सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ २२

तपाईँ अरूलाई कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ?

तपाईँ अरूलाई कसरी सुसमाचार सुनाउन सक्नुहुन्छ?

बाइबलको सत्य सिक्दै जाँदा तपाईँलाई लाग्ला, ‘यो कुरा सबैले थाह पाउनुपर्छ।’ हो, यो कुरा सबैले सुन्‍नु जरुरी छ। तर आफूले सिकिरहेको कुरा अरूलाई बताउन तपाईँलाई डर पनि लाग्ला। तपाईँ कसरी त्यो डर हटाउन अनि ढुक्क भई बाइबलको सत्य सुनाउन सक्नुहुन्छ, छलफल गरौँ।

१. तपाईँले सिकेको कुरा कसरी आफूले चिनेजानेका मानिसहरूलाई बताउन सक्नुहुन्छ?

येसुका चेलाहरूले भने: “हामी आफूले देखेको अनि सुनेको कुरा नबोली बस्न सक्दै सक्दैनौँ।” (प्रेषित ४:२०) तिनीहरू बाइबलको सत्यलाई असाध्यै मूल्यवान्‌ ठान्थे। त्यसैले तिनीहरू यसबारे धेरैभन्दा धेरै मानिसलाई सुनाउन चाहन्थे। के तपाईँलाई पनि त्यस्तै लाग्छ? लाग्छ भने तपाईँले सिकेको कुरा आफ्नो परिवार र साथीहरूलाई बताउने मौका खोज्नुहोस्‌ र तिनीहरूसित आदरपूर्वक कुरा गर्नुहोस्‌।—कलस्सी ४:६ पढ्‌नुहोस्‌।

कुराकानी थाल्ने केही तरिका

  • परिवारसित बाइबलको कुनै विषयमा कुराकानी थाल्न यसो भन्‍नुहोस्‌: “यो हप्ता मैले एउटा नयाँ कुरा सिकेँ।”

  • तपाईँको कुनै साथी बिरामी वा चिन्तित छन्‌ भने सान्त्वना दिने कुनै बाइबल पद देखाउनुहोस्‌।

  • सँगै काम गर्ने साथीहरूले तपाईँको हालखबर सोध्दा बाइबल अध्ययनबाट वा मण्डलीको सभाबाट सिकेको कुरा बताउनुहोस्‌।

  • साथीहरूलाई jw.org/ne वेबसाइट देखाउनुहोस्‌।

  • तपाईँको बाइबल अध्ययनमा बस्न अरूलाई निम्तो दिनुहोस्‌ वा jw.org/ne मा अध्ययनको लागि अनुरोध गर्ने तरिका देखाउनुहोस्‌।

२. मण्डलीसित मिलेर सुसमाचार सुनाउने लक्ष्य राख्नु किन राम्रो हो?

येसुका चेलाहरूले चिनेजानेकाहरूलाई मात्र सुसमाचार सुनाएनन्‌। येसुले सुसमाचार सुनाउन तिनीहरूलाई ‘हरेक सहरमा दुई-दुई गरी पठाउनुभयो।’ (लुका १०:१) त्यसरी व्यवस्थित तरिकामा सुसमाचार सुनाउँदा धेरैले त्यो सन्देश सुन्‍ने मौका पाए। अरूसित मिलेर यो काम गर्दा चेलाहरू रमाउन पनि सके। (लुका १०:१७) के तपाईँ पनि मण्डलीसित मिलेर सुसमाचार सुनाउने लक्ष्य राख्न सक्नुहुन्छ?

अझ खोतल्नुहोस्‌

अरूलाई सुसमाचार सुनाउन डर लाग्छ भने तपाईँ त्यो डर कसरी हटाउन सक्नुहुन्छ, सिक्नुहोस्‌। साथै अरूलाई सुसमाचार सुनाउँदा पाइने आनन्द अनुभव गर्नुहोस्‌।

३. यहोवाले तपाईँलाई साथ दिनुहुनेछ

कोही-कोही सुसमाचार सुनाउन चाहन्छन्‌ तर मानिसहरूले के सोच्लान्‌ वा कस्तो प्रतिक्रिया देखाउलान्‌ भनेर चिन्ता गर्छन्‌।

  • के तपाईँलाई आफूले सिकेको कुरा अरूलाई कसरी बताऊँ भनेर चिन्ता लाग्छ? तपाईँलाई किन त्यस्तो लाग्छ?

भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएका जवान साक्षीहरूले कसरी डर हटाउन सके?

यसैया ४१:१० पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • सुसमाचार सुनाउन डर लाग्दा तपाईँले किन प्रार्थना गर्नुपर्छ?

के तपाईँलाई थाह थियो?

