सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इस्वी संवत्‌ १९१९ मा भएको ऐतिहासिक अधिवेशनले परमेश्‍वरका मानिसहरू अन्ततः महान्‌ बेबिलोनबाट मुक्‍त भएको कुराको सशक्‍त प्रमाण दियो

शिक्षण पेटी ९ख

इस्वी संवत्‌ १९१९ नै किन?

इस्वी संवत्‌ १९१९ नै किन?

परमेश्‍वरका मानिसहरू महान्‌ बेबिलोनको कैदबाट इस्वी संवत्‌ १९१९ मा मुक्‍त भए भनेर हामी किन भन्छौँ? बाइबलका केही भविष्यवाणी र इतिहासमा घटेका घटनालाई केलाएर हामी यो निष्कर्षमा पुगेका हौँ।

येसुले इस्वी संवत्‌ १९१४ देखि स्वर्गमा राजाको रूपमा शासन सुरु गर्नुभयो भनेर बाइबल भविष्यवाणी र इतिहासले प्रमाणित गर्छ। त्यसबेलादेखि पृथ्वीमा सैतानको यस युगको आखिरी समय सुरु भयो। राजा हुनुभएपछि येसुले के गर्नुभयो? के उहाँले पृथ्वीका आफ्ना सेवकहरूलाई तुरुन्तै महान्‌ बेबिलोनको कैदबाट मुक्‍त गर्नुभयो? के उहाँले इस्वी संवत्‌ १९१४ मा “विश्‍वासी र बुद्धिमान्‌ दास” नियुक्‍त गरेर बाली काट्‌न सुरु गर्नुभयो?—मत्ति २४:४५.

त्यसो भएको त देखिँदैन। किन? किनभने परमेश्‍वरको प्रेरणा पाएर प्रेषित पत्रुसले न्याय गर्ने काम “परमेश्‍वरको घरानाबाटै सुरु हुनेछ” भनेका थिए। (१ पत्रु. ४:१७) त्यसैगरि भविष्यवक्‍ता मलाकिले पनि यहोवा परमेश्‍वर आफ्नो मन्दिरमा “करारका दूत” येसु ख्रिष्टसित आउनुहुने समयबारे भविष्यवाणी गरेका थिए। (मला. ३:१-५) त्यो समय जाँच्ने र शुद्ध पार्ने समयावधि हुने थियो। के इतिहासले यी भविष्यवाणीहरूलाई समर्थन गर्छ?

अवश्‍य! इस्वी संवत्‌ १९१४ देखि १९१९ को सुरु-सुरुतिर बाइबल विद्यार्थीहरू, जसलाई अहिले यहोवाका साक्षीहरू भनिन्छ, तिनीहरूलाई निक्कै गाह्रो भइरहेको थियो किनभने त्यतिखेर तिनीहरूलाई जाँच्ने र शुद्ध पार्ने काम भइरहेको थियो। इस्वी संवत्‌ १९१४ मा आफूले आशा गरेअनुसार यस युगको अन्त नभएकोले परमेश्‍वरका धेरैजसो सेवक निराश भएका थिए। परमेश्‍वरका मानिसहरूबीच जोसिलो भएर नेतृत्व लिइरहनुभएका चार्ल्स टेज रसलको इस्वी संवत्‌ १९१६ मा मृत्यु हुँदा तिनीहरू झनै निराश भए। भाइ रसलका केही घनिष्ठ सहयोगीहरूले उहाँपछि नेतृत्व लिन नियुक्‍त हुनुभएका जोसेफ एफ. रदरफोर्डको घोर विरोध गरे, जसले गर्दा परमेश्‍वरका मानिसहरूबीच फुट उत्पन्‍न भयो। इस्वी संवत्‌ १९१७ मा सङ्‌गठन टुक्रिनै लागिसकेको थियो। त्यसपछि इस्वी संवत्‌ १९१८ मा पादरीहरूको इशारामा सरकारले भाइ रदरफोर्ड र उहाँका सात जना सहयोगीलाई पक्राउ गऱ्‍यो अनि गलत आरोप लगाएर झ्यालखानामा हाल्यो। ब्रूक्लिनको मुख्यालयमा पनि ताला लाग्यो। परमेश्‍वरका मानिसहरू महान्‌ बेबिलोनको कैदबाट मुक्‍त भइसकेका थिएनन्‌ भनेर यसबाट स्पष्ट हुन्छ।

तर इस्वी संवत्‌ १९१९ मा के भयो? परिस्थिति अचानक परिवर्तन भयो! इस्वी संवत्‌ १९१९ को सुरुतिर भाइ रदरफोर्ड र उहाँका सात जना सहयोगीलाई रिहा गरियो। त्यसपछि उहाँहरू तुरुन्तै काममा लाग्नुभयो! केही समयभित्रै उहाँहरूले एउटा ऐतिहासिक अधिवेशनको आयोजना गर्नुभयो अनि सुनौलो युग (अहिले ब्यूँझनुहोस्‌!) पत्रिका प्रकाशित गर्नुभयो। यो नयाँ पत्रिका प्रचारकार्यको लागि तयार पारिएको थियो। साथै प्रत्येक मण्डलीमा एक जना निरीक्षक नियुक्‍त गरेर तिनलाई प्रचारकार्यलाई व्यवस्थित पार्ने र धेरैभन्दा धेरैलाई प्रचारकार्यमा भाग लिन प्रोत्साहन दिने जिम्मेवारी सुम्पिइयो। प्रचारकार्यलाई टेवा पुऱ्‍याउन त्यसै वर्ष बुलेटिन (अहिले हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका) प्रकाशित गरियो।

स्पष्ट छ, ख्रिष्टले आफ्ना मानिसहरूलाई महान्‌ बेबिलोनको कैदबाट मुक्‍त गर्नुभएको थियो। उहाँले विश्‍वासी र बुद्धिमान्‌ दास नियुक्‍त गर्नुभएको थियो। बाली काट्‌ने काम अघि बढिरहेको थियो। इस्वी संवत्‌ १९१९ देखि बाली काट्‌ने काम तीव्र गतिमा अघि बढिरहेको छ।