सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शिक्षण पेटी १९क

यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूको नदी

यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूको नदी

यहोवा परमेश्‍वरबाट पाइने आशिष्‌हरूलाई “नदी” र “पानी”-सित तुलना गरिएका केही बाइबल विवरणहरू विचार गरौँ। ती सबै विवरणलाई सँगै राखेर हेर्दा यहोवा परमेश्‍वरले हामीलाई कसरी आशिष्‌ दिनुहुन्छ भन्‍नेबारे केही प्रोत्साहनजनक कुरा सिक्न सक्छौँ।

योएल ३:१८ यस भविष्यवाणीमा मन्दिरको पवित्र स्थानबाट मूल फुट्‌ने विषयमा बताइएको छ। त्यो पानीले “बबुलको रूखको बेँसी”-लाई भिजाउँछ। योएल र इजकिएल दुवैले एउटा नदीले निर्जल ठाउँलाई जीवन दिएको देख्छन्‌। दुवै भविष्यवाणीमा नदी यहोवा परमेश्‍वरको भवन अर्थात्‌ मन्दिरबाट बग्छ।

जकरिया १४:८ भविष्यवक्‍ता जकरियाले यरुसलेम सहरबाट “जीवन दिने पानी” बगिरहेको देख्छन्‌। आधा पानी पूर्वको समुद्रतिर अर्थात्‌ मृतसागरतिर अनि आधा पानीचाहिँ पश्‍चिमको समुद्रतिर अर्थात्‌ भूमध्यसागरतिर बग्छ। यरुसलेम “महान्‌ राजा” यहोवा परमेश्‍वरको “सहर” थियो। (मत्ति ५:३५) त्यसकारण जकरियाले त्यस सहरबारे उल्लेख गरेको कुराबाट भविष्यमा यहोवाको शासन सारा पृथ्वीभरि फैलिनेछ भनेर देखिन्छ। यस भविष्यवाणीको पानीले यहोवाले प्रमोदवनमा वफादार मानिसहरूको दुई वटा समूहलाई अर्थात्‌ महासङ्‌कष्ट पार गरेर आएकाहरूलाई र पछि जीवित हुनेहरूलाई आशिष्‌ दिनुहुने कुरालाई सङ्‌केत गर्छ भनेर हामीले लामो समयदेखि बुझ्दै आएका छौँ।

प्रकाश २२:१, २ प्रेषित युहन्‍नाले इजकिएलले देखेको जस्तै प्रतीकात्मक नदी देख्छन्‌। तर यो नदीचाहिँ मन्दिरबाट होइन बरु यहोवा परमेश्‍वरको सिंहासनबाट बग्छ। त्यसकारण जकरियाको दर्शनले जस्तै यस दर्शनले पनि हजार वर्षीय शासनको दौडान परमेश्‍वरको राज्यले ल्याउने आशिष्‌हरूमा जोड दिएको जस्तो देखिन्छ।

यहोवाको राज्यले ल्याउने आशिष्‌हरू र इजकिएलले दर्शनमा देखेको नदीले सङ्‌केत गर्ने आशिष्‌हरूबीच खासै भिन्‍नता छैन। ती सबै आशिष्‌ यहोवाबाट आउँछ र सबै वफादार मानिसले त्यसबाट लाभ उठाउन सक्छन्‌।

भजन ४६:४ यो एउटै पदले उपासना र शासन दुवै पक्षलाई कसरी समेटेको छ, याद गर्नुहोस्‌। यस पदमा एउटा नदीले “परमेश्‍वरको सहर”-लाई आनन्दित तुल्याएको कुरा बताइएको छ; यसले परमेश्‍वरको शासनलाई सङ्‌केत गर्छ। साथै यस पदमा “सर्वोच्च परमेश्‍वरको महापवित्र वासस्थान”-बारे पनि उल्लेख गरिएको छ; यसले शुद्ध उपासनालाई सङ्‌केत गर्छ।

यी सबै विवरणलाई एकै ठाउँमा राखेर हेर्दा यहोवा परमेश्‍वरले वफादार मानिसहरूलाई दुई वटा तरिकामा आशिष्‌ दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छौँ। पहिलो, हामी उहाँको शासन र दोस्रो, शुद्ध उपासनाको लागि उहाँले गर्नुभएको प्रबन्धबाट लाभ उठाउन सक्छौँ। त्यसकारण यहोवा परमेश्‍वर र उहाँको छोराबाट “जीवन दिने पानी” खोजिरहौँ किनकि त्यो पानी हामीलाई अनन्त जीवन दिन उहाँहरूले मिलाउनुभएको मायालु प्रबन्ध हो।—यर्मि. २:१३; युह. ४:१०.