सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ०४

साँचो परमेश्‍वर को हुनुहुन्छ?

साँचो परमेश्‍वर को हुनुहुन्छ?

मानिस अस्तित्वमा आएको केही समयपछिदेखि नै तिनीहरूले विभिन्‍न देवीदेवतालाई पुज्दै आएका छन्‌। तर बाइबलले एक जना परमेश्‍वरबारे बताउँछ, जो “अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ।” (२ इतिहास २:५) उहाँ को हुनुहुन्छ? मानिसहरूले पुज्ने अरू सबै देवताभन्दा उहाँ किन महान्‌ हुनुहुन्छ? परमेश्‍वरले आफूबारे तपाईँलाई के बताउन चाहनुभएको छ, यस पाठमा बुझ्नुहोस्‌।

१. परमेश्‍वरको नाम के हो? हामीले त्यो नाम थाह पाएको उहाँ चाहनुहुन्छ भन्‍ने कुरामा किन पक्का हुन सक्छौँ?

बाइबलमा परमेश्‍वरले आफूबारे बताउनुभएको छ। उहाँ भन्‍नुहुन्छ: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:५, ८ पढ्‌नुहोस्‌।) “यहोवा” हिब्रू भाषाबाट अनुवाद गरिएको नाम हो। थुप्रै बाइबलविद्‌अनुसार यस नामको अर्थ हो, “बन्‍ने र बनाउने उहाँ नै हुनुहुन्छ।” यहोवा हामीले उहाँको नाम थाह पाएको चाहनुहुन्छ। (प्रस्थान ३:१५) हामी किन त्यो कुरामा पक्का हुन सक्छौँ? उहाँले बाइबलमा आफ्नो नाम ७ हजारभन्दा धेरै पटक लेख्न लगाउनुभयो। a परमेश्‍वरको नाम यहोवा हो, जो “माथि स्वर्गमा र तल पृथ्वीमा . . . साँचो परमेश्‍वर हुनुहुन्छ।”—व्यवस्था ४:३९.

२. बाइबलले यहोवाबारे के बताउँछ?

मानिसहरूले उपासना गर्ने सबै देवीदेवतामध्ये यहोवा मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर बाइबलले बताउँछ। किन? त्यसका थुप्रै कारण छन्‌। यहोवासित सबैभन्दा धेरै अख्तियार छ र ‘सारा पृथ्वीमा उहाँ मात्र सर्वोच्च हुनुहुन्छ।’ (भजन ८३:१८ पढ्‌नुहोस्‌।) बाइबलमा उहाँलाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वर” भनिएको छ किनभने उहाँसित आफूले चाहेको सबै कुरा गर्ने शक्‍ति छ। उहाँले “सबै थोक सृष्टि गर्नुभयो।” (प्रकाश ४: ८, ११) उहाँले नै ब्रह्‍माण्डलगायत पृथ्वीका सबै जीवजीवात सृष्टि गर्नुभयो। यहोवा मात्र सधैँ अस्तित्वमा हुनुहुन्छ र सदासर्वदै रहिरहनुहुनेछ।—भजन ९०:२.

अझ खोतल्नुहोस्‌

परमेश्‍वरका उपाधिहरू र उहाँको विशेष नामबीचको फरक केलाउनुहोस्‌। त्यसपछि उहाँले आफ्नो नामबारे तपाईँलाई कसरी बताउनुभएको छ र त्यो बताउनुको कारण के हो, बुझ्नुहोस्‌।

३. परमेश्‍वरका थुप्रै उपाधि छन्‌ तर नाम एउटा मात्र छ

कसैको उपाधि र नामबीचको भिन्‍नताबारे थाह पाउन भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • नाम र “प्रभु”-जस्ता उपाधिबीच के भिन्‍नता छ?

मानिसहरूले थुप्रै प्रभु र ईश्‍वरको उपासना गर्छन्‌ भनेर बाइबलले मानिलिन्छ। भजन १३६:१-३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • “ईश्‍वरहरूका पनि ईश्‍वर” र “प्रभुहरूका पनि प्रभु” को हुनुहुन्छ?