यहोवाका साक्षीहरूमध्ये धेरैलाई आफूले कहिल्यै सुसमाचार सुनाउन सक्दिनँ जस्तो लाग्थ्यो। जस्तै: सर्गे नाम गरेका भाइमा आत्मविश्‍वासको कमी थियो। तिनलाई अरूसित कुरा गर्न पनि गाह्रो लाग्थ्यो। तैपनि तिनले बाइबल अध्ययन गरे। तिनी भन्छन्‌: “मलाई अरूसित कुरा गर्न डर लागे तापनि आफूले सिकिरहेको कुरा अरूलाई बताउन थालेँ। अचम्मको कुरा, अरूलाई बाइबलको कुरा बताउँदा मेरो आत्मविश्‍वास बढ्‌दै गयो। साथै मैले भर्खरै सिकेका कुराहरूबारे अरूलाई बताउँदा मेरो विश्‍वास बलियो भयो।”

४. आदर देखाउनुहोस्‌

अरूलाई सुसमाचार सुनाउँदा के भन्‍ने मात्र होइन, कसरी भन्‍ने पनि विचार गर्नुहोस्‌। दोस्रो तिमोथि २:२४ १ पत्रुस ३:१५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अरूलाई बाइबलबारे बताउँदा तपाईँ यी पदहरूमा लेखिएको कुरा कसरी लागू गर्न सक्नुहुन्छ?

  • तपाईँको परिवारका कोही-कोही सदस्य वा साथीहरू तपाईँको कुरासित सहमत नहुन सक्छन्‌। त्यतिबेला तपाईँ के गर्न सक्नुहुन्छ? तर के गर्नु हुँदैन?

  • तपाईँले बताएको कुरामा विश्‍वास गर्न दबाब दिनुको सट्टा कौशलतापूर्वक प्रश्‍नहरू सोध्नु किन राम्रो हो?

५. सुसमाचार सुनाउँदा आनन्दित हुन सकिन्छ

यहोवाले येसुलाई सुसमाचार सुनाउने काम दिनुभयो। यो काम येसुलाई कस्तो लाग्थ्यो? युहन्‍ना ४:३४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • पोसिलो खानेकुरा खाँदा हामी स्वस्थ र खुसी हुन्छौँ। येसुले किन सुसमाचार सुनाउने कामलगायत परमेश्‍वरले चाहनुभएका अरू काम गर्नुलाई भोजनसित तुलना गर्नुभयो?

  • सुसमाचार सुनाउँदा आनन्दित हुन सक्ने के-कस्ता कारण छन्‌ जस्तो तपाईँलाई लाग्छ?

सुझाव

  • मध्यहप्ताको सभामा उपस्थित हुँदा कुराकानी सुरु गर्ने तरिकाहरू सिक्नुहोस्‌।

  • मध्यहप्ताको सभामा विद्यार्थीहरूको असाइनमेन्ट पाउन के गर्नुपर्छ, आफ्नो अध्ययन सञ्चालकलाई सोध्नुहोस्‌। यसले तपाईँलाई आफूले सिकेको कुरा अरूलाई बताउन अझ तयार पार्नेछ।

  • मानिसहरूले अक्सर सोध्ने प्रश्‍नहरूको जवाफ कसरी दिने र असहमति जनाउँदा के भन्‍ने भनेर अभ्यास गर्न यस अध्ययन सामग्रीको “कोही-कोही भन्छन्‌” वा “कसै-कसैले सोध्लान्‌” भाग प्रयोग गर्नुहोस्‌।

कसै-कसैले सोध्लान्‌: “के छ नयाँ हालखबर?”

  • तपाईँले यस मौकामा बाइबल अध्ययनबाट सिकेको कुरा कसरी बताउन सक्नुहुन्छ?

सारांश

अरूलाई सुसमाचार सुनाउँदा आनन्दित हुन सकिन्छ अनि यो काम सुरु गर्न तपाईँले सोचेजत्तिको गाह्रो नहुन सक्छ।

तपाईँले के सिक्नुभयो?

  • हामीले किन सुसमाचार सुनाउनुपर्छ?

  • तपाईँ कसरी आदरपूर्वक सुसमाचार सुनाउन सक्नुहुन्छ?

  • तपाईँलाई सुसमाचार सुनाउन डर लाग्छ भने त्यो डर कसरी हटाउन सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

jw.org कार्ड प्रयोग गरेर सुसमाचार सुनाउन सकिने चार वटा सरल तरिका के-के हुन्‌, हेर्नुहोस्‌।

JW.ORG कार्ड प्रयोग गर्ने नमुना प्रस्तुति (१:४३)

सुसमाचार सुनाउन मदत गर्ने चार वटा गुणबारे सिक्नुहोस्‌।

“के तपाईँ मानिसहरूको जलारी बन्‍न तयार हुनुहुन्छ?” (प्रहरीधरहरा, सेप्टेम्बर २०२०)

केटाकेटीले समेत बाइबलको एउटा उदाहरणबाट सुसमाचार सुनाउन कसरी साहस बटुल्न सक्छन्‌, हेर्नुहोस्‌।

यहोवाले तिमीलाई साहसी बनाउनुहुनेछ (११:५९)

यहोवालाई नचिनेका परिवारका सदस्यहरूसित कसरी बाइबलबारे कुरा गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“बेग्लै धर्म मान्‍ने नातेदार तथा परिवारका सदस्यको मनसम्म पुग्नुहोस्‌” (प्रहरीधरहरा, मार्च १५, २०१४)