पाठ ०५

बाइबल—परमेश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश

बाइबल—परमेश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश

यहोवाले हामीलाई एउटा बहुमूल्य उपहार दिनुभएको छ। त्यो हो, बाइबल। यो ६६ वटा किताबको सँगालो हो। तर तपाईँलाई लाग्ला, ‘बाइबल कहाँबाट आयो? यसको वास्तविक लेखक को हो?’ यी प्रश्‍नहरूको जवाफ पाउन बाइबलमा भएको परमेश्‍वरको सन्देश हामीसम्म कसरी आइपुग्यो, बुझौँ।

१. बाइबल मानिसहरूले लेखेका हुन्‌ भने यसलाई किन परमेश्‍वरको सन्देश भन्‍न सकिन्छ?

बाइबल ४० जनाजति मानिसले लेखेका हुन्‌। यो लेख्न लगभग १ हजार ६ सय वर्ष लाग्यो। यसको पहिलो किताब लगभग ३ हजार ५ सय वर्षअघि र अन्तिम किताब लगभग १ हजार ९ सय वर्षअघि लेखियो। बाइबल लेख्ने मानिसहरूको पृष्ठभूमि फरकफरक थियो। जस्तै: कोही धनी र पढे-लेखेका थिए भने कोहीचाहिँ गरिब र साधारण थिए। तैपनि यसमा भएको कुरा आपसमा मेल खान्छ। यसो हुन सक्नुको कारण के हो? यो परमेश्‍वरको वचन भएकोले हो। (१ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्‌।) बाइबल लेख्ने मानिसहरूले आफ्नै विचार लेखेनन्‌। बरु “पवित्र शक्‍तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।” a (२ पत्रुस १:२१) परमेश्‍वरले आफ्ना विचारहरू लेख्न मानिसहरूलाई पवित्र शक्‍तिद्वारा प्रेरणा दिनुभयो।—२ तिमोथि ३:१६.

२. बाइबलबाट क-कसले लाभ उठाउन सक्छन्‌?

“हरेक राष्ट्र, कुल, भाषा र जाति”-का मानिसहरूले लाभ उठाउन सक्छन्‌ भनेर परमेश्‍वरले भन्‍नुभयो। (प्रकाश १४:६ पढ्‌नुहोस्‌।) अहिले बाइबल अरू कुनै पनि किताबभन्दा धेरै भाषामा पाइन्छ। प्रायजसो सबै मानिसले बाइबलको सन्देश पढ्‌न सक्छन्‌। मानिसहरू जहाँसुकै बसून्‌ वा जुनसुकै भाषा बोलून, तिनीहरूले बाइबलबाट लाभ उठाउन सक्छन्‌।

३. यहोवाले बाइबललाई कसरी जोगाउनुभएको छ?

बाइबल सुरुमा छाला र पपाइरसजस्ता लामो समयसम्म नटिक्ने सामग्रीमा लेखिएको थियो। तर बाइबललाई प्रेम गर्ने मानिसहरूले होसियारीसाथ हातैले सारेर त्यसका प्रतिलिपिहरू बनाए। केही शासक र धर्मगुरुले बाइबललाई नामेट पार्न खोजे तापनि अरूले भने त्यसलाई जोगाउन ज्यानको खतरा समेत मोले। यहोवाले आफ्नो सन्देश हामीसम्म पुग्नदेखि रोक्न खोज्ने कसैलाई वा कुनै कुरालाई सफल हुन दिनुभएको छैन। बाइबल भन्छ: “हाम्रा परमेश्‍वरको वचन सदासर्वदै रहिरहन्छ।”यसैया ४०:८.

अझ खोतल्नुहोस्‌

परमेश्‍वरले बाइबल लेख्न मानिसहरूलाई कसरी प्रेरणा दिनुभयो, त्यसलाई कसरी जोगाउनुभयो अनि सबै मानिसको लागि त्यो कसरी उपलब्ध गराउनुभयो, थाह पाउनुहोस्‌।

४. बाइबलले यसको वास्तविक लेखकबारे बताउँछ

भिडियो हेर्नुहोस्‌ त्यसपछि २ तिमोथि ३:१६ पढ्‌नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • बाइबल मानिसहरूले लेखेका हुन्‌ भने यसलाई किन परमेश्‍वरको वचन भनिन्छ?