४. तपाईँले यहोवाको नाम थाह पाएको र त्यो नाम प्रयोग गरेको उहाँ चाहनुहुन्छ

तपाईँले यहोवाको नाम थाह पाएको उहाँ चाहनुहुन्छ भनेर किन भन्‍न सक्नुहुन्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँलाई यहोवा आफ्नो नाम अरूले थाह पाएको चाहनुहुन्छ जस्तो लाग्छ? किन?

मानिसहरूले यहोवाको नाम प्रयोग गरेको उहाँ चाहनुहुन्छ। रोमी १०:१३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवाको नाम प्रयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ?

  • कसैले तपाईँको नाम सम्झँदा र त्यो नाम प्रयोग गर्दा तपाईँलाई कस्तो लाग्छ?

  • तपाईँले यहोवाको नाम प्रयोग गर्दा उहाँलाई कस्तो लाग्छ?

५. तपाईँ यहोवासित नजिक भएको उहाँ चाहनुहुन्छ

कम्बोडियाकी सोतेन नाम गरेकी महिलाले परमेश्‍वरको नाम थाह पाउँदा “जुन सन्तुष्टि मिल्छ, त्यो सायद संसारमा अरू कुनै कुराले दिन सक्दैन” भनेर बताइन्‌। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएकी सोतेनलाई परमेश्‍वरको नाम थाह पाउँदा कस्तो लाग्यो?

कसैसित मित्रता गाँस्दा अक्सर सुरुमा तपाईँ तिनको नाम थाह पाउनुहुन्छ। याकुब ४:८क पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवा तपाईँलाई के गर्न आग्रह गर्नुहुन्छ?

  • परमेश्‍वरको नाम थाह पाउँदा र त्यो नाम प्रयोग गर्दा तपाईँ कसरी उहाँसित नजिक भएको महसुस गर्न सक्नुहुन्छ?

कोही-कोही भन्छन्‌: “परमेश्‍वर एकै जना हुनुहुन्छ। त्यसैले उहाँलाई जुन नामले पुकारे पनि हुन्छ।”

  • के तपाईँ परमेश्‍वरको नाम यहोवा हो भन्‍ने कुरामा पक्का हुनुहुन्छ?

  • हामीले परमेश्‍वरको नाम प्रयोग गरेको उहाँ चाहनुहुन्छ भनेर तपाईँ कसरी बुझाउनुहुन्छ?

सारांश

एक मात्र साँचो परमेश्‍वरको नाम यहोवा हो। हामी उहाँसित नजिक हुन सकौँ भनेर हामीले उहाँको नाम थाह पाएको र त्यो नाम प्रयोग गरेको उहाँ चाहनुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • मानिसहरूले पुज्ने अरू सबै देवीदेवताभन्दा यहोवा कसरी फरक हुनुहुन्छ?

  • हामीले परमेश्‍वरको नाम किन प्रयोग गर्नुपर्छ?

  • हामी यहोवाको नजिक भएको उहाँ चाहनुहुन्छ भनेर कुन कुराले देखाउँछ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

परमेश्‍वर हुनुहुन्छ भन्‍न सकिने पाँच वटा ठोस प्रमाण केलाउनुहोस्‌।

“के परमेश्‍वर हुनुहुन्छ?” (jw.org को लेख)

परमेश्‍वर सधैँ अस्तित्वमा हुनुहुन्छ भन्‍नु किन तार्किक छ, विचार गर्नुहोस्‌।

“ईश्‍वरलाई कसले सृष्टि गऱ्‍यो?” (प्रहरीधरहरा, अगस्त १, २०१४)

प्राचीन हिब्रू भाषामा परमेश्‍वरको नाम कसरी उच्चारण गरिन्थ्यो भन्‍ने कुरा थाह नभए पनि हामीले त्यो नाम किन प्रयोग गर्नुपर्छ, बुझ्नुहोस्‌।

“यहोवा को हुनुहुन्छ?” (jw.org को लेख)

हामीले परमेश्‍वरलाई जुन नामले पुकारे पनि के त्यसले कुनै फरक पार्छ? परमेश्‍वरको एउटै मात्र नाम छ भनेर हामी किन भन्‍न सक्छौँ, बुझ्नुहोस्‌।

“परमेश्‍वरको कति वटा नाम छ?” (jw.org को लेख)

a परमेश्‍वरको नामको अर्थ के हो र कुनै-कुनै बाइबल अनुवादबाट यो नाम किन हटाइयो भन्‍ने विषयमा थप जानकारी पाउन पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।