सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ३८

उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्‌

उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्‌

हामी जीवनमा थुप्रै रमाइलो गतिविधिमा भाग लिएर आनन्दित हुन सक्छौँ। समस्याहरूको सामना गर्नुपर्दा समेत हामी आनन्दित हुने केही न केही कारण अक्सर भेट्टाउन सक्छौँ। हामीले उपहारस्वरूप पाएको जीवनको कदर गरेको कसरी देखाउन सक्छौँ? त्यसो गर्नुको सबैभन्दा महत्त्वपूर्ण कारण के हो?

१. हामीले किन जीवनको कदर गर्नुपर्छ?

हामीले जीवनको कदर गर्नुपर्छ किनभने यो हाम्रो मायालु बुबा यहोवाले दिनुभएको उपहार हो। उहाँ “जीवनको मूल” हुनुहुन्छ किनभने उहाँले नै सबै जीवन सृष्टि गर्नुभयो। (भजन ३६:९) “उहाँले नै सबै मानिसलाई जीवन, सास अनि सबै थोक दिनुहुन्छ।” (प्रेषित १७:२५, २८) जीवित रहन चाहिने सबै थोक यहोवाले हामीलाई दिनुभएको छ। त्यति मात्र होइन, हामीले जीवनको आनन्द उठाउन सकौँ भनेर उहाँले थुप्रै कुरा दिनुभएको छ।—प्रेषित १४:१७ पढ्‌नुहोस्‌।

२. हामीले उपहारस्वरूप पाएको जीवनको कदर गरेको कुरा यहोवालाई कसरी देखाउन सक्छौँ?

तपाईँ आमाको गर्भमा आएको क्षणदेखि नै यहोवाले तपाईँप्रति चासो राख्नुभयो। परमेश्‍वरको प्रेरणा पाएर उहाँका एक जना उपासक दाउदले यस्तो प्रार्थना गरे: “म मेरी आमाको गर्भमा छँदै तपाईँका आँखाहरूले मलाई देखेका थिए।” (भजन १३९:१६) यहोवा तपाईँको जीवनलाई अनमोल ठान्‍नुहुन्छ। (मत्ति १०:२९-३१ पढ्‌नुहोस्‌।) यदि कसैले जानाजानी आफ्नो वा अरूको ज्यान लियो भने यहोवा असाध्यै दुःखी हुनुहुनेछ। a (प्रस्थान २०:१३) हामीले विनाकारण आफ्नो जीवनलाई खतरामा पाऱ्‍यौँ वा अरूको सुरक्षाको लागि कुनै सावधानी अपनाएनौँ भने पनि यहोवा दुःखी हुनुहुनेछ। हामीले आफ्नो जीवनको ख्याल राख्यौँ र अरूको जीवनको पनि कदर गऱ्‍यौँ भने उपहारस्वरूप पाएको अनमोल जीवनको कदर गरेको देखाइरहेका हुन्छौँ।

अझ खोतल्नुहोस्‌

उपहारस्वरूप पाएको जीवनको कदर गरेको तपाईँ कुन-कुन तरिकामा देखाउन सक्नुहुन्छ, विचार गर्नुहोस्‌।

३. आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्‌

समर्पित ख्रिष्टियनहरूले आफ्नो जीवन पूर्णतया यहोवाको सेवामा प्रयोग गर्छन्‌। ख्रिष्टियनहरूले ‘आफ्नो शरीरलाई पवित्र बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण’ गर्नुपर्ने भएकोले तिनीहरूले स्वास्थ्यको ख्याल राख्नुपर्छ। रोमी १२:१, २ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • आफ्नो स्वास्थ्यको ख्याल राख्न तपाईँलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ?

  • तपाईँ कुन-कुन तरिकामा त्यसो गर्न सक्नुहुन्छ?

४. सुरक्षामा ध्यान दिनुहोस्‌

बाइबलले हामीलाई आफू वा अरूलाई चोटपटक लाग्न सक्ने वा ज्यान जान सक्ने गतिविधिमा भाग नलिन आग्रह गर्छ। सुरक्षित रहनको लागि तपाईँले चाल्न सक्ने केही कदमबारे थाह पाउन भिडियो हेर्नुहोस्‌

हितोपदेश २२:३ पढ्‌नुहोस्‌। त्यसपछि तपाईँ र अरू मानिस कसरी तल दिइएका क्षेत्रहरूमा सुरक्षित रहन सक्नुहुन्छ, छलफल गर्नुहोस्‌:

  • तपाईँको घरमा।

  • तपाईँको काम गर्ने ठाउँमा।

  • खेलकुदमा भाग लिँदा।

  • सवारीसाधन चलाउँदा वा कसैको सवारीसाधनमा यात्रा गर्दा।

५. गर्भमा रहेको बच्चाको जीवनको कदर गर्नुहोस्‌

गर्भमा रहेको बच्चाको जीवन अनि उसको वृद्धि र विकासमा यहोवाले चासो राख्नुहुन्छ भनेर दाउदले कवितात्मक शैलीमा वर्णन गरे। भजन १३९:१३-१७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाको नजरमा मानिसको जीवन गर्भधारण हुँदा सुरु हुन्छ कि जन्मिँदा?

यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएका नियमहरूले आमा र तिनको गर्भमा रहेको बच्चाको जीवनको रक्षा गर्थ्यो। प्रस्थान २१:२२, २३ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यहोवा गर्भमा रहेको बच्चाको ज्यान अनजानमा लिने व्यक्‍तिलाई कस्तो ठान्‍नुहुन्थ्यो?

  • कसैले जानाजानी त्यसो गऱ्‍यो भने यहोवालाई कस्तो लाग्छ? b

  • यस मामिलामा परमेश्‍वरको दृष्टिकोण तपाईँलाई कस्तो लाग्यो?

भिडियो हेर्नुहोस्‌।

जीवनको कदर गर्ने स्त्रीलाई समेत गर्भपतन गर्नु एक मात्र विकल्प हो जस्तो लाग्न सक्छ। यसैया ४१:१० पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • यदि कुनै स्त्रीले गर्भपतन गर्ने दबाबको सामना गर्दै छिन्‌ भने तिनले कोसित मदत माग्नुपर्छ? किन?

कोही-कोही भन्छन्‌: “गर्भपतन गर्ने कि नगर्ने भनेर निर्णय गर्ने अधिकार महिलाको हो।”

  • आमा र तिनको गर्भमा रहेको बच्चा दुवैको जीवनको यहोवा कदर गर्नुहुन्छ भनेर तपाईँ किन विश्‍वस्त हुनुहुन्छ?

सारांश

यहोवाले उपहारस्वरूप दिनुभएको जीवनलाई प्रेम र रक्षा गर्न अनि त्यसको कदर गर्न बाइबलले हामीलाई सिकाउँछ। यसमा हाम्रो र अरूको जीवन दुवै पर्छ।

तपाईँले के सिक्नुभयो?

  • यहोवा मानव जीवनलाई किन अनमोल ठान्‍नुहुन्छ?

  • यदि कसैले जानाजानी आफ्नो वा अरूको ज्यान लियो भने यहोवालाई कस्तो लाग्छ?

  • उपहारस्वरूप पाएको जीवनको लागि तपाईं किन धन्यवादी हुनुहुन्छ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

उपहारस्वरूप पाएको जीवनको लागि हामी यहोवालाई कसरी धन्यवाद दिन सक्छौँ?

गीत १४१—जीवन एउटा चमत्कार (२:४१)

यस प्रश्‍नको जवाफ थाह पाउनुहोस्‌: के परमेश्‍वरले विगतमा गर्भपतन गराएकी स्त्रीलाई क्षमा दिनुहुन्छ?

“गर्भपतनबारे बाइबलले के भन्छ?” (jw.org को लेख)

मनोरञ्जन रोज्दा जीवनप्रति परमेश्‍वरको दृष्टिकोणबारे विचार गर्नु किन महत्त्वपूर्ण छ, बुझ्नुहोस्‌।

“‘अत्यधिक खतरनाक खेलहरू’—के तपाईंले त्यस्तो खतरा मोल्नु ठीक होला?” (ब्यूँझनुहोस्‌!, नोभेम्बर ८, २०००)

यदि कसैको मनमा आत्महत्या गर्ने सोचाइ आयो भने नि? यस्तो अवस्थामा बाइबलले कसरी मदत गर्न सक्छ, बुझ्नुहोस्‌।

“म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?” (jw.org को लेख)

a यहोवाले टुटेका हृदय भएकाहरूको असाध्यै ख्याल राख्नुहुन्छ। (भजन ३४:१८) आत्महत्या गर्ने हदसम्म पुऱ्‍याउने भावनात्मक पीडा भोगिरहेका मानिसहरूको अवस्था यहोवा बुझ्नुहुन्छ र तिनीहरूलाई मदत गर्न चाहनुहुन्छ। आत्महत्या गर्ने सोचाइ हटाउन उहाँबाट कसरी बल पाउन सकिन्छ भनेर बुझ्न यस पाठको “अझ धेरै जान्‍नुहोस्‌” भागमा भएको “म मर्न चाहन्छु—आत्महत्या गर्ने सोचाइ आउँदा के बाइबलले मलाई मदत गर्न सक्छ?” लेख पढ्‌नुहोस्‌।

b विगतमा गर्भपतन गराएका व्यक्‍तिहरू दोषी भावनाले पिरोलिनुपर्दैन किनभने यहोवा तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ। थप जानकारीको लागि यस पाठको “अझ धेरै जान्‍नुहोस्‌” भागमा भएको “गर्भपतनबारे बाइबलले के भन्छ?” लेख हेर्नुहोस्‌।