सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३५

हामी कसरी सही निर्णय गर्न सक्छौँ?

हामी कसरी सही निर्णय गर्न सक्छौँ?

हामी सबैले जीवनमा अनेकन्‌ निर्णय गर्नुपर्छ। यीमध्ये थुप्रै निर्णयले हाम्रो जीवनमा र यहोवासितको मित्रतामा ठूलो असर पार्न सक्छ। जस्तै: कहाँ बस्ने, जीविका चलाउन के गर्ने अनि विवाह गर्ने कि नगर्ने। सही निर्णय गर्दा हाम्रो जीवन सुखी हुन्छ र हामी यहोवालाई खुसी बनाउन सक्छौँ।

१. बाइबलले तपाईँलाई सही निर्णय गर्न कसरी मदत गर्न सक्छ?

कुनै निर्णय गर्नुअघि यहोवाको मदतको लागि प्रार्थना गर्नुहोस्‌ अनि त्यस विषयमा उहाँको दृष्टिकोण बुझ्न बाइबल केलाउनुहोस्‌। (हितोपदेश २:३-६ पढ्‌नुहोस्‌।) कुनै-कुनै अवस्थामा यहोवाले तोकेरै आज्ञा दिनुहुन्छ। त्यसो हो भने त्यो आज्ञा पालन गर्नु नै तपाईँले गर्न सक्ने सबैभन्दा उत्तम निर्णय हो।

तर तपाईँले के गर्नुपर्छ भनेर बाइबलमा तोकेरै आज्ञा दिइएको छैन भने नि? यस्तो अवस्थामा समेत यहोवाले ‘तपाईँ हिँड्‌नुपर्ने बाटोमा तपाईँलाई डोऱ्‍याउनुहुनेछ।’ (यसैया ४८:१७) कसरी? बाइबलमा पाइने सिद्धान्तहरूले तपाईँलाई डोऱ्‍याउन सक्छ। यी सिद्धान्तहरू भनेको परमेश्‍वरको सोचाइ र भावना प्रकट गर्ने आधारभूत सत्यहरू हुन्‌। परमेश्‍वर कुनै विषयबारे कस्तो महसुस गर्नुहुन्छ भनेर प्रायजसो हामी बाइबलको विवरण पढेर थाह पाउँछौँ। त्यस विषयमा यहोवाको दृष्टिकोण बुझेपछि हामी उहाँलाई खुसी बनाउने निर्णय गर्न सक्छौँ।

२. कुनै निर्णय गर्नुअघि तपाईँले कस्ता कुरा विचार गर्नुपर्छ?

बाइबलले भन्छ: “चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।” (हितोपदेश १४:१५) यसको मतलब कुनै निर्णय गर्नुअघि हामीले के-कस्ता विकल्प छन्‌ भनेर राम्ररी सोच्नुपर्छ, हतार गर्नु हुँदैन। प्रत्येक विकल्प केलाउँदा आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यसमा कुन-कुन बाइबल सिद्धान्त लागू हुन्छ? कुनचाहिँ विकल्प रोज्दा मैले मनोशान्ति पाउनेछु? मेरो निर्णयले अरूमा कस्तो असर पार्न सक्छ? सबैभन्दा महत्त्वपूर्ण कुरा, के यसले यहोवालाई खुसी बनाउनेछ?’—व्यवस्था ३२:२९.

हाम्रो लागि असल के हो र खराब के हो भनेर बताउने अधिकार यहोवासित छ। हामीले उहाँका नियम र सिद्धान्तहरू राम्ररी बुझेर त्यसैअनुसार चल्ने अठोट गऱ्‍यौँ भने आफ्नो अन्तस्करणलाई तालिम दिइरहेका हुन्छौँ। अन्तस्करण भनेको सही र गलत छुट्ट्याउन मदत गर्ने हाम्रो भित्री चेतना हो। (रोमी २:१४, १५) राम्ररी तालिम पाएको अन्तस्करणले हामीलाई सही निर्णय गर्न मदत गर्नेछ।

अझ खोतल्नुहोस्‌

बाइबलका सिद्धान्तहरू र अन्तस्करणले तपाईँलाई सही निर्णय गर्न कसरी मदत गर्छ, अझ राम्ररी बुझ्नुहोस्‌।

३. बाइबलको डोऱ्‍याइअनुसार चल्नुहोस्‌

निर्णयहरू गर्नुपर्दा बाइबलका सिद्धान्तहरूले हामीलाई कसरी डोऱ्‍याउन सक्छ? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • छनौट गर्ने स्वतन्त्रता भनेको के हो?

  • यहोवाले हामीलाई किन छनौट गर्ने स्वतन्त्रता दिनुभयो?

  • छनौट गर्ने स्वतन्त्रता सबैभन्दा उत्तम तरिकामा प्रयोग गर्न यहोवाले हामीलाई के दिनुभएको छ?

बाइबलको एउटा सिद्धान्त विचार गर्न एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌। त्यसपछि निम्न कुराहरूको लागि तपाईँ कसरी “समयको पूर्ण सदुपयोग” गर्न सक्नुहुन्छ, छलफल गर्नुहोस्‌:

  • नियमित रूपमा बाइबल पढ्‌न।

  • अझ राम्रो पति वा पत्नी, आमा वा बुबा अनि छोरा वा छोरी बन्‍न।

  • मण्डलीका सभाहरूमा उपस्थित हुन।

४. सही निर्णय गर्न आफ्नो अन्तस्करणलाई तालिम दिनुहोस्‌

बाइबलले तोकेरै आज्ञा दिएको विषयमा सही निर्णय गर्न त्यत्ति गाह्रो नहोला। तर त्यसरी आज्ञा दिइएको छैन भने नि? भिडियो हेर्नुहोस्‌ अनि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

  • भिडियोमा देखाइएकी बहिनीले अन्तस्करणलाई तालिम दिन र यहोवालाई खुसी बनाउने निर्णय गर्न कस्ता कदम चालिन्‌?