  • के तपाईँलाई परमेश्‍वरले आफ्नो सोचाइ मानव लेखकहरूसम्म पुऱ्‍याउन सक्नुहुन्छ जस्तो लाग्छ?

सेक्रेटरीले चिठी लेखेका होलान्‌ तर त्यसमा भएको सन्देशचाहिँ त्यो चिठी लेख्न लगाउने व्यक्‍तिको हुन्छ। त्यसैगरि मानिसहरूले बाइबल लेखे तर यसमा भएको सन्देश परमेश्‍वरको हो

५. विरोधीहरूले बाइबललाई नामेट पार्न सकेनन्‌

बाइबल परमेश्‍वरको वचन हो भने उहाँले नै त्यसलाई जोगाउनुहुन्छ भनेर आशा गर्न सक्छौँ। इतिहास केलाउने हो भने केही शासकले बाइबललाई नामेट पार्न कोसिस गरेका छन्‌। धर्मगुरुहरू पनि मानिसहरूले बाइबल पढेको चाहँदैनथे। तर धेरै जना बाइबललाई जोगाउनको लागि विरोधको सामना गर्न र ज्यानको खतरा मोल्न समेत तयार भएका छन्‌। त्यस्तै एक जना व्यक्‍तिबारे थाह पाउन भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • बाइबललाई जोगाउन मानिसहरूले ज्यानको खतरा मोले भनेर थाह पाउँदा के तपाईँलाई बाइबल पढूँ-पढूँ जस्तो लाग्यो? किन?

भजन ११९:९७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • धेरै मानिसलाई आफ्नो ज्यानको खतरा मोलेर बाइबल अनुवाद गर्न र वितरण गर्न कुन कुराले जुरमुऱ्‍याएको छ?

६. सबैको लागि उपयोगी किताब

बाइबल अहिलेसम्मकै सबैभन्दा धेरै अनुवाद र वितरण भएको किताब हो। प्रेषित १०:३४, ३५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • परमेश्‍वर आफ्नो वचन किन यत्ति धेरै अनुवाद र वितरण गरिएको चाहनुहुन्छ?

  • तपाईँलाई बाइबलबारे कुन कुरा रोचक लाग्यो?

विश्‍वको कुल जनसङ्‌ख्याको झन्डै

१००%

ले आफूले बुझ्ने भाषामा बाइबल पढ्‌न सक्छन्‌

यो पूरा वा आंशिक गरी

३,०००

भन्दा धेरै भाषामा पाइन्छ

५,००,००,००,०००

प्रकाशित भएको अनुमानित सङ्‌ख्या,

कुनै पनि किताब यत्ति धेरै प्रकाशित भएको छैन

कोही-कोही भन्छन्‌: “बाइबल मानिसहरूले लेखेको पुरानो किताब मात्र हो।”

  • तपाईँलाई कस्तो लाग्छ?

  • बाइबल परमेश्‍वरको वचन हो भन्‍ने कुराको कस्तो प्रमाण पाइन्छ?

सारांश

बाइबल परमेश्‍वरको वचन हो। त्यसैले उहाँले यो सबै मानिसको लागि उपलब्ध गराउनुभएको छ।

तपाईँले के सिक्नुभयो?

  • परमेश्‍वरले मानिसहरूलाई बाइबल लेख्न प्रेरणा दिनुभयो भन्‍नुको अर्थ के हो?

  • यस पाठमा छलफल गरेअनुसार तपाईँलाई बाइबलबारे कुन कुरा रोचक लाग्यो?

  • परमेश्‍वरले आफ्नो सन्देश तपाईँसम्म पुऱ्‍याउन कुनै कसर बाँकी राख्नुभएन भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

बाइबल अनुवाद गर्न अरू मानिसले पनि कस्ता खतराहरू मोले, हेर्नुहोस्‌।

तिनीहरूले बाइबलको मोल गरे (१४:२६)

a पवित्र शक्‍ति परमेश्‍वरको सक्रिय शक्‍ति हो। यसबारे पाठ ७ मा छलफल गरिनेछ।