, जुन मानव आँखाले देख्न सक्दैनथ्यो। मसीदानी भिरेको पुरुष र फोर्ने डन्डा बोकेका छ जना पुरुषले प्रतीकात्मक अर्थमा यहोवा परमेश्‍वरका वफादार स्वर्गदूतहरूलाई बुझाउँथ्यो, जो हरबखत यहोवाको इच्छा पूरा गर्न तयार छन्‌। (भज. १०३:२०, २१) विश्‍वासघाती यरुसलेममाथि सजाय ल्याउन यहोवा परमेश्‍वरले स्वर्गदूतहरूलाई चलाउनुभयो। स्वर्गदूतहरूले न्यायदण्ड अन्धाधुन्ध हुनेछैन, दुष्टहरूले मात्र सजाय पाउनेछन्‌ भनेर पक्का गरे। यसो गर्नु भनेको बचाइनेहरूको निधारमा चिन्ह लगाउनुसरह थियो।

इजकिएलको दर्शनले आज हाम्रो लागि कस्तो अर्थ राख्छ?

१२, १३. (क) यहोवा परमेश्‍वरले यरुसलेममाथि किन आफ्नो क्रोध खन्याउनुभयो र आज पनि हामी किन त्यस्तै कुराको आशा गर्न सक्छौँ? (ख) के विश्‍वासघाती यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ? व्याख्या गर्नुहोस्‌। (“के यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌)

१२ अब चाँडै “यस्तो महासङ्‌कष्ट हुनेछ, जुन संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ।” (मत्ति २४:२१) परमेश्‍वरले ल्याउनुहुने त्यो न्यायदण्डको प्रतीक्षा गर्दै बस्दा हाम्रो मनमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छन्‌: आउनै लागेको विनाश अन्धाधुन्ध हुनेछ कि त्यसबाट बच्नेहरू पनि हुनेछन्‌? यहोवालाई शुद्ध उपासना चढाउनेहरूलाई के बचाउको चिन्ह लगाइनेछ? अर्को शब्दमा भन्‍ने हो भने इजकिएलको भविष्यसूचक दर्शनको मसीदानी भिरेको पुरुषले के आज हाम्रो समयमा कुनै अर्थ राख्छ? यी तीनै प्रश्‍नको जवाफ सकारात्मक छ। हामी किन त्यस्तो निष्कर्षमा पुग्न सक्छौँ? यस प्रश्‍नको जवाफ पाउन फेरि एकचोटि इजकिएलको दर्शनलाई विचार गरौँ।

१३ यहोवा परमेश्‍वरले पुरातन यरुसलेममाथि किन आफ्नो क्रोध खन्याउनुभयो, के तपाईँले सम्झनुभएको छ? फेरि एकचोटि इजकिएल ९:८, ९ हेरौँ। (पढ्‌नुहोस्‌) ‘इस्राएलका बाँकी मानिसहरू पनि नाश’ हुने हुन्‌ कि भनेर इजकिएलले आफ्नो डर व्यक्‍त गर्दा यहोवा परमेश्‍वरले न्यायदण्ड ल्याउनुको चार वटा कारण बताउनुभयो। पहिलो, त्यस राष्ट्रले “घोर पाप” गरेको थियो। * दोस्रो, यहुदा ‘रक्‍तपातले भरिएको’ थियो। तेस्रो, यहुदाको राजधानी यरुसलेम “भ्रष्टाचारले भरिएको” थियो। चौथो, त्यहाँका मानिसहरूले आफ्नो काम यहोवा परमेश्‍वरले ‘देख्नुभएको छैन’ भन्ठान्दै खराब काम गरिरहेका थिए। के यी कुराहरू आजको पतित, हिंस्रक, भ्रष्ट र बेइमान संसारमा पनि व्याप्त छैन र? यहोवा परमेश्‍वर “परिवर्तन” हुनुहुन्‍न। त्यसैले इजकिएलको समयमा जुन कारणले गर्दा उहाँको उचित रिस दन्केको थियो, आज पनि उहाँको रिस त्यही कारणले गर्दा दन्कनेछ। (याकु. १:१७; मला. ३:६) यसकारण फोर्ने डन्डा बोकेका छ जना पुरुष र मसीदानी भिरेको पुरुषले आज हाम्रो लागि पनि अर्थ राख्छ।