हामी आफैले गर्नुपर्ने निर्णयहरू किन अरूलाई गरिदिन आग्रह गर्नु हुँदैन? हिब्रू ५:१४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • अरूले हाम्रो लागि निर्णय गरिदियो भने सजिलो हुन्छ जस्तो लागे तापनि हामीले कुन कुरा छुट्ट्याउन सक्नुपर्छ?

  • आफ्नो अन्तस्करणलाई तालिम दिन र सही निर्णय गर्न तपाईँ कहाँबाट मदत पाउन सक्नुहुन्छ?

नक्साले सही बाटो देखाएझैँ हाम्रो अन्तस्करणले जीवनमा सही निर्णय गरेर अघि बढ्‌न मदत गर्छ

५. अरूको अन्तस्करणको कदर गर्नुहोस्‌

मानिसहरूको निर्णय फरक-फरक हुन सक्छ। हामी अरूको अन्तस्करणको कदर गरेको कसरी देखाउन सक्छौँ? यी दुइटा परिस्थिति विचार गर्नुहोस्‌:

परिस्थिति १: मेकअप गर्न मन पराउने एउटी बहिनी अर्को मण्डलीमा सर्छिन्‌। तर त्यस मण्डलीका थुप्रै बहिनीलाई अरूले मेकअप गरेको देख्दा अप्ठ्यारो लाग्छ।

रोमी १५:१ १ कोरिन्थी १०:२३, २४ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यी पदहरूको आधारमा ती बहिनीले कस्तो निर्णय गर्लिन्‌? तपाईँको अन्तस्करणले कुनै कुरा गर्न दिन्छ तर तपाईँसँगै भएको व्यक्‍तिको अन्तस्करणले दिँदैन भने तपाईँ के गर्नुहुनेछ?

परिस्थिति २: एक जना भाइलाई बाइबलले ठिक्क मात्रामा रक्सी पिउन निषेध गरेको छैन भनेर थाह छ। तैपनि तिनी रक्सी पटक्कै नपिउने निर्णय गर्छन्‌। तिनलाई एउटा जमघटमा बोलाइन्छ र त्यहाँ तिनले अरू भाइहरूले रक्सी पिइरहेको देख्छन्‌।

उपदेशक ७:१६ रोमी १४:१, १० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यी पदहरूको आधारमा ती भाइले कस्तो निर्णय गर्लान्‌? तपाईँको अन्तस्करणले गर्न नदिने कुरा अर्को व्यक्‍तिले गरिरहेको देख्दा तपाईँ के गर्नुहुनेछ?

 सही निर्णय गर्न तपाईँ कस्ता कदम चाल्न सक्नुहुन्छ?

१. के गर्ने भनी निर्णय गर्न यहोवासित मदत माग्नुहोस्‌।याकुब १:५.

२. कस्ता सिद्धान्त लागू हुन्छन्‌ भनेर थाह पाउन बाइबल र बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌। तपाईँ अनुभवी ख्रिष्टियनहरूसित पनि सल्लाह माग्न सक्नुहुन्छ।

३. तपाईँको निर्णयले आफ्नो र अरूको अन्तस्करणमा पार्ने असरबारे सोच्नुहोस्‌

कोही-कोही भन्छन्‌: “म जे चाहन्छु, त्यही गर्छु। यो मेरो अधिकार हो। अरूले जेसुकै सोचून्‌, मलाई कुनै मतलब छैन।”

  • हाम्रो निर्णयले परमेश्‍वरको र अरू मानिसको भावनामा पार्ने असरबारे हामीले किन सोच्नुपर्छ?

सारांश

कुनै विषयबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्यौँ अनि हाम्रो कामले अरूलाई फाइदा पुऱ्‍याउँछ कि हानि भनेर विचार गऱ्‍यौँ भने सही निर्णय गर्न सक्छौँ।

तपाईँले के सिक्नुभयो?

  • तपाईँ कसरी यहोवालाई खुसी बनाउने निर्णय गर्न सक्नुहुन्छ?

  • तपाईँ कसरी आफ्नो अन्तस्करणलाई तालिम दिन सक्नुहुन्छ?

  • तपाईँ कसरी अरूको अन्तस्करणको कदर गरेको देखाउन सक्नुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

तपाईँ कसरी परमेश्‍वरसितको मित्रतालाई बलियो बनाउने निर्णयहरू गर्न सक्नुहुन्छ?

“परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌” (प्रहरीधरहरा, अप्रिल १५, २०११)

यहोवा हामीलाई कसरी सल्लाह दिनुहुन्छ भन्‍ने विषयमा अझ राम्ररी बुझ्नुहोस्‌।

यहोवा आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुहुन्छ (९:५०)

एक जना मानिसलाई एउटा गाह्रो निर्णय गर्नुपर्दा कस्ता कुराले मदत गऱ्‍यो, हेर्नुहोस्‌।

यहोवाले सबै असल कुरा दिने ग्यारेन्टी दिनुभएको छ (५:४६)

यहोवाले कुनै विषयमा तोकेरै आज्ञा दिनुभएको छैन भने पनि हामी कसरी उहाँलाई खुसी बनाउन सक्छौँ, बुझ्नुहोस्‌।

“के तपाईँलाई हरबखत बाइबलका आज्ञाहरू चाहिन्छ? (प्रहरीधरहरा, डिसेम्बर १, २००३)