फोर्ने डन्डा बोकेका छ जना पुरुषले चाँडै आफ्नो काम थाल्नेछन्‌ (अनुच्छेद १२, १३ हेर्नुहोस्‌)

१४, १५. विनाश ल्याउनुअघि यहोवा परमेश्‍वर चेतावनी दिनुहुन्छ भनेर कस्ता उदाहरणहरूबाट थाह पाउन सक्छौँ?

१४ इजकिएलको भविष्यसूचक दर्शन आज हाम्रो समयमा कसरी पूरा भइरहेको छ? उक्‍त दर्शन पुरातन समयमा कसरी पूरा भएको थियो भन्‍ने कुरा विचार गर्दा अहिले र भविष्यमा आशा गर्न सक्ने कुराबारे थाह पाउन सक्छौँ। इजकिएलको भविष्यवाणी अहिले कसरी पूरा भइरहेको छ र भविष्यमा कसरी पूरा हुनेछ, विचार गरौँ।

१५ विनाश ल्याउनुअघि यहोवा परमेश्‍वर चेतावनी दिनुहुन्छ। यस प्रकाशनको अध्याय ११ मा बुझेझैँ यहोवा परमेश्‍वरले इजकिएललाई “इस्राएलको घरानाको पहरेदार” नियुक्‍त गर्नुभएको थियो। (इज. ३:१७-१९) ईसापूर्व ६१३ देखि इजकिएलले आउनै लागेको विनाशबारे इस्राएललाई सुस्पष्ट तरिकामा चेतावनी दिन थाले। यसैया र यर्मियालगायत अन्य भविष्यवक्‍ताहरूले पनि यरुसलेमले भोग्ने विपत्तिबारे चेतावनी दिए। (यसै. ३९:६, ७; यर्मि. २५:८, ९, ११) आज हाम्रो समयमा घरका अरू दासहरूलाई भोजन दिन र आउँदै गरेको महासङ्‌कष्टबारे चेतावनी पनि दिन यहोवा परमेश्‍वरले येसुमार्फत अभिषिक्‍त जनहरूको एउटा सानो समूहलाई चलाइरहनुभएको छ।—मत्ति २४:४५.

१६. के हामी मानिसहरूलाई बचाउको चिन्ह लगाउने काम गर्छौँ? व्याख्या गर्नुहोस्‌।

१६ यहोवाका सेवकहरू मानिसहरूलाई बचाउको चिन्ह लगाउँदैनन्‌। याद गर्नुहोस्‌, इजकिएललाई यरुसलेमको चारैतिर गएर मानिसहरूलाई बचाउको चिन्ह लगाउन भनिएको थिएन। त्यसैगरि आज हामीलाई पनि योग्य मानिसहरूलाई बचाउको चिन्ह लगाउने काम दिइएको छैन। बरु घरका अरू दासहरूको रूपमा हामीलाई प्रचार गर्ने जिम्मा दिइएको छ। परमेश्‍वरको राज्यको सुसमाचार जोसिलो भई प्रचार गरेर अनि यस दुष्ट संसारको अन्त एकदमै नजिक छ भनेर जोडतोडले चेतावनी दिएर हामी यस जिम्मेवारीलाई गम्भीरतासाथ लिएको कुरा देखाउँछौँ। (मत्ति २४:१४; २८:१८-२०) यसरी हामी असल हृदय भएका मानिसहरूलाई शुद्ध उपासना स्विकार्न मदत गर्छौँ।—१ तिमो. ४:१६.

१७. भविष्यमा बचाउको चिन्ह लगाइनेहरूमध्ये हुन व्यक्‍तिविशेषले अहिल्यै के गर्नुपर्छ?

१७ आउनै लागेको विनाशबाट बच्न व्यक्‍तिविशेषले अहिल्यै आफ्नो विश्‍वासको प्रमाण दिनुपर्छ। हामीले अगाडि पनि छलफल गरेझैँ ईसापूर्व ६०७ मा यरुसलेमको विनाशबाट बचेकाहरूले त्यसअघि नै दुष्ट कुराप्रतिको घृणा र शुद्ध उपासनाप्रतिको भक्‍ति देखाएका थिए। आज पनि कुरा त्यस्तै हो। विनाश आउनुअघि नै व्यक्‍तिविशेषले संसारमा भइरहेका दुष्ट कुराहरूप्रति ‘सुस्केरा हाल्दै अफसोस गरिरहेको’ हुनुपर्छ। अनि आफ्ना भावनाहरू गुम्साएर राख्नुको सट्टा तिनीहरूले शुद्ध उपासनाप्रतिको भक्‍ति आफ्नो बोली र कामबाट देखाउनुपर्छ। तिनीहरूले कसरी त्यसो गर्न सक्छन्‌? तिनीहरूले सुसमाचार स्विकार्नुपर्छ, ख्रिष्टको जस्तो व्यक्‍तित्व धारण गर्ने कोसिस गरिरहनुपर्छ, यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरेको चिन्हस्वरूप बप्तिस्मा गर्नुपर्छ र ख्रिष्टका भाइहरूलाई वफादार भई समर्थन गर्नुपर्छ। (इज. ९:४; मत्ति २५:३४-४०; एफि. ४:२२-२४; १ पत्रु. ३:२१) अहिल्यै यी कुराहरू गरेर शुद्ध उपासकको रूपमा महासङ्‌कष्टमा प्रवेश गर्ने मानिसहरूलाई मात्र बचाउको चिन्ह लगाइनेछ।

१८. (क) येसु ख्रिष्टले कहिले र कसरी योग्य मानिसहरूलाई चिन्ह लगाउनुहुनेछ? (ख) के वफादार अभिषिक्‍त जनहरूलाई चिन्ह लगाउनुपर्छ? व्याख्या गर्नुहोस्‌।

१८ येसुले योग्य मानिसहरूलाई चिन्ह लगाउनुहुनेछ। इजकिएलको समयमा स्वर्गदूतहरूले मानिसहरूलाई बचाउको चिन्ह लगाएका थिए। आधुनिक समयमा मसीदानी भिरेको पुरुषले सबै जातिको न्यायकर्ताको रूपमा “आफ्नो गौरवसहित” आउनुहुने येसु ख्रिष्टलाई चित्रण गर्छ। (मत्ति २५:३१-३३) येसु झूटो धर्मको विनाशपछि अर्थात्‌ महासङ्‌कष्टको दौडान न्याय गर्न आउनुहुनेछ। * आरमागेडोन सुरु हुनुभन्दा ठीकअघि, त्यस निर्णायक घडीमा येसुले मानिसहरूलाई भेडा वा बाख्राको रूपमा छुट्ट्याउनुहुनेछ। “ठूलो भीड”-का मानिसहरूलाई भेडाको रूपमा न्याय गरिनेछ वा चिन्ह लगाइनेछ र यसले तिनीहरूले “अनन्त जीवन” पाउने कुरालाई सङ्‌केत गर्छ। (प्रका. ७:९-१४; मत्ति २५:३४-४०, ४६) अनि वफादार अभिषिक्‍त जनहरूबारे के भन्‍न सकिन्छ? आरमागेडोनबाट बच्न तिनीहरूलाई चिन्ह लगाउनु पर्दैन। बरु या त तिनीहरूको मृत्युअघि या त महासङ्‌कष्ट सुरु हुनुअघि तिनीहरूलाई अन्तिम छाप लगाइनेछ। अनि आरमागेडोन सुरु हुनुभन्दा केही समयअघि तिनीहरूले स्वर्गीय इनाम पाउनेछन्‌।—प्रका. ७:१-३.

१९. यस युगमाथि न्यायदण्ड ल्याउने काममा येसुलाई क-कसले साथ दिनेछन्‌? (“सुस्केरा हाल्दै अफसोस गर्ने, चिन्ह लगाउने र फोर्ने काम—कहिले र कसरी?” भन्‍ने पेटी हेर्नुहोस्‌)

१९ स्वर्गका राजा येसु ख्रिष्ट र स्वर्गमा भएका उहाँका सेनाले यस युगमाथि न्यायदण्ड ल्याउनेछन्‌। इजकिएलको दर्शनलाई विचार गर्ने हो भने मलमलको लुगा लगाएका पुरुषले चिन्ह लगाउने काम सिध्याएपछि मात्र फोर्ने डन्डा बोकेका छ जना पुरुषले विनाश गर्ने काम सुरु गरे। (इज. ९:४-७) त्यसैगरि आउनै लागेको विनाश पनि येसुले सबै जातिको न्याय गर्नुभएपछि र भेडाखाले मानिसहरूलाई बचाउको चिन्ह लगाउनुभएपछि मात्र सुरु हुनेछ। अनि आरमागेडोनको युद्धको दौडान येसुले यस दुष्ट संसारको विनाश गर्न पवित्र स्वर्गदूतहरू र १ लाख ४४ हजार सह-शासक सामेल भएको स्वर्गीय सेनाको नेतृत्व गर्नुहुनेछ। त्यतिबेला यस दुष्ट संसारलाई पूर्णतया नाश गरिनेछ र शुद्ध उपासकहरूलाई धार्मिकताले भरिएको नयाँ संसारसम्म डोऱ्‍याइनेछ।—प्रका. १६:१४-१६; १९:११-२१.

२०. मसीदानी भिरेको पुरुषबारे इजकिएलको दर्शनबाट हामीले कस्तो आश्‍वासनदायी पाठ सिक्यौँ?

२० मसीदानी भिरेको पुरुषबारे इजकिएलको दर्शनबाट हामीले आश्‍वासनदायी पाठ सिक्यौँ। यसको लागि हामी यहोवा परमेश्‍वरप्रति साँच्चै आभारी छौँ! यहोवा परमेश्‍वरले धर्मीहरूलाई दुष्टहरूसँगै नाश गर्नुहुनेछैन भन्‍ने कुरामा हामी पूर्णतया विश्‍वस्त हुन सक्छौँ। (भज. ९७:१०) भविष्यमा बचाउको चिन्ह पाउन अहिल्यै के गर्नुपर्छ भनेर हामीलाई थाह छ। यहोवा परमेश्‍वरको उपासक भएकोले हामी यस दुष्ट संसारको अवस्था देखेर सुस्केरा हाल्दै अफसोस गरिरहेकाहरूलाई सुसमाचार प्रचार गर्ने र चेतावनी दिने काममा सक्दो धेरै भाग लिने अठोट गर्छौँ। यसरी “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएकाहरूलाई हामीसँगै शुद्ध उपासना चढाउने काममा सामेल हुन मदत गर्न सक्छौँ। यसो गऱ्‍यौँ भने तिनीहरू धार्मिकताले भरिएको नयाँ संसारमा जीवन पाउनको लागि चिन्ह लगाइनेहरूमध्ये हुन सक्छन्‌।—प्रेषि. १३:४८.

^ यरुसलेमको मन्दिरमा भइरहेका घिनलाग्दा कामहरूबारे इजकिएलले देखेको दर्शनबारे यस प्रकाशनको अध्याय ५ मा छलफल गरिएको छ।

^ एउटा पुस्तकअनुसार “पाप” भनेर अनुवाद गरिएको हिब्रू शब्दले “पतित” भन्‍ने अर्थ पनि दिन्छ। अर्को एउटा पुस्तकअनुसार यो शब्द “प्रायजसो धर्मसित सम्बन्धित कुराहरूमा चलाइन्छ र यसले नैतिक रूपमा दोषी वा परमेश्‍वरको नजरमा दुष्ट” भन्‍ने अर्थ दिन्छ।

^ महान्‌ बेबिलोन विनाश हुँदा झूटो धर्मको सबै सदस्य नाश नहुन पनि सक्छन्‌। त्यतिबेला केही धर्मगुरुले समेत झूटो धर्म त्यागेर आफू कहिल्यै त्यसको भाग नभएको दाबी गर्न सक्छन्‌।—जक. १३:३-६.